मंगलबार, भदौ २४, २०८२

सभामुखले गराए सांसद रायमाझी पक्राउ परेको जानकारी

 |  सोमबार, जेठ १, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १, २०८०

vianetvianet

काठमाडौं- सभामुख देवराज घिमिरेले नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी पक्राउ परेको जानकारी प्रतिनिधिसभालाई गराएका छन्।

Kumaribank

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख घिमिरेले रायमाझी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दा पक्राउ परेको जानकारी गराएका हुन्। 

प्रतिनिधिसभा नियमावलीले गरेको व्यवस्थाअनुसार सांसद पक्राउ परेको जानकारी सदनलाई गराइएको हो। 'गजेन्द्र बुढाथोकीसमेतको जाहेरीले वादी नेपाल सरकार, प्रतिवादी केशव दुलालसमेत भएको ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा अनुसन्धानको क्रममा माननीय टोपबहादुर रायमाझीलाई मिति २०८०/१/३१ गते राति अन्दाजी ८:२५ बजेको समयमा जिल्ला काठमाडौं बूढानीलकण्ठ नगरपालिका ४ बाट पक्राउ गरी जिल्ला प्रहरी परिसर टेकुको हिरासतमा राखिएको व्यहोरा नेपालको संविधानको धारा १०३ को उपधारा ६ बमोजिम जिल्ला प्रहरी परिसर टेकुको पत्रबाट सूचना प्राप्त भएको छ,' सभामुखले भने।

प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २४८ मा सांसद पक्राउ परेमा संसद्लाई जानकारी गराउनुपर्ने व्यवस्था छ। रायमाझी पुर्पक्षका लागि थुनामा पठाइएको खण्डमा सांसद पद निलम्बन हुनेछ।

रायमाझी गत मंसिरको निर्वाचनमा अर्घाखाँचीबाट निर्वाचित भएका थिए। सांसद रायमाझी हिजो राति काठमाडौंबाट पक्राउ परेका हुन्। उनलाई आज प्रहरीले अदालतमा पेश गरेर तीन ‍दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति लिएको छ।

Metro Mart

प्रहरीले फरार सांसद रायमाझीलाई पक्राउ गरेको सूचना आज नै संसद् सचिवालयलाई दिएको थियो।

यही प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डेसहित १२ जना पक्राउ परिसकेका छन्।  
*समाचारमा यसअघि रायमाझी निलम्बित भएको उल्लेख भएकोमा क्षमायाचनासहित सच्याइएको छ।

प्रकाशित: May 15, 2023| 15:58 सोमबार, जेठ १, २०८०
प्रतिक्रिया दिनुहोस्