काठमाडौं- टीकापुर घटनामा दोषी ठहर भएर जन्म कैदको सजाय काटिरहेका रेशम चौधरीले आफूलाई सर्वोच्च न्यायालयप्रति भरोसा भएको बताएका छन्।
कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले गरेको जन्म कैदको फैसलालाई सर्वोच्च अदालतले सदर गरेको भोलिपल्ट आज विज्ञप्ति जारी गर्दै उनले न्यायालयप्रति भरोसा भएकाले आफूहरू अझै न्यायिक पर्खाइमा रहेको बताएका हुन्।
‘मलाई अझै सम्मानित सर्वोच्च न्यायालयप्रति भरोसा छ। हामी अझै न्यायिक पर्खाइमा छौं‚’ विज्ञप्तिमा भनिएकको छ। सर्वोच्चको फैसला आफूप्रति न्यायिक नहुन सक्ने भए पनि त्यसलाई स्वीकार्नुको विकल्प नभएको उनले उल्लेख गरेका छन्।
उनले भनेका छन्, ‘मिति २०८० जेठ २ गते सम्माननीय सर्वोच्च अदालतले गरेको फैसला मप्रति न्यायिक नहुन सक्छ, तर त्यसो भन्दैमा स्विकार्नुको विकल्प हुन्न। टीकापुर घटनालाई लक्षित बनाएर गरेको फैसला स्वीकार्दै भोलि पुनरावलोकनको बाटो हाम्रा लागि खुल्ला छ। हामी सम्मानित अदालतलाई सदा सम्मान गर्छौं‚ साथै सम्मानित अदालतलाई सबैले उत्तिकै सम्मान गर्नुपर्दछ।’
टीकापुर घटनाको फैसलालाई अनर्गल बनाउँदै सामाजिक सञ्जालमा जथाभावी पोस्ट नगर्न पनि उनले अनुरोध गरेका छन्। ‘सबैलाई सम्मानित सर्वोच्च अदालतको सम्मान गर्न अनुरोध गर्दै यो विज्ञप्ति जारी गरेको हुँ। म डिल्लीबजार कारागारमा धैर्य, सहनशिलताका साथ कैद भुक्तान गरिरहेको छु। स्वस्थ छु। रत्तिभर मन विचलित छैन। पुस्तक लेखिरहेको छु। केही दिनमा ‘धरातल’ नामक पुस्तकका साथ तपाईंसमक्ष साक्षात् हुनेछु भन्दै बिदा चाहन्छु,’ उनले भनेका छन्।
मंगलबार सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले नागरिक उन्मुक्ति पार्टीका सल्लाहकार एवं पूर्वसांसद चौधरीको जन्म कैद सजाय सदर गरेको हो। टीकापुरमा २०७२ भदौमा भएको घटनामा प्रहरीका एक एसएसपी र एक नाबालकसहित ८ जनाको ज्यान गएको थियो।