विवाह पञ्चमीको बारेमा सबै पुराणहरुमा विशेष महत्व दिइएको छ। यद्यपि, यसको धेरै महत्व हुँदाहुँदै पनि कतिपय स्थानमा यो दिन विवाह गरिँदैन। चाहे धार्मिक दृष्टिले विवाह पञ्चमी दिनको विशेष महत्व होला। तर, मिथिलाञ्चल तथा नेपालमा यो दिन विवाह गरिँदैन। पर्वको रुपमा त यसलाई मनाइन्छ। तर, सीताको दुःखद् वैवाहिक जीवनका कारण यो दिन विवाह गर्न बन्द गरिएको बताइन्छ।
भौगोलिक रुपले सीता मिथिलाकी छोरी मानिन्छिन्। त्यसैले पनि मिथिलावासी सीताले पाएको दुःख तथा कष्टका कारण अतिरिक्त रुपमा संवेदनशील छन्। १४ वर्ष वनवासपछि पनि गर्भवती सीतालाई रामले परित्याग गरेका थिए। त्यसरी राजकुमारी सीताले महारानी सीताको सुःख पाउनबाट बञ्चित भएकी थिइन्।
त्यसैले, विवाह पञ्चमीको दिन मानिसहरु आफ्नी छोरीको विवाह गर्न मन पराउँदैनन्। उनीहरुलाई के कुराको आशंका हुन्छ भने कति उनीहरुका छोरीहरुले पनि सीताले झैं दुःख पाउने हुन् कि अथवा उनीहरुका छोरीहरुको विवाहिक जीवन पनि दुःखमय हुने त होइन। केवल त्यति मात्र होइन, विवाह पञ्चमीमा गरिने रामकथाको अन्त्य राम तथा सीताको विवाहमै आएर हुन्छ। किनभने, दुबैको जीवनको अगाडिको कथा दुःख तथा कष्टले भरिएको छ र यो शुभ दिन सुखान्त गरेरै कथाको समापन गरिने परम्परा छ।
राम तथा सीताको विवाहको वर्षगाँठको रुपमा विवाह पञ्चमीको उत्सव मनाउने गरिन्छ। पौराणिक मान्यताका अनुसार मार्गशीर्ष (अगहन) अर्थात् मंसिर महिनाको शुक्ल पक्षको पञ्चमी तिथिमा राम-सीताको स्वयंवर भएको थियो।
यो वर्षलाई हाम्रो देशमा खासगरी मिथिलाञ्चलमा निकै उत्साह तथा आस्थाका साथ मनाउने गरिन्छ। पौराणिक ग्रन्थहरुका अनुसार भगवान राम तथा देवी सीता भगवान विष्णु तथा देवी लक्ष्मीका अवतार हुन्। दुबैले समाजमा आदर्श तथा मर्यादित जीवनलाई उदाहरणीय बनाउनका लागि मानवको अवतार लिएका थिए। मंसिर महिनाको शुक्ल पक्षको पञ्चमी तिथिमा राम-सीताको विवाह मिथिलाञ्चलमा सम्पन्न भएको थियो।
राम-सीता विवाह कथा
पुराणहरुमा के भनिएको छ भने भगवान राम तथा देवी सीता भगवान विष्णु तथा माता लक्ष्मीका अवतार हुन्। राजा दशरथको घरमा जन्मिएका राम तथा राजा जनककी छोरी हुन् सीता। भनिन्छ, सीताको जन्म धर्तीबाट भएको हो। जब जनक हलो जोतिरहेका थिए। तब उनले एउटी सानी बच्चीलाई फेला पारेका थिए। उनैलाई सीता नामाकरण गरिएको थियो। उनैलाई जनक नन्दिनी पनि भन्न थालियो।
मान्यता के छ भने एक पटक बाल्यकालमा सीताले मन्दिरमा राखिएको धनुषलाई निकै सहजताले उठाएकी थिइन्। उक्त धनुषलाई त्यो बेलासम्म परशुरामका अतिरिक्त अन्य कुनै पनि व्यक्तिले उठाउन सकेका थिएनन। त्यसपछि राजा जनकले के निर्णय गरे भने जो व्यक्तिले शिवको उक्त धनुष उठाउँछ, उसैसाग सीताको विवाह गरिने छ।
त्यसपछि सीताको स्वयंवरको दिन निश्चित गरिएको थियो र सबै ठाउँमा उक्त सन्देश पनि पठाइएको थियो। त्यो बेला भगवान राम तथा लक्ष्मण महर्षि वशिष्ठसाग दर्शकको रुपमा त्यही स्वयंवरमा पुगेका थिए। थुप्रै राजहरुले धनुष उठाउने प्रयास गरे। तर, कसैले पनि उक्त धनुषलाई हल्लाउन समेत सकेनन्। हताश जनकले करुण शब्दमा आफ्नो पीडा वशिष्ठसाग व्यक्ति गदै भनेका थिए-के कोही पनि मेरी छोरीको योग्य छैनन् त ?
त्यसपछि महषिर् वशिष्ठले भगवान रामलाई उक्त स्वयंवरमा भाग लिनका लागि आदेश दिए। आफ्ना गुरुको आज्ञा पालना गर्दै भगवान श्रीरामले धनुष उठाए र त्यसमा प्रत्यंचा चढाउन खोज्दै थिए। धनुष भाँचियो। त्यसप्रकार उनले स्वयंवरको सर्त पुरा गरेर सीतासाग विवाह गर्नका लागि योग्य ठहरिए।
राम र सीतालाई नेपाली जनमानसमा प्रेम, समर्पण, मूल्य, मान्यता तथा आदर्शको परिचायक श्रीमान्-श्रीमतीको रुपमा लिने गरिन्छ। इतिहास तथा पुराणहरुमा रामजस्ता कुनै पुत्र, दाजु, योद्धा तथा राजा हालसम्म पैदा नभएको उल्लेख गरिएको छ। त्यसैले गरी इतिहास तथा पुराणहरुमा सीता जस्ती कुनै पुत्री, श्रीमती, आमा, बहु हालसम्म नजन्मिएको उल्लेख गरिएको छ।
त्यसैले पनि हाम्रो समाजमा राम तथा सीतालाई आदर्श श्रीमान्-श्रीमतीको रुपमा स्वीकारिएको छ र उनीहरुकै पूजा गरिन्छ। यसैलाई मध्येनजर गर्दै राम-सीताको विवाहको वर्षगाँठलाई उत्सवको रुपमा मनाउने परम्परा रहँदै आएको छ।