काठमाडौं– उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहयोगापेक्षी सडक आश्रित मानवलाई अभिभावकत्व दिन र आश्रय दिने मानव सेवाको अभियानलाई सफल पार्न सरकारी सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन्।
शनिबार काठमाडौको नागार्जुन नगरपालिका–१ स्थित मानव सेवाश्रमको अवलोकन गर्ने क्रममा मन्त्री श्रेष्ठले यस्तो प्रतिबद्धता जनाएका हुन्।
उनले आश्रमलाई जीवित राख्न, सञ्चालनमा ल्याइराख्न र सहयोगापेक्षी सडक आश्रित मानवमुक्त नेपाल बनाउने प्रक्रियालाई अगाडि बढाउन सरकारले सम्पूर्ण प्रयत्न गर्ने विश्वास दिलाए। मानव सेवा आश्रमलाई सरकारबाट हुन सक्ने सहयोगका लागि आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्ने उपप्रधानमन्त्री श्रेष्ठले बताए।
उनले भने, ‘नेपालमा पनि यस्ता संस्था छन्, जो सम्पूर्ण रूपले मानव सेवामा समर्पित भएको देख्न पाउँदा गौरव महसुस गरेको छु।’
वरिष्ठ पत्रकार राजेन्द्र बानियाँले असहाय नागरिकका लागि राज्यले निर्वाह गर्नुपर्ने दायत्वि मानव सेवा आश्रमले पूरा गरिरहेको बताए। २०८२ भित्र सहयोगापेक्षी सडक आश्रित मानवमुक्त नेपाल निर्माण गर्ने उद्देश्यका साथ आश्रम अगाडि बढिरहेको छ।
अहिले देशका विभिन्न स्थानमा रहेका मानव सेवा आश्रममा करिब १ हजार ६०० असहाय नागरिकले आश्रय लिइरहेका छन्। अझै झन्डै ४०० को संख्यामा सहयोगापेक्षी सडक आश्रित मानव रहेको अनुमान छ।
आश्रमका अध्यक्ष रामजी दाहालले कसैले पनि असहाय भएर सडकपेटी र सार्वजनिक स्थलमा बस्नु नपर्ने राष्ट्र निर्माणका लागि सरकारको सहयोगी बनेर आश्रमले काम गरिरहेको जानकारी दिए। मानव सेवा आश्रमले १९ जिल्लामा २३ आश्रम सञ्चालन गरिरहेको उनले बताए।