काठमाडौं- परराष्ट्रमन्त्री एनपी साउदले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग भेटवार्ता गरेका छन्। बंगलादेशको ढाकास्थित गणभवनमा आइतबार परराष्ट्रमन्त्री साउद र प्रधानमन्त्री हसिनाबीच भेट भएको हो।
भेटका क्रममा नेपाल र बंगलादेशबीचको सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ।
साउदले सीमापार, कनेक्टिभिटी, व्यापार, पारवहन, ऊर्जा, शिक्षालगायत अन्य सम्बन्धित क्षेत्रमा विशेष जोड दिएका थिए। छैटौं इन्डियन ओसन कन्फ्रेन्स–२०२३ मा सहभागी हुन परराष्ट्रमन्त्री साउद शुक्रबार बंगलादेश गएका हुन्।
त्यहाँ उनले राजनीतिक भेटघाट पनि गरिरहेका छन्। शुक्रबार ढाकामा परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको भएको थियो भने शनिबार सिंगापुरका विदेशमन्त्री डा. मोहम्मद मलिकी बिन उस्मानसँग भेटेका थिए।