सोमबार, भदौ ९, २०८२

सफा हिमाल अभियानमा ३५ हजार ७०० किलो फोहोर संकलन

५५ दिनसम्म सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्चे हिमालमा सुरु गरिएको सफा हिमाल अभियानको प्रधानसेनापति शर्माले गरे समापन।
 |  मंगलबार, जेठ २३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २३, २०८०

vianetvianet

काठमाडौं– यस वर्षको ‘सफा हिमाल अभियान’ मा ३५ हजार ७ सय किलो फोहोर संकलन भएको छ। नेपाली सेनाको अगुवाइमा चैते अन्तिम सातादेखि ५५ दिनसम्म सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्चे हिमालमा अभियान सञ्चालन भएको थियो।

प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्यालय जंगी अड्डामा आयोजित समापन समारोहमा हिमाल सफाइ अभियानका टोली प्रमुख र सहयोगी शेर्पालाई कदरपत्र प्रदान गरे। उक्त सफाइ टोलीमा संलग्न फुर्वा शेर्पा र आंकामी शेर्पाको भने हिमाल आरोहणपछि फर्कने क्रममा निधन भएको थियो।

प्रधानसेनापति शर्माले तिनका प्रतिनिधिलाई कदरपत्र प्रदान गर्दै दुवैका सन्ततिलाई १२ कक्षासम्म पढाइका लागि लाग्ने सम्पूर्ण खर्च सेनाले बेहोर्ने घोषणा गरे। वातावरण दिवस अवसरमा आयोजित उक्त कार्यक्रममा हिमाल आरोहणका क्रममा ज्यान गुमाउनको आत्माको चिरशान्तिको कामना गर्दै लामा गुरुले शान्तिपाठ गरेका थिए। 

कार्यक्रममा प्रधानसेनापति शर्माले विकट र प्रतिकूल अवस्थामा पनि फोहर संकलन र आरोहणको साहसिक कार्य पूरा गरेकमा अभियानमा संलग्न सबैमा धन्यवाद दिए। उनले भने, ‘अभियान प्रकृति र पर्यावरण जोगाउने कार्यसँग जोडिएको छ। प्रकृति संरक्षणको विषय तत्काल लाभ नदेखिए पनि भावी पुस्ताका लागि ठूलो सम्पत्ति हुनेछ। आफूले गरेको फोहोर आफैँले व्यवस्थापन गर्ने कार्यलाई कडाइका साथ लागू गर्नुपर्छ।’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले मानिसको जीवनपद्धतिसँग जोडिएको तथा प्रकृतिको दिगोपन र पर्यावरण जोगाउनुपर्छ भन्ने उद्देश्य रहेको अभियानलाई निरन्तरता दिन आवश्यक रहेको बताए।

Metro Mart

नेपाली सेना राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालय प्रमुख सुन्दरकुमार पाण्डेले हिमालको स्वच्छता कायम गर्ने उद्देश्यले सञ्चालन भएको अभियानमा सरकारी तथा गैरसरकारी संस्थाबाट महत्त्वपूर्ण साथ सहयोग प्राप्त भएको जानकारी दिए। हिमाल सफाइ कार्य जटिल र साहसिक भएको जनाउँदै उनले हिमाललाई वातानुकूलित तुल्याउने पहिलो सर्त रहेको बताए।

अभियान सञ्चालनका क्रममा स्थानीय शेर्पाले केही समय भए पनि रोजगारी प्राप्त गरेको तथा अरु आरोहीलाई पनि उत्प्रेरणा प्राप्त भएको सो अवसरमा जानकारी दिइयो।

नेपाल वातावरण पत्रकार संघ अध्यक्ष रोशनी अधिकारीले वातावरण संरक्षण र हिमालको सुन्दरता कायम राख्ने सिलसिलामा सञ्चालन भएको अभियान फोहोर संकलन र पर्यावरण संरक्षणका लागि प्रचार–प्रसारका हिसाबले महत्त्वपूर्ण सावित हुने धारणा व्यक्त गरिन्।

सफा हिमाल अभियानका क्रममा बिरामी भएका ६ मध्ये ४ जनाको अहिले भारतको मुम्बईमा उपचार भइरहेको छ। अभियानबाट जैविक विविधता र पर्यावरण संरक्षणमा ठूलो योगदान पुग्ने विश्वास लिइएको छ। सेनाले सन् २०१९ बाट सुरु गरेको सफा हिमाल अभियानका क्रममा हालसम्म १०९ टन फोहर संकलन भइसकेको छ।

सफा र स्वच्छ वातावरणसहितको पृथ्वी भावी पुस्तालाई हस्तान्तरण गर्नु आजको चुनौती भएको त्यसमा संलग्न व्यक्तिले प्रतिक्रिया दिए। पर्यटन व्यवसायी लाक्पा सोनाम शेर्पाले जलवायु परिवर्तनबाट उत्पन्न संकटबाट प्रभावित हिमालको ओज र चमक कायम राख्न अभियान कोसेढुंगा सावित हुने धारणा व्यक्त गरे।

उनले भने, ‘हिमाल आरोहणबाट राजस्वमा ठूलो योगदान पु¥याएको छ। हिमालको सुन्दरता कायम राख्न बनेका ऐन, नियम र अनुगमन कडाइका साथ हुनुपर्छ।’ सो अवसरमा अभियानमा संलग्न विभिन्न क्षेत्रका व्यक्तित्वलाई प्रधानसेनापति प्रशंसा पदक प्रदान गरियो।

प्रकाशित: Jun 06, 2023| 11:04 मंगलबार, जेठ २३, २०८०
प्रतिक्रिया दिनुहोस्