सोमबार, मंसिर १३, २०७८

नेपाल समय
आहा उपत्यका–३

गल्ली गाइड गुप्तोले देखेको काठमाडौं सहर जहाँ उज्यालोसँग डर छ

राज सरगम  |  काठमाडौं, शनिबार, असोज ३०, २०७८
राज सरगम

राज सरगम

काठमाडौं, शनिबार, असोज ३०, २०७८

काठमाडौं- एक समय काठमाडौंका सबै गल्लीमा भौंतारिए– अरुण गुप्तो। हरेक चोकमा देवताको बास थियो। पाइलाकै दुरीमा भेटिने देवीदेउतामाथि उनी खुब घोरिए। मन्दिरका टुँडाल हेरेर घोत्लिए र मूर्तिका भाव पढे। फलस्वरूप पुस्तक लेखे– गडेस अफ काठमान्डु भ्याली। 

गुप्तोको गल्ली–स्मृतितिर पस्ने हो भने त्यहाँ देखिन्छन्– काठमाडौंका राजमार्ग वा चौंडा सडकभन्दा भित्र कहिल्यै घामका किरण नपस्ने साना गल्लीका फरक संसारका चिसा, ओसिला र अँध्यारा कथाहरू। गुप्तो भन्छन्– ‘म गल्ली गाइड हुँ। तपाईं यो सहरको जुनै गल्लीमा पुग्नुस्, बाटो भुल्नुभयो भने मलाई सम्झनुस् र फोन गर्नुस्, फोनमै बाटो बताइदिन्छु।’

गल्ली भौंतारिएपछिको काठमाडौंमाथिको उनको एउटै आविष्कार छ– यहाँ मन्दिर छन्, ज्ञान र करूणाका देवी छन्। उनको विचारमा कला र ज्ञान काठमाडौंको खास चित्र–चरित्र हो। भन्छन्– ‘सबैजसो देवीमा केही न केही ज्ञान रूप पाइन्छ।’ 

देवी र मूर्तिमाथि उनी कतिसम्म घोरिए भने त्यसमा जोडिएको ग्ल्यामरबारे उनले एउटा अन्तर्वार्तामा भनेका थिए, ‘अहिलेका मूर्तिहरू हेर्ने हो भने हिरोइनका अनुहारजस्ता लाग्छन्। मूर्तिमा ग्ल्यामर जोडिएको छ। एकपटक एउटी देवीको अनुहार बलिउड कलाकार हेमा मालिनीजस्तो देखियो भनेर व्यापक विवाद भएको थियो। यो उपभोक्तावादी संस्कृतिको प्रभावको परिणाम हो।’ २८ वर्ष त्रिभुवन विश्वविद्यालयमा पढाएका, अंग्रेजी साहित्यका प्रा.डा अरुण गुप्तो खासमा संस्कृति अध्ययन–अनुसन्धानका गुरु हुन्।

‘बर्खामा स्वच्छ देखिन्थ्यो, आद्र देखिन्थ्यो, हरियो देखिन्थ्यो। कि त शीतकालमा कुहिरोमुन्तिर काठमाडौं सेतो तलाउजस्तो देखिन्थ्यो। एउटा मिस्टिक, अचम्मको भ्यालीजस्तो देखिन्थ्यो कि। अहिले पनि सफा हुँदा कहिलेकाहीं सुन्दर भ्याली देखिन्छ काठमाडौं।’ 

६० को दशकमा काठमाडौंका गल्ली चहार्दा अरुण सर खासमा एक स्टोरी टेलर थिए, फोटोग्राफर थिए। देवी–देउतामाथिका मिथ र कथा फरर भन्थे। डकुमेन्ट्रीका लागि पनि उनी खुब कुदे गल्लीहरू। उनलाई अहिले लाग्छ– आफ्नो हिँडाइको रफ्तारभन्दा काठमाडौं आएको बदलाबको रफ्तार बढी छ। भन्छन्, ‘तीस वर्षअघिसम्म यस्तो कुरुप थिएन, काठमाडौं।’

उतिबेला, उनले गल्ली चहार्दा कस्तो थियो काठमाडौं? 

