शनिबार, मंसिर १८, २०७८

नेपाल समय
कंगो मिसन-८

माओवादीबाट समायोजित सैनिक पुनको 'बयान' : तँ जंगली भन्दै यातना दिए

अनिल यादव  |  काठमाडौं, शनिबार, कार्तिक २७, २०७८
अनिल यादव

अनिल यादव

काठमाडौं, शनिबार, कार्तिक २७, २०७८

काठमाडौं- २०७७ सालमा संयुक्त राष्ट्रसंघको शान्ति मिसनका लागि २६औं डफ्फाका रुपमा कंगो पुगेको नेपाली सेनाको ज्वालादल गणभित्र भएको अनियमितता, कुटपिट र अन्यायबारे नेपाल समयले ‘कंगो मिसन’ नाम दिएर शृंखलाबद्ध सामग्री पस्किरहेको छ। 

हामीले यसअघिका सात शृंखलामा सिपाही कुटपिट प्रकरणको नालीबेली मात्रै प्रस्तुत गरेनौँ, कान्तिपुर टीभीलाई सूचना चुहाएको आरोपमा कसरी दुई सहसेनानीको जागिर खोसियो, त्यसबारे पनि चर्चा गर्‍यौँ। 

यसपटक हामी त्यस्तो एक घटनाको चर्चा गर्दैछौँ, जुन यो घटनाभन्दा पनि अघिको हो। अर्थात्, भदौ ८ गते कंगोको सिओबी सामुन्डामा भएको घटना हो।

संयुक्त राष्ट्रसंघबाट प्राप्त इन्धनलाई कंगोका नागरिकसँग मिलेमतो गरी इन्धन अपचलन गरेको आरोपमा त्यतिबेला नेपाली सेनाका हुद्दा टोपेन्द्र पुनलाई सैनिक ऐन, २०६३ अनुसार सेवाबाट बर्खास्तीसँगै एक महिना जेल सजाय सुनाइएको थियो। तर, यसको तथ्य अर्कै थियो। 

यो शृंखलाको रिपोटिङ गर्ने क्रममा हामीले सैनिक श्रोतबाट पाएको सूचनाअनुसार त्यतिबेला जुनियर तहका कर्मचारी रहेका टोपेन्द्र एक्लैले कंगोमा रहेको उक्त गणबाट इन्धन अपचलन गर्ने सम्भावना नै थिएन। खासमा त्यहाँ अधिकृत तहबाटै अनियमितता भइरहेको थियो। बरु त्यो चाल पाएपछि टोपेन्द्रले फोटो/भिडियोसहित डफ्फाको हेडक्वार्टरमा उजुरी दिएका थिए। र, त्यही उजुरी नै उनका लागि अभिशाप बन्यो। र, सुरु भयो उनलाई नै फसाउने षड्यन्त्र। 

 देशको नाम राख्न सिपाहीका रुपमा कंगो पुगेको थिएँ, फर्कदा ‘अपराधी’ भएर फर्किएँ। ममाथि इन्धन अपचलन गरेको आरोप लाग्यो। विना कुनै प्रमाण यूएनबाट प्राप्त इन्धन बाहिर लगेर बेचेको भन्दै फसाइयो। 

लामो प्रयत्नपछि हाल दाङमा बसिरहेका टोपेन्द्रसँग हामीले सम्पर्क गर्‍यौँ। उनी मिडियासँग बोल्न तयार थिएनन्, कारण, उनी अझै डराएका छन्। उनले त्यतिबेला आफूलाई योजनाबद्ध रुपमा फसाइएको र चरम यातना दिएर बयान कबुल गर्न लगाएको कथा हामीलाई सुनाएका छन्।  

वास्तवमा त्यसबेला भएको के थियो? किन फसाइयो उनलाई? कसरी यातना दिइयो? पढौं, टोपेन्द्रको भोगाइ उनकै शब्दमा: 

मेरो घर रोल्पा हो, अहिले दाङतिरै बस्छु। २०५८ सालतिर माओवादीमा प्रवेश गरेको थिएँ, लडाकुका रूपमा। त्यतिबेला म प्लाटुन कमान्डर थिएँ। जब माओवादीका पूर्व लडाकु नेपाली सेनामा समायोजन भए, म हुद्दा भएँ। 

