शनिबार, मंसिर १८, २०७८

नेपाल समय

सैनिक होस्टलबाट बेपत्ता छोरा खोजिरहेका बाबुको कथा

अनिल यादव  |  काठमाडौं, मंगलबार, कार्तिक १६, २०७८
अनिल यादव

अनिल यादव

काठमाडौं, मंगलबार, कार्तिक १६, २०७८

काठमाडौं- देशलाई यतिखेर तिहार लागेको छ। तर, दैलेख गुराँस गाउँपालिकाका ५५ वर्षीय दानबहादुर शाही दुई महिनायता काठमाडौंका गल्लीहरूमा छोरा खोज्दै भौँतारिरहेका छन्। उनका लागि न दसैँ लाग्यो, न तिहार नै आएको छ। 

नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा अध्ययनरत २५ वर्षीय उनका छोरा राजेश शाही ६० दिनदेखि बेपत्ता छन्। सैनिक कलेजको छात्रावासबाटै छोरा गायब भएपछि दुई महिनायता दानबहादुर राम्रोसँग सुत्न सकेका छैनन्। छोरासँग जोडिएका स्मृति र सपनाले उनलाई निदाउन त दिएकै छैन। 

कहिले सुन्धाराको गेस्ट हाउस, त कहिले आफन्तको घरमा शरण लिँदै उनी दुई महिनायता काठमाडौंमा आफ्नो एक्लो छोरा खोजिरहेका छन्। न दसैँमा घर गए उनी, न तिहारमा जाँदैछन्। भूपू सैनिकसमेत रहेका उनी भन्छन्, ‘छोरा नलिई कसरी घर जाऔँ? म त जाँदै जान्नँ।’

गहभरि आँशु पार्दै उनी कहिले प्रहरी कार्यालय धाइरहेका छन्, त कहिले प्रधानमन्त्री, गृहमन्त्री र रक्षामन्त्रीको कार्यालय। सबैसँग उनको प्रश्न छ, ‘मेरो छोरा खोइ?’ अनि, एउटै आग्रह छ, ‘जसरी पनि मेरो छोरा खोजिदिनुपर्‍यो, प्रहरी र सेनालाई राम्रोसँग खोज्न र अनुसन्धान गर्न भनिदिनुपर्‍यो।’

छोरा राजेशको खोजीका लागि पहल गरिदिन आग्रह गर्दै गृहमन्त्रीसँगको भेटमा दानबहादुर र उनकी श्रीमतीलगायत।

000

०७८ भदौ १६ गते। साँझको ८ बजे राजेशले मेडिकल कलेजको होस्टेलबाट आमालाई फोन गर्दै भनेका थिए, ‘म दसैँमा घर आउँछु, यहाँ मलाई केही समस्या छैन। तपाईंहरू चिन्ता नलिनुस्।’

आमा-छोराले त्यतिबेला आधा घण्टा फोनमा गफ गरेका थिए। छेउमै रहेका बुबा दानबहादुरले पनि मुस्कुराउँदै आमाछोराबीचको गफ सुनिरहेका थिए। त्यसपछि ‘म अब खाना खान जान्छु’ भन्दै फोन राखेका थिए राजेशले। 

फोनका क्रममा राजेशले एमबीबीएस चौथो सेमेस्टरको परीक्षाको तयारी गरिरहेको बताएका थिए। त्यसपछि करिब पाँच दिनसम्म घरमा राजेशको फोन आएन। परीक्षा चलिरहेका बेला किन 'डिस्टर्व' गर्ने, घरबाट पनि कुनै कल गएन। 

एक्कासि भदौ २१ गते दिउँसो २ बजेतिर दानबहादुरका भान्जा पदम मल्ललाई फोन आयो, ‘राजेश शाही कलेजमा छैन, त्यता घरतिर आएको छ कि?’

त्यसपछि पदमले तत्काल दानबहादुरलाई फोन गरे, ‘मलाई भाइ हरायो भन्ने सूचना आएको छ। तपाईलाई आ’को छ कि नाइ?’

