सुनकोशी नदीमा गाडी खस्दा बेपत्ता भएका सीटीईभीटी ३ जना कर्मचारी अझै फेला परेका छैनन्। तीन दिन खोजी गर्दा पनि उनीहरुको कुनै क्लु भेटिएको छैन। न त गाडी नै फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार खोजी कार्य जारी छ। गत शुक्रबार सुनकोशीमा सीटीईभीटीको गाडी र त्यसमा सवार तीन जना खसेका थिए। गाडीका चालकलाई भने शुक्रबार नै उद्धार गरिएको थियो।
सीटीईभीटी प्रशासन महाशाखाका निर्देशक सहसचिव ५७ वर्षीय कृष्णबहादुर केसी, योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र विद्युत प्रशिक्षक ३२ वर्षीय भानु पौडेलको खोजी जारी छ।
दुर्घटनास्थलमा गोताखोरसहित ३ वटा स्काभेटर परिचालन गरिएको छ। नदीको धार नै परिवर्तन गरेर खोजी भइरहेको प्रहरीले जनाएको छ। खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित ४० जनाको टोली परिचालन भएको छ।