आइतबार, कात्तिक ३०, २०८२

काभ्रेमा पुजिए १० हजार कन्या

 |  सोमबार, भदौ १०, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १०, २०८१

काभ्रेपलाञ्चोक- कृष्ण जन्माष्टमीको अवसरमा आज काभ्रेपलाञ्चोकमा करिब १० हजार कन्या पुजिएका छन्। बनेपामा मात्रै करिब सात हजार कन्या पुजिएका सनातन कन्या पूजा प्रबन्ध समितिले जनाएको छ। बाँकी काभ्रेका अन्य क्षेत्रमा पुजिएका हुन्।

National life

बनेपामा एक सय २२ वर्षअघि सुरू गरिएको ‘कन्या–पूजा’ लाई हरेक वर्ष यही दिन पुज्दै आइएको छ। आज मध्याह्नबाट सुरू गरिएको पुजामा बनेपा नगरको भोलाखाँ टोलदेखि लायकु दरबार तथा पुरानो बजार हुँदै चारदोबाटोसम्म सडकको दायाँबाँया पेटीमा कन्या लस्करै बस्छन्। कन्यालाई पुज्न काठमाडौँ, भक्तपुर र ललितपुर तथा छिमेकी जिल्लाबाट भक्तजन आउने गरेका छन्। 

बनेपा नपा–३ भोलाखाँ टोलमा गणेश र कुमारको पूजा भएपछि मात्र कन्या–पूजा सुरू हुने गर्दछ । समितिका मूलकर्ता सुरकृष्ण बैद्यकानुसार कन्या–पूजामा समितिमार्फत एक सय ३५ जना भक्तजनले दानदक्षिणा तथा प्रसाद, स्वारी र मालपुवा, पैसा, जेरी, बिस्कुट, छोकडा, काजु एवं विभिन्न प्रकारका मिठाइ वितरण गर्ने गरिएको छ। पूजामा सामेल प्रत्येक कन्याको टाउकोमा शुद्ध तोरीको तेल खन्याएर देवीसरह रातो टीका लगाइ दिने प्रचलन रहँदै आएको छ। 

पछिल्ला वर्षदेखि काभ्रेपलाञ्चोकको नाला, जनागाल, पाँचखाल, पनौती, साँगा, दोलालघाटलगायत विभिन्न बजार तथा बस्तीमा कन्यालाई श्रीकृष्ण जन्माष्टमीको दिन पुज्दै आइएको छ। बनेपाबाहेकका स्थानमा करिब तीन हजार कन्यालाई पुजिएको बताइएको छ। 

बनेपाको पुरानो बजारमा विसं १९५९ देखि हरेक वर्ष कृष्ण जन्माष्टमीका दिन कन्या–पूजा गर्दै आइएको हो। १० वर्षमुनिका कन्यालाई पुज्दा उनीहरूको स्वास्थ्य राम्रो हुने तथा पुज्ने व्यक्तिलाई धर्म प्राप्त हुने जनविश्वास रहिआएको छ। 
 
किंवदन्तीअनुसार रजस्वला नभएका तथा वेल–विवाह नगरिएका कन्याको लाममा देव–कन्या, नाग–कन्या, गन्धर्व–कन्यालगायत मानव–कन्या भेषमा आउने भएकाले उनीहरूलाई आराध्यदेवी चण्डेश्वरी देवीकी कुमारी मानेर पूजा गरिन्छ। 

Laxmi sunrise bank
kumari

बनेपा सात गाउँलाई राक्षशबाट मुक्त गराउन सफल चण्डेश्वरी देवीको रूपमा ‘कन्या’ नै भएकाले कन्यालाई पुज्दै आइएको जनाकारहरू बताउँछन्। कन्याको स्वागत एवं सम्मानका लागि बनेपाका नेवार समुदायले विभिन्न प्रकारका झाँकी र बाजासमेत बजाउँछन्।

बनेपाका भोछिभोया खलक चण्डेश्वरीका सन्तति मानिने भएकाले कुनै जाति या वर्गको आधारमा भेदभाव नराखी उपस्थित कन्याको पूजा गरिँदै आइएको छ। किंवदन्तीअनुसार कुनै समय बनेपाका एक नेवार समुदायका व्यक्तिले धेरै दुःख पाएपछि घरको बुइगलमा राखेर आफ्ना घरका कन्यालाई पूजा गरेका थिए। 

प्रकाशित: Aug 26, 2024| 21:01 सोमबार, भदौ १०, २०८१
प्रतिक्रिया दिनुहोस्