दानबहादुर अत्तालिए। त्यही बेला अर्का एक जना आफ्नो पुरानो साथीको फोन आयो, जसको छोरा त्यही मेडिकल कलेजमा कार्यरत थिए। ती साथीले पनि त्यस्तै प्रश्न गरे, ‘राजेश शाही हराएको खबर छ, थाहा पाउनुभयो?’

परीक्षामा व्यस्त होला भनेको छोरा एक्कासी हराएको सुन्दा दानबहादुर झसंग भए। त्यही दिन काठमाडौं आउन खोजे, प्लेन टिकट मिलेन। दैलेखबाट सुर्खेतस्थित वीरेन्द्रनगरमा नयाँ घर बनाएका थिए, दानबहादुरले। त्यही वीरेन्द्रनगरबाट राति नै उनी श्रीमती कृष्णासँगै नेपालगञ्ज आइपुगे। अनि, नेपालगञ्जबाट बिहानै ८ बजे प्लेन चढेर काठमाडौं। 

छोरा कसरी हरायो, कहाँ होला, दुवै यो प्रश्नले बेचैन थिए। काठमाडौं ओर्लनेवित्तिकै सिधै उनीहरु कलेज पुगे। सैनिक कलेज भएकाले कलेजका प्रमुखदेखि वार्डेनसम्म सबै सेनाकै कर्मचारी थिए। 

राजेशका बुबा दानबहादुरले सबैसामु प्रश्न गरे, ‘कलेजलाई जिम्मा लगाएको बच्चा कसरी हरायो?’

नेपाली सेनाको कलेजमा एमबीबीएस अध्ययनरत राजेश। उनी ६० दिनदेखि बेपत्ता छन्। 

कलेज पुगेर उनले थाहा पाए, छोरा १७ गतेदेखि बेपत्ता रहेछ। तर, घरमा ५ दिनपछि मात्रै खबर आयो। कलेज पुगेरै उनले थाहा पाए, वार्डेनले ५ दिनसम्म राजेश बेपत्ता हुँदा पनि माथि कोठामै भएको रिपोर्टिङ गरेका रहेछन्।

‘कम्तीमा हराएको भोलिपल्टै जानकारी दिएको भए पनि चित्त बुझ्थ्यो। तर हामी पुग्दासम्म पनि कलेजले केही खोजबिन गरेको पाइएन,’ छोराको खोजीमा भौतारिँदै नेपाल समय कार्यालय आइपुगेका दानबहादुर गुनासो पोख्छन्। 

आमाबुबा दुवैले छोरा बस्ने कोठा टाढैबाट हेरे। ५ दिनदेखि खुल्ला रहेछ। बत्ती पनि बालिएको अवस्थामा। किताबहरू जस्ताको त्यस्तै। सामानहरु यत्रतत्र छरिएको। दानबहादुरलाई झन् अचम्म लाग्यो, ‘चार-चार दिनदेखि बत्ती बल्दा, कोठा खाली हुँदा पनि होस्टेलका वार्डेनले किन हेरेनन्? किन केही थाहा पाएनन्?’

राजेशकी आमा कृष्णा त कलेजभित्रै रुँदारुँदै बेहोस भइन्। बुबा दानबहादुरका अनुसार उनको आँशु देखेर कलेज प्रमुखको आँखा पनि रसाइरहेको थियो। 

होस्टेलमै पढ्ने छोराका तीन साथीहरू र वार्डेन विकल श्रेष्ठको गतिविधिप्रति पनि परिवार आशंकित छ।

त्यसपछि तत्काल दानबहादुर महानगरीय प्रहरी परिसर टेकुमा छोराको खोजबिनका लागि निवेदन लिएर पुगे। परिसरपछि उनले प्रधानसेनापतिलाई पनि सम्बोधन गरेर अर्को निवेदन लेखे। जिल्ला प्रशासन कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय सबैतिर निवेदन दिए। 

गृहमन्त्री बालकृष्ण खाँडलाई सिंहदरबारमै पुगेर भेटे। भेटेजति सबैले छोरा खोजिदिने आश्वासन मात्रै दिएनन्, उनकै अगाडि प्रहरीदेखि सेनासम्म सबैलाई फोन पनि लगाए। तैपनि ६० दिन बितिसक्दा राजेश शाही सम्पर्कविहीन छन्। कुनै अत्तोपत्तो छैन।

दुई महिना काठमाडौंमा बसेर छोरा खोजिरहँदा दानबहादुरको करिब एक लाख रुपैयाँ खर्च भइसक्यो। एक दिन पनि कलेज प्रशासनले उनलाई केही सोधेको छैन, कुनै सहानुभुति प्रकट गरेको छैन। सेनामा १६ वर्ष सेवा गरेर अवकाश लिएका उनलाई सेनाको यस्तो व्यवहारले मन दुखेको छ।

‘नेपाल आर्मी गौरवमय संस्था हो। यो संगठनप्रति मेरो सधैँ प्रेम र सम्मान छ। तर संगठनले खटाएका कर्मचारीको कमजोरी र लापरबाहीका कारण आज मेरो छोरा हराएको स्पष्ट देखिन्छ,’ सेनाको छविमा समस्या होला कि भनेर आफूले ५६ दिनसम्म यो खबर मिडियासामु लुकाएको उनी सुनाउँछन्। 

दानबहादुरको आग्रह- राम्रोसँग छानबिन होस्

दानबहादुरको गुनासो छ, आफ्नो छोरा बेपत्ता भएपछि उनको खोजीमा हुनुपर्ने आवश्यक तदारुकता कसैले देखाएकै छैन। होस्टेलमै पढ्ने छोराका तीन साथीहरू र वार्डेन विकल श्रेष्ठको गतिविधिप्रति पनि परिवार आशंकित छ।

राजेशका बुबा दानबहादुर। राजेश बेपत्ता भएको ६० दिन पुग्दा पनि उनको अवस्थाबारे कतै जानकारी नआएपछि उनी चिन्तित छन्। 

‘२१ गते मेरो ठूलो छोरी कल्पनालाई कलेजकै शिव भन्ने साथीले फोन गरेको थियो। उसले छोराको खबर सोध्नेबित्तिकै फोन काटेछ। भोलिपल्ट फेरि फेसबुकमा 'रिक्वेस्ट' पठाएर सम्पर्क गर्‍यो। त्यतिबेला उसले राजेश यहाँ छैन, छिटो आउनुपर्‍यो, खोजी गर्नुपर्‍यो नत्र खतरा हुनसक्छ भन्दै फोन राखेको थियो,’ अहिले तिनै साथीहरू केही नबोल्नुले पनि दानबहादुरको मनमा अनेक शंका उब्जिएको छ। ती साथीहरुको शंकास्पद व्यवहार हुँदाहुँदै अनुसन्धान नुहुनु र दसैँमा होस्टेलले घर बिदामा पठाउनुले पनि झन् आशंका पैदा गरेको छ, राजेशको परिवारमा। 

तिनै साथीहरूले राजेश जाने ठाउँ भन्दै खाजा घरदेखि मसाज सेन्टरसम्म लिएर गए। तर, कहीँ सीसीटीभी फुटेजमा राजेश गएको देखिएन, बरु उनका साथीहरू नै गएको देखियो। 

यता छोरा नभेटिएपछि उनका साथीहरु र प्रहरी यतिखेर राजेशकै चरित्र खराब देखाउन खोजिरहेको बताउँछन्, दानबहादुर। ‘छोराको क्यारेक्टर गलत देखाउन खोजिँदैछ,’ उनी भन्छन्, ‘केटो ठिक थिएन भने अभिभावकलाई किन पहिल्यै भनिएन। हिजो त्यही केटो इमान्दार थियो भन्ने अनि अहिले राम्रो थिएन भन्ने? यस्तो प्रतिक्रियाबाट हामीले कसरी न्यायको आशा गर्ने? हाम्रो चित्त किन नदुख्ने?’

छोराको खोजीमा यतिखेर दानबहादुर दिनहुँजसो प्रहरी कार्यालय धाइरहेका छन्। महानगरीय प्रहरी परिसर जाँदा त्यहाँबाट यो त स्वयम्भुको कार्यक्षेत्र हो भन्दै स्वयम्भु वृत्त पठाइन्छ, त कहिले स्वयम्भु वृत्त जाँदा अब त्यो परिसरले नै हेर्ने हो भन्दै टेकु फर्काइन्छ। तर पनि थाकेका छैनन्, दानबहादुर। 

त्यसो त राजेशको बेपत्तालाई कतिपयले पढाइको प्रेसरले कतै भाग्यो कि भनेर पनि व्याख्या गरिरहेको दानबहादुरले सुनेका छन्। तर, यसमा उनलाई रत्तिभर विश्वास छैन। कारण सुनाउँदै भन्छन्, ‘कमजोर आर्थिक अवस्थाका कारण हामीले त इन्जिनियर पढाउन खोजेका थियौँ। तर, उसले डाक्टर बन्छु भनेर एमबीबीएस पढेको हो। एसएलसीमा पनि ऊ सुर्खेतको टपर हो। प्लस टुमा केएमसी पढ्दा पनि उत्कृष्ट १० भित्र परेको थियो। सैनिक कलेजमा पनि सहजै नाम निकाल्यो। यसरी आफ्नै रहरले अघि बढिरहेको छोरा कसरी पढाइमा प्रेसर मान्छ?’

000

बुबा दानबहादुरसँगै राजेशकी आमा पनि एक हप्तासम्म काठमाडौंमै थिइन्, छोराको खोजीमा। जहाँ पुगे, त्यही बेहोस हुन थालेपछि दानबहादुरले उनलाई प्लेन चढाउर गाउँ नै पठाइदिए, कम्तीमा उता सम्झाइदिने मान्छे हुन्छन् भन्ने आशामा। 

यता उनी भान्जा, सालो र भाइहरुको सहयोग लिँदै छोरा खोज्दै हिँडिरहेका छन्। अघिल्लो दिन हाँसीहाँसी दसैँमा घर आउँछु भनेको छोरो भोलिपल्टै आफ्नै हिसाबले कतै हरायो होला भन्ने रत्तिभर पनि लागेको छैन उनलाई। 

‘म नमरेसम्म छोराका लागि जसरी पनि लड्ने हो, लड्ने हो। जसरी पनि मलाई मेरो छोरा चाहिन्छ, चाहिन्छ। यो कानुनी राज्यमा मेरा लागि त्यति हक त पक्कै सुरक्षित होला नि,’ उनी आशावादी छन्। 

छोराको पढाइमा करिब ६०-७० लाख खर्च गरिसकेको बताउँछन्, उनी। उनको नजरमा छोरा साह्रै अनुशासित, बुझ्झकी र इमान्दार थियो। सबै भनेको मान्थ्यो। ‘एउटा ल्यापटप किनिदिनुस् पनि भनेन कहिल्यै। एमबीबीएस पढ्दा पनि आइफोनमार्फत नै काम चलाइरहेको थियो। अब त एक वर्ष पढाइ बाँकी छ बुबा, त्यसपछि म पाल्छु केही चिन्ता नलिनुस् भन्थ्यो,’ यसरी सहानुभूति दिने छोरा एक्कासी बेपत्ता हुँदा दानबहादुरको परिवारमा खुशी एकाएक हराएको छ। 

यता दानबहादुर, उता उनकी श्रीमती नरोएको दिन छैन, छोराको सम्झनामा। कहाँ होला, के खाँदै होला, यस्तै प्रश्नले दुवैलाई सताइरहेको छ। डाक्टर बन्न हिँडेको छोरा यसरी बेपत्ता हुँदा दानबहादुर साह्रै दुःखी सुनिन्छन्, भन्छन्, ‘अब त सुखका दिन आएजस्तो लाग्थ्यो, तर खोइ कहिल्यै आउला जस्तो भएन।’

सपना राम्रो छ रे त्यसैले छोरा फेला पर्छ भन्नेमा अझै आशावादी छन्, दानबहादुर। ‘के गर्नु मर्न सकिँदैन, रोएर हुँदैन,’ भक्कानिँदै भन्छन् उनी, ‘साह्रै छोराको याद आइरहन्छ। गरिबको छोरो, सैनिक पेसाबाट कमाएको सबै पैसा उसलाई डाक्टर बनाउन लगानी गरेको थिएँ। मेरो सबथोक भन्नु नै त्यही छोरो थियो। त्यो पनि छैन। अब त जीवन कहिल्यै सुखमय होला जस्तो लाग्दैन।’

बुबाआमाका साथमा राजेश (बीचमा)।

तर, १६ वर्ष देशका लागि लडेका उनी अब छोराका लागि लड्ने बताउँछन्। ‘म नमरेसम्म छोराका लागि जसरी पनि लड्ने हो, लड्ने हो। जसरी पनि मलाई मेरो छोरा चाहिन्छ, चाहिन्छ। यो कानुनी राज्यमा मेरा लागि त्यति हक त पक्कै सुरक्षित होला नि,’ उनी आशावादी छन्। 

नेपाली सेनाले भने बेपत्ता राजेशको खोजी भइरहेको बताएको छ। घटनाका सम्बन्धमा आफूहरूले प्रहरीलाई जानकारी गराएकाले प्रहरीले समेत खोजी गरिरहेको नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले बताए। ‘चौथो सेमेस्टरको जाँच दिएर होस्टेलबाट बाहिर निस्केका राजेश फिर्ता नआएपछि हामीले खोजखबर गरेका थियौं। केही पत्ता नलागेपछि प्रहरीलाई जानकारी गरायौं। अहिले प्रहरीले खोजबिन गरिरहेको छ। हामी पनि प्रहरी र परिवारसँगको समन्वयमै छौं,’ प्रवक्ता पौडेलले भने। 

यो पनि

अनिल यादव

अनिल यादव

काठमाडौं, मंगलबार, कार्तिक १६, २०७८

थप समाचार

यी युट्युबर, जो प्र्यांकको बहानामा हिंसा गरिरहेका छन्

‘न्यू नेपाली प्र्यांक भिडियो’ भन्दै भिडियो सेयरिङ वेबसाइट युट्युबमा यतिबेला अश्लील, भद्दा र आपत्तिजनक दृश्य र संवाद समावेश भएका भिडियो छ्याप्छ्याप्ती भेटिन्छन्। र, यस्तै भिडियोहरु उत्पादन गरेर युट्युब र टिकटकमा भाइरल भइरहेको नाम हो, कपिल मगर।

माओवादीबाट समायोजित सैनिक पुनको 'बयान' : तँ जंगली भन्दै यातना दिए

‘तैँले बाहिर बेचेको हो भनेर स्वीकारिस् भने तेरो जागिर मात्रै जान्छ, अरु केही सजाय हुँदैन, हामी मिलाउँछौँ। नत्र तँ यहीँ सड्छस्, तेरो मिसनको पैसा पनि केही आउँदैन’ भन्दै धम्क्याए। म स्वीकार्न बाध्य भएँ।

गल्ली गाइड गुप्तोले देखेको काठमाडौं सहर जहाँ उज्यालोसँग डर छ

‘बर्खामा स्वच्छ देखिन्थ्यो, आद्र देखिन्थ्यो, हरियो देखिन्थ्यो। कि त शीतकालमा कुहिरोमुन्तिर काठमाडौं सेतो तलाउजस्तो देखिन्थ्यो। एउटा मिस्टिक, अचम्मको भ्यालीजस्तो देखिन्थ्यो कि। अहिले पनि सफा हुँदा कहिलेकाहीं सुन्दर भ्याली देखिन्छ काठमाडौं।’

विद्युतीय सवारीसाधन मात्रै चलाउने हो भने जोगिन्छ दैनिक सात करोड

‘विद्युतीय सवारीमा प्रतिकिलोमिटर चार रुपैयाँ खर्च हुन्छ। पेट्रोलियम सवारी चढ्दा प्रतिकिलोमिटर १५ रुपैयाँ खर्च हुन्छ।’

कंगो भ्रष्टाचार 'ब्रेक' गर्ने पत्रकार भन्छन्- निर्दोष सैनिकलाई सजाय दिइयो

शृंखलाको यो भागमा हामी कान्तिपुर टिभीका पत्रकार रमेश धमलासँगको ‘बयान’ प्रस्तुत गर्दैछौं, जहाँ उनले स्पष्ट भनेका छन्, ‘मलाई सूचना दिएको आरोपमा सेनाले त्यतिबेला जसलाई कारबाही गर्‍यो, खासमा उनीहरु मेरो सूचनाका स्रोत थिएनन्, उनीहरुलाई म चिन्दै चिन्दिनथें।’

काठमाडौंमा पूर्ण विद्युतीय सवारी सञ्चालन सम्भव छ?

तत्काल सहरी क्षेत्रमा र दीर्घकालमा मुलुकभर विद्युतीय प्रविधिबाट सञ्चालन हुने सार्वजनिक यातायातका सवारीसाधनको उत्पादन, आयात र प्रयोगलाई प्रोत्साहन गरिनेछ। सघन रूपमा यातायात सञ्चालन हुने स्थलमा विद्युतीय चार्जिङ स्टेसन स्थापना गरिनेछ।’

ट्रेंडिंग

नेपाल समय
प्रदेश न. २

प्रदेश २ : पौडेल पक्ष चुनावी दौडबाटै 'आउट', निधि र देउवा गुट प्रतिस्पर्धामा

देउवा गुटबाट उम्मेदवार खुलेपछि प्रदेश २ मा सभापति देउवा र उपसभापति निधिको बाटो फरक भएको थप स्पष्ट भएको छ। २ आकांक्षीले देउवा निकटका उम्मेदवारलाई समर्थन जनाएपछि उपसभापति निधिका उम्मेदवार रामसरोज एक्लिएका हुन्।
नेपाल समय
राजनीति

देउवा-सिटौला सहकार्य महाधिवेशनमा कति सम्भव?

सिटौला पक्षीय नेता भीमसेनदास प्रधानले यसअघि दिँदै आएका अभिव्यक्ति र तल्लो तहमा बनेका समीकरण आधार हुन्। प्रधानले आगामी महाधिवेशनपछि सिटौला कांग्रेसको कार्यवाहक सभापति हुने बताउँदै आएका छन्।
नेपाल समय
स्वास्थ्य/जीवनशैली

ओमिक्रोनको जोखिम : ९ देशबाट नेपाल आउन रोक

पछिल्लो समय कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट देखिएपछि सरकारले सजगताका लागि ती देशबाट आउने यात्रुमाथि प्रतिबन्ध लगाएको हो।
नेपाल समय
राजनीति

लिङ्देनसँग लड्न यसकारण सजिलो छैन कमल थापालाई

कठिन परिस्थितिहरुमा सतिसाल जसरी थापाको पक्षमा उभिएका यिनै लिङ्देन अहिले थापासँग लड्दैछन्।
नेपाल समय
शिक्षा

आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय तत्काल खारेज गर्न विद्यार्थी संगठनको माग

त्रिभुवन विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्रीसमेतको त्रिवि सभा बैठकले गत मंगलबार १० वर्षदेखि करारमा कार्यरत प्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय गरेको थियो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C