मंगलबार, कार्तिक २, २०७८
  • गृहपृष्ठ
  • श्रृंखला
  • कंगो भ्रष्टाचार 'ब्रेक' गर्ने पत्रकार भन्छन्- निर्दोष सैनिकलाई सजाय दिइयो

नेपाल समय
कंगो मिसन–७

कंगो भ्रष्टाचार 'ब्रेक' गर्ने पत्रकार भन्छन्- निर्दोष सैनिकलाई सजाय दिइयो

अनिल यादव  |  काठमाडौं, सोमबार, असोज ११, २०७८
अनिल यादव

अनिल यादव

काठमाडौं, सोमबार, असोज ११, २०७८

काठमाडौं- २०७७ साल असोज १२ गते कान्तिपुर टेलिभिजनको राति ८ बजेको समाचार बुलेटिनमा सुरक्षा पत्रकार रमेश धमलाले तयार पारेको रिपोर्टमा उल्लेख थियो– ‘नेपाली सेनाको कंगोस्थित शान्ति मिसनमा कुटपिटको घटनापछि आर्थिक अनियमितता प्रकरण सतहमा, कम्तीमा ४७ लाख हिनामिनाको आशंका।’ (भिडियोको १७ मिनेट ८ सेकेन्डदेखि)

धमलाको यही समाचारका कारण त्यतिबेला सेनाभित्र ‘कोर्ट मार्सल’ नै चलेको थियो। कोर्ट मार्सलले अनियमिततामा कसैलाई पनि दोषी देखेन तर सूचना चुहाएको आरोपमा दुई सहसेनानी राजेन्द्र सिम्खडा र कुमार गुरुङलाई जागिरबाट नै बर्खास्त गर्ने फैसला गर्‍यो। 

त्यतिबेला आर्थिक अनियमिततामाथि हुनुपर्ने सेनाको अनुसन्धान कसरी सूचनाको स्रोततिर मोडियो? हामीले कंगो मिसनको दोस्रो शृंखलामै यसबारे चर्चा गरिसकेका छौं। 

शृंखलाको यो भागमा हामी कान्तिपुर टीभीका पत्रकार रमेश धमलासँगको ‘बयान’ प्रस्तुत गर्दैछौं, जहाँ उनले स्पष्ट भनेका छन्, ‘मलाई सूचना दिएको आरोपमा सेनाले त्यतिबेला जसलाई कारवाही गर्‍यो, खासमा उनीहरू मेरो सूचनाका स्रोत थिएनन्, उनीहरुलाई म चिन्दै चिन्दिनथें।’

पढ्नुस्, नेपाल समयसँग पत्रकार धमलाले  दिएकाे 'बयान' जस्ताको तस्तैः 

म करिब १० वर्षदेखि अपराध तथा सुरक्षा मामिलामाथि रिपोर्टिङ गरिरहेको छु। हिमालय टिभी, अनलाइन खबर डटकम हुँदै साढे चार वर्षयता कान्तिपुर टिभीमा कार्यरत छु। 

मलाई थाहा छ, ब्यारेकीकरणको नीति हुनाले सैनिक संगठनको चरित्र अलि गोप्य नै हुन्छ। नागरिकसँग जोडिने विषय पनि कम नै हुन्छन्। राष्ट्रिय सुरक्षा, संयुक्त राष्ट्रसंघ आदि जोडिएका विषयमा रहेर हामीले धेरैजसो सेनाको समाचार बनाउने हो। पछिल्लो समय अलि बढी विकास निर्माणको जिम्मेवारी पनि पाएको भएर त्यताको पनि रिपोर्टिङ गर्ने गरिन्छ। 

नेपाली सेनाको आन्तरिक सूचना बाहिर आउन अलि गाह्रै हुन्छ। हामी पनि जिम्मेवार पत्रकारका नाताले राष्ट्रिय सुरक्षासँग जोडिएको संगठनको विषयमा के बाहिर ल्याउन हुन्छ, के ल्याउन हँदैन भन्ने कुरामा सचेत नै रहन्छौं।  

नेपाली सेना त्यस्तो सुरक्षा संगठन हो, जोसँग एक खर्ब पैसा छ। कल्याणकारी कोषमा मात्रै ५०–५५ अर्ब छ, जुन सधैं ऊसँग नै हुने भयो। यता राज्यले हरेक वर्ष ५० अर्बजति बजेट छुट्याउँछ। 

जहाँ राज्यको पैसा लगानी हुन्छ, त्यहाँ नागरिकको चासो रहन्छ नै। त्यसकारण पनि हामी त्यस्ता विषयमा समाचार बनाइरहन्छौं। विशेषगरी सेनाले गरिरहेको व्यापारबारे हामी लेख्छौं नै, लेखिरहेकै छौं। 

नेपाली सेनाको आन्तरिक सूचना बाहिर आउन अलि गाह्रै हुन्छ। हामी पनि जिम्मेवार पत्रकारका नाताले राष्ट्रिय सुरक्षासँग जोडिएको संगठनको विषयमा के बाहिर ल्याउन हुन्छ, के ल्याउन हँदैन भन्ने कुरामा सचेत नै रहन्छौं।  

