नेपालीहरूको महान् चाड बडादशैंको दशौँ अर्थात् मुख्य दिन आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइन्छ।
बडादशैं भन्नेबित्तिकै रातो टीका र पहेँलो जमरा सँगसँगै जोडिएर आइहाल्छ।
मानिसहरू सम्भव भएसम्म आफैंले विधिपूर्वक जमरा राख्छन्, नभए सामूहिक वा बजारबाट किनेर भए पनि पहेँलो जमरा लगाउँछन्।
तर, जमरा नै किन ? अरू वनस्पतिले किन काम चल्दैन भन्ने बारेमा जान्नु आवश्यक छ। सदियौंदेखि बडादशैंमा जमराको आँकुरा पलाइरहँदा यसको आफ्नै इतिहास ओझेल परेको छ। जौ भनेको पहिलोपटक खेती गरिएको अन्नबाली हो।
बडादशैंमा जमरा लगाउनुको पछाडि कुनै न कुनै वैज्ञानिक आधार रहेको प्रष्ट हुन्छ। हाम्रा पुर्खाले जमराको प्रयोग किन गरे भनेर खोजी गर्न थालेपछि जौमा औषधीय गुण भएकोले नै हुनसक्छ। जौको कलिलो मुना वा जमरामा औषधीय गुण हुन्छ।
हिन्दु ग्रन्थहरूमा जौलाई अन्नको राजा पनि भनिएको छ। जौमा भएको पौष्टिक तत्व अरू अन्नको तुलनामा बढी हुनाले बिरामी हुँदा पनि यसको पिठो र परिकार खुवाउने चलन छ। यस्ता विविध विशेषताका कारण जौको महत्व जोगाइराख्न पूजाअर्चना गर्ने र शिरमा लगाउने गरिएको हो।
सामान्यतया ७ दिनभित्रको जमरा उपयुक्त हुन्छ। संस्कृतमा यसलाई ‘यवरस’ भनिन्छ। ७ दिनभित्रको जमराको जुस आन्तरिक र नसर्ने रोगका निम्ति लाभदायक हुने विज्ञानले समेत पुष्टि गरेको छ।
नयाँ-नयाँ अन्नको आविष्कारसँगै जौको खेती कम हुन थालेको छ। त्यसैले अचेल जौको सट्टा गहुँ वा मकैको बिरुवालाई पनि जमराका रूपमा प्रयोग गर्न थालेको पाइन्छ।