सेनामा युएन मिसनमा जान पाउनु भनेको ठूलो अवसरका रुपमा लिइन्छ। तल्लो तहका सैनिकहरूमा त्यसको महत्त्व अझ बढी हुन्छ। त्यहाँ गएपछि अलिअलि पैसा कमाइन्छ, जोगाइन्छ भन्ने हुन्छ, मलाई पनि त्यस्तै लाग्थ्यो। 

कंगो मिसनमा जान पाउँदा खुशी थिएँ। ०७७ साउन–भदौतिरको कुरा हो। घर फर्कने बेला हुँदै थियो। घरमा श्रीमती, एक छोरा, एक छोरी र आमा बुबा थिए। परिवार भेट्ने दिन नजिकिँदै थियो, त्यसैले म खुशी थिएँ। 

तर, अचानक मेरो जीवनमा ठूलो बज्रपात आइलाग्यो। देशको नाम राख्न सिपाहीका रुपमा कंगो पुगेको म फर्कदा ‘अपराधी’ बनाइएँ। ममाथि इन्धन अपचलन गरेको आरोप लाग्यो। विना कुनै प्रमाण युएनबाट प्राप्त इन्धन बाहिर लगेर बेचेको भन्दै फसाइयो। 

000

कंगोमा हामी मिसनमा रहँदा त्यहाँ ब्यारेकभित्रको रासन बाहिर लगेर खुलेआम बिक्री भइरहेको थियो। गेटमा ड्युटी भएको एक जना साथीले यूएनको लोगो भएको रासन त्यसरी बाहिर बिक्री भइरहेको फोटो/भिडियो नै खिचेको थियो। उसले ‘यो त अति भयो’ भन्दै मलाई जानकारी गरायो। मैले तत्काल त्यो कुरा मेरो कमान्डरलाई रिपोर्ट गरेँ। 

त्यसपछि भिडियो खिच्ने साथीले ‘युएनको लोगो भएको सामान किन बाहिर बिक्री गरेको' भन्दै क्याप्टेनसँग विवाद नै गरेको थियो। तर, पनि यो क्रम त्यहाँ रोकिएन। 

त्यतिबेला रासन स्क्यान गर्ने बार कोड मेरो नाममा थियो। सुरुमा मेरो ड्युटी त्यतै थियो। पछि लजिस्टिक डिपार्ट अर्कै साथीले हेरिरहेको थियो। तर, स्क्यान गर्ने बार कोड चाँहि मेरै नाममा थियो।

त्यसैले ‘यो सब कार्य रोकिएन भने पछि तँ फस्छस्, बार कोर्ड तेरो नाममा छ’ भनेर केही साथीहरुले मलाई तर्साउन थाले। म झन् आत्तिएँ। त्यहीँमाथि एक जना सिएलए (कम्युनिटी लिएसन असिस्टेन्ट)पनि मकहाँ बाहिर खुलेआम बिक्री भइरहेको भिडियो देखाउँदै आइपुगे। लु हेर! अरुले यसरी बेचेर खान हुने, हामीलाई नदिने भन्दै उनीहरुले मलाई भिडियो दिए।

 म भन्ने थाहा भएपछि मैमाथि फसाउने योजना बुनिएछ। कोही न कोही नफसे माथिल्ला दर्जाका अधिकृत र हाकिम फस्ने सम्भावना थियो। सोझो मान्छे, त्यस्तो योजनाबारे मैले के बुझ्नु? 

त्यतिबेला म कार्यरत तत्कालीन ज्वालादल गण २६औं डफ्फाको प्रमुख हुनुहुन्थ्यो, प्रमुख सेनानी शैलेन्द्र कोइराला। उहाँसँग सिधै सम्पर्क हुन सक्ने अवस्था थिएन। त्यसैले मलाई प्राप्त उक्त भिडियो र फोटो मैले अफिसियल मेलबाट सिधैँ हेडक्वार्टर पठाइदिएँ। 

