काठमाडौं– साविक विजेता नेपाल अपराजित रहँदै बंगलादेशमा जारी एभीसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको फाइनलमा प्रवेश गरेको छ। राउन्ड रोविन लिगको अन्तिम खेलमा किर्गिस्तानमाथि सोझो सेटमा जित निकाल्दै नेपालले लगातार दोस्रो संस्करणमा पनि अपराजित रहँदै फाइनलमा स्थान बनाउन सफल भएको हो।
ढाका मिरपुरस्थित साहिद सुरवार्दी इन्डोर स्टेडियममा सोमबार भएको एकपक्षीय खेलमा नेपालले पहिलो सेट २५–८ ले सहजै आफ्नो पक्षमा पारेको थियो। दोस्रो सेट २५–१४ ले आफ्नो पक्षमा पारेको नेपालले तेस्रो सेट २५–१६ ले जित्न सफल भएको हो।
नेपालले लिग चरणमा श्रीलंकामाथि ३–२ को सेटमा जित निकालेको थियो। त्यसपछि माल्दिभ्स, बंगलादेश र उज्वेकिस्तानलाई समान ३–० को सोझो सेटमा हराएको थियो।