काठमाडौं- सोमबारका मुख्य घटनाक्रमसहितको नेपाल समय समाचारका प्रमुख शीर्षकहरू:
अब समाचार विस्तारमा
मौन अविधमा मदिरा प्रतिबन्ध
निर्वाचन आयोगले बैशाख २७ गते मंगलबार राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्म मादक पदार्थको विक्री वितरण र सेवन गर्न प्रतिबन्ध लगाएको छ।
निर्वाचन आयोगले सोमबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएको हो। तोकिएको अवधि र ठाउँमा मादक पदार्थको विक्री वितरण र सेवन कार्य गर्न निषेध गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।
निर्वाचन आयोगले निर्वाचनको मिति बैशाख ३० गते भन्दाअघि बैशाख २८ र २९ गते मतदाता परिचय पत्र वितरण गर्न पनि सबै निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ। स्थानीय तह निर्वाचनका लागि मतदान अधिकृतले मतपत्रमा हस्ताक्षर गर्दा सिसा कलम बाहेक कालो, रातो, निलो वा हरियो मध्ये कुनै मसी प्रयोग भएको कलम डटपेनले हस्ताक्षर गर्ने व्यवस्था मिलाउन सबै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई निर्देशन दिइएको आयोगले जनाएको छ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, राष्ट्रिय भूमि आयोगका अध्यक्ष बद्री तिमिल्सिना र उपाध्यक्ष नहेन्द्र खड्कालाई आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको छ।
बागीलाई छाडिँदैन : देउवा
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनमा पार्टीबाट बागी उठेका उम्मेदवारलाई नछाडिने चेतावनी दिएका छन्।
कैलालीको धनगढीमा आयोजित चुनावी सभालाई सोमबार सम्बोधन गर्दै सभापति देउवाले यस्तो चेतावनी दिएका हुन्। बागी उम्मेदवारहरूलाई पार्टीमा कुनै स्थान नभएको भन्दै सभापति देउवाले तत्काल उम्मेदवारी निष्क्रिय गराउन चेतावनी दिएका हुन्।
गठबन्धनको निर्णयअनुसार पार्टीले छाडिसकेपछि बागी उठ्नु गलत भएको उनको भनाइ छ। प्रधानमन्त्री देउवासँगै कैलाली पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
कांग्रेस ‘क्लियर’ नभएको बताएका प्रचण्डले कैलालीमा गठबन्धनले कारबाही गरेका उम्मेदवारलाई भोट मागेर असन्तुष्टि व्यक्त गरेका हुन्। कैलारी गाउँपालिकाको हसुलिया बजारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सहमति विपरीत नेपाली कांग्रेसले उम्मेदवारी दिन लगाएर धोका दिएको प्रचण्डको आरोप छ।
गठबन्धनप्रति असन्तुष्ट बनेर कैलारी उपाध्यक्षका लागि उम्मेदवारी दिएकी लक्ष्मी सत्गौवा थारुलाई भोट हाल्न उनले आह्वान गरेका थिए। गठबन्धनले सिट बाँडफाँड गर्दा कैलारी गाउँपालिकाको अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्ष कांग्रेसको भागमा परेको थियो। तर, गठबन्धनको सहमति तोड्दै कांग्रेसले अध्यक्षका लागि राजसमझ चौधरीलाई उम्मेदवार बनाएको थियो। गठबन्धन गर्दा कांग्रेसको भागमा परेपनि उपाध्यक्षमा लक्ष्मी सत्गौवा थारुलाई माओवादी केन्द्रले उम्मेदवार बनाएको छ।
कांग्रेस र माओवादीले आग्रह गर्दा पनि चौधरी र थारुले उम्मेदवारी फिर्ता लिएनन्। वैशाख १९ गते गठबन्धनले संयुक्त विज्ञप्ति जारी गर्दै दुवै उमेदवारलाई कारबाही गरेको जनाएको थियो।
गठबन्धनविरुद्ध ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले पुनः मतपत्र च्यात्न र चपाउन सक्ने आशंका गरेका छन्।
निर्वाचनमा मतपत्र च्यात्ने, थुत्ने काम गठबन्धनका लागि नौलो नभएकाले उनले मतपत्रको सुरक्षामा गर्न पनि कार्यकर्तालाई आग्रह गरेका हुन्।
अध्यक्ष ओलीले सत्ता गठबन्धनले भोटले चुनाव नजित्ने भन्दै धाँधली गर्न सक्ने आशंका गरेका हुन्। उनले गठबन्धनलाई ५ वटा बाँदरको संज्ञासमेत दिएका थिए।
मतगणना नसकिएसम्म मतपत्रबाट आँखा दायाँबायाँ नगर्न पनि उनको आग्रह छ। एमाले विजयी भइसकेको भएपनि कर्मकाण्ड पूरा बाँकी रहेको ओलीको दाबी छ।
उता, नेपाली कांग्रेसले भने आफूले ल्याएका नीति तथा कार्यक्रमको ब्याज एमालेले खाने गरेको टिप्पणी गरेका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा प्रकाशशरण महतले कांग्रेसका राम्रा कामलाई पनि आफूले गरेको भन्दै जस लिन खोज्ने पार्टी भएको आरोप लगाए।
कांग्रेसले लिएको आर्थिक उदारीकरणको नीतिले जताततै निजी उद्योग फस्टाएको उनको दाबी छ। एमालेसँग कांग्रेसको विरोध गर्ने कुनै आधार नै नभएको महतको भनाइ छ।
प्रवक्ता महतले सुशासन, कानुनी शासन, संविधानको रक्षा र मुलुकको विकास कुनै पनि अर्थमा ओली असफल भएको भन्दै उनलाई जनतामा गएर मत माग्नै कुनै आधार नरहेको टिप्पणी गरे। लोकतन्त्रलाई बलियो बनाउन, संविधानलाई बलियो बनाउन सत्तारुढ गठबन्धन सँगसँगै अघि जाने विश्वास समेत व्यक्त गरे।
प्रवक्ता महतले निर्वाचनको शिलशिलामा रुकुम पश्चिम, महोत्तरी, नुवाकोट, सिन्धुपाल्चोकसहितका जिल्लाहरुमा आफ्ना पार्टीका कार्यकर्ता माथि आक्रमण गरेको भन्दै आपत्ति जनाए। उनले ओलीलाई निर्वाचन आचारसंहिताको पालना गर्न सचेत गराउन निर्वाचन आयोगको ध्यानाकर्षण समेत गराएका छन्।
फुट्यो विप्लव नेकपा
पार्टीका महासचिव नेत्रविक्रम चन्द समूह संसदवादमा फस्न लागेको भन्दै असन्तुष्टि पक्षले छुट्टै नेपाल कम्युनिष्ट पार्टी (बहुमत) गठन गरेको छ ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी औंपचारिक रुपमा घोषणा गरिएको पार्टीको संयोजक नेकपाका असन्तुष्ट समूहका नेता धर्मेन्द्र बास्तोला रहेको जानकारी गराइएको छ। कतिपय केन्द्रीय सदस्यलाई एमालेको चुनाव चिन्हबाट चुनाव लडाएर पार्टीलाई संसदीय व्यवस्थामा फसाउने षडयन्त्र भएपछि त्यसलाई अस्वीकार गर्दै आफूहरुले नयाँ पार्टी गठन गर्नु परेको संयोजक बास्तोलाले बताए।
नयाँ आफ्नो पार्टीको कार्यनीति वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्ने रहेको र त्यसका लागि मुलुकको समृद्धि र स्वाधिनताको नारालाई अघि बढाउने रहेको योजना रहेको उनले स्पष्ट पारे।
पार्टीले जनताबाट लिएर जनतालाई नै दिने, तथ्यबाट सत्यको खोजी गर्ने, अनुसन्धान नगरी नबोल्ने, जनतासँग माछा र पानीको सम्बन्ध कायम गर्ने माओवादी नीतिमा आफूहरु प्रतिवद्ध रहेको पनि जनाएको छ ।
बढ्यो नेप्से
साताको दोस्रो दिन सोमबार नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ । साताको पहिलो कारोबारको दिन आइतबार १७.९५ अंक बढेको नेप्से सोमबार पनि निरन्तरता दिएको हो।
सोमबार नेप्से परिसूचक १२.२७ अंक बढेर २२६८.८४ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.१२ अंक, फ्लोट इण्डेक्स ०.९२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९४ अंकले बढेको छ ।
सोमबार कारोबारमा आएका २२२ कम्पनीको ३३ लाख २४ हजार कित्ता शेयर १ अर्ब ३९ करोड ६ लाख ७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार १ अर्ब ३२ करोड ६४ लाख २१ हजार रुपैयाँ बराबर भएको थियो । आइतबारको तुलनामा सोमबार कारोबार रकम पनि सामान्य वृद्धि भएको छ ।
