सोमबार, माघ ३, २०७८
  • गृहपृष्ठ
  • श्रृंखला
  • पेन्सनपट्टासँगै विगत बन्यो सैनिक हिरासतमा मैले पाएको यातनाको कथा [भिडियोसहित]

नेपाल समय
'गन'ले अन्याय, 'गन'ले न्याय–एक्स्क्लुसिभ

पेन्सनपट्टासँगै विगत बन्यो सैनिक हिरासतमा मैले पाएको यातनाको कथा [भिडियोसहित]

अनिल यादव  |  काठमाडौं, मंगलबार, पुष २७, २०७८
अनिल यादव

अनिल यादव

काठमाडौं, मंगलबार, पुष २७, २०७८

हतियार चोरीको आरोपमा झन्डै दुई वर्ष जेल बसेर निस्केका सैनिक अमल्दार लवकुमार गुरुङले सेनाको जागिरबाट स्वेच्छिक अवकाश लिएका छन्। अवकाशपछि पेन्सनपट्टाको कागज लिएर नेपाल समयको कार्यालय आएका उनले आफूमाथिको अन्याय, विभेद र यातनाको कथा सविस्तार बताए। यसअघि नेपाल समयले उनका विषयमा ‘गनले अन्याय, गनले न्याय’ शीर्षकमा श्रृंखलाबद्ध रिपोर्टिङ गरेको थियो। लवकुमारले जागिर छाडेपछि हाम्रा सहकर्मी अनिल यादवसँग सुनाएको आफ्नो यातनाको कथा जस्ताको तस्तैः 

०७४ सालतिर मेरो पल्टन झापा हुँदा म शान्ति सेनाका लागि कंगो मिसनमा गएको थिएँ। ०७५ सालमा फर्कंदा म आबद्ध रहेको कालिबहादुर गण झापाबाट चितवन सरेको रहेछ। त्यसैले मिसनबाट झरेपछि म सिधै चितवन पुगेँ। 

मिसनबाट फर्किएपछि नेपाली सेनाभित्र हाकिमलाई कोसेली बुझाउने प्रचलन थियो। तर, पूर्णचन्द्र थापा प्रधानसेनापति भइसकेपछि यो प्रचलनलाई हटाउने परिपत्र भएको थियो। तैपिन म गण पुगेपछि मेजर दीपेन्द्र श्रेष्ठले कोसेली खै भनेर साेध्नुभयाे। मैले सिधै इन्कार गरेँ। मैले भनेँ, ‘कोसेली बुझाउनु पर्दैन, हेडक्वार्टरबाट परिपत्र भएको छ, मलाई कारवाही हुन्छ, म दिन सक्दिनँ सर।’ 

तर, उहाँ मान्नुभएन। ‘यो पुरानो नियम हो, दिनैपर्छ’ भनेर अड्डी कसिरहनुभयो। त्यसपछि मैले दुइटा रेडलेबल तिरेरै छाडेँ। श्रीमती प्रमिलालाई पनि बाध्य भएर कोसेली दिनुपरेको कुरा सुनाएँ। 

मिसनबाट फर्किएपछि ब्यारेकभित्र मेरो डिउटी क्वाटरगार्डमा राखिएको थियो। क्वाटरगार्डमा मेरो फर्स्ट कमान्डर हुनुहुन्थ्यो पदमजंग कुँवर। मचाहिँ सहायक कमान्डर थिएँ। हामीसँग सिपाहीहरुमा ८ जना हुनुहुन्थ्यो। जम्मा हामी ११ जना थियौँ।

म भर्खर मिसनबाट आएकाले मेरो सामानहरु ठीक हालतमा थिएनन्। क्वाटरगार्डको डिउटीमा बस्दा बुट टल्केको चाहिन्छ, खुकुरी टल्किनुपर्छ, मूर्ति टल्किनुपर्थ्यो। युनिफर्म राम्रो हुनुपर्थ्यो। तर, मेरो त कपडा पनि च्यातिएको र ढुसी आइसकेको अवस्थामा थियो। त्यसैले मैले तत्काल डिउटी गर्न नसक्ने कुरा हाजिरालाई जानकारी गराएँ। 

तर पनि ‘तिमी सिनियर मान्छे हो’ भन्दै डिउटीमा खटाएरै छाडियो। मलाई सम्झाइयो, ‘दिनमा चार घण्टा डिउटी त हो, त्यसपछि रेस्ट गर्दा भइहाल्छ नि।’

त्यसपछि ‘ल ठिकै छ त’ भनेर साथीकै कपडाहरु सापटी मागेर भए पनि ०७५ पुस ३ गते बिहान ८ बजे म क्वाटरगार्ड चढेको थिएँ।। 

पुस ०४ गते डिउटी अदलीबदली हुनुपर्ने थियो तर सरसफाइ र रंगरोगन आदि कामले ब्यारेक व्यस्त अवस्थामा थियो। व्यस्तताकै कारण ४ गतेका लागि पनि हाम्रो डिउटी थमौतीमा राखियाे। 

मिसनबाट फर्किएपछि नेपाली सेनाभित्र हाकिमलाई कोसेली बुझाउने प्रचलन थियो। तर, पूर्णचन्द्र थापा प्रधानसेनापति भइसकेपछि यो प्रचलनलाई हटाउने परिपत्र भएको थियो। तैपिन म गणमा पुगेपछि मेजर दीपेन्द्र श्रेष्ठले कोसेली खै भनेर सोध्नुभयाे। मैले सिधै इन्कार गरेँ।

ब्यारेकभित्र सधैँ बिहान झण्डा चढाउने, बेलुका झार्ने काम हुने गर्छ। ४ गते साँझ ६ बजेतिरको कुरा हो। सिपाही सरोज तामाङले सधैँझैं झण्डा झारेपछि मलाई साेधे, ‘म एकछिन रिचार्ज कार्ड किनेर आउँछु है।’ मैले मेरो सिनियर कमान्डरलाई जानकारी गराएँ र बाहिर पठाइदिएँ।

तर ऊ बाहिरै जमघटमा भुलेछ। बाहिर गएको एक घण्टापछि ७ बजेतिर म आफै बाहिर गएँ र उसलाई लिएर आएँ। ब्यारेक नजिकै थियो मेरो डेरा। डेरामा खाना तयार गरेर मलाई कुरिरहेकी थिइन् श्रीमती। त्यसैले त्यसदिन मेरो सिनियर कमान्डर पदमलाई ‘ल जोडा म लागेँ’ भनेर ब्यारेकबाट डेरातिर निस्किएँ। 

मिसनबाट फर्किएपछि साह्रै खुशी थियौँ हामी। १५–१६ वर्ष जागिरमा गरेकाे दुःख पनि भुलेका थियौं। शान्ति मिसनमा जान पाएपछि सेना र प्रहरीभित्र को खुशी नहोला र! झन् हामी जुनियर तहका कर्मचारीका लागि त यो एउटा सपना नै हुन्छ। अलि अलि कमाउने आशा हुन्छ। 

लवकुमार गुरुङ

अब कुरा गरौं पुस ५ को। बिहान ५ बजे नै म डिउटीमा हाजिर भएँ। आजचाहिँ कोतगार्डको डिउटी बदलिने कुरा थियो। त्यत्तिकैमा बिहानको ८ बज्यो। एकाएक क्वाटरगार्डमा होहल्ला सुनियो। कोतेहरु क्वाटरगार्डतिर थुप्रिन थाले। यस्तो संवेदनशिल ठाउँमा मान्छेहरु थुप्रिएपछि म चकित भएँ। करोडौंको हातहतियार जम्मा हुने ठाउँमा धेरैजना भेला भएपछि सजग त हुनैपर्‍यो।

अचानक थाहा भयो– गार्ड कमान्डर हामी थियौं तर हामी कसैलाई जानकारी नगराइ सिधै कोतेबाट माथिल्लो निकायमा एउटा एसएमजी गन हराएको रिपोर्टिङ पुगेछ। कोतगार्ड कमान्डर पदम रातोनिलो हुँदै, हस्याङफस्याङ गर्दै मेरो छेउ आइपुग्यो र भन्यो, ‘हतियार हराएछ। हतियार हराएको रिपोर्ट डेल्टा अफिसर, जमदार, सुवेदार सबैलाई भइसकेछ। हामीलाई केही थाहा छैन। अब के भन्ने ? के गर्ने?

हाम्रो त थुकमुख सबै सुक्याे। 

त्यसपछि डिउटीमा भएका सबैलाई लाइनमा राखियो। क्वाटरगार्डको पछाडिपट्टी हेर्दा हतियार चोर्दा प्रयोग गरिएका अंकुशे, डोरी भेटियो। तर, गन भेटिएन। लगत्तै ब्यारेक सिल भयाे। क्वाटरगार्डमा रातो झण्डा गाडियाे। अनि सबैको मोबाइल तत्काल सिज भयाे।

हतियार कहाँ हरायो? सबैलाई लस्करै लाइनमा राखेर सोधपुछ सुरु भयो। 

जब मेरो पालो आयो, मैले अघिल्लो दिन अर्थात् ४ गते सरोज रिचार्ज किन्छु भनेर एकछिन बाहिर गएको र म डिउटी सकेर डेरा गएको कुरा नढाँटी सुनाएँ। 

हाम्रो त थुकमुख सबै सुक्याे। त्यसपछि डिउटीमा भएका सबैलाई लाइनमा राखियो। क्वाटरगार्डको पछाडिपट्टी हेर्दा हतियार चोर्दा प्रयोग गरिएका अंकुशे, डोरी भेटियो। तर, गन भेटिएन।

त्यसपछि म, सरोज तामाङ, सिपाही सुवी गुरुङ लगायत अन्य दुईजना कोतेलाई बेग्लै लाइनमा खडा गरियो। एक्कासि हतकडी लगाइयो। आँखामा पट्टी बाँधियो। अनि दोहोर्‍याइतेहेर्‍याइ उही प्रश्न सोध्न थालियो– ‘आफूखुसी किन बाहिर गइस्? हतियार कहाँ लगिस्? बाहिर जाने उद्देश्य के हो?’

जबकी त्यतिबेलासम्म हतियार हराएको हो कि होइन भन्ने पनि मलाई राम्रोसँग थाहा थिएन। हामीले लगेको भए पो हामीलाई थाहा हुन्थ्यो। लगेको छैन भनिरह्यौं तर, सोध्न छाडिएन। हुँदाहुँदा अब कुटपिट पनि सुरु भयो। दाउराले हिर्काउन थाले। त्याे पनि काँचो डन्ठाले। ‘थाहा छैन’ जवाफ दिनासाथ डन्ठाले हानिहाल्ने। एउटा लौरो भाँचिन्थ्यो, फेरि अर्कोले हानिहाल्ने। लौरो त कति भाँचियो, भाँचियो! 

हामीलाई आरोप लगाइयो– ‘अरु कोही पनि बाहिर गएको छैन, तिमीहरु गएका थियौ, तिमीहरुले नै हतियार लगेका हौ।’

बारम्बार एउटै प्रश्न, ‘हतियार कहाँ लगिस्, बाहिर लग्नुको कारण के हो ?’

मैले पटकपटक भनेँ, ‘हे भगवान मैले लगेको छैन। म यस्तो काम गर्ने मान्छे नै होइन, थाहा छ त तपाईंलाई।’

यतिबेला हाम्रो हातमा पछाडिबाट हतकडी बाँधिएको छ। सोधपुछसँगै कुटपिट बन्द भएको छ। करिब एक-डेढ घण्टापछि त एउटा लौरो होइन, एकैपल्ट चार-पाँचवटा लौरा नै प्रहार हुन थाल्यो, बेहोस नै हुने अवस्थासम्म। बेहोस भएर ब्युझिँदा पनि लौरो प्रहार नै भइरहेको हुन्थ्यो। कल्पना गर्नुस्, कति कुटाइ खाइयो होला!

लवकुमार गुरुङ र सरोज तामाङ

खोटाङको डाँडाबाट पल्टनमा भर्ति हुन्छु भन्दै ०६० सालतिर द्वन्द्वकालको समयमा मैले नेपाली सेनामा जागिर खाएको हुँ। कति द्वन्द्वकालमा युद्धदेखि डराएर भागे होलान् तर म देशको लागि लड्छु भनेर हिँडेँ। त्यति लामो अपरेसनमा संगठनसँगै हिडेँ। कहीँकतै केही गल्ती गरिनँ। जागिर खाएको पनि १५–१६ वर्ष भइसकेको थियो। पेन्सन पाक्नै लागेको थियो। यस्तो अवस्थामा म आफ्नो बुद्धि बिगारेर गन चोर्थे होला त? 

मैले यो सब कति भनें, भनें, तर कसैले सुनेन। 

त्यस्तै पुस १२ गतेतिर हुनुपर्छ, महासेनानी राजेन्द्रमणी गिरीको अध्यक्षतामा गठन भएको कोर्ट अफ इन्क्वायरीको टोली गण आइपुग्याे। यता हामीलाई कुट्ने, यातना दिने, कबुल गराउन खोज्नेमा मेजर दीपेन्द्र श्रेष्ठदेखि क्याप्टेनहरु विज्ञान विष्ट र गणेश भट्टराई हात धोएर लागेका थिए। सायद कोसेली बुझाउने बेलामा मैले दिन्न भन्दा भएको भनाभन पनि मेजर श्रेष्ठको मनमा इख बनेर बसेको थियो। 

खोटाङको डाँडाबाट पल्टनमा भर्ति हुन्छु भन्दै ०६० सालतिर द्वन्द्वकालको समयमा मैले नेपाली सेनामा जागिर खाएको हुँ। कति द्वन्द्वकालमा युद्धदेखि डराएर भागे होलान् तर म देशको लागि लड्छु भनेर हिँडेँ।

त्यसपछि यी सबै हाकिमहरुले कोर्ट अफ इन्क्वायरीको टोलीसँग हतियार हामीहरुले नै लगेको छ भन्दै ब्रिफिङ गरे। ‘यिनीहरुले कबुल गरेको छैन तर हामी कबुल गराएरै छाड्छौं, हजुर तनाव नलिनुस्,’ महासेनानी गिरीसँग उनीहरुले यस्तै रिपोर्ट गरिरहे। अनि, कोर्ट अफ इन्क्वायरीले पनि त्यही पत्याइरह्यो।

०००

धनबहादुर गुरुङ भन्ने धामी थिए त्यहाँ। अहिले पनि त्यहीँ छन्। गन चोर पत्ता लगाउन त्यतिबेला उनको पनि सहारा लिइयो। उनले पनि ‘चोर यहीँ भित्रै छ, यिनीहरु पाँचजनामध्ये नै छ’ भनिदिए। यतिमात्रै होइन, जसले चोरेको छ, उसलाई अहिले ठाउँको ठाउँ खुन छदाइदिन्छु सम्म भने। 

अनि त्यसपछि झारफुक गरिएको चामल हामी पाँचैजनालाई खुवाइयो। तर हामी कसैले खुन छादेनौं। चोरेको भए पो छाद्नु! तरपनि हाकिमहरुको मन मानेन। दोश्रोपल्ट अर्को वरिष्ठ धामी ल्याइयो। उसले पनि त्यसैगरी कताकता मातालाई फुकेर ल्याएको चामल खुवायो। हामीले खायौं, तर अहँ उनीहरुले भनेजस्तै खुन छादेनौं। जिन्दगीमा कहिल्यै चोरेको भए पो छाद्नु। 

०००

मैले चोरेको हो भन्ने बयान कबुल गराउन त कति यातना दिइयो-दिइयो। डेढ सय मिटरको पाइप क्लियर (नभाँचिएसम्म) हुने गरी हानियाे। एकपल्ट प्रहरीका असइ आइपुगेका थिए, हाम्रो पोलिग्राफ टेस्ट गर्न। 

त्यतिबेला कुटपिटले शरीर पूरै काँपिरहेको थियो। नाकबाट रगत आइरहेको थियो। मान्छे त देख्थेँ, हल्का बोल्न त सक्थेँ तर होसमा थिइनँ। त्यस्तो अवस्थामा पनि ती प्रहरीले आएर हामीलाई पोलिग्राफ टेस्ट गर्दै अनेक प्रश्न सोधे। मिसनबाट फर्किंदा एकपल्ट श्रीमतीसँग सामान्य झगडा परेको थियो। त्यतिबेला दुई झापड हानेको थिएँ। 

पोलिग्राफ टेस्टका क्रममा हरेक प्रश्नको आरोप मैले ‘छैन’ भन्दै अस्वीकार गरेँ। तर, श्रीमतीलाई कुटेको छ कि नाइँ भनेर सोधिएको प्रश्नमा पनि ‘छैन’ भन्दिएँ। त्यही कारण होला, पोलिग्राफ टेस्टमा झुट बोलेको देखाइदियाे। 

त्यसपछि त पोलिग्राफले पनि दोषी देखायो भन्दै हामीमाथि यातनाको अर्को डरलाग्दो तह सुरु भयो। 

यतिसम्म कि हिरासतमा मलाई एकातिर सरोजलाई अर्कोतिर लगेर राखिएको थियो। लगभग मलाई नाङ्गै पारिन्थ्यो। दुइटै हात पछाडि डोरीले बाँधिएको हुन्थ्यो। अनि कुर्सीमा सर्लक्कै सुताएर शरीरका भागहरुमा जथाभावी हानिन्थ्यो। जतिपटक चोरेको छैन भन्यो, त्यति धेरै यातना दिइन्थ्यो। अति भएपछि म भन्थेँ, ‘मलाई अनावश्यक टर्चर नदे, तिमीहरुलाई जे गर्न मन छ गर, बरु मार्दे।’

त्यतिबेला कुटपिटले शरीर पूरै काँपिरहेको थियो। नाकबाट रगत आइरहेको थियो। मान्छे त देख्थेँ, हल्का बोल्न त सक्थेँ तर होसमा थिइनँ। त्यस्तो अवस्थामा पनि ती प्रहरीले आएर हामीलाई पोलिग्राफ टेस्ट गर्दै अनेक प्रश्न सोधे।

यातना यो तहमा पुगेपछि जो आए पनि मैले सम्मानको भाषा बोल्न छाडिदिएँ। जसलाई पनि मेरो सम्बोधन तपाईंबाट तँमा झर्याे। म भन्थेँ, ‘मलाई जिउँदो छाडिस् भन्ने तेरो उल्टो गन्ती सुरु गर्दा हुन्छ।’  

लवकुमारकी श्रीमती प्रमिला र सरोज तामाङकी आमा माया तामाङ।
गणमा हतियार हराएपछि खासमा त्यतिबेला सबै हाकिमहरु जागिर जोगाउने अभियानमा लागेका थिए। उनीहरुलाई जसरी पनि अभियुक्त खडा गर्नु थियो, हतियार चोर खडा गर्नु थियो। नत्र उनीहरुमाथि नै संकट आइसकेको थियो। र, त्यसकै गोटी बनाइयो हामीलाई। 

हिरासतभित्र हामीलाई पिट्न मुखमा मास्क लगाएर आउँथे कमान्डोहरु। मुख छाड्दै आउँथे अनि यति कुट्थे कि हामी बेहोस नै हुन्थ्यौं। कुटपिटले मःमको किमाजस्तै बनेको थियो मेरो शरीर। त्यसका दागहरु अझै पनि शरीरमा देख्न सकिन्छ। (भिडियोमा उनले देखाएका पनि छन्। मुनि हेर्न सक्नुहुनेछ)

सेनाभित्र स्पेसल फोर्स बनाइएको हुन्छ। उनीहरुलाई विशेष तालिम दिएर तयार गरिएको हुन्छ। थाहा छ, मलाई कुट्न तिनै स्पेसल फोर्सका सैनिकहरु आएका थिए। जब मलाई कुट्न उनीहरुलाई आए, यस्तो लाग्यो- यस्तो फोर्स त हामीजस्ता निर्दोष सिपाहीलाई कुट्न पो तयार गरिने रैछ। साह्रै नमिठो लाग्यो। मन भक्कानिएर रोयो। तिनीहरुको कुटाइले मेरा शरीरका अंगहरु घाइते भए, अझै घाइते नै छन्। जागिरमा पुनर्बहाली त भएँ तर पहिलेजस्तो तन्दुरुस्त हुन सकिनँ। न पहिलेजस्तो दौडन सकेँ, न परेड हान्न नै सकेँ। घाइते हुँदाहुँदै पेन्सन पाक्यो। अनि जागिर छाड्ने निर्णयमा पुगेँ। आफ्नै संगठनबाट यति कठोर यातना पाएपछि बस्न मन कसलाई पो लाग्दो हो! 

०००

गन हराएको करिब एक महिना हामीलाई कालिबहादुर गणमै राखियो र त्यसको एक महिनापछि नजिकै रहेको सिंहनाथ गणको हिरासतमा पुर्‍याइयो। सरोज कहाँ छ, उसलाई के गरिँदैछ मलाई केही थाहा छैन। सरोज र मबाहेक अरु लगभग छुटिसकेको कुरा सुनेँ। मुख्य तीर हामीतिरै सोझिएको थियो।

सिंहनाथ गणमा एकपल्ट मेरो आँखाको पट्टी खोल्दा एउटा सैनिक अधिकृत सिभिल ड्रेसमा देखा परे। ‘ओ भाइ, अब त भन्दे, जानी जानी तेरो शरीरलाई किन खाजा बनाउँछस्, यसरी त प्यारालाइसिस हुन्छस्, उस्तै भयो भने मर्छस्,’ उनी मलाई हतियार चोरेको कबुल गराउन आएका रहेछन्। तर मैले उनको कुरा सुन्दै सुनिनँ, मान्दै मानिनँ। भनिरहेँ, ‘मैले चोरेकै छैन सर कसरी स्वीकार्नु? नखा’को विष पनि लाग्छ र?’

मलाई उनले तेरो घरमा कोको छ भनेर पनि सोधे। मैले भाइ, बुहारी, श्रीमती, छोरी सबै भएको सुनाएँ। त्यसपछि धम्क्याउँदै भन्न थाले, ‘तैले हतियारबारे भनिस् भने तँलाई फूलमाला लगाइन्छ, तर भनिनस् भने तेरो श्रीमतीलाई मुम्बईको कोठीमा पुर्‍याइदिन्छौं। अनि कोठीमा बेचेर आउने मूल्यले हतियार किन्छौं।’

श्रीमतीबारे त्यस्ताे बोल्दा पनि म निरीह भएर सुनिरहन बाध्य भएँ। अरु गर्न पनि के सक्थेँ र! पछि यस्तै धम्की मलाई मेरै गणका मेजर दीपेन्द्र श्रेष्ठ, क्याप्टेनहरु विज्ञान विष्ट र गणेश भट्टराईले पनि पटकपटक दिइरहे। 

०००

हामीलाई राखेको हिरासत कस्तो हुन्थ्यो? कतिलाई लाग्दो हो ‘सामान्य’। तर त्यो हिरासत, त्यो यातना सम्झिँदा अहिले पनि मेरो शरीरमा काँडा उम्रिन्छ। अँध्यारो कोठरीमा राखिएको थियो। पर्खालले घेरिएको। कतैबाट साइरन बजिरहन्थ्यो। अनि, पागल हाँसेजस्तै आवाज कतै स्पिकरबाट आइरहन्थ्यो, भूतको फिल्ममा जस्तै। यस्तो लाग्थ्यो, म कुनै पागलखानाभित्र छु। अनि हरेक दिन शरीर तातिरहेकै हुन्थ्यो। किनभने धुलाइ नखाने दिन नै हुन्थेन। 

सिंहनाथ गणमा एकपल्ट मेरो आँखाको पट्टी खोल्दा एउटा सैनिक अधिकृत सिभिल ड्रेसमा देखा परे। ‘ओ भाइ, अब त भन्दे, जानी जानी तेरो शरीरलाई किन खाजा बनाउँछस्, यसरी त प्यारालाइसिस हुन्छस्, उस्तै भयो भने मर्छस्,’ उनी मलाई हतियार चोरेको कबुल गराउन आएका रहेछन्।

एकपल्ट त कबुल गराउने नाममा यसरी शरीर घिसारियो कि म बेहोस नै भएँ। शरीर त पूरै फ्याक्चर्ड भइसकेको थियो । यति धेरै टर्चर दिइसकेपछि एकदिन मलाई भनियाे, सरोजले हतियार निकालेर तँलाई दिएको स्वीकार्याे। त्यसैले उसलाई चुटाइ पनि कम भइसक्यो, अब उ त मासुभात खाँदै सुतिरहेको 

मैले पत्याइनँ। ‘म त स्वीकार्दै स्वीकार्दिनँ, बरु मार्दिनु,’ भनिरहेँ। 

म चितवन जिल्ला राम्रोसँग घुमेको पनि थिइनँ। भर्खर मिसनबाट फर्किएकाले घुम्न पाउने कुरै थिएन। त्यत्तिकैमा एक रात मलाई आँखामा पट्टी बाँधेर कतै जंगलतिर लगियो। कहाँ लगियो थाहा भएन तर घना जंगलको बीचमा लगेर लात हान्दै घुँडा टेकाइयाे। अनि, कन्चटमा बन्दुक। 

त्यसपछि पट्टी खोलियाे। अगाडि सरोजलाई देखेँ। कुटाइले उसको हालत ठिक थिएन, म हेरेरै अनुमान गर्न सक्थेँ। त्यसपछि हामी दुवैलाई सोधियो, ‘तिमीहरुको अन्तिम इच्छा के छ?’

मैले भनेँ, ‘मैले केही पनि गरेको छैन, झुटो मुद्दा लगाएर यसरी जंगलमा ल्याएर मार्छौ भने म तयार छु तर मलाई जिउँदै नछोड्नु।’

मैले यति बोलिनसक्दै झ्याम्म खोइ केले हानियो, म बेहोस भएँछु। त्यसपछि के भयो थाहा भएन, धेरै पछि बिउँझिएछु। 

पछि चितवन कारागारमा चलान भएपछि पो सरोजले भन्यो, ‘त्यतिबेला फायरिङ नै भएछ। अनि, सरोजलाई बयान कबुल गराउन म मरेँ भनेर ढाँटिएछ।’

०००

सैनिक हिरासतमा राखेर यातना दिएको करिब ५७ दिनपछि मैले हतियार चोरेको कबुल गर्न बाध्य भएँ। असह्य पीडा र यातना खेपेपछि मान्छे साँच्चै निरीह हुँदोरहेछ। उसले जिन्दगीमा नगरेको काम पनि गरेको हो भनेर कबुल गर्न बाध्य हुँदोरहेछ। यो मैले त्यतिबेलै महसुस गरेँ। 

त्यसपछि उनीहरुले जे जे भनेत्यही अनुसार बयान लेखियो। उनीहरुले भनेअनुसार केही नलेख्यो कि हात घाइते बनाइहाल्थे। त्यसैले मैले धेरै लड्न सकिनँ। जबर्जस्ती हतियार चोरेको कबुल गर्न बाध्य भएँ। बाँचे संसार देख्न पाइन्छ भन्थे, त्यही आशाले पनि बाध्य बनायो। 

०००

‘म चोर होइन, मैले चोरेको छैन।’ 

हिरासतमा रहँदा सोधपुछका क्रममा मैले कतिपल्ट यस्तो भनेँ, कति विलौना गरें, कति चिच्याएँ तर कसैले सुनेन। कसैको मनमा पनि अलिकति दया, माया भेटिएन। 

मेरो फोनमा जेठीसासू तारा तामाङ, भाइ पवन गुरुङ र सिपाही सरोज तामाङको नम्बर सेभ थियो। फेसबुकमा पनि धेरै साथी थिएनन्। एउटा फेसबुकमै भेटिएको सोल्टी पर्ने तनुज गुरुङ भन्ने साथीसँग भेट्ने कुरा भएको रहेछ। 

अब हुँदाहुँदा नम्बर सेभ भएका सबैलाई अनुसन्धानको दायरामा ल्याइयो। कहिले भनियो ‘हतियार लगेर बूढीलाई दिइस्?’

त्यसपछि उनीहरुले जे जे भने त्यही अनुसार बयान लेखियो। उनीहरुले भनेअनुसार केही नलेख्यो कि हात घाइते बनाइहाल्थे।

तनुज गुरुङलाई खोज्दै हामीलाई इटहरी लगियो। त्यहाँ पुग्दा उ त जिल्ला प्रहरी कार्यालय सुनसरीको जेलमा रहेछ, लागुऔषध मुद्दामा। त्यो त धेरै महिनादेखि रिह्याब सेन्टर हुँदै हिरासत आइपुगेको रहेछ। त्यहाँको प्रहरीले त्यस्तो जानकारी गराएपछि उप्रतिको आशंका फेल खायो।

यतिबेलासम्म सरोजलाई हतियार मलाई दिएको बयान कबुल गर्न लगाइसकिएको थियो। एकपल्ट मलाई सरोजको घर कहाँ हो भनेर सोधियाे। झापाजस्तो लाग्छ भनें, तर मोरङ रहेछ। त्यतिखेर पनि यसले झुट बोल्यो भन्दै मलाई पिटियाे।

त्यसपछि एकपल्ट उतैतिर सरोज र मलाई भेटाइयो। अनि सरोजतिर देखाउँदै ‘तँलाई फसाउने मान्छे यही हो’ भन्दै मेरो हतकडी खोलेर उसलाई पिट्न लगाइयो। सरोजले नभएको कुरा कबुल गर्‍यो भन्दा एकछिन त म पनि रिसले चुर भएँ। त्यसैले आदेशअनुसार मैले पनि सरोजलाई पिट्दिएँ। 

तर, सरोजले भन्यो, ‘हेर गाउँले, मलाई यसरी नपिट्, सत्य कुरा के हो बताइदे।’ 

त्यसपछि सेनाले उसलाई लिएर गयो। अनि यता मलाई ‘अर्काको छोरालाई पिट्ने तँ’ भन्दै कुटपिट सुरु भयो। 

यतिमात्रै होइन हतियार प्रकरणमा तेरो त जेठीसासू र भाइसँग पनि लिंक देखियो भन्न थाले। त्यसपछि मेरो भाइ पवन गुरुङलाई फोन गरेर बोलाइयो। 

जिल्ला प्रहरी कार्यालय मोरङमा भाइलाई लिएर आइयो। मैले भाइलाई सिधै सोधेँ, ‘तैले हतियार कहाँ लगिस्।’

मलाई त्यस्तै सोध्न धम्की दिइएको थियो। म यति कमजोर भइसकेको थिएँ कि, मसँग अर्को कुनै विकल्प बाँकी थिएन। 

जीवनमा चितवन नगएको भाइलाई मैले त्यसरी सोध्दा मलाई कस्तो भयो होला! तर, म बाध्य भएँ। जवाफमा भाइले ‘दाइ के कुरा गरेको, दिमाग ठिकमा त छ? मलाई फसाउन खोजेको?’ भन्दै गाली नगरेको होइन तर मैले केही गर्न सकिनँ। त्यो क्षण सम्झिँदा आज पनि मेरो मन पोलिरहन्छ। त्यसपछि उसलाई पनि त्यतिबेला हिरासतमा राखेर कुटपिट गरेको पछि थाहा पाएँ। 

सरोज तामाङका बुबाआमा
म सैनिक नियन्त्रणमा परेपछि मेरो श्रीमतीले आत्तिँदै जेठीसासू तारा तामाङलाई चितवनमा बोलाएको रैछिन्। त्यसैलाई बहाना बनाएर अब मेरो परिवारलाई पनि फसाउने षड्यन्त्र भयो। मेजर दीपेन्द्र श्रेष्ठले मलाई अब मेरो जेठीसासू र श्रीमतीलाई पनि फसाउने संकेत गर्न थाले। त्यसपछि इटहरीबाट हामीलाई उदयपुर लगियो। 

अब आर्मीले हतियार नभेटेसम्म यस्तै गर्छ भन्दै एउटा कहानी रचियो। कहानीचाहिँ यस्तो रे– ‘क्वाटरगार्डबाट हतियार दिने सरोज। त्यो हतियार कोठामा लगेर राख्ने म। अनि त्यसलाई उदयपुरबाट चितवन आएर लिएर जाने जेठीसासू तारा। अनि, ताराको हातबाट लिनेचाहिँ मेरो भाइ पवन।’

यस्तो षड्यन्त्र रचेपछि मलाई गाईघाट लगियो। त्यतिबेला उदयपुर जिल्ला प्रहरी कार्यालयको एसपी हुनुहुन्थ्यो, चन्द्रदेव राई। मलाई प्रहरीको भ्यानमा हालेर जेठीसासूको घरतिर लगियो। त्यहाँ पुगेर जेठीसासूको घर छापा मारियो। त्यही बेला मैले हतकडी फुकाएर भाग्न पनि खोजेँ। तर सकिनँ, अलि पर पुग्नासाथ समातिहाले। 

म सैनिक नियन्त्रणमा परेपछि उता मेरो श्रीमतीले आत्तिँदै जेठीसासू तारा तामाङलाई चितवनमा बोलाएको रैछिन्। त्यसैलाई बहाना बनाएर अब मेरो परिवारलाई पनि फसाउने षड्यन्त्र भयो।

उता दिदीको घरमा खानतलासी हुँदा केही भेटिएनछ। अनि, एसपी चन्द्रदेव राईले भ्यानमा बसेको बेला मलाई सोध्नुभयो– ‘किन भाग्न खोजेको?’

जवाफमा मैले भनेँ, ‘प्लिज मलाई बचाउनुस् सर, मलाई अनेक आरोप लगाएर फसाइँदैछ, मलाई नबचाए पनि मेरो परिवारलाई बचाइदिनुस्।’

उहाँले भन्नुभयो, ‘आर्मीको मुद्दा हो भाइ, मैले केही गर्न सक्दिनँ।’

मलाई आज पनि लाग्छ, त्यतिबेला मेरो मोबाइलमा अरुको पनि नम्बर सेभ हुन्थ्यो भने, यदि मेरो फेसबुकमा अरुसँग पनि च्याट भएको हुन्थ्यो भने ती सबै फस्ने थिए, फसाइने थियो नक्कली कथा बुनेर। 

०००

लगातारको चुटाइ सहन नसकेपछि मैले हतियार जेठीसासूलाई दिएको हो भनेर कबुल गरेँ। जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा मेरी श्रीमती र जेठीसासूलाई पनि लिएर आइएको थियो। त्यहीँनेर जेठीसासूलाई मैले भनेँ, ‘अन्तिम स्थितिमा आएर हजुरलाई दिएको भनेर ढाँट्न बाध्य भएँ। ’

त्यसपछि उहाँलाई टर्चर सुरु भएछ। उहाँलाई मैले केही बोल्दिए भने ज्वाइँलाई हल्का हुन्छ कि भन्ने लागेछ। त्यसैले ज्वाइँबाट मैले हतियार लिएर भाइ पवनलाई दिएको हाे भन्ने बयान स्वीकार्नुभए। 

त्यसपछि त के हल्का हुन्थ्यो र! झन् कुटपिट सुरु भयो। जेठीसासूले बयान स्वीकारेको कुरा सुटुक्क भिडियोमा पनि कैद गरिएछ।

पछि दिदीले मैले लगेको छैन भनेर सत्य बोल्न थाल्नुभयाे। त्यसपछि त प्रहरी हिरासतभित्रै पिट्न सुरु भयाे। उता दिदीले हतियार लिएर आएको भनेर स्वीकारेको सुनेपछि मेरो श्रीमती अर्थात् उसको बहिनी प्रमिलाले पनि दिदीलाई प्रहरी कार्यालयमै हात छोडिन्। 

यो हतियार प्रकरणले मेरो परिवारमा के–के बित्यो सम्झिएर साध्य छैन। आर्मीको इसारामा महिला प्रहरी जवानले जेठीसासूलाई प्रहरी कार्यालयभित्रै कुटेको म कसरी बिर्सु? अनि श्रीमती र दिदीकै अगाडि उनीहरुले मलाई भकुन्डो खेलाएजसरी पिटेको म कसरी भुल्न सक्छु? 

लवकुमारकी श्रीमती प्रमिला (बायाँ) र जेठीसासु तारा

कारागार चलान हुनुअघि करिब चार महिना सैनिक हिरासतमा रहेर हामीले जुन चरम यातना भोग्यौं, त्यो कति कहालीलाग्दो छ कसैले कल्पना पनि गर्न सक्दैन। हामीलाई जुन हिरासतमा राखिएको थियो, त्यहाँ मान्छेहरु आउनै घिन मान्थे। ८–१० मिटर परैबाट मुख छोप्थे। खाना पनि २–३ दिनमा आइपुग्थ्यो। तुकतुके लाग्थ्यो। पिसाब र दिशा त त्यही सुक्थ्यो। सरसफाइ गर्न पाइँदैनथ्यो। मैले एकैपटक कारागारमा पुगेरमात्रै नुहाउन पाएँ।

अझै पनि त्यो ठाउँमा (हिरासत) पुग्नुभयो भने मेरो रगतको डल्ला भेटिएला। हामीलाई त्यतिबेला खाना केले खुवाइदिन्थे थाहा छैन, तर भित्रसम्म पुग्थ्यो। हाम्रो त हातखुट्टा सबै बाँधिएको हुन्थ्यो।

मैले कहिल्यै सोचेको थिइनँ, सेनाको जागिर खाएर यस्तो हालमा पुगुँला भनेर। तर, मान्छेलाई बाध्यता भएपछि यस्तो दिन पनि आउँदो रहेछ। त्यसैले म अहिले सबैलाई भन्ने गर्छु, ‘कहिल्यै अहम् नपाल्नु, यहाँ जहिले जे पनि हुन सक्ने रहेछ।’

यो हतियार प्रकरणले मेरो परिवारमा के–के बित्यो सम्झिएर साध्य छैन।

उदयपुर ब्यारेकमा लगेका बेला मलाई ब्यारेकभित्रको मन्दिरमा लगेर झुटो कसम पनि खुवाउन लगाइयो। त्यो पनि सरस्वती पूजाको दिन। मेरो आत्माले भनिरहेको थियो, मैले यो काम गरेको छैन। तर, मैले मन्दिरमा पुगेर झुटो बोल्न बाध्य भएँ। अनि त्यसैको भिडियो खिचेर जेठीसासू, भाइहरुलाई देखाइयाे। प्रहरीहरुलाई पनि देखाइयाे। भनिएछ, ‘लु हेर्नु, यसले आज मन्दिरमा पनि कस्सम खाएर हतियार चाेरेकाे कबुल गर्‍यो।’

त्यसपछि भाइले मलाई कति सराप्यो, सराप्यो। ‘तँजस्तो नालायक दाइ त मैले कहिल्यै भेटेको थिइनँ र भेट्नु पनि नपरोस्’ भन्दै सरापेको भिडियो सेनाकै मान्छेले मलाई देखाएको थियो। 

०००

उदयपुरमा त्यसरी बयान कबुल गराएपछि फेरि हामीलाई रातितिर चितवन लिएर आइयो। त्यतिबेला जाडो महिना थियो। तर, कुटपिटले सधैँ मेरो शरीर तातिएको हुन्थ्यो। जाडो त महसुस नै हुन्थेन। 

चितवन आएपछि कोर्ट अफ इन्क्वायरी अध्यक्ष महासेनानी राजेन्द्रमणी गिरीले पनि हतियार चोरेको स्वीकार्न मलाई निकै दबाब दिनुभयो। मलाई त्यतिबेला घरमा फोन डायल गरिदिएर हतियार कहाँ छ मात्रै भन्न लगाएर पनि फोन काटियो। प्रमाण बलियो बनाउन कल रेकर्ड जम्मा गर्न खोजेको मैले पछि थाहा पाएँ। 

तर, यो सब हुँदा पनि कुटपिट रोकिएन। अब तेरो छिट्टै उपचार हुन्छ भन्दै झन् पिट्न सुरु भयो। एकपल्ट उचालेर लगेर थेचार्दा झन्डै कुर्सी नै भाँच्चियो। त्यतिबेला पनि हातमा हतकडी नै थियो मेरो। मलाई चल्न नसकिने बनाइएको थियो। बारम्बार करेन्ट लगाइयाे।  म बेहोस हुन्थे। जब बेहोस हुन्थे, पानी छम्किन्थे।  जब होसमा आउँथे, फेरि करेन्ट लाउँथे। शरीरका थुप्रै भागहरु चिरचिर गर्थ्यो। त्यतिबेला म अचेत अवस्थामा नै पुगेँ। अनि मलाई चितवनको हस्पिटल लगियाे। म अझै सम्झन्छु, त्यतिबेला डाक्टरले मलाई पागलखानातिर लग्दा हुन्छ भन्दै त्यहाँ सल्लाह दिइरहेका थिए।

०००

हिरासतमा रहँदा आँशु त कति बग्यो-बग्यो। रुँदारुँदा सायद आँसु नै सक्किसकेको थियो। आँखाको पट्टी खोल्नासाथ आँशु खसिहाल्थ्यो। मुख छाड्दै आइपुग्थे हिरासतमा।

सोध्थे– हतियार कहाँ छ?

थाहा छैन भन्न नपाउँदै चुट्न सुरु गरिहाल्थे। 

०७५ चैत १८ गते हुनुपर्छ। सरकारी वकिल कार्यालयमा हाम्रो बयानको मिसिल तयार पार्ने कुरा भयाे। मेजर दीपेन्द्र श्रेष्ठ र क्याप्टेन गणेश भट्टराईले मलाई धम्क्याउँदै चेतावनी दिए, ‘यहाँ जेजे लेखेको छ त्यहीमात्र भन्ने, जे बोलेको छ, त्यहीमात्रै बोल्ने, दायाँबायाँ केही गरिस् भने मरिस्।’

म त शारीरिक र मानसिक दुवै हिसाबले कमजोर भइसकेको थिएँ। सरकारी वकिलको कार्यालयमा कसैले ‘हो त लवकुमार जी’ भनेर सोध्यो। मैले ‘हो सर’ भन्दिएँ। अनि सोधपुछ सकिएको थियो। 

हिरासतमा रहँदा आँशु त कति बग्यो, बग्यो। रुँदारुँदा सायद आँसु नै सक्किसकेको थियो। आँखाको पट्टी खोल्नासाथ आँशु खसिहाल्थ्यो।

मानसिक रुपमा असक्त भएर सुरुमा कबुल गरेपनि पछि मैले फेरि चोरेको होइन भन्न थालेको थिएँ। त्यसकारण पनि मेरो शरीर यातनाले ढुट्टो भयो। चैतको अन्त्यतिर हाम्रो फैसला भयो। मलाई मुख्य आरोपी बनाएर १० वर्ष जेल सजाय दिइयो। अनि सरोजलाई सहयोगी बनाएर ७ वर्ष जेल। त्यसपछि चैतको २५ गते हामी दुवैलाई चितवन कारागार चलान भयो। 

कारागार पुग्दा त भाइ पवन पनि त्यहीँ रहेछ। सुरुमा त परबाट देख्दा होइन जस्तो पनि लाग्यो। तर नजिक पुगेर हेर्दा हो रहेछ। कुन केसमा आएको भनेर सोधेँ। ‘त्यही हतियार केसमा, के बुझ पचा’को’ पो भन्छ। ममात्रै होइन दिदी पनि हुनुहुन्छ भन्यो। 

भाइ र जेठीसासूसम्मलाई जेलमा हालेको थाहा पाएपछि त म झन् डिप्रेसनमै गएँ। दसैँतिहार केही आएको थाहा भएन। न भात नै रुच्न थाल्यो।

उता समरी अदालतकाे फैसलाविरुद्ध पुनरावेदन पनि दिएको थिएँ। पेशी चढिरहेको थियो तर कहिल्यै फैसला भइरहेको थिएन। जेल परेको करिब ८–९ महिनापछि जब दिदी, भाइहरुले सफाइ पाए, त्यसपछि मेराे मुहारमा पनि अलिकति चमक आयो। हामी पनि एकदिन सफाइ पाउँछौ भन्ने आशा सरोज र म दुवैमा बढेर गयो। 

नत्र ८ महिनाजति त म डिप्रेसनमै गएँ। परिवार नै चोर काण्डमा परेपछि के हुन्छ होला, तपाई आफै सोच्नुस् न। बरु मर्नुपर्ने रहेछ, किन कबुल गरेछुजस्तो फिल पनि आयो। 

अझ हिरासतमा यातना पाउँदाको समय त धेरैपल्ट मरुँमरुँ लाग्याे। सानो सिन्का भेटे पनि घोचेर मरुँजस्तो लाग्थ्यो। तर, हात, खुट्टा, टाउको केही पनि चलाउन सक्ने अवस्था थिएन। हुन्थ्यो भने म टाउको फुटाएर भए पनि मर्थे होला! तर शरीर हल्लिन नै नदिने गरी जताततै साङ्लाले बाँधिएको थियो। झन् हातमा त चारवटा हतकडी बाँधिएको थियो। 

अझ हिरासतमा यातना पाउँदाको समय त धेरैपल्ट मरुँमरुँ लाग्याे। सानो सिन्का भेटे पनि घोचेर मरुँजस्तो लाग्थ्यो।

हिरासतमा रहँदा जति यातना खेपियो, त्यसले हाम्रो शरीर पूरै कमजोर भइसकेको थियो। जताततै घाउ नै घाउ। कारागार चलान भएपछि भने त्यस्तो केही यातना दिइएन। बरु कारागारको आन्तरिक प्रशासनले भाइ नाइकेमा नै बढुवा गर्‍यो।

जेल पुगेको तीन दिनपछि श्रीमतीसँग फोनमा कुरा भयो। घटनाबारे पहिलोपल्ट सबै कुरा बेलिबिस्तारमा सुनाएँ। जेलमा म डिप्रेसनमा हुँदा भाइ पवनले राम्रै केयर गरेको थियो। उसले सफाइ पाएपछि म तपाईंलाई जसरी पनि छुटाउँछु भनेको थियो। उ मेरो कान्छी आमापट्टीको छोरा थियो। जेलबाट निस्किएपछि खै कसले सैतानी दिमाग भरिदिएछ, फेरि दाइले फसाउँछ भनेर मसँग सम्पर्कविहीन नै भयो।

अहिलेसम्म भाइ घर फर्किएको छैन। खोइ कहाँ छ, के गर्दैछ, केही थाहा छैन। सायद अझै रिसाएको छ मसँग। म त लाहुरेको सपना देखेर खोटाङको डाँडाबाट तल झरेको थिएँ। के थाहा, यही सपनाले मलाई एकदिन जेलसम्म पुर्‍याउँछ भनेर ? 

०००

कारागारमा दिनहरु यसै बितिरहेका थिए। म न्याय पाउने दिन कुरिरहेको थिएँ। साउन महिनातिर एक्कासि चितवनको पत्रिकामा नेपाली सेनाको सिपाही गंगाधर ढकालले हुद्दा भरत गुरुङको हत्या गरेको खबर पढेँ। तर, सिरियसली लिइनँ। नोटिसमाचाँही थियो। त्यसकै केही दिनपछि एक्कासि कालिबहादुर गणको नयाँ गणपति अच्यूत घिमिरे हाम्रो कारागारमा आइपुग्नुभयो। अनि सोध्नुभयो– द फेमस महेन्द्र दल गणको गंगाधर ढकाल र भरत गुरुङलाई चिन्छस्? 

सरोज र म दुवैले चिन्दैनाै भन्ने जवाफ दियौं। त्यसपछि उहाँ जानुभयो।

म आत्तिएँ। किन आउनुभयो, केही थाहा भएन। हत्या साउन ७ गते भएको थियो। साउनको १४ गतेतिर मेरो श्रीमतीसँग फोन सम्पर्क भयो। ‘के छ हालखबर’ भन्न नपाउँदै उनले ‘न्यूजहरु हेरेको छौ?’ भनेर सोधिन्। 

मैले किन भनेर सोधेँ। त्यसपछि उनले सोधिन्, ‘त्यो सैनिक मार्नेले त हतियार कालिबहादुर गणबाटै चोरेको हो रे त, चिन्छौ?’ 

मैले नचिन्ने बताएँ। तर मन एक्कासि खुशी भयो। कम्तीमा हतियार त भेटियो  कि भन्ने लागेर। अनि, गनकाे बडी नम्बर पत्ता लगाउन भनेँ। अदलीबदली नहाेस् भनेर। यतिबेला बाहिर मिडियामा व्यापक समाचार आइरहेको थियाे। मिडिया सपोर्ट व्यापक भइरहेको सुनेँ। 

जेलबाट छुट्ने आशा झन् भन् जाग्दै गइरहेको थियो। तैपनि भदौ १७ गते अन्तिम फैसलाको दिन मन आत्तियाे। त्यसदिन मैले खाना पनि खाइनँ। जेलबाट निकाले पनि जागिरमा पुनर्वहाली गर्लान् कि नगर्लान् भन्ने लागेको थियो।

पटक पटक मेरो वकिल र परिवारलाई काठमाडौंमा फोन गरिरहे, फैसला बुझ्न। खुशी लाग्यो, जब फैसला हाम्रो पक्षमा आएको जानकारी पाएँ। रिहा पनि भएँ, जागिरमा पुनर्वहाली पनि। तर, फैसला भएको मितीदेखि ३ वर्षलाई बढुवा रोक्का गरिएको भन्ने फैसला पनि भयो भन्दाचाँही मन दुख्यो।  पूर्ण न्यायको महसुसचाँही भएन।

सबैभन्दा बढी दुःख, मलाई त्यसरी फसाउने हाकिमहरुलाई संगठनले अझै कारवाही गरेकाे छैन। मलाइ लाग्छ, पेन्सन त पाक्यो तर मेरो न्यायको लडाई अझै सकिएको छैन।

रिहा भएपछि लवकुमार गुरुङ र सरोज तामाङ

यो पनि

यो पनि

यो पनि

यो पनि

यो पनि

यो पनि

यो पनि

यो पनि

यो पनि

यो पनि

यो पनि

यो पनि

यो पनि

यो पनि

यो पनि

यो पनि

यो पनि

यो पनि

अनिल यादव

अनिल यादव

काठमाडौं, मंगलबार, पुष २७, २०७८

थप समाचार

...अनि युट्युबबाट 'पतन' भए भाग्य न्यौपाने

आफू चर्चामा आउन युट्युबलाई जथाभावी प्रयोग गर्दा कसरी एउटा उदाएको युट्युबर पतन हुन्छ? भाग्य यतिखेर युट्युब वृत्तमा यसकै एउटा उदाहरण बन्न पुगेका छन्।

साथी कुटिएको खबर दिँदा जेल परेका सिपाहीको मुद्दा पेसीमा, होला त पुनर्बहाली?

धेरैको अपेक्षा थियो- अदालतले कुटपिट गर्ने अधिकृतलाई निर्मम सजाय देला, पीडित अमल्दार र सिपाहीहरुलाई न्याय होला। तर, फैसला अनपेक्षित निस्कियो।

यी युट्युबर, जो प्र्यांकको बहानामा हिंसा गरिरहेका छन्

‘न्यू नेपाली प्र्यांक भिडियो’ भन्दै भिडियो सेयरिङ वेबसाइट युट्युबमा यतिबेला अश्लील, भद्दा र आपत्तिजनक दृश्य र संवाद समावेश भएका भिडियो छ्याप्छ्याप्ती भेटिन्छन्। र, यस्तै भिडियोहरु उत्पादन गरेर युट्युब र टिकटकमा भाइरल भइरहेको नाम हो, कपिल मगर।

माओवादीबाट समायोजित सैनिक पुनको 'बयान' : तँ जंगली भन्दै यातना दिए

‘तैँले बाहिर बेचेको हो भनेर स्वीकारिस् भने तेरो जागिर मात्रै जान्छ, अरु केही सजाय हुँदैन, हामी मिलाउँछौँ। नत्र तँ यहीँ सड्छस्, तेरो मिसनको पैसा पनि केही आउँदैन’ भन्दै धम्क्याए। म स्वीकार्न बाध्य भएँ।

सैनिक होस्टलबाट बेपत्ता छोरा खोजिरहेका बाबुको कथा

सैनिक कलेजको छात्रावासबाटै छोरा गायब भएपछि दुई महिनायता दानबहादुर राम्रोसँग सुत्न सकेका छैनन्। छोरासँग जोडिएका स्मृति र सपनाले उनलाई निदाउन त दिएकै छैन।

गल्ली गाइड गुप्तोले देखेको काठमाडौं सहर जहाँ उज्यालोसँग डर छ

‘बर्खामा स्वच्छ देखिन्थ्यो, आद्र देखिन्थ्यो, हरियो देखिन्थ्यो। कि त शीतकालमा कुहिरोमुन्तिर काठमाडौं सेतो तलाउजस्तो देखिन्थ्यो। एउटा मिस्टिक, अचम्मको भ्यालीजस्तो देखिन्थ्यो कि। अहिले पनि सफा हुँदा कहिलेकाहीं सुन्दर भ्याली देखिन्छ काठमाडौं।’

ट्रेंडिंग

नेपाल समय
राजनीति

गगन र विश्वप्रकाशः संघर्ष कि सहकार्य?

यसअघि प्रश्न गर्ने ठाउँमा रहेका उनीहरु अब उत्तर दिने ठाउँमा आइपुगेका छन्। त्यसकारण अबको चार वर्ष उनीहरुको अग्निपरीक्षा हुनेछ।
नेपाल समय
शिक्षा

आयोगको परीक्षामा उमेर हद हटाउन राहत शिक्षकको माग

नेपाल राहत शिक्षक केन्द्रीय कार्यसमितिले शिक्षक सेवा आयोगले खुलाएको विज्ञापनमा राहत शिक्षकका लागि उमेरहद हटाउन माग गरेका छन्।
नेपाल समय
समाज

भत्क्यो मण्डला : त्यो घर जहाँबाट दयाहाङ 'स्टार' बने

‘कला र सिर्जनामा सिंगो शक्ति खर्चिएका थियौं। कलाकारको सपनामात्रै होइन मण्डलासँग जोडिएको इतिहास पनि भत्केझैं लाग्छ।’
नेपाल समय
संवाद

एमसीसीमा परराष्ट्रलाई बाइपास गरियो, नेताहरूले नै जनतालाई भ्रमित पारे : प्रा.डा. खड्ग केसी [अन्तर्वार्ता]

एमसीसीमा परराष्ट्र मन्त्रालयलाई बाइपास गरिएको छ भनेपछि कति गैरजिम्मेवार रुपमा यसलाई अघि बढाइएको होला त? एमसीसी हस्ताक्षर हुने समयमा परराष्ट्रलाई सोध्‍नु पर्दैन? अर्थ मन्त्रालयमा मात्रै त्यो विज्ञता थियो?
नेपाल समय
श्रृंखला

पेन्सनपट्टासँगै विगत बन्यो सैनिक हिरासतमा मैले पाएको यातनाको कथा [भिडियोसहित]

नेपाल समयले उनका विषयमा ‘गनले अन्याय, गनले न्याय’ शीर्षकमा श्रृंखलाबद्ध रिपोर्टिङ गरेको थियो। लवकुमार गुरुङले जागिर छाडेपछि हाम्रा सहकर्मी अनिल यादवसँग सुनाएको आफ्नो यातनाको कथा जस्ताको तस्तैः

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2022. Design & Development by Cn’C