आइतबार, असोज ५, २०८२

भोजपुरका विद्यार्थीको रोजाइमा प्राविधिक शिक्षा

 |  सोमबार, वैशाख १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १८, २०८०

भोजपुर- प्राविधिक शिक्षा यहाँका ग्रामीण भेगका विद्यार्थीको रोजाइमा पर्न थालेको छ। विभिन्न सामुदायिक विद्यालयले माध्यमिक तहमा पनि प्राविधिक शिक्षाको थालनी गरेपछि विद्यार्थीमा प्राविधिक शिक्षाप्रति आकर्षण बढेको हो।

Kumaribank

रामप्रसादराई गाउँपालिका–३ भुल्केमा रहेको पञ्चकन्या माध्यमिक विद्यालयले प्राविधिक शिक्षाको थालनी गरेपछि वडाका अधिकांश विद्यार्थीले यो शिक्षा लिँदै आएका छन्। विद्यालयले दुई वर्षअघिबाट यहाँ प्राविधिक शिक्षाको थालनी गरेको हो। यहाँका विद्यार्थीले कृषि विषयमा प्राविधिक शिक्षा लिँदै आएका छन्। शिक्षा हासिल गरेपछि सहज रुपमा रोजगार पाइने तथा जीवन उपयोगी सीप हासिल हुने भएसँगै विद्यार्थीको रोजाइमा प्राविधिक शिक्षा परेको हो।

शिक्षालाई पराम्परामूखी भन्दा पनि व्यावहारिक र प्रविधियुक्त बनाउन विद्यालयले यहाँ प्राविधिक शिक्षाको थालनी गरेको विद्यालयका प्रधानाध्यापक पेशलकुमार तिमल्सेनाले बताए। शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई रोजगारसँग र रोजगारलाई बजारसँग जोडेर उत्पादनशील तथा उत्पादनमुखी बनाउनका लागि प्राविधिक शिक्षाको सुरुवात गरेको उनको भनाइ छ।

“हामीले यहाँ दुई वर्षअघिबाट प्राविधिक शिक्षाको थालनी गरेका हौँ”, उनले भने, “अहिले विद्यार्थीमा उत्साह बढेको छ, उनीहरुले अबका दश वर्षमा यहाँका सम्पूर्ण अभिभावकलाई उद्यमशील बनाउँछन् भन्ने हाम्रो विश्वास छ।” विद्यालयमा आएर अभ्यासमूलक शिक्षा लिँदा सिकाइ प्रभावकारी हुने गरेको विद्यार्थीको भनाइ छ।

उनीहरुलाई अभ्यासका लागि विद्यालयले आफ्नो जग्गा तथा भाडामा जग्गा लिएर विद्यार्थीलाई व्यवहारिक ज्ञान दिने गरेको छ। आफूले सिकेको सीप घरपरिवारलाई समेत सिकाएर काम गर्ने गरेको विद्यार्थी सचिन चर्मकारले बताए। “आफ्नै विद्यालयमा प्राविधिक शिक्षा लिन पाउँदा खुसी लागेको छ”, उनले भने, “अभ्यासका माध्यमबाट कृषि प्रविधिको विषयमा सिकेका कुरा घरपरिवारलाई पनि भन्ने गरेको छु, यही विद्यालयमा प्राविधिक शिक्षा लिन पाउँदा हामीलाई सहज भएको छ।”

Metro Mart

कृषि पढ्न चाहने विद्यार्थीले कक्षा ९ बाट ऐच्छिक विषयको रुपमा पढ्दै आएका छन्। विद्यार्थीलाई सहज प्राविधिक शिक्षाको पहुँच विस्तार गर्न प्राविधिक शिक्षामा जोड दिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकराज भट्टराईले बताए। आगामी दिनमा यसको विस्तारमा थप जोड दिने लक्ष्य रहेको उनको भनाइ छ।

“हाम्रो ठाउँको आवश्यकतालाई बुझेर यहाँ प्राविधिक शिक्षाको थालनी गरेका छौँ”, उनले भने, “यो शिक्षाप्रति विद्यार्थीको आषर्कण बढेको छ, यहाँको पूर्वाधारको विकासमा बजेट माग गरेर यसलाई अझ प्रभावकारी बनाउन लागिपरेका छौँ।” प्राविधिक शिक्षालाई विद्यालयले पढ्दै कमाउँदै अभियानमा जोडेको जनाएको छ। यहाँका कक्षा ९ का ४२ र कक्षा १० का ३९ विद्यार्थीले कृषि विषय बढ्दै आएका छन्। विद्यार्थीले गोलभेडा, काउली, ब्रोकाउली, च्याउ लगायतको व्यावसायिक रुपमा खेती गर्दै आएका छन्।

तरकारी बिक्रीबाट आएको रकम विद्यार्थीलाई प्रोत्साहनका रुपमा दिने गरिएको शिक्षक आशा अधिकारीले जानकारी दिए। उनीहरुले उत्पादन गरेको तरकारीलगायत अन्यबालीबाट आएको केही रकम विद्यालयले राखेर बाँकी रकम विद्यार्थीलाई दिने गरेको उनको भनाइ छ।

“विद्यार्थीले उत्सुकताका साथ प्राविधिक शिक्षा लिँदै आएका छन्’’ उनले भने,‘‘हामीले उनीहरुलाई यहाँ अभ्यासको माध्यमबाट विभिन्न खेती प्रविधिको विषयमा ज्ञान दिन्छौँ। केही बालीको हामीले व्यावसायिक रुपमा खेती गरिरहेका छौँ। त्यसबाट आएको मुनाफा विद्यार्थीलाई दिन्छौँ।’’

विद्याथीले च्याउ खेती, गोलभेडा खेती, माछापालन, काउली, एभोकार्डो खेतीसँगै अन्य कृषिका विषयमा अभ्यासमार्फत ज्ञान लिँदै आएका छन्। आर्थिक स्रोतको दिगो व्यवस्थापनका लागि विद्यालयको जग्गामा करिब सय एभोकार्डोका बिरुवा रोपिएको विद्यालयले जनाएको छ।

विद्यार्थीलाई प्राविधिक शिक्षासँग जोड्दै दक्ष जनशक्ति उत्पादनमा रामप्रसाद राई गाउँपालिकाले योजनाबद्ध रुपमा काम गरिरहेको गाउँपालिका उपाध्यक्ष वीरेन्द्र राईले बताए। सामुदायिक विद्यालयको गुणस्तर सुधारमा ध्यान दिइने उनको भनाइ छ। “अहिलेको आवश्यकता भनेको सीपमूलक शिक्षा हो”, उपाध्यक्ष राईले भने, “हामीले प्राविधिक शिक्षामा जोड दिएका छौँ, यसले दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्छ।”

भोजपुरमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्रअन्तर्गत दुई आङ्गिक शिक्षालय सञ्चालनमा छन्। भोजपुर नगरपालिका–६ मा रहेको सुम्निमा पोलिटेक्निक इन्ष्टिच्यूट र रामप्रसादराई गाउँपालिकाको मानेभञ्याङमा राममिथिला बहुप्राविधिक शिक्षालय सञ्चालनमा छन्।

यीसँगै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्रबाट अनुमति लिएर भोजपुर–४ मा रहेको सिद्धेश्वर माध्यमिक विद्यालय, भोजपुर टक्सारमा रहेको यशोधरा मावि, पञ्चकन्या मावि भुल्के, पञ्यकन्या मावि च्याङ्ग्रे, षडानन्द नगरपालिकाको शारदा मावि झ्याउपोख, कन्या मावि बयाङलगायत विद्यालयमा प्राविधिक धारतर्फ बाली विज्ञान अध्ययन भइरहेको छ।    -रासस

प्रकाशित: May 01, 2023| 20:17 सोमबार, वैशाख १८, २०८०
प्रतिक्रिया दिनुहोस्