तनहुँ– डिभिजन वन कार्यालय तनहुँले चितुवा आतंक बढ्न थालेपछि चितुवा नियन्त्रणका लागि बनाएको (खोर) पासो प्रभावकारी बन्दै गएको छ।
फलाम र परम्परागत रुपमा काठको खोर पासोको रुपमा राख्ने गरिएको हो। चितुवा आक्रमणबाट प्रभावित १८ स्थानमा पासो राखिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए।
चितुवाले जनमानसमा त्रास बढाएकोले यसको नियन्त्रण गरी सुरक्षित किसिमले वन्यजन्तु संरक्षण क्षेत्रमा पठाउन पासो थाप्ने काम गरिएको उनले बताए।
एक पटक आक्रमण भएको ठाउँमा चितुवाले पुनः पटक–पटक आक्रमण गर्ने सम्भावना बढी हुने भएकाले यसलाई नियन्त्रणमा लिन सोही ठाउँ आसपासमा पासो राख्ने गरिएको उनको भनाइ छ।
पानीको पोखरी बनाएपछि विगतको तुलनामा वन्यजन्तुबाट मानवीय क्षतिमा कमी आएको बताइएको छ। खोला खोल्सीका पानी बस्तीमा लैजाँदा प्यास मेटाउन वन्यजन्तु बस्तीमा पस्दा मानवीय क्षति हुने गरेकाले पोखरी निर्माणलाई प्राथमिकता दिइएको हो।
चितुवाको आक्रमणमा परी ६ वर्षमा तनहुँमा १४ बालबालिकाको मृत्यु र आक्रमणबाट १७ जना घाइते भएका छन्। जिल्लाको भानु, बन्दीपुर, आँबुखैरेनी, व्यासलगायतका पालिकामा चितुवाले सताएको थियो।
चितुवाबाट भानु नगरपालिका धेरै प्रभावित बनेकोमा अहिले बन्दीपुर गाउँपालिकामा त्रास बढ्ेको छ। जिल्लाका विभिन्न स्थानमा भएको चितुवा आक्रमणमा परी १० बालक र चार बालिकाको मृत्यु भएको वन कार्यालय तनहुँका सहायक वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिए।