काठमाडौं- सांसदहरुले बढ्दो तापक्रमले सिर्जना गरेको समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले खासरी तराईका जिल्लामा देखिएको समस्या उठाएका हुन्।
नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले बढ्दो तापक्रमबाट बच्नका लागि सरकारले तात्कालिक र दीर्घकालीन रूपमा के योजना बनाइरहेको छ भनेर प्रश्न गरे। उनले विश्वव्यापी रूपमा तापक्रम बढिरहेको अवस्थामा सरकारले त्यसबाट पर्ने प्रभावबाट जोगिन कदम चाल्नुपर्नेमा जोड दिए।
सांसद पौडेलले तापक्रम बढ्दा किसान र कृषि उपजमा प्रभाव परेको बताए। उनले आगामी दिनमा तापक्रम बढ्ने क्रम अझै बढ्ने बताउँदै सरकारलाई दीर्घकालीन योजना बनाउन आग्रह गरे।
उनले भने, 'तराईंका जिल्लाहरूमा झन्डै ४४ डिग्रीसम्म तापक्रम पुगेको अवस्था छ। तातो हावा लु चल्न थालेको छ। यसले जनजीवन असाध्यै प्रभावित पारेको छ। विद्यालय बन्द भएका छन्। पानीको मुहान सुकेको छ। खेतीबाली सुकेको छ। धानको बिउ सुकेको स्थिति छ। जमिनमुनिको पानीको सतह घटेको छ। अशुद्ध पानीका कारण महामारी फैलिने जोखिम बढेको छ। दैनिक ज्यालादारी बढेर खानुपर्ने मजदुरहरूको अवस्था दयनीय बनेको छ,' उनले भने, 'अझै १ हप्ताभन्दा बढी यस्तो हुने देखिन्छ। विश्वव्यापी रूपमा तापक्रम बढ्ने स्थिति आगामी वर्ष झन् बढेर जान्छ। यसको तात्कालिक र दीर्घकालीन समस्या समाधानका लागि सकरारले के गरिरहेको छ ? हामी जान्न चाहन्छौं।'
पछिल्लो समय देशभर तापक्रम अत्यधिक बढिरहेको भन्दै सांसद पौडेलले त्यसबाट बच्नका लागि उपाय खोज्नतिर लाग्न सरकारलाई सुझाव दिए।
सांसद निर्मला कोइरालाले तराईमा तातो हावाका कारण नागरिक प्रभावित भएको बताइन्। उनले लुका कारण मानिस बेहोस भएर ढल्ने स्थिति आएको जानकारी दिइन्। ‘मधेशका जिल्लामा गर्मीले कष्टकर भइरहेको छ। यस्तो अवस्थामा विद्युत आपूर्ति सहज छैन। छिनछिनमा बत्ती जाने गरेको छ। मानिसहरू हिँड्दाहिँड्दै बेहोस भएर ढलिरहेका छन्। नारायणी अस्पताल छ। पानी छैन। कल सुकेको छ। पानी खाने स्थिति छैन। बिरामी छटपटाएर बस्नुपर्ने छ,’ उनले भनिन्।
यता जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अदेशका तराईका भू–भागमा आगामी केही दिनसम्म तातो हावा तथा लू लाग्न सक्ने सम्भावना रहेकाले यसबाट बच्न आवश्यक सतर्कता अपनाउन नुरोध गरेको छ।
तातो दिन तथा लूसम्बन्धी विशेष बुलेटिन निकालेर महाशाखाले तराईका धेरैजसो क्षेत्रमा अधिकतम र न्यूनतम तापक्रम बढेकाले अबका पाँच दिनसम्म आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो।
'हालको तल्लो र उपल्लो वायुमण्डलको अध्ययन र विश्लेषणअनुसार नेपालमा यस वर्षको मनसुनको आगमन हुन अझै केही दिन लाग्ने देखिन्छ। तसर्थ, देशका तराई भू–भागमा आगामी पाँच दिनसम्म तातो हावा तथा लूको सम्भावन यथावत् रहने देखिएकोले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ,' बुलेटिनमा उल्लेख छ। साथै पहाडी भू–भागका उपत्यका तथा खोचमा समेत तापक्रम क्रमिकरुपमा बढ्न सक्ने सम्भावना रहेकाले महाशाखाबाट जारी सूचना तथा पूर्वानुमानमा अद्ययावधिक रहन पनि अनुरोध गरिएको छ।
लगातार पाँच दिनसम्म सामान्यभन्दा ४० डिग्रीभन्दा माथि तापक्रम बढेमा लू चलेको मानिन्छ। वर्षा नहुँदा सुक्खापन चलेकाले तापक्रम बढेर लू चलेको मौसमविद् बताउँछन्। साथै पहाडी भू–भागका उपत्यका तथा खोचमा समेत तापक्रम क्रमिकरुपमा बढ्न सक्ने सम्भावना रहेकाले महाशाखाद्वारा जारी सूचना तथा पूर्वानुमानमा अध्यावधिक रहन पनि महाशाखाले अनुरोध गरेको छ।
महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव छ। विगत दुई सातादेखि देशका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको महाशाखाले जनाएको छ। काठमाडौं उपत्यकालगायत देशका अन्य उपत्यकामा समेत तापक्रममा क्रमिक वृद्धि भइरहेको छ। तराई भू–भागमा, मुख्यतया मध्य तराई र आसपासमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन भएको छ।
तातो हावा तथा लूबाट हुने सम्भावित असरजस्तैः थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, माँसपेशी दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकाले सोबाट बच्न आग्रह गरिएको छ।
तातो हावा तथा लूबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने (घाममा हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा दाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ जुस सर्वत आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या आएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही सल्लाह सुझाव लिन पनि महाशाखाले सुझाएको छ।