पछिल्लो समय नेपाललगायत विश्वभर नै बाँझोपनको समस्या बढ्दै गएको छ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार विश्वभर नै बाँझोपन समस्या विकराल बन्दै गएको हो।
डब्ल्यूएचओले प्रत्येक ६ जनामध्ये एक व्यक्तिमा बाँझोपन समस्या रहेको जनाएको छ। डब्ल्यूएचओको एक रिपोर्टमा बाँझोपन ठूलो समस्याको रूपमा देखापरेको उल्लेख छ। दम्पतिले १२ महिनासम्म गर्भनिरोधन साधन प्रयोग नगरी शारिरीक सम्पर्क राख्दा पनि महिला गर्भवती नहुनेगरेको पाइएको डब्ल्यूएचओले जनाएको छ।
रिपोर्टअनुसार विश्वमा १५ प्रतिशत सन्तान जन्माउन योग्य दम्पति बाँझोपनबाट प्रभावित छन्। १५ देखि ४९ वर्ष समूहका महिलामा सन्तान जन्माउन सक्ने क्षमता हुन्छ। यो उमेर समूहमा पनि सन्तान जन्मिएन भने बाँझोपन भएको मानिन्छ।
पुरुषमा पनि बाँझोपन
महिलामात्र नभएर पुरुषमा पनि बाँझोपनको समस्या हुने र प्रजनन क्षमताको समय हुनेगर्छ। पुरुषमा ४० देखि ४५ वर्ष उमेरपछि स्पर्मको संख्या घट्दैजान्छ।
चिकित्सका अनुसार बाँझोपनलाई पहिले महिलासँगमात्रै जोडेर हेर्ने गरिन्थ्यो। अहिले चेतनाको विकासले पुरुष पनि उपचारका लागि अस्पताल जान थालेका छन्।
कम उमेरको यौन सम्पर्कले संक्रमण
पछिल्लो समय उमेर नपुग्दै किशोर–किशोरीले शारिरीक सम्पर्क राख्ने क्रम बढ्दो छ। चिकित्सकका अनुसार यसरी उमे नपुगेरै यौन सम्पर्क राख्दा विभिन्न जोखिम र संक्रमणको डर हुन्छ।
पहिले महिलाहरू पाठेघरको नली बन्द हुनेलगायत समस्या लिएर अस्पताल धाउने गरेकोमा अहिले हार्मोन असंतुलनसम्बन्धी समस्या लिएर आउने गरेको तथ्यांकले देखाएको छ।
अहिले कम उमेमा शारिरीक सम्पर्क गर्ने क्रम बढेसँगै युवायुवतीमा क्लेमाइडिया र गोनोरियाका कारण संक्रमण हुनेगरेको अध्ययनले देखाएको छ। जसले गर्दा प्रजनन क्षमतामा असर गरिरहेको छ। यसले पनि बाँझोपन समस्या बढाउँदै लगेको तथ्यलाई नकार्न नसकिने चिकित्सको भनाइ छ।
बिबाह गरेको लामो समयसम्म सन्तान नजन्माउने कारणले बाँझोपनलाई प्रोत्साहित गरिरहेको चिकित्सक बताउँछन्। त्यस्तै लामो समयको जन्मान्तरले पनि बाँझोपनको समस्या भोगिरहेका दम्पत्ति उपचारका लागि पुग्ने गरेका छन्।
बाँझोपनका प्रमुख कारण
- स्पर्म र शुक्राणुको संख्यामा कमी आउनु,
- स्पर्मको आकृतिमा परिवर्तन आउनु,
- शुक्राणु क्षमतामा कमी आउनु,
- स्पर्म समाप्त हुनु,
- हार्मोनको असन्तुलन,
- फोन र ल्यापटपबाट निस्किने रेडिएशनको असर,
- फेरिँदो जीवनशैली,
- धुम्पान–मध्यपानको सेवन,
- बढ्दो प्रदूषण
- फलफूल र तरकारीमा प्रयोग गरिने कीटनाशक औषधिको असर
डब्ल्यूएचओका महार्निदेशक डा. टेड्रोस एड्हानम गेहब्रेयससले यो अवस्था चिन्ताजनक रहेको रिपोर्टले देखाएको बताए।
मानिसमा बाँझोपनको जोखिम बढ्नुप्रति चिन्ता व्यक्त गर्दै निर्देशक गेहब्रेयससले यसको न्यूनिकरणमा सबै जागरुक हुनुपर्ने औंल्याए।