आइतबार, मंसिर २८, २०८२

मुस्ताङको मार्फामा पदमार्ग निर्माण

 |  शुक्रबार, असोज १८, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १८, २०८१

म्याग्दी- मुस्ताङको घरपझोङ गाउँपालिका-२ मार्फामा पदमार्ग निर्माण गरिएको छ। उद्योग तथा पर्यटन कार्यालय मुस्ताङको  ३० लाख बजेटबाट हिसरुङ गुम्बा र स्याउ उद्यान जोड्ने ढुङ्गाको सिढी बिछ्याएर पदमार्ग निर्माणका साथै सौन्दर्यकरण गरिएको हो। मार्फा गाउँको शिरमा करिब एक किलोमिटर पदमार्ग निर्माण भएको कार्यालयले जनाएको छ। 

National life

उक्त पदमार्गको डिलमा बक्ति जडान गरेर रातको समयमा झलमल्ल देखिने बनाइएको कार्यालयका प्रमुख प्रेमप्रसाद पौडेलले जानकारी दिए। मुस्ताङ आउने पर्यटकको बसाई लम्बाउने उद्देश्यले पर्यटकीय गाउँ मार्फालाई सौन्दर्यकरण सहित पूर्वाधार निर्माण गरिएको उनले बताए। 

यसअघि मार्फादेखि स्याउ उद्यान जाने पदमार्ग उकालो र साघुरो थियो। मार्फाका वडा अध्यक्ष मनबहादुर हिराचनले पदमार्ग बनेपछि मार्फामा आउने पर्यटकहरु स्याउ उद्यान र गुम्बामा भुल्न थालेका बताए। 

गाउँमाथिको पदमार्गको डिलमा जडान गरिएको बत्तीले रातको समयमा मार्फालाई आकर्षण देखाएको उनले बताए। पर्यटकहरुले डिलमा रहेको स्याउ आकृतिको प्रतिमा र स्याउको राजधानी मार्फा गाउँलाई पृष्ठभूमिमा पारेर फोटो, भिडियो खिच्ने र सामाजिक सञ्जालमा राख्ने गर्छन्। 

सघन सहरी विकास तथा भवन आयोजना बागलुुङ मार्फत निर्माणाधिन स्याउ उद्यानदेखि स्याउबारी र मार्फा गाउँको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ। स्याउबारी, थकालीको रहनशहन, जीवनशैली, मौलिक संस्कार, कला संस्कृति, गुम्बा र गुफा मार्फाको पर्यटकीय आकर्षण हुन्। 

Laxmi sunrise bank
kumari

सेतो र रातो माटोले लिपेका झुरुप्प मिलेका मार्फाका घरहरुमा माटोकै छाना र छानामाथि दाउरा चिनेर राखिएको छ। मार्फालीले शताब्दीऔ अघिको मौलिकता बचाएर राखेका छन्। कालीगण्डकी नदी किनारको फाँटमा स्याउबारीको हरियाली र कुनातर्फ सुक्खा पहाड छ। 

ढुङ्गा बिछ्याइएको मार्फाका भित्री गल्लीहरु सफा सुग्घर र चिटिक्क छन्। बसन्त ऋतुमा स्याउ फुल्दा र सरदयाममा लटरम्म दाना लागेका स्याउ बगैचा डुल्डा प्रकृतिको काँखमा रमाएको महशुस हुने काठमाडौबाट मार्फा घुम्न आएकी रिता खत्रीले सुनाए। 

धौलागिरि हिमाल फेदको धमाङबाट बसाई सरेर आएका लालचन, हिराचन, ज्वारचन र पन्नाचन थरका थकाली समुदायले बस्ति बसालेको एक सय ५० घरधुरीको बसोबास रहेको मार्फामा दलित समुदायको पनि बसोबास छ।

स्वदेशी तथा विदेशी चलचित्रहरु छायांकन भएको मार्फाका घरहरूमा स्थानीय पहिचान झल्किने कलात्मक वस्तुहरू सजाएका छन्। मार्फाको पश्चिमतर्फको पहाडको भित्तामा प्राकृतिक कलात्मक दृष्य देखिन्छ।

सम्तेलिङ गुम्बा मार्फाको धार्मिक सम्पदा हो। गाउँ माथिको पाखामा रहेको करिब तीन सय वर्ष पुरानो भिर गुम्बा पनि अर्को आकर्षण हो। उक्त गुम्बामा विपद् नहोस, खेतीबाली सप्रियोस र रोग ब्याधी नआवस भनेर पुजाआजा गर्ने चलन छ।

जापानी भिक्षु तथा अन्वेषक इकाइ कावागुची सन् १८८८ मा बुद्ध धर्मको अध्ययनका लागि तिब्बत जाने क्रममा बसेको घरलाई कावागुची घर नामाकरण गरिएको छ। इकाइ कावागुचीलाई नेपाल-जापान सम्बन्धका दूत मानिन्छ। रासस

प्रकाशित: Oct 04, 2024| 17:01 शुक्रबार, असोज १८, २०८१
प्रतिक्रिया दिनुहोस्