मंगलबार, असोज ९, २०८०

क्लासिक

गुलजार भन्छन् – रहर मर्नु भनेको बाँच्न छोड्नु हो

मान्छे बाँचुन्जेलसम्म मनमा थुप्रै रहरहरु लिएर बाँचेको हुन्छ। कुनै पनि रहर सकिएको हुँदैन। रहरहरु मर्नु भनेको बाँच्न छोड्नु हो।
 |  शनिबार, जेठ १३, २०८०
averest bankaverest bank

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १३, २०८०

नाम गुम जाएगा, तुम आ गए हो नूर आ गया है, तुझ से नाराज नहि जिन्दगी जस्ता सयौं क्लासिक गीत दिएका गुलजार भन्छन्, ‘मान्छे बाँचुन्जेल मनमा रहरहरु लिएर बाँचेका हुन्छन्। रहरहरु मर्नु भनेको बाँच्न छोड्नु हो।’ उनी आफ्ना रहरहरुसँगै बाँचेका छन्। उनका गीतहरु सुन्दा र उनको साहित्य पढ्दा त्यस्तै छनक पाउन सकिन्छ। भारतका उर्दू कवि, गीतकार, साहित्यकार, स्क्रिन राइटर गुलजारका गीतहरु सदाबहार छन्। बीबीसी हिन्दीका लागि विकास त्रिवेदीले गुलजारसँग लामो अन्तर्वार्ता लिएका छन्। प्रस्तुत छ, उक्त अन्तर्वार्ताको भावानुवाद

sagarmatha cement

तपाईंले थुप्रै अन्तर्वार्ता दिनुभयो। यस्तो कुनै प्रश्न छ जो तपाईं चाहनुहुन्थ्यो मसँग सोधियोस् तर कहिल्यै सोधिएन ?
मलाई प्रश्न नै नसोधियोस् भन्ने लाग्छ। प्रश्न कठिन कुरा हो। त्योभन्दा कठिन हो जबाफ दिइरहनु। प्रश्नले अप्ठ्यारोमा पर्न सक्छ। तपाईं चाहे जति नै शायरी वा साहित्य सुनाउनुस् अन्त्यमा सोध्नेले दुई चारवटा गीतको मात्रै प्रश्न सोधे, कसैले साहित्यको कुरा उठाएनन्, प्रश्न गरेनन्। घण्टौं शायरी सुनाएपछि मान्छेले सोध्छन् तपाईंले फलानो गीत कसरी लेख्नु भएको थियो।

कति पटक त प्रश्न सोध्नेले मलाई यो नसोधोस् कि अभिनेत्री रेखाले किन बिहे गरिनन् भन्ने लाग्छ। यस्तो प्रश्नहरुले एकदमै निराश बनाउँछ मलाई। अनि यस्तोमा, ‘नख्शब साहब’को शेर सम्झिन्छु, ‘घबराके जो हम सरको टकराएँ, तो अच्छा हो।’

चलचित्र ‘दिल से’ को गीत ‘जिया जले’को रेकर्डिङ चेन्नईमा भइरहेको बेला प्रख्यात गायिका लता मंगेशकरले भनेकी थिइन् ‘यस्तो महसुस हुँदैछ की म दृष्टिविहीन भएकी छु।’ त्यसपछि तपाईंको प्रवेश हुन्छ अनि गीतको रेकर्डिङ पूरा हुन्छ। त्यतिबेलाको किस्सा बताइदिनुस् न ?
जति पनि स्टुडियो हुन्छ त्यसमा शिशा लगाइएको हुन्छ जसले गर्दा त्यहाँ गायक, गीतकार, संगीतकार सबैले एक अर्कालाई हेर्न सक्छन्। औंलाको इशाराले एक–दुई–तीन भन्न सक्छन्। तर त्यो एआर रहमानको निजी स्टुडियो थियो जहाँ रहमान र लताले गीत रेकर्ड गर्दै थिए।

त्यहाँको सेटिङ यस्तो थियो कि कसैले कसैलाई देख्न सकिरहेका थिएनन्। अनि लताले मलाई भित्र बोलाएर भनिन् म त केही पनि देख्न सकिरहेकी छैन। मैले थाहा पाइहालें यो साइकलोजी हो। अनि एउटा सानो टेबल ल्याएर म त्यही भित्र बसें। मणिरत्नमले नबस्न भनिरहेका थिए तर पनि म त्यहाँ बसें र लतालाई भन्नुपर्ने कुराहरु भनी पनि रहें। यसरी रेकर्ड भएको थियो जिया जले गीत। 

गीत ‘मेरा कुछ सामान तुमहारे पास पडा है’ जस्तो सजिलो तर रुवाउने खालको लाइन, अर्को ‘११६ चाँदकी रातें एक तुमहारे कंधेका तिल’ लोकप्रिय गीत हुन् तर कठिन लाइनहरु, चलचित्र इन्डस्ट्रीमा भन्ने गरिन्छ, गुलजार साहबजस्तो नलेख्नु। के तपाईंलाई लाग्दैन अहिले गीतको ज्ञान कमजोर भएको छ ? 
अहिले जस्तो बोलीको चलचित्र चलिरहेको छ, त्यस्तै बोलीमा गीत लेखिँदैछ। गीतको बोली फरक होइन। यदि डायलग बुझ्न सकिन्छ भने गीत पनि बुझ्न सक्नुपर्यो। तर यत्ति हो यो बोली सन् १९४७ को जस्तो छै्रन। बोली त समयको साथ परिवर्तन हुन्छ। यतिबेला तपाईंले जिन्स लगाउनु भएको छ, यस्तो पहिरन पनि त पहिले थिएन नि। तपाईंको पहिरन फेरियो, खाना, गफसफ, किताब, संगीत, चलचित्र सबै फेरियो, बदलियो भने के गीतको बोल फेरिन्न त ? 

फाइन आर्ट जति पनि छन्, जस्तै संगीत, चित्रकारिता वा कविता, शायरी सबै जीनवसँग जोडिएका छन्। यी सबै चिज जीवनको रफ्तारसँगै बदलिन्छ। यदि मैले तपाईंलाई स्वीकार गरिरहेको छु भने तपाईंको बोली र स्वरलाई पनि स्वीकार गरिरहेको छु। बाँच्ने आजको समयमा र कुरा गालिबको युगको गर्ने त हुनुभएन नि


तपाईं उर्दू, हिन्दी अंग्रेजीमा लेख्नु हुन्छ। अनुवादमा भाव मर्ने वा शैली हराउनेजस्ता कुराहरुको खतरा वा चुनौति कति ठूलो छ ? 
प्रत्येक भाषिका, बोलीको आफ्नो छुट्टै भाव हुन्छ। हाम्रो यहाँ थुप्रै बोली र भाषिकाहरु छन्। सबैलाई आपसमा कनेक्ट गर्नु जरुरी छ। हामी जब अंग्रेजीमा अनुवाद गर्छौं भने पश्चिमा देशको लागि मात्रै गरिरहेका हुँदैनौं। आफ्नो देशको लागि पनि गरिरहेका हुन्छौं। मानौ तमिलको कविता मलाई हिन्दीमा पढ्नको लागि उपलब्ध होस्।

हिन्दीको कविता गुजरातीमा उपलब्ध होस्। लिंक भाषाको रुपमा अंग्रेजी विद्यमान छ यहाँ तर हाम्रो आपसी सांस्कृतिक भिन्नताहरुले गर्दा त्यसको पूरा अनुवाद हुन सक्दैन। हामी सिउँदोको सिन्दुर अथवा पँधेरोलाई अंग्रेजीमा उस्तै भावको साथ सम्झाउन सक्दैनौ। अंग्रेजीमा लामो गरी बताउनु पर्ने हुन्छ। अनुवादमा भावको ठूलो महत्व हुन्छ र तर्जुमा गर्नको लागि जुन भाषाबाट अर्कोमा अनुवाद गर्दैछौं, त्यसमा राम्रो दखल हुनुपर्छ।

तपाईंको जमानामा लेखक हुनु ठूलै खुबी थियो हो ?
हाम्रो समयमा लेख्ने कुरा गर्दा भन्थे, ‘कलम छोड, ठूलो कवि नपल्ट, पसलमा गएर बस।’ किनभने त्यतिखेर लेखक हुनु ठूलो खुबी मानिँदैनथ्यो। लेखक त आज पनि आफ्नो किताबले बाँच्न सक्दैन। तर यतिबेला भने लेखकको लागि अन्य थुप्रै प्रोफेशन छ। हाम्रो समयमा लेखन रोजगारको माध्यम थिएन।
बम्बईको सिनेमा दुनियाँभन्दा अलग्गै साहित्यको एक दुनियाँ छ। तपाईंको सम्बन्ध साहित्य दुनियासँग कस्तो छ ?

साहित्य दुनियाँसँग सधैं राम्रो सम्बन्ध रह्यो। म त्यहिको माहौलमा रहें। केदारनाथ सिंहसंँग पनि मधुर सम्बन्ध रह्यो। म उहाँको किताबहरुको संकलन निकाल्ने तयारीमा छु।

थुप्रैको पीडा र घाउमा मलहम हुने गीतहरु लेख्नु भएको छ के गुलजारको मनमा पनि कुनै घाउ छ जो भरिन बाँकी छ ?
मान्छे बाँचुन्जेलसम्म मनमा थुप्रै रहरहरु लिएर बाँचेको हुन्छ। कुनै पनि रहर सकिएको हुँदैन। रहरहरु मर्नु भनेको बाँच्न छोड्नु हो।

प्रकाशित: May 27, 2023| 10:23 शनिबार, जेठ १३, २०८०
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्