काठमाडौं– छैटौं राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब च्याम्पियनसिपमा विभागीय क्लब एपीएफ र होङ्वाङ्जी न्यु डाइमन्डले विजयी सुरुवात गरेका छन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा मंगलवार विहान सम्पन्न खेलमा एपीएफए ढोरपाटन क्लबलाई ३–० सेटले हराएको हो।
ढोरपाटनले पहिलो खेलमै २५–११,२५–७ र २५–६ को लज्जास्पद हार बेहोरेको हो। त्यस्तै आजकै अर्को खेलमा न्यु डाइमन्डले एभरेस्ट भलिबल क्लबमाथि २५–६,२५–५ र २५–१३ को जित निकालेको हो।
जितसँगै एपीएफ र न्यु डाइमन्डले समान ३–३ अंक जोडेका छन्।
प्रतियोगिता अन्तर्गत आज नै पुरुषतर्फ चार खेल हुनेछन्। जहाँ पहिलो खेलमा हेल्प नेपाल र प्रदेश–२ बीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल १२ बजे सुरु हुनेछ ।
त्यस्तै दिउँसो २ बजे हुने दोस्रो खेलमा मणिमुकुन्द भलिबल क्लबले गण्डकी प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ तेस्रो खेलमा विभागीय टोली आर्मीले क्लबले नयाँ बजार सामाजिक युवासँग प्रतिस्पर्धा गर्नेछ। खेल दिउँसो ४ बजे सुरु हुनेछ।
पुरुषको चौथो खेलमा एपीएफले बुढानिलकण्ठ भलिबल क्लबसँग खेल्नेछ। उक्त खेल साँझ ६ बजे सुरु हुनेछ । च्याम्पियनसिपमा पुरुषतर्फ १४ टोली र महिलातर्फ ६ टोलीको सहभागिता रहेको छ।
पुरुषतर्फ सहभागी टोलीलाई ४ समूहमा विभाजन गरिएको छ। हरेक समूहका शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउनेछ। महिलातर्फ ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ।