बुधबार, फागुन २८, २०८१

किन बस्ने व्रत ? कति दिनमा बस्ने ?

 |  बुधबार, फागुन २८, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २८, २०८१

मुस्लिम धर्म मान्नेहरू रमादानको बेलामा एक महिनासम्म सूर्य उदाएदेखि नअस्ताएसम्म केही खाँदैनन्। अर्थात् पूरा महिना रोजा (व्रत) गर्छन्।

health

रमादानमा एक महिनासम्म व्रत बस्दा कस्ता-कस्ता फाइदा हुन्छ भनेर अनेक वैज्ञानिकले गरेको अनुसन्धान देखाएका छन्। व्रत गर्दा आन्द्रालाई आराम मिल्छ र यो बेलामा शरीरमा भएका विषादी बाहिर निकाल्न मद्दत गर्छ।

विभिन्न धर्ममा व्रतले स्थान पाएको छ। यस्ता व्रत कसले लिने, कसले नलिने भनेर कतै खासै बहस हुँदैन। हरेक जात र विश्वासअनुसार कसैले लिन्छ, कसैले लिँदैन।

हिन्दू धर्ममा व्रत बस्ने अवसर धेरै नै छन्। एकादशीदेखि नौरथाको व्रत, विभिन्न पूजाआजामा, श्राद्धको अघिल्लो दिन एक छाक खाने, चन्द्र ग्रहण, सूर्य ग्रहण, विवाह, व्रतबन्ध बेलामा एक छाक मात्रै अन्न खाएर बसेको पनि व्रत नै हो। किरियापुत्री बस्दा पनि हरेकका आफ्ना चलनअनुसार खान्छन्।

लिनेले अझ हरेक हप्ता कहिले दूध मात्र खाने, कहिले रस मात्र वा फलफूल मात्र खाने वा नुन नखाने, कतिले त शुक्रबार सन्तोषी माँको व्रतमा गुड र चना खाने तर अमिलो नखाएर एक छाक शुद्ध तरिकाले पकाएको भात नै खान्छन्। तुलसीको पूजा गर्ने दिन हरिवोधीनी एकादशीमा व्रत गरिन्छ। साउनमा प्रत्येक सोमबार शिवजीलाई खुसी पार्न व्रत गरिन्छ।

व्रतलाई संस्कृति र धर्मसँग जोडिएपछि त्यो जीवनको अभिन्न अंग बन्न पुगेको छ। विभिन्न समयमा लिने व्रतहरूका बारेमा खासै चर्चा नभए पनि 'तीज व्रत र लोग्नेको खुट्टाको पानी' पिउने कुराले अहिले धेरै चर्चा परिचर्चा पाएको छ। लोग्नेको दीर्घ आयु होस् भनेर श्रीमतीले व्रत बस्नाले लोग्नेको आयु बढ्दैन भन्ने तथ्य सबैले बुझे पनि 'संस्कृति' का नाममा त्यो व्रत लिइन्छ नै।

व्रत लिनु आफैंमा आपत्तिको कुरा होइन। अझ सकिन्छ भने हुने-खानेले त हरेक हप्ता अनेक बहानामा व्रत लिए हुन्छ। स्वास्थ्य राम्रो हुन्छ। 

व्रत बस्नु भनेको अनुशासनमा बस्नु हो। पेटलाई केही समयका लागि आराम दिनु हो। व्रत बस्दा पानी पर्याप्त पिउनुको अर्थ शरीरमा भएका विषालु तत्व शरीर बाहिर निस्कनु हो।

व्रतको महिमा धेरै छ। सन् २०१६ मा एक जापानी वैज्ञानिकले व्रत बस्दा शरीरमा कसरी विभिन्न प्रतिक्रिया भएर विषालु तत्वहरू निकाल्ने प्रक्रिया हुन्छ र यसले शरीर स्वस्थ राख्न मद्दत गर्छ भन्ने देखाए। जुन कुराका लागि ती जापानी वैज्ञानिकले नोबेल पुरस्कार पाए। त्यसको दार्शनिक पक्षलाई ध्यानमा राखेर हाम्रा पूर्खाले व्रतलाई जीवनमा ढालेका रहेछन्।

तौल, युरिक एसिड बढी भएर खुट्टाका बुढी औंला सुन्निएर हिँड्नै नसक्ने मेरा एक परिचित हप्तामा दुई दिन आइतबार र बिहीबार २४–२४ घन्टा व्रत बस्न थाले। त्यो दिन उनले पानी मात्र खाएर ४ महिनामा उनको तौल ६ किलो घट्यो। युरिक एसिड कम भएर दुखाइ पनि हरायो। अहिले त उनी हप्तामा एक दिन व्रत बस्नेबाहेक आजकालको '१६ घन्टा नखाने' व्रत पनि बस्छन्। कहिले कहिले फलफूल मात्र खान्छन्। कहिले दूध खान्छन्। उनको स्वास्थ्य राम्रो भएको छ।

उनले यसरी व्रत बसेको कुनै 'भगवान' का लागि भने होइन। 'त्यो भगवान चाहिँ मेरो शरीरमा नै छन्। शरीर नदुखेपछि भगवान पनि खुसी हुँदा रहेछन्। मेरो मनमा पनि शक्ति छाएको छ,' उनी भन्छन्। अर्थात उनले हाम्रो हिन्दू संस्कृतिको 'व्रत' बस्ने प्रक्रियालाई कुनै बन्धनमा नबाँधी आफ्नो शरीर र मन स्वस्थ रहोस् भनेर व्रत बसेका छन्।

पोषणविद्हरू भन्छन् विभिन्न नसर्ने रोगहरूमा पनि कम खाने, व्रत बस्ने योगासन र व्यायाम गर्ने कार्यक्रमले सघाउ पुर्‍याउँछ। कतिपय पेटसम्बन्धी समस्यालाई आयुर्वेद अस्पतालमा कार्यरत बैद्यहरूले पनि खाना कम ख्वाएर वा व्रत गराएर विभिन्न समस्या समाधान गर्न कोशिस गर्छन्।

व्रत बस्न नहुने कतिपय अवस्था पनि छ। ती अवस्था बाहेक एक स्वस्थ व्यक्तिले सके हरेक हप्ता, न सके हरेक महिना व्रत बसौं।

प्रकाशित: Mar 12, 2025| 10:20 बुधबार, फागुन २८, २०८१
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्