साथीहरुले 'बार कोड तेरो नाममा छ। तँ फस्छस्' भन्ने खालको कुरा गरे। क्याप्टेन इन्द्रबहादुर थापालाई रिपोर्ट गरे। साथीले भिडियो रेकर्ड गरिराछ, युएन हेडक्वार्टरमा पठाइदिन्छु भनिराछ। ‘यहाँ यस्तो यस्तो भइरहको छ, सिएलएले यो फोटो र भिडियो युएन हेडक्वार्टर पठाउने भनिरहेको छु, कारवाही गर्नुपर्‍यो’ भनेर मेले फोटो/भिडियो मेल गरेको थिएँ, हेडक्वार्टरमा। 

यसरी हेडक्वार्टरलाई सूचना दिनु मेरो जीवनको सबैभन्दा ठूलो गल्ती हुनेछ भन्नै मैले सोचेको थिइनँ। तर, त्यस्तै भइदियो। ‘यसरी उजुरी गरेर कमान्डरलाई चुनौती दिने को हो?’ ब्यारेकभित्र खोजी भयो। म भन्ने थाहा भएपछि मैमाथि फसाउने योजना बुनिएछ। कोही न कोही नफसे माथिल्ला दर्जाका अधिकृत र हाकिम फस्ने सम्भावना थियो। सोझो मान्छे, त्यस्तो योजनाबारे मैले के बुझ्नु? 

फोटो/भिडियो पठाउनुअघिसम्म म साधारण ड्युटीमा थिएँ, अचानक मलाई लजिस्टिक डिपार्टमेन्टमा पठाइयो। 'बार कोर्ड तेरै नाममा छ' भनेर त्यो डिपार्टको जिम्मेवारी मलाई बुझ्न भनियो। मैले त सिधा हिसाबले बुझेको थिएँ। त्यसको ५ दिनपछि एक्कासी म ड्युटीमै रहेका बेला मलाई नियन्त्रणमा लिइयो। ‘फ्युल त तैले नै पो बाहिर पठा’को रैछस्’ भन्दै घुमाइफिराई मैमाथि आरोप लगाइयो। हिरासतमा लगेर राखियो।

त्यसरी इन्धन बेच्न, बाहिर लैजान म संलग्न भएको कुनै पनि प्रमाण थिएन। तर, ‘तैले भिडियो किन पठाइस्, तैले नै गरेको हुनुपर्छ’ भन्दै मैमाथि जाइलागियो। 'अरुलाई फसाएर लजिस्टिकमा आउन तैँले यो सबै गरेको होस्' भनेर मैले कहिल्यै सोच्दै नसोचेको आरोप लगाइयो।  

त्यतिबेला अनुसन्धान अधिकृत हुनुहुन्थ्यो, क्याप्टेन इन्दबहादुर थापा। पछि सिपाही कुटपिट गरेको आरोपमा मुछिने क्याप्टेनमध्ये उहाँ पनि एक हो। मलाई अनुसन्धान गर्न आउनुअघि त्यो फोटो/भिडियोबारे रिपोर्ट गरेको क्याप सा’ब उहाँ नै हुनुहुन्थ्यो। ममाथि च्यालेन्ज गर्‍यो भनेर भनेर मनमा तुष पालेका रहेछन्, मलाई थाहा थिएन। 

मलाई निर्देशन दिने क्याप्टेन सा’बले पनि पछि आफू जोगिन ‘मैले तीन ग्यालेन दिन भनेको हुँ, तीन ड्रम होइन’ भन्दै मलाई नै दोषी देखाए।  

ममाथि इन्धन अपचलनको आरोप लगाइयो। तर, भएको के थियो भने यूएनको हेलिकोप्टर उडाउने चालकहरू तेल माग्दै आइपुगे। उहाँले ‘यिनीहरु मागिराछन्, हामीलाई काम लाग्ने मान्छे हो, हामीलाई पनि सहयोग गर्छन्’ भन्दै फ्युल दिन निर्देशन दिनुभयो। 

उहाँकै निर्देशनअनुसार मैले तीन ड्रम दिने फ्युल दिएँ। पछि त्यो फ्युल बाहिर स्थानीयसम्म पुगेछ। गेटमा त्यत्रो हतियारसहितको ड्युटी हुँदाहुँदै कसले कसरी बाहिर पुर्‍यायो, मलाई केही थाहा थिएन। त्यसतर्फ त्यहाँ केही अनुसन्धान पनि हुँदै भएन। तर, मलाई आरोप लगाइयो, ‘तैले नै बाहिर लगेर बेचिछस्।’

कल्पना गर्नुस् त, त्यत्रो तीन ड्रम तेल मैले गेट बाहिर लगेर बेच्न सक्छु होला! तर, मलाई लगेको बयान कबुल गराउन केसम्म गरिएन र!

मलाई निर्देशन दिने क्याप्टेन सा’बले पनि पछि आफू जोगिन ‘मैले तीन ग्यालेन दिन भनेको हुँ, तीन ड्रम होइन’ भन्दै मलाई नै दोषी देखाए।  

मलाई एकाएक हिरासत लगेपछि क्याप्टेन इन्द्रबहादुर थापाले अनेक धम्की दिँदै पिट्नुभयो। ‘तैले कति पठाइस्, किन पठाइस्, कसरी पठाइस्, राम्रोसँग भनिनस् भने, स्वीकारिनस् भने तँ गइस्’ भन्न थाल्नुभयो। ‘स्वीकारिस् भने कम सजाय हुन्छ, होइन भने त मर्छस्। देशद्रोही मुद्दा चलाएर २० वर्ष जेल सडाइदिन्छु’ भन्दै धम्काउनुभयो। 

बिहान ९ बजेतिर पक्राउ गरिएको थियो। त्यसपछि लगातार यातना दिइयो। बाँसको छडीले खुब पिटियो। कहिले हातले कहिले खुट्टा, जे पाए त्यहीले हान्न थालियो। ‘तँ माओवादीबाट आएको हैनस्, तँ जंगलबाट आएको होइन, तेरो जंगली व्यवहार अझै गएको रैनछ, तलाई २० वर्ष जेल सडाउनलाई म अनुसन्धान अधिकृत बनेर आएको हो' भन्दै यातना दिइयो। 

सात घण्टा लगातार यति यातना दिइयो, यति पिटियो कि अब म जिउँदै घर फर्कन पाउँछु भन्ने नै लागेन। यतै मारिदिएर लडाइँ या दुर्घटनामा मर्‍यो भन्देलान् कि भन्ने पिर हुन थाल्यो। 

‘तैँले बाहिर बेचेको हो भनेर स्वीकारिस् भने तेरो जागिर मात्रै जान्छ, अरु केही सजाय हुँदैन, हामी मिलाउँछौँ। नत्र तँ यहीँ सड्छस्, तेरो मिसनको पैसा पनि केही आउँदैन’ भन्दै धम्क्याए। म स्वीकार्न बाध्य भएँ। 

त्यसपछि ‘ल ठिक छ, तैले स्वीकारिस्, अब तलाई केही पनि हुन्न’ भनेर मलाई छोडिदिए। म फेरि ड्युटीमा फर्किएँ। 

000

५ दिनपछि अकस्मात् हेलिकोप्टर आयो। मलाई हेडक्वार्टरमा लगेर हिरासत राखियो। करिब डेढ महिनाजति मलाई त्यतै कंगोको हिरासतमा राखियो।

एउटा खाट मात्रै अट्ने सानो कोठा थियो। भित्र मान्छे आउन पाउँदैन थिए तर बाहिरबाट सेनाका अधिकृतहरु आउँथे, अनि धम्काउँथे, ‘मेरो नाम पोलिस् भने तलाई यही नेर मार्दिन्छु।’ इन्धन दिन आदेश दिने कमान्डर पनि थर्काउन आएका थिए।  

मलाई करिब २६ दिनसम्म लगातार बयान लिइयो। उनीहरुले भनेअनुसारको शब्द नबोलेसम्म बयान लिइरहे। अनेक डर देखाउँथे। कहिले के लेखाउँथे, कहिले के। नेपालमा गएर यही बयान दिइनस् भने झन् ठूलो सजाय पाउँछस्, यही बयान दिइस् भने तलाई क्षमा हुन्छ भन्दै तर्साउँथे। नेपाल फर्काउने बेला पनि यही भनेका थिए। 

त्यसैले जे–जे कागजात तयार पारेर ल्याएका थिए, मैले केही नपढी साइन गरिदिएँ। किनभने मलाई त सकुशल देश फर्किनु थियो। 'बाचेँ भने त अरु पनि केही काम गरेर खान सकिएला' मनमा यस्तै कुरा मात्रै खेल्थ्यो। त्यसैले उनीहरूले भनेअनुसार बयान दिन बाध्य भएको थिएँ।

त्यसपछि मलाई उतै ‘कोर्ट मार्सल’ गरेर भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गरी एक महिना जेल सजाय सुनाइयो। 

000

म हिरासतमा रहँदा परिवारसँग कहिल्यै सम्पर्क गर्न पाइनँ। कहिले कसको मोबाइल ल्याइन्थ्यो र ‘नेटवर्किङ नहुने ठाउँमा अपरेसनमा गा’को छु, म ठिक छु’ भन्ने छोटो म्यासेज टाइप गर्न लगाइन्थ्यो। र, त्यही म्यासेज उनीहरू घर पठाइदिन्थे। 

तर अफिसकै खोइ कसले हो 'काली केटीसँग उतै लाग्यो, त्यही भएर हिरासतमा छ'भन्ने हल्ला घरमा भनिदिएछन्। घरमा धेरै चिन्ता भएछ। 

कंगोबाट नेपाल फर्कने बेला मलाई मेरो मोबाइल दिइएको थियो। फ्लाइट हुने बेलामै मैले मोबाइलमा घरमा फोन गरेको थिएँ। त्यतिबेला लामै गफ भएको थियो। ‘अपरेसन गाको थिएँ, अहिले नेपाल फर्कदैछु, एयरपोर्टमा छु’ भनेर जानकारी गराएको थिएँ। 

तर, नेपाल ओर्लिनासाथ सम्पर्क गर्न पाइएन। नेपाल आउनेबित्तिकै मोबाइल, झोला सबै जफत गरियो। सैनिक प्रहरी एयरपोर्टमै आइपुगेको थियो। सिधैँ सैनिक प्रहरीको हिरासतमा लगियो। 

त्यसको एक हप्तापछि मात्रै फोन गर्न दिइयो तर हालखबरबाहेक केही पनि नभन्ने र नसोध्ने सर्तमा। मैले पनि क्वारेन्टाइनमा बसिरहेको छु भनेँ तर हिरासतमा थिएँ। 

मलाई कंगोमा फसाइएको हो भन्ने धेरै सिपाहीहरुले महसुस गरेका थिएँ त्यहाँ। तर, यहाँ पिटेको देखेपछि कसैले बोल्न सकेनन्, सबै डराए।

एक महिनाको जेल सजाय भोगेर निस्किएपछि मात्रै मैले भोगेको पीडाको बेलिविस्तार सुनाउन पाएँ। कथा सुनेर, श्रीमती, बुबा आमा सबै रुनुभयो। तर, यही यथार्थलाई स्वीकारेर अघि बढ्नुको विकल्प थिएन मसँग।

समरी अदालतको फैसलाविरुद्ध पुनरावेदन गर्ने पनि नसोचेको होइन। तर तिहारको समय परेको थियो त्यतिबेला। पुनरावेदन गर्ने म्याद सकिएको थाहा पाएँ।  

जेलबाट निस्किएपछि कसैलाई भेट्दै नभेटेको होइन। न्यायका लागि एक जना उपराष्ट्रपति कार्यालयमा काम गर्ने सचिवस्तरको कर्मचारीलाई भेटेको थिएँ। मेरो चिनजानकै हुनुहुन्थ्यो। उहाँलाई आफू अन्यायमा परेको सबै सुनाएँ।

उहाँले सेनामा खासै हाम्रो केही पनि चल्दैन, त्यही पनि म बुझौँला भन्नुभयो। त्यतिबेला समायोजनबाटै गएका एक जना सैनिक ठूलो पदमा पुग्नुभएको हुनुहुन्थ्यो। मेरो बारे उहाँसँग बुझ्नुभएछ। उहाँले ‘उसले बयान दिइसक्यो, सबै स्वीकारिसकेको अवस्था छ, अब केही गर्न सकिँदैन’ भन्ने जवाफ दिनुभएछ। 

त्यसपछि सचिवज्यूले पनि मलाई त्यही सन्देश प्रवाह गर्नुभयो। ‘तिमीले स्वीकार गरिसकेको रैछौ, अब उल्टै बदनाम हुन्छ, छोड्देऊ, उमेर छँदैछ, अरु नै केही काम गर’ भनेर सान्तवना दिन खोज्नुभयो।  

मलाई कंगोमा फसाइएको हो भन्ने धेरै सिपाहीहरुले महसुस गरेका थिएँ त्यहाँ। तर, यहाँ पिटेको देखेपछि कसैले बोल्न सकेनन्, सबै डराए। खासमा त्यो यूएनको कर्मचारीलाई तेल दिएको प्रकरण थियो, त्यसैले मैले बेचेको हो कि होइन, यूएन प्रहरीलाई नै जानकारी गराएर छानबिन गर्न सकिन्थ्यो। तर, विना कुनै प्रमाण सुटुक्क मलाई कारबाही गरियो। 

तेल दिनु भनेर निर्देशन कमान्डर, गेटमा ड्युटी बस्ने सैनिकहरु कसैलाई केही गरिएन। न निष्पक्ष छानबिन नै भयो। मात्रै मलाई टार्गेट गरियो। मैले हेडक्वार्टरमा भिडियो पठाएकै कारण मलाई यातना दिएर बयान कबुल गर्न लगाइयो। अनि, जर्बजस्ती कबुल गर्न लगाइएको साविति बयानकै आधारमा मलाई कारवाही गरियो।

मलाई त न्याय पाउँछु भन्ने आशै लागेन। त्यसैले त्यसपछि कहिल्यै कसैको ढोका ढकढकाउन गइनँ। विदेश जाने चक्करमा छु, अहिले। सामान्य मान्छे, सामान्य जीवन जिइरहेको छु। कसैले केही अवरोध नगरोस्, अब बस् यति अनुरोध छ।

(कंगो मिसनबारे हामी निरन्तर फलोअपमा छौँ। नेपाल समय पढ्दै गर्नुहोला।)

कंगो मिसन-७ : कंगो भ्रष्टाचार 'ब्रेक' गर्ने पत्रकार भन्छन्- निर्दोष सैनिकलाई सजाय दिइयो

नेपाल समय

शृंखलाको यो भागमा हामी कान्तिपुर टीभीका पत्रकार रमेश धमलासँगको ‘बयान’ प्रस्तुत गर्दैछौं, जहाँ उनले स्पष्ट भनेका छन्, ‘मलाई सूचना दिएको आरोपमा सेनाले त्यतिबेला जसलाई कारवाही गर्‍यो, खासमा उनीहरू मेरो सूचनाका स्रोत थिएनन्, उनीहरुलाई म चिन्दै चिन्दिनथें।’

कंगो मिसन-६ : ५ सैनिक कुट्‍ने ३ क्याप्टेनको बयान : ‘सबक सिकाउन पिटेका हौं

नेपाल समय

‘कोर्ट अफ इन्क्वायरी’सँग दिएको बयानमा तीनै जनाले पाँच जना सैनिकलाई कुटपिट गरेको तथ्य स्वीकारेका छन्। अमल्दार नमराज माझीलाई अलि बढी पिटेको कुरा पनि स्वीकारेका छन्।...

कंगो मिसन-५ : जेलसहित बर्खास्तीमा परेका सिपाही भन्छन्- ऊ रोइरहेको थियो, मेरो मन थामिएन

नेपाल समय

घरमा फोन गर्न पनि कहिलेकाहीँ मात्रै दिइन्थ्यो। त्यो पनि ‘सबै ठिक छ’ भन्न लगाइन्थ्यो। एक-दुई मिनेट मात्रै गफ गर्न दिइन्थ्यो। ‘के भयो अचानक यस्तो?’ भन्दै बुबाआमा रुनुहुन्थ्यो, श्रीमती रुन्थिन्। तर आफूले यथार्थ भन्न पाउँदिनथेँ। ‘केही भएको छैन, योभन्दा बढी जवाफ नदिनू' भन्ने उर्दी हुन्थ्यो।...

कंगो मिसन-४ : सैनिक पिट्‌ने 'हाकिम' जोगाउन रचियो यस्तो खेल, तर सिपाहीलाई जेल

नेपाल समय

तीन सैनिक अधिकृतको कुटपिट पुष्टि हुँदाहुँदै उनीहरूलाई सामान्य कारबाही गरेर उन्मुक्ति दिइयो। तर निर्मम कुटाइ खाने माझीदेखि उनको खबर मिडियामा पुर्‍याउने सिपाही सुजन पौडेललाई भने चर्को सजाय दिइयो।... 

कंगो मिसन-३ : कंगोमा कुटाइ खाएका नमराजको बयानः सेनाका क्याप्टेनहरूले मलाई फुटबल बनाएर हाने

नेपाल समय

'फेरि पनि मलाई हान्न आउँदा मैले हात खडा गरी 'सर! मेरो गल्ती भए सजाय दिनुस्, यसरी नकुट्नुस्' भन्दा पनि 'तँ बढी बोलिस्' भनेर मलाई सहसेनानी (क्याप्टेन) इन्द्रबहादुर थापा र सहसेनानी सुबास हुमागाई (क्याप्टेन)ले फुटबल खेलेजस्तो गरी हान्नुभयो।'...

कंगो मिसन-२ : अनियमितताबारे हुनुपर्ने सेनाको अनुसन्धान किन मोडियो सूचनाको स्रोततिर?

नेपाल समय

कंगो मिसनमा आर्थिक अनियमितताको खबर आउनुभन्दा केही दिनअघि अर्थात् असोज ८ गतेतिर अमल्दार नवराज माझीमाथि निर्घात कुटपिट भएको खबर निलडामसहितको तस्बिरसहित मिडियामा प्रकाशित भएको थियो। त्यतिबेला सैनिक अधिकृतहरू इन्द्र थापा, सुवास हुमागाईं र योगेन्द्र धितालले  अमल्दार माझीलाई राती १० बजेको समयमा मादक पदार्थ सेवन गरेर उनी सुत्ने स्थलमै पुगेर कुटपिट गरेको खबरले कंगोदेखि जंगी अड्डासम्म तातेको थियो।...

कंगो मिसन-१ : कान्तिपुर टिभीको त्यो समाचार जसकारण दुई सैनिक अधिकृतले जागिर गुमाए

नेपाल समय

नेपाली सेनाभित्रको आर्थिक अनियमितताको खबर मिडियामा पुर्‍याउन सहयोग गरेको अभियोगमा दुई जना सह-सेनानी जागिरबाट निकालिएको रहस्य बाहिर आएको छ। कोर्ट मार्सलमार्फत सेनाभित्रको आन्तरिक सूचना मिडियामा चुहाएको ठहर गर्दै भवानीदल गणमा कार्यरत सह-सेनानीद्वय राजेन्द्र सिम्खडा र कुमार गुरुङलाई जागिरबाट बर्खास्त गरिएको एउटा 'गुपचुप' घटना नेपाल समयलाई प्राप्त भएको छ।... 

अनिल यादव

अनिल यादव

काठमाडौं, शनिबार, कार्तिक २७, २०७८

थप समाचार

यी युट्युबर, जो प्र्यांकको बहानामा हिंसा गरिरहेका छन्

‘न्यू नेपाली प्र्यांक भिडियो’ भन्दै भिडियो सेयरिङ वेबसाइट युट्युबमा यतिबेला अश्लील, भद्दा र आपत्तिजनक दृश्य र संवाद समावेश भएका भिडियो छ्याप्छ्याप्ती भेटिन्छन्। र, यस्तै भिडियोहरु उत्पादन गरेर युट्युब र टिकटकमा भाइरल भइरहेको नाम हो, कपिल मगर।

सैनिक होस्टलबाट बेपत्ता छोरा खोजिरहेका बाबुको कथा

सैनिक कलेजको छात्रावासबाटै छोरा गायब भएपछि दुई महिनायता दानबहादुर राम्रोसँग सुत्न सकेका छैनन्। छोरासँग जोडिएका स्मृति र सपनाले उनलाई निदाउन त दिएकै छैन।

गल्ली गाइड गुप्तोले देखेको काठमाडौं सहर जहाँ उज्यालोसँग डर छ

‘बर्खामा स्वच्छ देखिन्थ्यो, आद्र देखिन्थ्यो, हरियो देखिन्थ्यो। कि त शीतकालमा कुहिरोमुन्तिर काठमाडौं सेतो तलाउजस्तो देखिन्थ्यो। एउटा मिस्टिक, अचम्मको भ्यालीजस्तो देखिन्थ्यो कि। अहिले पनि सफा हुँदा कहिलेकाहीं सुन्दर भ्याली देखिन्छ काठमाडौं।’

विद्युतीय सवारीसाधन मात्रै चलाउने हो भने जोगिन्छ दैनिक सात करोड

‘विद्युतीय सवारीमा प्रतिकिलोमिटर चार रुपैयाँ खर्च हुन्छ। पेट्रोलियम सवारी चढ्दा प्रतिकिलोमिटर १५ रुपैयाँ खर्च हुन्छ।’

कंगो भ्रष्टाचार 'ब्रेक' गर्ने पत्रकार भन्छन्- निर्दोष सैनिकलाई सजाय दिइयो

शृंखलाको यो भागमा हामी कान्तिपुर टिभीका पत्रकार रमेश धमलासँगको ‘बयान’ प्रस्तुत गर्दैछौं, जहाँ उनले स्पष्ट भनेका छन्, ‘मलाई सूचना दिएको आरोपमा सेनाले त्यतिबेला जसलाई कारबाही गर्‍यो, खासमा उनीहरु मेरो सूचनाका स्रोत थिएनन्, उनीहरुलाई म चिन्दै चिन्दिनथें।’

काठमाडौंमा पूर्ण विद्युतीय सवारी सञ्चालन सम्भव छ?

तत्काल सहरी क्षेत्रमा र दीर्घकालमा मुलुकभर विद्युतीय प्रविधिबाट सञ्चालन हुने सार्वजनिक यातायातका सवारीसाधनको उत्पादन, आयात र प्रयोगलाई प्रोत्साहन गरिनेछ। सघन रूपमा यातायात सञ्चालन हुने स्थलमा विद्युतीय चार्जिङ स्टेसन स्थापना गरिनेछ।’

ट्रेंडिंग

नेपाल समय
प्रदेश न. २

प्रदेश २ : पौडेल पक्ष चुनावी दौडबाटै 'आउट', निधि र देउवा गुट प्रतिस्पर्धामा

देउवा गुटबाट उम्मेदवार खुलेपछि प्रदेश २ मा सभापति देउवा र उपसभापति निधिको बाटो फरक भएको थप स्पष्ट भएको छ। २ आकांक्षीले देउवा निकटका उम्मेदवारलाई समर्थन जनाएपछि उपसभापति निधिका उम्मेदवार रामसरोज एक्लिएका हुन्।
नेपाल समय
राजनीति

देउवा-सिटौला सहकार्य महाधिवेशनमा कति सम्भव?

सिटौला पक्षीय नेता भीमसेनदास प्रधानले यसअघि दिँदै आएका अभिव्यक्ति र तल्लो तहमा बनेका समीकरण आधार हुन्। प्रधानले आगामी महाधिवेशनपछि सिटौला कांग्रेसको कार्यवाहक सभापति हुने बताउँदै आएका छन्।
नेपाल समय
स्वास्थ्य/जीवनशैली

ओमिक्रोनको जोखिम : ९ देशबाट नेपाल आउन रोक

पछिल्लो समय कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट देखिएपछि सरकारले सजगताका लागि ती देशबाट आउने यात्रुमाथि प्रतिबन्ध लगाएको हो।
नेपाल समय
राजनीति

लिङ्देनसँग लड्न यसकारण सजिलो छैन कमल थापालाई

कठिन परिस्थितिहरुमा सतिसाल जसरी थापाको पक्षमा उभिएका यिनै लिङ्देन अहिले थापासँग लड्दैछन्।
नेपाल समय
शिक्षा

आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय तत्काल खारेज गर्न विद्यार्थी संगठनको माग

त्रिभुवन विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्रीसमेतको त्रिवि सभा बैठकले गत मंगलबार १० वर्षदेखि करारमा कार्यरत प्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय गरेको थियो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C