काठमाडौं- काठमाडौंको ठमेलस्थित नगरकोट दोहोरी साँझ दोहोरी गायन प्रतियोगितामा उत्कृष्ट भएको छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले आयोजना गरेको ‘छैटौं टुबोर्ग राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरी गीत प्रतियोगिता–२०७८’ मा नगरकोट दोहोरी साँझ उत्कृष्ट भएको हो।
विभिन्न ६० वटा लोक दोहोरी टोलीलाई उछिन्दै नगरकोट दोहोरी साँझले प्रथम पुरस्कार उचालेको छ। मुलुकका ४५ भन्दा बढी जिल्लाबाट यो प्रतियोगितामा विभिन्न ६१ वटा टोली सहभागी भएका थिए।
१६ चैतबाट काठमाडौंको भृकुटी मण्डप बगैँचामा प्रतियोगिता सुरु भएको थियो। उत्कृष्ट चयनसहित पुरस्कार प्रदान गर्दै आइतबार साँझबाट प्रतियोगिता सम्पन्न भएको छ।
खुला प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा नगरकोट दोहोरी र गामबेसी दोहोरी साँझ बीच कडा प्रतिस्पर्धा भएको थियो। जसमा गामबेसी दोहोरी साँझलाई पछि पार्दै नगरकोट दोहोरी साँझको टोली जीवन सिग्देल र अस्मिता डल्लाकोटी उत्कृष्ट भए।
उनीहरूले लोक दोहोरीतर्फको राष्ट्रिय रनिङ शिल्डसँगै २ लाख ५० हजार रुपैयाँ, पदक र प्रमाणपत्र प्राप्त गरेका छन्।
प्रतियोगितामा गामबेसी दोहोरी साँझ दोस्रो भयो। गामबेसी दोहोरी साँझ काठमाडौंका अर्जुन खड्का र शान्ता ओली द्वितीय पुस्कार स्वरुप ट्रफी, पदक र रु १ लाख ५० हजार रुपैयाँ प्राप्त गरेका छन्।
यस्तै प्रतियोगितामा दुई समूहले तृतीय स्थान हासिल गरेका छन्। अन्तिम प्रतिस्पर्धामा उत्रिएर पहिलो र दोश्रो हुनेसँग भिडेका बाँकी दुई टोली काठमाडौंको क्विन रोदी क्लब र लुम्बिनी प्रदेश लोक तथा दोहोरी गीत प्रतिष्ठान तृतीय भएका हुन्।
तेश्रो हुने टोलीले १ लाख रुपैयाँसहित ट्रफी, पदक र प्रमाणपत्रप्राप्त गरेका छन्। क्विन रोदी क्लबका श्याम राना र हरिमाया रायमाझीसँगै लुम्बिनी प्रदेश लोक तथा दोहोरी गीत प्रतिष्ठानका विक्रमबाबु विश्वकर्मा र लक्ष्मी बस्नेतले तृतीय स्थान हासिल गरेका हुन्।
आयोजक राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजी, संरक्षक पृथ्बी थकालीसहित पूर्व अध्यक्ष तथा अन्य अतिथिले उनीहरूलाई कार्यक्रममा पुरस्कार प्रदान गरेका थिए।
यसै गरी प्रतियोगितामा समुन खड्का, राजु लामिछानेले उत्कृष्ट पुरुष कलाकारको तथा पुजा पुन र अर्चना चापागाईंले उत्कृष्ट महिला कलाकारको पुरस्कार जिते। उनीहरूले पुरस्कार स्वरुप जनही १० हजार रुपैयाँ र प्रमाणपत्र पाए।
यस्तै अनुशासित टिमको पुरस्कार ओखलढुँगा लोक दोहोरी प्रतिष्ठान टिमले हासिल गरेको छ। उत्कृष्ट अनुशासित टिमको पुरस्कार स्वरुप उनीहरूले प्रमाणपत्र र १० हजार रुपैयाँ पाए।
प्रतियोगितामा निकै राम्रा गीत गाएका नव कलाकार निशान्त विक र दिल कुमारी बिकले नव प्रतिभा प्रोत्साहन पुरस्कार स्वरुप जनही ५ हजार रुपैयाँ र प्रमाणपत्र पाए। यसै गरी भद्रकाली आमा समुहलाई प्रोत्साहन पुरस्कार स्वरुप ५ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरियो।