काठमाडौं- नवौं राष्ट्रिय खेलकुदको अन्तिम दिन विभिन्न खेलका फाइनल भए। उक्त दिन अधिकांश सामूहिक खेलका फाइनल भएका थिए। नेपाली खेल जगतमा धेरै चर्चा पाउने सामूहिक खेलमध्येका हुन फुटबल र भलिबल। कार्तिक ३ गते पोखरा रंगशालामा खेल हेर्न पुगेका समर्थकबाट पनि थाहा हुन्छ- नेपालमा यी खेलप्रति कति क्रेज छ।
पोखरामा दिउँसोको घाम चर्किँदै गर्दा एपीएफको पुरुष भलिबल टिमले स्वर्णपदक जितेको थियो। पहिलो सेट र तेस्रो सेटमा २५ बाट अंक उकालो लागेपछि मात्रा एपीएफले जितेको थियो। यद्यपि उसको जित सोझो सेटमा भएको थियो। फाइनल खेलमा सोझो सेटमा जित निकाल्नु सानो कुरा हो र? पक्कै होइन। त्यसमाथि आर्मीविरुद्ध।
राष्ट्रिय खेलकुदमा दबदबा बनाइरहेको थियो आर्मीले। एपीएफले समूहमा जितेको महत्वपूर्ण खेलहरुमध्ये एक थियो त्यो। त्यति मात्र होइन, उसले महिला पुरुष दुवै फुटबल र महिलातर्फको भलिबलमा पनि स्वर्ण जित्यो।
टिमका लागि यो कति हर्षको कुरा थियो? टिम इभेन्टमा एपीएफको स्वर्ण पदकले कस्तो अर्थ राखेको छ? प्रश्नको जवाफमा एपिएफ भलिबल टिमका कप्तान महेन्द्र श्रेष्ठले भने, ‘राष्ट्रिय खेलकुदमा एपीएफ सबैजसो इभेन्टको फाइनलमा पुग्यो। हामीले भलिबलमा स्वर्ण जित्यौँ। महिला भलिबल, पुरुष र महिला फुटबलजस्तो प्रतियोगितामा हामीले जित्नु गर्वको कुरा हो।’

नवौँ खेलकुदमा महिला फुटबलका खेल वालिङमा भएका थिए। त्यसमा एपीएफले फाइनलमा पुलिसलाई हराउँदै स्वर्ण जितेको हो। पोखरा रंगशालामा आर्मीलाई हराउँदै एपीएफले पुरुष फुटबलमा स्वर्ण जित्यो। त्यो खेल प्रधानमन्त्री शेरबहादुर देउवालेसमेत डेढ घण्टा हेरे।
९० मिनेटसम्म बराबरी भएपछि खेल थप ३० मिनेट लम्बिएको थियो। अनि नजिता पेनाल्टीबाट मात्र निस्कियो। यसरी एपीएफले प्रतियोगिताको अन्तिम स्वर्ण जित्यो। आर्मीलाई नै हराएर।
त्यही दिनको दिउँसो एपीएफले भलिबलमा उपाधि जितिरहँदा पोखरा रंगशालाको गेट छेउकै भलिबल कोर्टमा नाच्नेको लर्को थियो। जितको उच्छवास स्वरबाट निकाल्नेको भीड ठूलो थियो। साथै ठूलो हल्लाखल्ला। चार हजारभन्दा धेरै समर्थकले फाइनल खेलामा रोचाञ्चकता भरेका थिए। ‘एपीएफ र आर्मीको खेल हेर्न आउने दर्शकलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। साथै नमस्कार पनि। समर्थकले गर्दा पनि फाइनल खेल धेरै रोमाञ्चक भयो,’ स्वर्ण पदकको घोषणा हुँदै गर्दा महेन्द्रले भनेका थिए।

नेपालमा भलिबल संघले गराउने प्रतियोगिताहरुमा चाहिँ एपीएफले पछिल्लो समय दबाब बनाउन सकिरहेको छैन। बाँकी टिमहरुले विदेशी खेलाडी ल्याएपछि बुलबुले रारा (जुन अहिले प्रतिबन्धमा छ), टिपटप हेल्प नेपाल, आर्मीजस्ता क्लबहरुले नै भलिबल लिगमा दबदबा बनाइरहेको देख्न पाइन्छ। तर विदेशी खेलाडी नभएको प्रतियोगितामा भने एपीएफले बाजी मार्यो। तर विभागका सबै टिमलाई बराबरी मान्छन् महेन्द्र। उनको भनाइ छ, ‘विभागीय टिम लगभग सँधै बराबरी अवस्थामा नै छन्। वान-टू-वान-टू भइरहेको टिम हो। बरु अहिले हाम्रो खेलाडी घाइते भएर हामीलाई गाह्रो भयो।’
आयोजकले मैदान राम्रो देखाउन खाली जमिनमा म्याट बिछ्याएको थियो। तर म्याटको सतह नमिल्ने र खेलाडी चिप्लने भएपछि धेरै खेलाडी धेरै घाइते भए। भलिबलमा नयाँ अभ्यास थियो।
खेलाडीहरू रुपेन्द्र गैरै, हेमन्त मल्ललगायतका घाइते भए। लुम्बिनीका विजय परियारका साथै गण्डकी र अन्य टिमका खेलाडी घाइते भएका थिए। यसकारणले गर्दाखेरी आयोजकले व्यवस्थापन राम्रो नगर्दा खेरी धेरै खेलाडी घाइते हुन पुगे। अघिको खेलमा घाइते भएका एपीएफकै टेकराज वस्तीले प्रतियागितामै कमब्याक गरेका थिए।

‘बरु माटोमै खेलाइदिए राम्रो नि होइन र? चाहिनेभन्दा नचाहिने नाटक गरे। खेलाडी घाइते भए। दर्शकलाई राम्रो देखाउने निउँमा खेलाडीको स्वास्थ्यमा आपत थापेकोजस्तो भयो,’ महेन्द्रले आक्रोश पोखेका छन्। उनको प्रश्न रह्यो, ‘यो खेल त वास्तवमा कभर्डहलमा खेलाउनु पर्ने हो नि होइन र?’ बरु माटोमा नै खेलाडीले रमाएर खेलेको महेन्द्रले देखे। यता भलिबल संघको खेलहरुमा आर्मीले दबदबा बनाइरहेको छ। यो तोड्नका अब एपीएफले तयारी र गज्जबको ऊर्जा पाएको छ।
तर उनी आर्मीलाई मात्र भलिबलमा 'सुप्रिम' मान्न नहुनेमा पक्षमा छन्। भन्छन्, ‘हाम्रो लिफ्टरले पनि आज राम्रो खेलेको छ। वान टू वान भइहेको हुन्छ। अस्ति भर्खरै मात्र लामाचौरमा विभागीय टिमलाई गण्डकीले जितेको हो। यसकारणले गर्दाखेरी एकछत्र राज चाहिँ छैन।’
उनले अगाडि भने, ‘यो प्रतियोगितामा नयाँ खेलाडी पनि विभागले छनोट गरिसकेको छ। हामी उनीहरुलाई तान्ने प्रक्रियामा छौं। एक दुई जना नयाँ छन्, प्रदेशमा पनि नयाँ खेलाडी देखिएका छन्। त्यसको लागि कोसिस गर्ने हो।’