नेप्सेका १३ वटा उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ४ उपसमूहको परिसूचकमा गिरावट आएको छ । जसमा व्यापार उपसमूह सबैभन्दा बढी १.७४ प्रतिशत बढेको छ । त्यस्तै, लघुवित्त उपसमूहको परिसूचक १.३३ प्रतिशतले वृद्धि भएको छ । बैंकिङ्ग, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन , जलविद्युत, अन्य उपसमूह र वित्त उपसमूहको परिसूचक ० प्रतिशत भन्दा बढीले बढेको छ । तर यता जीवन बीमा, होटल तथा पर्यटन, विकास बैंक र लगानी उपसमूहको सुचकमा गिरावट आएको छ ।
सोमबार जाल्पा लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, महुली लघुवित्तको शेयरमूल्य ७.७७ प्रतिशत बढेको छ। यता हिमालयन उर्जा विकास कम्पनी, स्वरोजगार लघुवित्तको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले गिरावट आएको छ ।
सोमबार कारोबार रकमका आधारमा ७ करोड ८३ लाख ५३ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ । एनआईसी एशियाको ५ करोड ४ लाख रुपैयाँ शेयर कारोबार भएको छ ।
संकट चुलिएपछि राजीनामा
श्रीलंकामा आर्थिक संकटका कारण हिंसा बढ्दै गएपछि प्रधानमन्त्री महिन्दा राजापाक्षेले सोमबार राजीनामा दिएका छन्।
देशव्यापी रुपमा उनको विरोधमा प्रदर्शन भइरहँदा सोमबार राजीनामा आएको हो। यसअघि राष्ट्रपति गोताबाया राजापाक्षेले शुक्रबार एक विशेष बैठकमा प्रधानमन्त्रीलाई देशको राजनीतिक संकट समाधानका लागि राजीनामा दिन आग्रह गरेका थिए।
यससँगै राष्ट्रपति राजापाक्षेले संयुक्त मन्त्रिपरिषद् गठनका लागि सर्वदलीय बैठक आह्वान गर्नसक्ने अपेक्षा गरिएको छ। तर यसअघि विपक्षी दलका नेता सजिथ प्रेमदासाले अन्तरिम सरकारमा प्रधानमन्त्रीको पद स्वीकार नगर्ने बताएका थिए।
श्रीलङ्का हाल विदेशी मुद्राको अभावबाट उत्पन्न भएको आर्थिक सङ्कटबाट गुज्रिरहेको छ जसले इन्धन, खाद्यान्न र औषधि जस्ता अत्यावश्यक आपूर्तिहरूको अभाव निम्त्याएको छ। सरकार र सांसद्लाई तत्काल समाधान खोज्न माग गर्दै केही दिनदेखि आन्दोलन जारी छ।
सोमबार बिहान भने प्रधानमन्त्री निवास नजिकै टेम्पल ट्रीसको अगाडि प्रधानमन्त्रीका समर्थकहरूले उनलाई राजीनामा नगर्न आग्रह गर्दै प्रदर्शन गरेका थिए। उक्त प्रदर्शनमा विरोधीहरूसँग झडप हुँदा उत्पन्न तनाव कम गर्न प्रहरीले कर्फ्यू समेत घोषणा गरेको थियो।
सिरिजको अन्तिम खेलमा २१४ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ३३ ओभरअघि नै चार विकेट गुमाउँदै लक्ष्य पूरा गरेपछि सिरिज जितेको हो।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा सम्पन्न खेलमा जिम्बावेले ३२ ओभर एक बलमा सम्पूर्ण विकेट गुमाएर २३१ रन बनाएपछि नेपालले २१४ रनको लक्ष्य पाएको थियो। जवाफमा नेपालले १७ बल बाँकी रहँदै लक्ष्य पुरा गरेको हो।
बिहान साढे ९ बजे खेलको समय निर्धारण गरिए पनि मैदानको आउटफिल्ड खेल्नलायक नभएपछि खेल साढे दुई घण्टा धकेलिएको थियो। यसकारण एक दिवसीय खेललाई ३३ ओभरमा छोट्याइयो। छोट्याइएको खेलको दोस्रो पारीमा कुशल भुर्तेलले नेपाललाई सुरुबाटै जितको बाटो देखाए।
६१ बलमा सात चौका र चार छक्काका साथ ८४ रन बनाएपछि कुशललाई मवुताले कियाको हातबाट क्याचआउट गराएका थिए। अर्को नेपाली ओपनर आसिफले मभुताकै हातबाट आउट हुनुअघि २९ रन बनाइसकेका थिए। यससँगै ओपनिङमा ७३ रनको साझेदारी गर्यो। नेपालका लागि तेस्रो नम्बरमा मैदान छिरेका सुनिल ६ रनमै आउट भए।
यता, जिम्बावेविरुद्ध चम्किन नसकेका दिपेन्द्रले अन्तिम खेलमा अर्धशतक बनाए। उनले ४३ बलमा ६० रन बनाए। विनोद भण्डारीले पनि २८ रनको योगदान दिए। आजको खेलमा युवा बलर किशोर महतोले सर्वाधिक पाँच विकेट लिए।