शनिबार, चैत २१, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • मागअनुसार मत्स्य विकास केन्द्रले माछाका भुरा उत्पादन गर्न सकेन

मागअनुसार मत्स्य विकास केन्द्रले माछाका भुरा उत्पादन गर्न सकेन

 |  सोमबार, भदौ १०, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १०, २०८१

कैलाली- गोदावरी नगरपालिका-५ गेटास्थित मत्स्य विकास केन्द्रले गत आर्थिक वर्षमा ४ करोड २४ लाख माछाका भुरा बिक्री गरेको छ।

National life

गत आव २०८०/८१ मा सिल्भर र विगहेड जातका माछा दुई सय २४ किलो, कमन, ग्रास, रहु, नैनी र भाकुर जातका सात सय ५२ किलो माछा बिक्री गरेको केन्द्रले जनाएको छ। माछा, भुरा उत्पादन बिक्री गरेर रु ५३ लाख ६२ हजार आम्दानी गरेको केन्द्रका सूचना अधिकारी सरोजराज रेग्मीले बताए। 

केन्द्रले ग्रास, सिल्भर, कमन, बिगहेड, रहु, नैनी र भाकुर जातका ह्याचलिङ, फ्राइ, फिगरलिङ, एडभान्स फिगरलिङ र इयरलिङ साइजका भुरा सहुलियत दरमा किसानलाई बिक्री गर्दै आएको छ।

केन्द्रबाट सुदूरपश्चिमका नौ जिल्ला एवं बर्दिया, सुर्खेत, दाङसम्मका किसानले भुरा खरिद गर्ने गरेका छन्। भुरासँगै विभिन्न जातका माछा पनि उत्पादन गरी केन्द्रले बिक्री गर्दै आएको सूचना अधिकारी रेग्मीले जानकारी दिए।

माछापालन प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरेको केन्द्रले प्रतिगोट २५ पैसादेखि ७५ पैसासम्म किसानलाई उपलब्ध गराउँदै आएको जनाएको छ।

kumari

केन्द्रले अघिल्लो आव २०७९/८० मा भुरा बिक्री गरेर ५२ लाख आम्दानी भएको जनाएको छ। मत्स्य विकास केन्द्रले वार्षिक करोडौँको सङ्ख्यामा भुरा उत्पादन गरे पनि किसानको मागलाई पुर्याउन नसकिएको सूचना अधिकारी रेग्मीको भनाइ छ।
 
केन्द्रमा रहेको पुरानो संरचना र जनशक्ति अभावका कारण माछाका भुरा उत्पादन बढाउन सकेको छैन। माछाको भुरा उत्पादन गर्न थप ह्याचरी, जनशक्ति र केमिकलको व्यवस्था गर्न आवश्यक रहेको केन्द्रले जनाएको छ।

पुराना पोखरीको मर्मत, नयाँ पोखरी निर्माण र नयाँ ह्याचरी थप गर्नसके मागको ७५ प्रतिशत भुरा उपलब्ध गराउन सकिने रेग्मीले बताए।

मत्स्य विकास केन्द्रको २० बिघा जमिनमध्ये १२ बिघामा मात्र पोखरी बनाइएको छ। ती पोखरीमा पालिएका माउ माछाबाट केन्द्रले फागुनदेखि भदौसम्म प्रजनन गराएर सात जातका भुरा उत्पादन गर्दै आएको छ। रासस

प्रकाशित: Aug 26, 2024| 21:31 सोमबार, भदौ १०, २०८१
प्रतिक्रिया दिनुहोस्