मंगलबार, कात्तिक ६, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

सर्वसाधारणका लागि रत्नमन्दिर खुल्ला 

गणतन्त्र स्थापना पश्चात पूर्वराज परिवारको सम्पत्तिकारूपमा रहेको रत्नमन्दिर अहिले नेपाल ट्रष्टका नाममा छ। गणतन्त्रपछि रत्नमन्दिर खुल्ने विषयले पटकपटक चर्चा पाए पनि यो कार्यान्वयनमा आउन सकेको थिएन।
 |  सोमबार, जेठ १५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १५, २०८०

काठमाडौं- देशमा गणतन्त्र आउनुपूर्व फेवाताल किनाराको रत्नमन्दिर परिसर एक छिन घोरिएर हेर्न पनि डराउनुपर्थ्यो। सवारीसाधन परिसरको मार्गमा रोक्न त पाइँदैनथ्यो नै नजानेर किनाराबाट पैदल हिँड्ने सर्वसाधारण पनि सुरक्षाकर्मीको गाली खाएपछि अर्को किनाराबाट हिँड्न बाध्य थिए।

triton college

त्यही रत्नमन्दिर भित्र आज भने हुलकाहुल पोखरेली भित्रै पसेर फोटो र सेल्फी लिन व्यस्त देखिन्थे। गणतन्त्र स्थापनाको १५ वर्ष पूरा भएका अवसरमा पोखरेलीको वर्षौंदेखिको रत्नमन्दिर हेर्ने चाहना आज पूरा भएको छ।

नेपाल ट्रष्टको कार्यालयले आजैदेखि सर्वसाधारणका लागि रत्नमन्दिर खुल्ला गरेको हो। पर्यटकीय नगरी पोखरामा पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले एक कार्यक्रमका बीच औपचारिक रूपमा सर्वसाधारणका लागि रत्नमन्दिर खुल्ला गरेका हुन।

गणतन्त्र स्थापना पश्चात पूर्वराज परिवारको सम्पत्तिकारूपमा रहेको रत्नमन्दिर अहिले नेपाल ट्रष्टका नाममा छ। गणतन्त्रपछि रत्नमन्दिर खुल्ने विषयले पटकपटक चर्चा पाए पनि यो कार्यान्वयनमा आउन सकेको थिएन।

फेवातालको किनारमा रहेको यो ऐतिहासिकस्थल करिब एक सय ७४ रोपनी क्षेत्रफलमा फैलिएको छ। तत्कालीन राजा महेन्द्रले आफ्नी रानी रत्नको नाममा  २०१३ मा निर्माण सुरु गरी २०१५ सालमा यसको निर्माण सम्पन्न भएको थियो।

Metro Mart
vianet

विगतमा यसको प्रयोग राजारानी, दरबारका विशिष्ट पाहुना पोखरा आउँदा बस्नुका साथै राजकीय निमन्त्रणामा आएका अतिविशिष्ट पाहुना बस्ने स्थलकारूपमा यस दरबारलाई लिइन्थ्यो।

यस दरबारमा चीनका प्रधानमन्त्री, बेलायती महारानीलगायत अन्य विशिष्ट विदेशी पाहुनाको आगमन भएको र बास बसेको पाइन्छ। यस परिसरभित्र रत्नमन्दिर दरबारलगायत तालघर, बाग बगैँचा र अन्य प्रयोजनका साना ठूला गरी १० भवन छन्।

दरबारभित्र बैठक कक्ष, राजारानीको शयन कक्ष, शाही नातेदारले प्रयोग गर्ने शयन कक्ष, डाइनिङ कक्षलगायत ११ कोठा छन्। यहाँबाट फेवाताल, तालपारीको रानिवन र माथि विश्वशान्ति स्तूप, पुम्दीकोटलगायतका सुन्दर दृश्य एकसाथ अवलोकन गर्न सकिन्छ।

रत्नमन्दिरमा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला पुगेको कुरा उनले आफ्नो आत्मवृत्तान्तमा उल्लेख गरेका छन्। गणतन्त्र स्थापनापछि राजा वीरेन्द्र र राज परिवारका नाममा भएका सम्पूर्ण सम्पत्ति नेपाल ट्रष्टका नाममा ल्याउने सरकारी निर्णयपछि यो नेपाल ट्रष्टको स्वामित्वमा छ।

ratna-mandir-pokhara1681037045.jpg

तत्कालीन राजपरिवारका नारायणहिटीलगायतका दरबार गणतन्त्र आएपछि खुला भए पनि रत्नमन्दिर नखुल्दा पोखराका पर्यटन व्यवसायीले निरन्तर खुलाउन माग गर्दै आएका थिए।

कार्यक्रममा मन्त्री किरातीले गणतन्त्रको उपहारस्वरुप रत्नमन्दिर सर्वसाधारणका लागि खुला गरिएको बताए। पर्यटकीय नगरी पोखरामा रहेको यस ऐतिहासिक सम्पदाको संरक्षणसँगै प्रवर्द्धन गरी अधिकतम उपयोग गरिनुपर्नेमा उनले जोड दिए।

२०१३ मा निर्मित यो सम्पदालाई तत्कालीन समयको समाजसँग तुलना गरेर हेर्नुपर्ने उनको भनाइ छ। पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आए पनि अन्तर्राष्ट्रिय उडान हुन नसक्दा निराशा छाएको जनाउँदै मन्त्री किरातीले यसका लागि कूटनीतिकस्तरमा छलफल चलिरहेको बताए।

चीनका शहरमा चाटर्ड उडान सुरु गर्ने तयारी भइरहेको जनाउँदै उनले पोखरामा चीन र भारतका शहरबाट सिधा उडान गरी विमानस्थलको सदुपयोग गर्नुपर्ने जनाए।

रत्नमन्दिर परिसर अवलोकनका लागि प्रत्येक हप्ताको सोमबारबाहेक बिहान १० देखि साँझ ५ बजेसम्म समय निर्धारण गरिएको छ। आइतबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म खुला रहने व्यवस्था मिलाइएको छ।

स्वदेशी नागरिकका लागि एक सय र विदेशीका लागि एक हजार टिकट शुल्क तोकिएको छ भने विद्यार्थी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिका लागि ५० शुल्क निर्धारण गरिएको छ।

कार्यालयको पूर्वस्वीकृति लिएर वृत्तचित्र तथा भिडियोग्राफी वापत प्रतिघण्टा पाँच हजार र व्यावसायिक भिडियोग्राफी वापत प्रतिघण्टा १० हजार शुल्क निर्धारण गरिएको छ।  -रासस

प्रकाशित: May 29, 2023| 15:27 सोमबार, जेठ १५, २०८०
प्रतिक्रिया दिनुहोस्