आठ वर्षअघि वृत्तचित्र बनाउन साँखुको बज्रयोगिनी मन्दिर पुगेका थिए गुप्तो। १६ औं शताब्दीतिर बनेको न्दिर देखेर उनले सय वर्षअघिको काठमाडौं कल्पना गरेका थिए। ‘बर्खामा स्वच्छ देखिन्थ्यो, आद्र देखिन्थ्यो, हरियो देखिन्थ्यो। कि त शीतकालमा कुहिरोमुन्तिर काठमाडौं सेतो तलाउजस्तो देखिन्थ्यो। एउटा मिस्टिक, अचम्मको भ्यालीजस्तो देखिन्थ्यो कि। अहिले पनि सफा हुँदा कहिलेकाहीं सुन्दर भ्याली देखिन्छ काठमाडौं’, अरुण भन्छन्। 

अहिले सहरको सुन्दरतामा ह्रास आएको देख्छन् उनी। यसको एउटै कारण हो सहरीकरण। ‘त्यो सुन्दरता अब विगत बनिगयो,’ भन्छन्। उनी प्रा. अभि सुवेदीको किताब ‘फ्लानरको डायरी’ बाट केही सुनाउँछन्, ‘सहरका अनेकौं विगत हुन्छन्, इतिहासका तह हुन्छन् त्यसलाई उपलेखन भन्न सकिन्छ। एउटा स्मृतिमाथि फेरि लेख्नु उपलेखन हो। त्यही उपलेखनका तहतहमा प्रस्तरकला, वास्तुकला, साहित्यकला, चित्रकला मूर्तिकला इत्यादि भेटिन्छन्। त्यही खोज्नु नै सहर चिन्ने दृष्टिकोण थियो।’ 

कुनै बेला उनलाई काठमाडौं एउटा ‘ल्यान्ड स्केप’ लाग्थ्यो। र, यसको सुन्दरताले मोहित पार्थ्यो। सुस्केरा हाल्छन्, ‘सुन्दर देखिने चिजहरु अब छेकिँदै गएको छ।’ 


टेकुबाट पाटनको बीचसम्म हेर्दा छेउमा नदी छ। नदीमा पानी छ। र, पारि पहाड छ। उनी कल्पन्छन्– ‘पचास वर्षअघि मात्रै पनि यसको सुन्दरता कस्तो थियो होला। शान्त र एकान्त यो ठाउँ कति लोभलाग्दो थियो होला।’ 

‘हरेक ऋतुमा बज्रयोगिनीबाट काठमाडौं देखिन्थ्यो। त्यो दृष्टि थियो,’ गुप्तो सुनाउँछन्, ‘अब त्यो सबै सहरीकरणले परिवर्तन भएको छ।’ बढ्दो सहरीकरणले सौन्दर्यशास्त्रीय दृष्टिकोण बदलिदिएको छ। गुप्तो भन्छन् ‘काठमाडौंको चरित्र उपलेखनले परिवर्तन भएको छ।’

उनलाई लाग्छ, बज्रयोगिनीबाट देखिने काठमाडौंको सौन्दर्य मात्रै नाश भएको छैन संवेदनशीलता र प्राज्ञ (ज्ञान) मा पनि ह्रास भएको छ। 

‘व्यापार हो। तर, हल्ला बढी छ। यस्तो सहरमा मानिस कसरी बस्छन्? सहरले कुनै खाली ठाउँ छोडेन। त्यो कर्कस ध्वनि अब पच्दै जान थाल्यो। अँध्यारो र उज्यालोको खेललाई पनि सहरले खाइदियो।’ 

राणाकालको अन्त्यतिर वीर अस्पतालमा डाक्टर थिए उनका हजुरबा। कपिलवस्तुको बहादुरगन्ज पुग्दा गुप्तोलाई हजुरबा काठमाडौंको कथा सुनाउँथे। गुप्तोलाई हजुरबाले भनेको एउटा लाइन याद छ– काठमाडौं रहस्यमय ठाउँ हो। 

त्यो ‘रहस्यमय’ काठमाडौंमा मानिसको चाप यसरी बढ्दै गयो कि राजधानी पूर्णरुपमा ‘राजधानी’ भयो। तर, यो राजधानी कुरुप छ। भन्छन्, ‘काठमाडौं कुनै समय गौचरन थियो। त्यो मेटाफर भयो। अब रिक्त ठाउँ छैन। प्लेनबाट काठमाडौं हेर्दा कतै देखिँदैनन्– पार्क, प्ले ग्राउन्ड, रिक्रियसन सेन्टर र पब्लिक स्पेस। मात्रै देखिन्छ, यो सहर एउटा कंक्रिटको जंगल।’ गुप्तो सहरसँग आफूलाई ‘आइडेन्टिफाई’ गर्न रिक्त ठाउँ हुनुपर्ने बताउँछन्। घर र पसल मात्रै सहरको स्वरुप होइन। 

कुनै बेलाको रातको काठमाडौं उनको स्मृतिमा ताजै छ। 

रातको काठमाडौंको चरित्रमा उनले दुईवटा लक्षण देखे। उति बेला अँध्यारो भएर पनि डर थिएन। अँध्यारोसँग डरको सम्बन्ध थियो। तर, अँध्यारोसँग डर हुँदैनथ्यो। अँध्यारो र उज्यालोको खेल देखिन्थ्यो राति। एक किसिमको चिन्तामुक्त भएर हिँड्न सकिन्थ्यो। 

केही दशकअघिसम्म उनी राति खाना खाएर रिङरोड डुल्न जान्थे। सामाखुसी आसपास स्याल कराउँथ्यो। चराको चिरबिर, झ्याउँकिरीको झ्याउँझ्याउँले आनन्द दिन्थ्यो। दरबारमार्ग, हनुमानढोका, पशुपतितिर शान्त थियो। अँध्यारो थियो, तर डर थिएन। अब? त्यो सम्भव छैन भन्छन् उनी। सुरक्षा अभावले सम्भावना गुमिसकेको बताउँछन् गुप्तो। भूमि ह्रास हुनुको कारण त्यसो भएको भएको बताउँछन्। भन्छन्, ‘महिला र बच्चा लिएर राति हिँड्ने साहस आउँदैन अब।’ 

उनको विचारमा प्रदूषणले पनि रातको सुगन्ध कम भइसकेको छ। ठमेलबाट हिँडेर महाराजगन्ज पुग्दा डान्स रेस्टुरेन्टको हल्ला सुन्नुपर्छ। भन्छन्, ‘व्यापार हो। तर, हल्ला बढी छ। यस्तो सहरमा मानिस कसरी बस्छन्? सहरले कुनै खाली ठाउँ छोडेन। त्यो कर्कस ध्वनि अब पच्दै जान थाल्यो। अँध्यारो र उज्यालोको खेललाई पनि सहरले खाइदियो।’ 

सहरीकरणले ‘मर्दना’ छाएको देख्छन् काठमाडौंमा उनी। ‘मस्क्युलिटी’ले समाएको देख्छन्। केटाहरुले खेल्ने भिडियो गेमजस्तो भएको छ– काठमाडौं। उनको बुझाइमा महिलाका लागि यो सहर निर्जीव छ। 

‘सहरीकरणको मुख्य चिरित्र हिँड्नु हो। तर हिँडाइको सुविधा हराउँदै गयो,’ उनी हिँड्नुमा आनन्द खोज्छन्। विश्वका ठूला सहर न्युयोर्क, टोकियो, मुम्बईमा हिँड्नुमा आनन्द छ। भन्छन्, ‘महिला बालबालिकाका लागि त झनै स्पेस छैन।’

घरेलु महिला,  साना बालबालिका र जेष्ठ नागरिकाका लागि गतिलो स्थान देख्दैनन् उनी। रेस्टुरेन्टमा पैसा खर्च गरेर खान सक्ने उच्च वर्ग र मध्यम वर्गका लागि मात्रै काठमाडौं सीमित हुन थाल्यो। भन्छन्, ‘सामान्य मानिसका लागि काठमाडौं खुकुलो छैन। ह्याप्पी सिटी हुन खाली ठाउँ चाहिन्छ। खाली ठाउँ नभए स्वतन्त्रता पनि नभएझैं लाग्छ।’

सहर मानवीय संवेदनशीतलासँग जोडिनुपर्छ। किनकि मानवीय संवेदनशीलता महिला, बालबालिका तथा जेष्ठ नागरिकमा देखिन्छ। करुण, निःस्वार्थ, दया उनीहरुसँग भेटिन्छ।’

प्राध्यापक गुप्तो हरेक संवेदनशील प्राणीका लागि काठमाडौं साँघुरो हुँदै गएको ठान्छन्। भन्छन्, ‘सहर मानवीय संवेदनशीतलासँग जोडिनुपर्छ। किनकि मानवीय संवेदनशीलता महिला, बालबालिका तथा जेष्ठ नागरिकमा देखिन्छ। करुण, निःस्वार्थ, दया उनीहरुसँग भेटिन्छ।’

भनाइमा मात्रै महानगर हुन थालेको देख्छन् काठमाडौंलाई गुप्तो। विचार, नीति निर्माण र पूर्वयोजनामा संवेदनशील देखिँदैन। ‘स्थेटिक अर्थात् शास्त्रीय सौन्दर्य नै देखिँदैन’, भन्छन् उनी।   

काठमाडौंलाई उनी विरोधाभास देख्छन्। मान्छे त आउँछन् राजधानीमा तर आफ्नो कसैले सोच्दैनन्। काठमाडौं सहरको एउटा चरित्र थियो। त्यो हो– हजारौं वर्षको कला र दर्शन। बौद्ध र हिन्दु धर्मलाई बचाइराख्ने चित्रकला र मूर्तिकला छन्। मन्दिर छन्। स्तूप छन्। राजधानी हुनेबित्तिकै ‘राजनीतिक भूमि’ राजनीतिक विचारधाराबाट परिचालित हुन पुग्ने तर्क गर्छन् उनी।  

गुप्तो यसलाई दुई तरिकाले हेर्दछन् :

धेरै जनाले आफूसँग जोड्दैनन् यो सहरलाई। केवल बस्न आएको, काम गर्न आएको, सोच्छन् तर कमाउँछन् पनि, बस्छन् पनि, मर्छन् पनि यहीं। अवसरका खोजीमा आउँछन् मान्छेहरु। इच्छा–चाहनाले यसो गरेको भने होइन। व्यवहारले यस्तो बनाएको हो भन्ने लाग्छ उनलाई। गाउँ जाने आनन्द पनि छुट्टै रहेको बताउँछन्। भन्छन्, ‘यस्तो मौका मैले पनि गुमाउँदिनँ।’ 

लाखौं मानिसका लागि काठमाडौं होइन। जिल्ला हो। तर अवसर र कामका लागि राजधानी सम्झिन करै लाग्छ। दसैंमा काठमाडौं सुनसानजस्तै हुन्छ। राजधानीले भीड पनि बनाउँछ। र भीडले परिस्थितिअनुसार काठमाडौं पनि छोड्छ। कोभिड १९ को कारण लागेको लकडाउन उदाहरण दिन्छन् उनी। 

आत्मीयता हुँदाहुँदै पनि देखाउन सकिन्न। त्यसैले आत्मीयता कमझैं लाग्छ। हरेक राजधानीको चरित्र हो यो। गुप्तो भन्छन्, ‘सहरको इतिहाससँग व्यक्तिको इतिहास मिल्नुपर्छ। तब अपनत्व र प्रेम हुँदै जान्छ।’ 

‘व्यक्तिगत इतिहास र सहरको इतिहास मिलेकै छैन’, उनी जोड्छन्।  

काठमाडौंको सौन्दर्य मन्दिर, टुँडाल र मूर्तिमा देख्छन् उनी। काठमाडौंका छेउछाउमा बराही मन्दिर सम्झिन्छन्। उपत्यकाका किनारकिनार ज्ञानबाट मुखरित भएको देवी छन्। शक्तिपीठ छन्। जस्तै– ज्ञानदेवी, बगलामुखी, बज्रयोगिनी, धुम्रवाराही, काली, तारा। देवीहरु सरस्वतीका रुप मात्रै हैनन्। यी देवीहरुको आफ्नै इतिहास छ। ‘दस महाविद्या देवी हुन् यी’, उनी भन्छन्। 

निर्माण तहमा हुने राजनीतिक गफगाफ सडक र घरमा बढी हुन थाल्यो। अरु पनि विधा थिए। मानिसहरु त्यसको कुरा गर्न खोज्दैनन्। राजनीतिक विश्लेषण चोकचोक र घरघरमा भेटिन्छन्। गुप्तो भन्छन्, ‘राजनीति दैत्य र देवता दुवै भएको छ।।’ 

प्राध्यापक गुप्तो भक्तपुरमा रहेको त्रिपुरासुन्दरी देवीको उदाहरण दिन्छन्। बीचमा त्रिपुरासुन्दरी देवी, चारैतिर पुरुष देवता र बाहिर चारैतिर बाराही देवी छन्। भन्छन्, ‘यो धार्मिक र मिथकीय डिजाइन हो। ज्ञानलाई केन्द्रमा राखियो।’

यो हेर्ने फुर्सद आजका मानिसमा नभएको लाग्छ उनलाई। न बुझ्ने चेष्टा नै गर्छन्। १६ औं शताब्दीतिर बनेका यस्ता मूर्ति छन् जसले काठमाडौंको सौन्दर्य र इतिहासलाई बुझाउन सक्छ। यो हिन्दु धर्ममा मात्रै नभएर बुद्ध धर्ममा पनि छ। भन्छन्, ‘जब रुप र बिम्बमा सम्झिनुपर्छ भने त्यो सहर विकृतितिर जान्छ। 

दसैं दृष्टमाथि विजय भएको दिनका रुपमा मनाइन्छ तर उनी त्यस्तो होइन भन्छन्। गुप्तो भन्छन्, ‘पाटन दरबार स्क्वायरमा दुर्गाको मूर्ति छ। महिषासुरलाई भाला कोपिरहेकी देवी दुर्गा टाढा हेरेर हलुका मुस्कुराएकी छिन्। उनको ध्यान असुरतिर छैन। त्यो त चिन्तनको हेराइ हो।’ उनका अनुसार त्यो दुष्ट होस् कि असल होस् देवत्वमा समाहित हुने युद्ध हो। बदलावको भाव होइन। 

दक्षिण एसियालाई बुझाउन सक्ने देवीको मूर्ति हो त्यो। त्यसको पछाडि स्कुलको बोर्ड छ। कुरुप फलामको ढोका छ। ताल्चा छ। दुर्गाको मूर्तिमाथि तार छन्। भन्छन्, ‘व्यावसायिकता मात्रै हेरियो। सहर हेरिएन। दक्षिण एसियामा त्यस्ता मूर्ति मुस्किलले पाइन्छ। देखिने मूर्ति पनि नदेखिने बनाइसके। सहरप्रति चिन्तन गर्नेहरुले सहरको इतिहास बुझ्नुपर्छ।’ 

कला बुझ्नुपर्‍यो। इतिहास खोज्नुपर्‍यो। दर्शन, इतिहास, वास्तुकलाको इतिहास। बुद्धका धेरै दर्शनलाई वास्तुकलामा उजागर गरिएको छ। मिथकीय, धार्मिक, दार्शनिक कुराहरुलाई लिएर बनेको थियो काठमाडौं। त्यो बिग्रिएर गयो।  

काठमाडौंको संवेदनशीलता नबुझेरै पूर्वाधार निर्माण भएको लाग्छ उनलाई। भन्छन्, ‘घरमा मात्रै सम्पन्नता खोजियो।’ 

कुनै समय सामन्तले आफ्नो पहुँच र आत्मसन्तुष्टिका लागि केही ऐतिहासिक कलाको निर्माण गरे। जसले सुन्दरतालाई ध्यानमा राखे। तर पुँजीवादीले भने तिनै धरोहरलाई व्यावसायिक बनाइदिएको बताउँछन् उनी। यसो हुनु राजनीतिको प्रभाव मान्छन्। उनी भन्छन्, ‘नेपलिज आर्किटेक्चर’ किताबमा काठमाडौंका सुन्दरता कलामा देख्न सकिन्छ।’ 


जबजब राजनीतिक पकड कम हुँदै जान्छ मानिसले अर्को विकल्प खोज्छ। त्यस्ता मानिसले कला र संस्कृतिलाई आफ्नो पकड बनाउन सक्छन्। यसैका उदाहरण मान्छन् राजा महेन्द्रअगाडिको काठमाडौं उपत्यका। भन्छन्, ‘सामन्तहरू कलासंस्कृतिप्रति संवेदनशील थिए। कलालाई प्रेम गर्थे। अहिले व्यापार गर्छन्। पुँजीवादले संरक्षण गर्दैन।’

बढ्दो सहरीकरणले सांस्कृतिक रङ फिका हुँदै गएको लाग्छ उनलाई। त्यसो हुनु मानिसमा संवेदनशीलताको कमी हुँदै जानु हो। एक दशकअगाडि मात्र पनि गुप्तो नाटक देखाउन नदी खोज्दै हिँडेका थिए। सफा पानी खोजेर काठमाडौंलाई फेरो मारेका थिए। गुह्येश्वरीको किनारमा नाटक गरे। अब त्यो सम्भव देख्दैनन् उनी। केही ढुंगेधारा पनि लोप हुँदै गयो। ‘सहर ‘वाटर फ्रन्ट’ अथवा खोला र नदीसँग नजिक हुनै सकेन। सहर र नदीको सामीप्यता कमजोर हुँदै गयो’, भन्छन्, ‘पानीसँग सबैभन्दा बढी रिस छ।’

रानीपोखरी, नागपोखरी, गहनापोखरी, टौदह यो सहरमा मुस्किलले भेटिन्छ। संरचनागत विकासमा लागेर प्राचीन इतिहास मासिँदै गएको छ। ढुंगेधाराको विनाश भयो। धार्मिक र कलात्मक रुपमा हेर्ने हो भने कसरी कल्पना गरिएको होला भन्ने लाग्छ। 

नदीको छेउमा बसेर आनन्द लिने ठाउँ भएन। दर्गन्ध छ। वाटर फ्रन्ट बिना सहर मरुभूमि भएको विश्वमा उदाहरण छन्। भन्छन्, ‘दुःख नभोगेको सहर पनि यति कुरुप हुनुपर्‍यो। यो विडम्बना हो।’

विश्वमा बगदाद, काबुल, सिकागो जस्ता सहर बम र बन्दुकले क्षतविक्षत भएका थिए। त्यत्ति हुँदाहुँदै पनि ती सहर आफैंमा सुन्दर छन्। दुःख नभोग्नु नै काठमाडौंका दुःख ठान्छन् उनी। 

काठमाडौंमा जीवनको घटनाक्रम राजनीतिक अन्योलतामा अलमलिएको लाग्छ गुप्तोलाई। निर्माण तहमा हुने राजनीतिक गफगाफ सडक र घरमा बढी हुन थाल्यो। अरु पनि विधा थिए। मानिसहरु त्यसको कुरा गर्न खोज्दैनन्। राजनीतिक विश्लेषण चोकचोक र घरघरमा भेटिन्छन्। गुप्तो भन्छन्, ‘राजनीति दैत्य र देवता दुवै भएको छ।।’ 

मानिसमा कला, साहित्य, दर्शन र समाजको कुरा गर्ने फुर्सदै छैन। राजनीति सधैं चर्चाको विषय बन्नुको कारण पनि जीवनशैली सृजनात्मक नहुँदा हो। उनी भन्छन्, ‘राजनीतिले पनि काठमाडौंको सौन्दर्यलाई ओझेल पारेको छ।’

काठमाडौंको कथाभित्र प्रजातान्त्रिक संवेदनशीलता हराएको छैन। मानवीय संवेदनशीलताले यो सहरमा खुसी मानिसहरू देख्छन् प्रा. गुप्तो। भन्छन्, ‘काठमाडौंमा भेटिने भनेको खुसी हो। दया हो। सहयोग हो। यही सुन्दर मानवीय पक्ष हो यस सहरको।’


यो पनि

राज सरगम

राज सरगम

काठमाडौं, शनिबार, असोज ३०, २०७८

थप समाचार

यी युट्युबर, जो प्र्यांकको बहानामा हिंसा गरिरहेका छन्

‘न्यू नेपाली प्र्यांक भिडियो’ भन्दै भिडियो सेयरिङ वेबसाइट युट्युबमा यतिबेला अश्लील, भद्दा र आपत्तिजनक दृश्य र संवाद समावेश भएका भिडियो छ्याप्छ्याप्ती भेटिन्छन्। र, यस्तै भिडियोहरु उत्पादन गरेर युट्युब र टिकटकमा भाइरल भइरहेको नाम हो, कपिल मगर।

माओवादीबाट समायोजित सैनिक पुनको 'बयान' : तँ जंगली भन्दै यातना दिए

‘तैँले बाहिर बेचेको हो भनेर स्वीकारिस् भने तेरो जागिर मात्रै जान्छ, अरु केही सजाय हुँदैन, हामी मिलाउँछौँ। नत्र तँ यहीँ सड्छस्, तेरो मिसनको पैसा पनि केही आउँदैन’ भन्दै धम्क्याए। म स्वीकार्न बाध्य भएँ।

सैनिक होस्टलबाट बेपत्ता छोरा खोजिरहेका बाबुको कथा

सैनिक कलेजको छात्रावासबाटै छोरा गायब भएपछि दुई महिनायता दानबहादुर राम्रोसँग सुत्न सकेका छैनन्। छोरासँग जोडिएका स्मृति र सपनाले उनलाई निदाउन त दिएकै छैन।

विद्युतीय सवारीसाधन मात्रै चलाउने हो भने जोगिन्छ दैनिक सात करोड

‘विद्युतीय सवारीमा प्रतिकिलोमिटर चार रुपैयाँ खर्च हुन्छ। पेट्रोलियम सवारी चढ्दा प्रतिकिलोमिटर १५ रुपैयाँ खर्च हुन्छ।’

कंगो भ्रष्टाचार 'ब्रेक' गर्ने पत्रकार भन्छन्- निर्दोष सैनिकलाई सजाय दिइयो

शृंखलाको यो भागमा हामी कान्तिपुर टिभीका पत्रकार रमेश धमलासँगको ‘बयान’ प्रस्तुत गर्दैछौं, जहाँ उनले स्पष्ट भनेका छन्, ‘मलाई सूचना दिएको आरोपमा सेनाले त्यतिबेला जसलाई कारबाही गर्‍यो, खासमा उनीहरु मेरो सूचनाका स्रोत थिएनन्, उनीहरुलाई म चिन्दै चिन्दिनथें।’

काठमाडौंमा पूर्ण विद्युतीय सवारी सञ्चालन सम्भव छ?

तत्काल सहरी क्षेत्रमा र दीर्घकालमा मुलुकभर विद्युतीय प्रविधिबाट सञ्चालन हुने सार्वजनिक यातायातका सवारीसाधनको उत्पादन, आयात र प्रयोगलाई प्रोत्साहन गरिनेछ। सघन रूपमा यातायात सञ्चालन हुने स्थलमा विद्युतीय चार्जिङ स्टेसन स्थापना गरिनेछ।’

ट्रेंडिंग

नेपाल समय
सुदूरपश्चिम

पुष्पकुमार शाहीद्वारा कांग्रेस सुदूरपश्चिम अध्यक्षमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका युवा नेता पुष्पकुमार शाहीले १४औं महाधिवेशनअन्तर्गत सुदूरपश्चिम प्रदेशको सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्।
नेपाल समय
समाज

यस्तो रहस्यमय मृत्यु जसले बाहिर ल्यायो रौतहट कारागारभित्रको 'दादागिरी'

एक कैदीको रहस्यमय मृत्युको घटनापछि जिल्ला कारागार रौतहटभित्र हुने गरेका बेथिति र हिंसाको अनेक पक्ष सतहमा आएका छन्।
नेपाल समय
राजनीति

एमाले-कांग्रेस महाधिवेशनमा ओली-देउवाका तीन संयोग, एकै अपेक्षा

असार २९ गते देउवा प्रधानमन्त्री बनेका थिए। त्यसयता उनको भेट ओलीसँग भएको थिए। एमाले महाधिवेशनले देउवा–ओलीको भेट त जुरायो नै। सँगै ओली र देउवाका बीचमा केही रोचक संयोग समेत पर्न गए।
नेपाल समय
ब्लग

बाटो बिराएका पूर्वशिक्षक प्रचण्डको एउटा ठूलो भ्रम

एउटा छविलालले बाटो बिराउँदा समाजले ठूलो मूल्य चुकाउनुपरेको छ। वाध्यताबस देशका लाखौं युवाले बाटो बिराएर कोही अरबको खाडी पुगेका छन् त कोही पूर्ण रुपमा अमेरिका, अस्ट्रेलियातिर हराएका छन्।
नेपाल समय
लुम्बिनी

कांग्रेस महाधिवेशन : राजनीतिमै जीवन बिताएका नेताहरु महाधिवेशन प्रतिनिधिमै पराजित

पौडेल रुपन्देहीको निर्वाचन क्षेत्र न. २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिका उम्मेदवार थिए। तर, उनी पराजित भए। विद्यार्थी राजनीतिमा डेढ दशकदेखि सक्रिय पौडेलले यो पटक महाधिवेशन प्रतिनिधि जित्‍ने आशमा थिए।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C