सोमबार, भदौ २३, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • राष्ट्रिय अर्थतन्त्रमा सबैभन्दा बढी योगदान गर्ने बागमती प्रदेशको आर्थिक वृद्धिदर किन कम?

राष्ट्रिय अर्थतन्त्रमा सबैभन्दा बढी योगदान गर्ने बागमती प्रदेशको आर्थिक वृद्धिदर किन कम?

यो वर्ष बागमती प्रदेशको अर्थतन्त्रको आकार उपभोक्ता मूल्यमा १.४ प्रतिशतले मात्र बढ्ने अनुमान छ। यो सात प्रदेशमध्ये सबैभन्दा कम हो। गत आवमा बागमतीको वृद्धिदर ४.६ प्रतिशत थियो।
 |  बुधबार, जेठ ३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ३, २०८०

vianetvianet

केन्द्रीय राजधानी काठमाडौंसमेत रहेको बागमती प्रदेशले मुलुकको अर्थतन्त्रमा सबैभन्दा बढी हिस्सा ओगट्छ। अर्थतन्त्रको आकारमा भने यही प्रदेशको हिस्सा सबैभन्दा बढी छ। तर प्रदेशको आर्थिक वृद्धिदर भने सबैभन्दा कमजोर देखिएको छ।

Kumaribank

मंगलबार राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको प्रदेशगत आर्थिक वृद्धिदरको तथ्यांकमा सबैभन्दा कम वृद्धिदर बागमतीको देखिएको हो। कार्यालयका अनुसार यो वर्ष बागमती प्रदेशको अर्थतन्त्रको आकार उपभोक्ता मूल्यमा १.४ प्रतिशतले मात्र बढ्ने अनुमान छ। यो सात प्रदेशमध्ये सबैभन्दा कम हो। गत आवमा बागमतीको वृद्धिदर ४.६ प्रतिशत थियो।

यस वर्ष राष्ट्रिय अर्थतन्त्रमा सबैभन्दा बढी बागमती प्रदेशको हिस्सा १९ खर्ब ८१ अर्ब (३७ प्रतिशत) योगदान हुने अनुमान छ। 

चालु आर्थिक वर्षको कुल जीडीपी ५३ खर्ब ८१ अर्ब रुपैयाँ रहने अनुमान छ, जसमा सबैभन्दा धेरै बागमती प्रदेशको हिस्सा ३७ प्रतिशत हुने प्रक्षेपण कार्यालयले गरेको हो। कोशी प्रदेशको योगदान ८ खर्ब ४९ अर्ब (१६ प्रतिशत), लुम्बिनीको ७ खर्ब ६२ अर्ब (१४.२ प्रतिशत), मधेशको ७ खर्ब ७ अर्ब (१३.१ प्रतिशत), गण्डकीको ४ खर्ब ८२ अर्ब (९ प्रतिशत ) र सुदूरपश्चिम प्रदेशको ३ खर्ब ७६ अर्ब रुपैयाँ (७ प्रतिशत) बराबरको योगदान रहने अनुमान रहेको कार्यालयका निर्देशक ईश्वरी भण्डारीले जानकारी दिए। 

यो वर्ष बागमती प्रदेशको अर्थतन्त्रको आकार उपभोक्ता मूल्यमा १.४ प्रतिशतले मात्र बढ्ने अनुमान छ। यो सात प्रदेशमध्ये सबैभन्दा कम हो। गत आवमा बागमतीको वृद्धिदर ४.६ प्रतिशत थियो।

यसैगरी सबैभन्दा कम कर्णाली प्रदेशको २ खर्ब २१ अर्ब रुपैयाँ (४ प्रतिशत) रहने कार्यालयको अनुमान छ। जीडीपीमा बागमती प्रदेशको हिस्सा बढी हुनुको मुख्य कारण यो प्रदेशमा थोक तथा खुद्रा व्यापार बढी हुनु र अन्य प्रदेशभन्दा व्यापार–व्यवसायमा सेयर पुँजी बढी हुनु रहेको निर्देशक भण्डारीले बताए। औद्योगिक वर्गीकरणअनुसारका आर्थिक क्रियाकलापहरू हेर्दा गत आव र यस आवमा बागमती प्रदेशबाहेक सबै प्रदेशमा कृषि क्षेत्रको योगदान सबैभन्दा बढी देखिएको छ। 

Metro Mart

भण्डारीले भने, “बागमती प्रदेशमा सहरीकरण बढ्दो छ। जनसंख्या पनि बढी छ यो प्रदेशमा। राष्ट्रिय तहको ठूलो व्यापारिक कारोबार पनि यहीँ बढी हुन्छ। त्यसकारण बढी योगदान देखिएको हो।” राष्ट्रिय तहमा दोस्रो हिस्सा ओगटेको व्यापार क्षेत्रमा भने कोशी, मधेश र लुम्बिनी प्रदेशको दोस्रो हिस्सा कायम रहेको छ।

बागमती प्रदेशमा घरजग्गा कारोबार तथा आफ्नै आवास सेवाको हिस्सा दोस्रो स्थानमा छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सार्वजनिक प्रशासन र रक्षा क्षेत्रको योगदान दोस्रो रहेको देखिन्छ। बागमती र मधेशबाहेक सबै प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा प्रशासनिक सहयोगी सेवा क्रियाकलापको योगदान सबैभन्दा न्यून देखिन्छ। 

कोभिड महामारीको असर नभए पनि विश्वका अन्य देशहरूमा भएका घटनाले विश्वव्यापी रुपमा आपूर्ति श्रृंखला खलबलिएको तथा पेट्रोलियम पदार्थलगायत वस्तुमा भएको मूल्यवृद्धिको असर हाम्रो अर्थतन्त्रमा पनि परेको तथ्यांक कार्यालयको भनाइ छ।

कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर चालु आवमा राष्ट्रिय तहको उपभोक्ता मूल्यमा १.८६ प्रतिशत हुने अनुमान गरिएकोमा गण्डकी प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी ३.३ प्रतिशत र बागमतीको बृद्धिदर सबै भन्दा कम १.४ प्रतिशत रहने अनुमान गरिएको छ। कार्यालयको संशोधित अनुमानअनुसार गत आवमा गण्डकी प्रदेशको वृद्धिदर सबैभन्दा बढी ६.३५ प्रतिशत देखिएको छ भने मधेशमा सबैभन्दा कम ४.६ प्रतिशत रहने देखिएको छ। 

कुन प्रदेशको अवस्था कस्तो ?

कोशी
कोशी प्रदेशमा यस आवमा कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा करिब ८ खर्व ४९ अर्ब हुने अनुमान छ। गत आवको संशोधित अनुमान करिब ७ खर्ब ८० अर्ब रहेको छ। यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा १५.८ प्रदेश योगदान पुर्याउने अनुमान छ। 

यसैगरी गत आवमा कुल गार्हस्थ उत्पादनको वृद्धि दर ५.४७ प्रतिशत थियो भने यस आवमा संकुचन आई २.० प्रतिशतमात्र कायम रहने अनुमान छ। कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढी योगदान ३३.२ प्रतिशत कृषि क्षेत्रको रहनेछ भने सबैभन्दा कम योगदान ०.३ प्रतिशत प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहने छ।

मधेश
यसैगरी मधेश प्रदेशमा यस आवमा कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिब ७ खर्ब ७ अर्ब हुने अनुमान छ भने गत आवको संशोधित अनुमान करिब ६ खर्ब ५० अर्ब रहेको छ। गत आवमा राष्ट्रिय तहमा कुल गार्हस्थ उत्पादनको १३.१ प्रतिशत हिस्सा ओगटेको यस प्रदेशले यस आवमा समेत १३.१ प्रतिशत योगदान पुर्याउने अनुमान गरिएको छ।

यसैगरी गत आवमा कुल गार्हस्थ उत्पादनको वृद्धिदर ४.६३ प्रतिशत थियो भने यस आवमा संकुचन आई १.६९ प्रतिशतमात्र कायम रहने अनुमान गरिएको छ। कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढी योगदान ३५.२ प्रतिशत कृषि क्षेत्रको छ भने सबैभन्दा कम योगदान ०.२ प्रतिशत खानी तथा उत्खनन् क्षेत्रको रहेको छ।

बागमती
बागमती प्रदेशमा यस आवमा कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिब १९ खर्ब ८१ अर्ब हुने अनुमान छ भने गत आवको संशोधित अनुमान करिब १८ खर्ब १९ अर्ब रहेको छ। गत आवमा राष्ट्रिय तहमा कुल गार्हस्थ उत्पादनको ३७.९५ प्रतिशत हिस्सा ओगटेको यस प्रदेशले यस आवमा ३६.८६ प्रतिशत योगदान पुर्याउने अनुमान गरिएको छ। 

यसैगरी गत आवमा कुल गार्हस्थ उत्पादनको वृद्धिदर ६.३० प्रतिशत थियो। चालु आवमा संकुचन आई १.४४ प्रतिशत कायम रहने अनुमान छ। कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढी योगदान २३.६ प्रतिशत व्यापार क्षेत्रको छ। सबैभन्दा कम योगदान ०.३ प्रतिशत पानी आपूर्ति, ढल, फोहोर व्यवस्थापन तथा पुनः उत्पादनका क्रियाकलाप क्षेत्रको रहेको छ।

गण्डकी
गण्डकी प्रदेशमा चालु आवमा कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिब ४ खर्ब ८२ अर्ब हुने अनुमान छ। गत आवको संशोधित अनुमान करिब ४ खर्ब ३७ अर्ब रहेको छ। गत आवमा राष्ट्रिय तहमा कुल गार्हस्थ उत्पादनको ८.९ प्रदेश हिस्सा ओगटेको यस प्रदेशले यस आवमा ९.० प्रतिशत योगदान पुर्याउने अनुमान छ।

यसैगरी गत आवमा कुल गार्हस्थ उत्पादनको वृद्धिदर ६.३५ प्रतिशत थियो। यस आवमा संकुचन आई ३.२६ प्रतिशतमात्र कायम रहने अनुमान छ। कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढी योगदान २५.९ प्रतिशत कृषि क्षेत्रको छ। सबैभन्दा कम योगदान ०.३ प्रतिशत प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहेको छ। 

लुम्बिनी
लुम्बिनी प्रदेशमा कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिब ७ खर्ब ६२ अर्ब हुने अनुमान छ। गत आवको संशोधित अनुमान करिब ६ खर्ब ९७ अर्ब रहेको छ। गत आवमा राष्ट्रिय तहमा कुल गार्हस्थ उत्पादनको १४.१ प्रतिशत हिस्सा ओगटेको यस प्रदेशले यस आवमा १४.२ प्रतिशत योगदान पुर्याउने अनुमान छ। 

यसैगरी गत आवमा कुल गार्हस्थ उत्पादनको वृद्धिदर ५.०३ प्रतिशत रहेकोमा यस आवमा संकुचन आई २.०६ प्रतिशतमात्र कायम रहने अनुमान छ। कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढी योगदान २९.८ प्रतिशत कृषि क्षेत्रको छ। सबैभन्दा कम योगदान ०.३ प्रतिशत प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहेको छ।

कर्णाली
कर्णाली प्रदेशमा यस आवमा कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिब २ खर्ब २१ अर्ब हुने अनुमान छ भने गत आवको संशोधित अनुमान करिब २ खर्ब १ अर्ब रहेको छ। गत आवमा राष्ट्रिय तहमा कुल गार्हस्थ उत्पादनको ४.१ प्रतिशत हिस्सा ओगटेको यस प्रदेशले यस आवमा समेत ४.१ प्रतिशत योगदान पुर्याउने अनुमान छ। यसैगरी गत आवमा कुल गार्हस्थ उत्पादनको वृद्धिदर ५.३२ प्रतिशत थियो भने यस आवमा संकुचन आई १.९१ प्रतिशत कायम रहने अनुमान छ। 

कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढी योगदान ३०.८ प्रतिशत कृषि क्षेत्रको छ भने सबैभन्दा कम योगदान ०.२ प्रतिशत प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहेको छ। 

सुदूरपश्चिम
सुदूरपश्चिम प्रदेशमा यस आवमा कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिब ३ खर्ब ७६ अर्ब हुने अनुमान छ। गत आवको संशोधित अनुमान करिब ३ खर्ब ४५ अर्ब रहेको छ। गत आवमा राष्ट्रिय तहमा कुल गार्हस्थ उत्पादनको ७.० प्रतिशत हिस्सा ओगटेको यस प्रदेशले यस आवमा समेत ७.० प्रतिशत योगदान पुर्याउने अनुमान छ।

यसैगरी गत आवमा कुल गार्हस्थ उत्पादनको वृद्धिदर ४.७८ प्रतिशत रहेकोमा यस आवमा संकुचन आई १.७८ प्रतिशत कायम रहने अनुमान छ। कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढी योगदान ३३.४ प्रतिशत कृषि क्षेत्रको छ। सबैभन्दा कम योगदान ०.१ प्रतिशत प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहेको छ। 

प्रकाशित: May 17, 2023| 06:10 बुधबार, जेठ ३, २०८०
प्रतिक्रिया दिनुहोस्