बुधबार, भदौ ३, २०८३

विपन्नलाई सूचनाको पहुँचमा ल्याउन रेडियो वितरण

 |  आइतबार, वैशाख ३१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ३१, २०८०

मुग्लिन- सूचनाको पहुँचमा सबै नागरिकलाई पुर्याउने उद्देश्यले चितवनको इच्छाकामना गाउँपालिकाले अतिविपन्न समुदायका परिवारलाई रेडियो वितरण गरेको छ। 

पहिलो चरणमा वडा नं ५ का जौगैरा, ढुसघारी र भोटेस्वराका १५ जनालाई रेडियो वितरण गरिएको छ। रेडियो पाएपछि जौगैराका ६० वर्षीय कोतरा चेपाङले खुसी व्यक्त गरिन्। आर्थिक अवस्था कमजोर रहेका चेपाङले रेडियोबाट गीत–सङ्गीत, समाचार सुन्न पाउने भइयो भन्दै उनले गाउँपालिकाका जनप्रतिनिधिलाई धन्यावाद दिए।

गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङका अनुसार गाउँपालिकाले यस आर्थिक वर्षमा मात्र एक सय रेडियो वितरण गर्दैछ। सातवटै वडाका अतिविपन्न र सूचनाको पहुँचमा नभएका गाउँपालिकाका नागरिकलाई रेडियो वितरण गरिने उनको भनाइ छ।

अध्यक्ष गुरुङले भने, ‘सूचना पाउनु नागरिकको अधिकार हो, कोही पनि नागरिक सूचनाको पहुँचबाट टाढा बस्नु हुँदैन, यहाँका कतिपय नागरिक मोबाइल, इन्टरनेट, टेलिभिजन र रेडियोको पहुँचमा छैनन्, ती नागरिकलाई सूचनाको पहुँचमा ल्याउने हाम्रो लक्ष्य हो।’ यहाँका ग्रामीण भेगमा सूचनाका लागि उपयुक्त माध्यम रेडियो भएको उनको भनाइ छ।
 
देश–विदेशका घटनाक्रम तथा गाउँपालिकाको गतिविधि एवं सूचना जानकारी दिन तथा रेडियो सुन्ने बानीको विकास हुने अध्यक्ष गुरुङको विश्वास छ। रेडियो सुन्ने बानीको विकाससँगै रेडियोबाट प्रसारण हुने जनचेतनामूलक सूचना कार्यक्रमले नागरिकमा चेतनाको विकास हुने उनको भनाइ छ। 

प्रकाशित: May 14, 2023| 20:31 आइतबार, वैशाख ३१, २०८०
प्रतिक्रिया दिनुहोस्