के तपाईंले सन्तुलित आहारको कमी पूरा गर्न भिटामिन सेवन गर्नुहुन्छ? गर्नुहुन्छ भने याद गर्नुस्– सामान्य खालको औषधि पनि चिकित्सकको सल्लाहबिना सेवन गर्नु घातक हुन सक्छ।
बिरामी पनि आफैं र चिकित्सक पनि आफैं हुने स्वाभावले मानिसमा नजानिँदो किसिमले रोगहरु थुपार्दै लगेको हुन्छ। शहरमा सन्तुलित आहारको कमीलाई पूरा गर्न भिटामिन खाने चलन बढेको छ। चिकित्सकको सल्लाह बिना आफूखुशी सेवन गरिने यस्ता औषधिको प्रभाव घातक हुन सक्ने चिकित्सकहरुले सचेत गराएका छन्।
चिकित्सकका अनुसार भिटामिन र अन्य सप्लिमेन्टले आहारको कमीलाई पूरा गर्न सक्दैन। अहिले ३० वर्ष माथिका महिलामा प्रायः भिटामिन खाने चलन बढेको छ। चिकित्सकका अनुसार शाकाहारी व्यक्तिका लागि मल्टिभिटामिन सेवन गर्नु आवश्यक हुन्छ। तर एउटै औषधि र डोज सबैको लागि प्रभावकारी हुन सक्दैन। यसका लागि चिकित्सको सल्लाह लिनुपर्ने हुन्छ।
चिकित्सकका अनुसार बिरामीलाई समस्याको आधारमा जुन भिटामिनको सल्लाह दिइन्छ र जति मात्रामा लिने सल्लाह दिइन्छ, त्यतिमात्रै लिनुपर्ने हुन्छ। औषधिको अधिक सेवनले शरीरलाई फाइदा नभएर दुष्प्रभाव निम्त्याइरहेको हुन्छ।
चिकित्सका अनुसार कतिपय भिटामिन शरीरका लागि बोसोमा घुलनशील हुने खालको हुन्छ। जस्तै– भिटामिन ई र ओमेगा थ्री। यी भिटामिन चिकित्सकको सल्लाह बिना लिनु हुँदैन। यी भिटामिन शरीरमा जमा हुने र ननिस्किने खालको हुन्छ जसले गर्दा शरीरमा नराम्रो असर गर्छ।
भिटामिन ई र भिटामिन एको ओभरडोज अर्थात् अधिक सेवनले बान्ता आउने, दृष्टि धमिलो हुने समस्या हुन सक्छ। भिटामिन ईले रक्तचाप कम हुने र यसले फोक्सोलाई समेत असर गर्न सक्ने चिकित्सक बताउँछन्।
भिटामिन बी ले शरीरमा रातो रक्तकोशिका बनाउन मद्दत गर्छ। साथै मस्तिष्क र तंत्रिका कोशिकालाई मजबुत बनाउने काम पनि गर्छ। यसको कमीले कमजोरी हुने, ग्यास्टिक, कब्जियत हुने, भोक नलाग्ने र स्वास लिनमा समस्या आउने जस्ता समस्या हुनसक्छ।
चिकित्सकका अनुसार भिटामिन डीको कमी बालबालिकादेखि लिएर युवाहरुमा समेत देखिएको छ। यसको कारण प्रायः घरभित्रै बस्ने–खेल्नेजस्ता कृयाकलापले हो। सूर्यको किरणलाई भिटामिन डीको मुख्य स्रोत मानिएको छ। सूर्यको किरण शरीरमा पर्दा भिटामिन डीको आवश्यकता पूरा गर्छ।
चिकित्सकका अनुसार भिटामिन डी तीन महिनासम्म लिन मिल्छ, यस अवधिलाई बढाउँदा स्वास लिनमा समस्या, पाचनको समस्या, थकान, रिंगटा लाग्ने जस्ता समस्या हुनसक्छ। साथै पिसाब धेरै लाग्नु, उच्च रक्तचाप हुनुजस्तो दुष्प्रभाव देखिन सकिने चिकित्सक बताउँछन्।
यसैगरी क्याल्सियम एउटा यस्तो मिनरल हो, जसको आवश्यकता शरीरमा दाँत, हाड्डीको साथै मुटु र मांशपेसीलाई मजबुत बनाउनको लागि गरिन्छ। चिकित्सकले ४० को उमेरपछि मात्रै महिलालाई क्याल्शियम लिने सल्लाह दिन्छन्। क्याल्शियम मेटाबालिज्मको लागि किड्नीको महत्वपूर्ण भूमिका हुन्छ। तर यस्तो क्याल्शियमको सेवन लामो समयसम्म गरियो भने यसले पत्थरी हुने खतरा बढ्नुका साथै मुटुको धमनी कडा हुने र त्यसमा बोसो र कोलेस्ट्रोल बन्न थाल्नेजस्ता दुष्प्रभाव उत्पन्न हुनजान्छ, जुन स्वास्थयको लागि राम्रो मानिँदैन।
चिकित्सकका अनुसार क्याल्शियमको कमीले हड्डी कमजोर हुन्छ, जसले आस्टिपोरासिस र अस्टिपीनियाजस्ता रोग लाग्ने खतरा बढ्न जान्छ। पोषक आहारले शरीरमा भएका सबै कमीलाई पूरा गर्न मद्दत गर्छ। त्यसैले चिकित्सकले पौष्टिक आहारमा जोड दिनुका साथै योग र व्यायामको गर्ने सल्ला दिन्छन्।