सेनाभित्र को–कसरी पिल्सिन्छ, अवकाश पाएको हरेक सैनिक त्यसबारे जानकार हुन्छ। म त अझ के भन्छु भने सबैभन्दा बढी नातावाद चल्ने संगठन भनेकै नेपाल आर्मी हो। उनीहरुकहाँ मान्छे हेरेर सर्टिफिकेट छानविन हुन्छ, मान्छे हेरेर मिसनमा पठाउने–नपठाउने हुन्छ, मान्छे हेरेर समय थप्ने–नथप्ने कुरा हुन्छ। 

सैनिक संगठनबारे रिपोर्टिङको चुनौती के हो भने सेनाबारे अलि ‘क्रिटिकल्ली’ लेख्यो भने उनीहरु त्यसलाई रेकर्डमै राख्ने गर्छन्। कहिलेकाहीँ ‘एक्सेस’ दिन नखोज्ने, सम्पर्कमा आउन नचाहने पनि हुन्छ। यद्यपि मलाई अहिलेसम्म खासै अप्ठेरो चाहिँ परेको छैन। 

अब तपाईंले अहिले उठाइरहनुभएको ‘कंगो मिसन’को मूल मद्दामा जान चाहन्छु। ०७७ असोज ९ गतेतिरको कुरा हो। केही मिडियामा सैनिक अमल्दार नमराज माझी निर्घात कुटिएको खबर तस्बिरसहित सार्वजनिक भयो। त्यसपछि मैले मसँग सम्पर्कमा रहेका जुनियर तहका सिपाहीसँग यसबारे बुझ्दै जाँदा आर्थिक अनियमितताको पाटो पनि सुनियो। 

तर, यूएन मिसनसँग जोडिएको घटना भएकाले यो नेपाली सेनाको छविसँग पनि जोडिन्थ्यो। त्यसकारण मैले हचुवाको भरमा लेख्ने अवस्था थिएन। मलाई त प्रमाण चाहिन्थ्यो।

त्यसैले मैले मेरो सम्पर्क सूत्र प्रयोग गरेर प्रमाणको खोजी गरेँ। त्यस्तो प्रमाण प्राप्त भयो, जहाँ औषधि खरिदका बेला स्थानीय एजेन्टले दिएको मूल्य र सैनिक मुख्यालयमा पठाइएको मूल्यमा ठूलो अन्तर देखियो। यस्तो प्रमाण प्राप्त भएपछि सूचना बाहिर ल्याउनु मेरो दायित्व नै थियो।

त्यतिखेर मैले सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलसँग पनि भेटेरै ‘भिडियो बाइट’ लिएँ। प्रवक्तालाई मैले यस विषयमा छानबिन हुन्छ कि हुँदैन भनेर सोध्दा उहाँले स्पष्टसँग छानबिन हुने प्रतिबद्धता नै जाहेर गर्नुभयो। 

उहाँलाई फोन गरेको दुई दिनपछि मात्रै मैले उहाँको बाइट लिएको थिएँ। दुई दिन त्यस घटनाबारे बुझेपछि मात्रै उहाँ बोल्न तयार हुनुभएको थियो। मलाई लाग्छ, पक्कै अनियमितता भएको हुनसक्छ भन्ने लागेरै उहाँ बोल्न तयार हुनुभएको थियो। 

सबैभन्दा बढी नातावाद चल्ने संगठन भनेकै नेपाल आर्मी हो। उनीहरुकहाँ मान्छे हेरेर सर्टिफिकेट छानविन हुन्छ, मान्छे हेरेर मिसनमा पठाउने–नपठाउने हुन्छ, मान्छे हेरेर समय थप्ने–नथप्ने कुरा हुन्छ। 

जब उहाँले छानबिन हुने बताउनुभयो, मैले त्यसपछि उहाँको बाइटसहित ‘नेपाली सेनाको कंगोस्थित शान्ति मिसनमा कुटपिटको घटनापछि आर्थिक अनियमितता प्रकरण सतहमा, कम्तीमा ४७ लाख हिनामिनाको आशंका’ शीर्षकमा त्यो रिपोर्ट बनाएको थिएँ। 

म यहीँनेर अर्को कुरा के जोड्न चाहन्छु भने जब मलाई त्यो अनियमितताको सूचना प्राप्त भयो, मैले कंगोस्थित नेपाली सेनाको ज्वालादल गणको तत्कालिन प्रमुख रहेका कर्णेल शैलेन्द्र कोइरालालाई म्यासेज पनि गरेको थिएँ। विदेशमा भएकाले फोनमा सम्पर्क हुन सकेन, त्यसैले फेसबुकमा खोजेर मैले उहाँलाई म्यासेज गरेको थिएँ। तर,  ‘रिप्लाइ’ आएन।

एउटा व्यावसायिक पत्रकारका नाताले त्यो समाचार मैले ