दाङ- उनीहरू बिहान छोराछोरीलाई खाना खुवाउँछन्, अनि विद्यालय पुर्याउँछन्, त्यसपछिको समयको सदुपयोग गर्दै यहाँका केही महिला स्वेटर, मोजा र गुडिया बनाएर आत्मनिर्भर हुने जमर्को गरिरहेका छन्।
उनीहरूले बुनेका सामग्रीको स्वदेशमा मात्र होइन, विदेशमा पनि माग छ। घोराहीका केही महिला अहिले धागोसँग खेलेर आकर्षक आम्दानी गरिरहेका छन्। सोप्न होजेरीबाट तालिम लिएर उनीहरूले आम्दानी गर्न थालेका हुन्।
पन्ध्र जनाले सोप्न होजेरी उद्योगमा सामग्री बनाएर निर्यात गर्दै आएका छन्। अमेरिका, अष्ट्रेलिया, क्यानडा, भारत उनीहरूका उत्पादनको प्रमुख गन्तव्य हो।
उद्योग सञ्चालक रचना सुवेदीका अनुसार अष्ट्रेलियामा गुडियाको माग बढी छ भने भारतमा धागोबाट बनेका गणेश र लक्ष्मीका प्रतीक जाने गरेका छन्, क्यानडामा स्वीटर, मोजा र बालबालिकाका सामग्रीको बढी माग हुने गरेको छ। अमेरिकामा भने उत्पादित सबै सामग्रीको माग छ।
धागोले बनाएका सामग्रीको माग धेरै भए पनि एउटा गुडिया तयार पार्न तीन दिन लाग्ने गरेको तथा मासिक १५ हजार रूपैयाँ आम्दानी हुने गरेको सञ्चालक सुवेदीले बताइन्।
विसं २०६३ देखि उद्योग सञ्चालनमा आएको हो। त्यसयता उद्योगले होजेरीसम्बन्धी तालिम पनि दिँदै आएको छ। त्यहाँ सीप सिकेका धेरैले रोजगारी पनि पाएका छन्।
घोराही उपमहानगरपालिका-१३ की मीना जिसी र घोराही-१४ कै अनिता डाँगीले यही उद्योगमा काम गरेर मासिक १० हजार रूपैयाँसम्म आम्दानी गर्दै आएको बताए।
यो उद्योगले रुकुम, रोल्पा, सल्ल्यान, प्युठान, गुल्मीलगायत जिल्लाका १० हजार जनालाई होजेरीसम्बन्धी तालिम दिइसकेको सञ्चालक सुवेदीको कथन छ। रासस