काठमाडौं- छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको प्रत्यक्ष प्रसारण खेलपाटीले गर्ने भएको छ।
नेपाल भलिबल संघले प्रतियोगिताको प्रत्यक्ष प्रसारणका लागि आह्वान गरेको खुल्ला प्रतिस्पर्धामा छनोट भएर खेलपाटीले प्रत्यक्ष प्रसारण अधिकार प्राप्त गरेको हो।
बुधबार भलिबल संघकी उपाध्यक्ष निरोज मास्के र खेलपाटीका तर्फबाट आशिष पौडेलले प्रत्यक्ष प्रसारण सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार एनभीए क्लब च्याम्पियनसिप अन्तर्गतको सम्पूर्ण खेलहरूको प्रत्यक्ष प्रसारणको अधिकार खेलपाटीले प्राप्त गरेको छ।
संघकी उपाध्यक्ष निरोज मास्केले भलिबल खेलको प्रत्यक्ष प्रसारण अधिकार बिक्री हुनु खुसीको विषय भएको बताइन्। उनले भलिबल खेललाई थप व्यवसायीक बनाउने अभियानमा यसले एउटा कोशेढुङ्गाको काम गर्ने बताइन्।
खेलपाटीका प्रबन्ध निर्देशक आशिष पौडेलले भलिबलसँग जोडिएर काम गर्न पाएकोमा खुसी व्यक्त गरे। राष्ट्रिय स्तरको क्लब च्याम्पियनसिपको प्रत्यक्ष प्रसार नले भलिबलको प्रवर्द्धन र विकासमा थप टेवा पुग्ने धारणा राखेका छन्।
नेपाल भलिबल संघको आयोजनामा सञ्चालन हुन लागेको प्रतियोगिता असोज १० देखि १६ गतेसम्म सञ्चालन हुँदैछ। राखेपको कभर्डहलमा सञ्चालन हुने प्रतियोगितामा देशभर उत्कृष्ट क्लब सहभागी बन्दैछन्।