खलंगा– दार्चुलामा यार्सा संकलन गर्ने क्रममा चट्याङ लागेर घाइते भएका तीन यार्सा संकलकको चार दिनपछि उद्धार गरिएको छ। दैलेखमा चट्याङ लागेर एकै परिवारका चार घाइते भएका छन्।
घाइते यार्सा संकलकको आज बिहान ९ बजे नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी तीनै जनालाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज पठाइएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए।
चट्याङबाट घाइते यार्सा संकलकको उद्धारका लागि सुर्खेतबाट सोमबार आएको नेपाली सेनाको हेलिकोप्टर खराब मौसमका कारण सदरमुकाम खलंगामै थन्किएको थियो।
शनिबार साँझ चट्याङ लागेर व्यास गाउँपालिकाको हुमदुम्तीमा तीन यार्सा संकलक घाइते भएका थिए। चट्याङ लागेर दुहुँ गाउँपालिका–२ हिकिलाका १८ वर्षीय महेश बडाल, सोही गाउँपालिका–१ पिपलचौरीका ३७ वर्षीय आनसिंह महरा र उनकी ३० वर्षीया श्रीमती मानमती महरा घाइते भएका थिए।
उनीहरू गाउँलेसँगै यार्सा सङकलनका लागि हिमाली भेग उक्लिएका थिए। दार्चुलाको हिमाली भेगमा जेठदेखि असार अन्तिम सातासम्म यार्सा संकलन गरिन्छ।
दैलेको डुंगेश्वर गाउँपालिका–२ लाँकुरीमा गए राती सुतिरहेका बेला चट्याङ लागेर २१ वर्षीय पारस विक, १६ वर्षीया हेमा विक, १७ वर्षीया पूर्णा विक र २० वर्षीया पुष्पा विक घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख किशोर लम्सालले जानकारी दिए।
घाइते चारै जनाको दैलेख अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको राती नै उद्धार गरिएको थियो। चारै जना खतरामुक्त रहेको दैलेख अस्पतालका प्रमुख डा. धर्मराज रेग्मीले बताए।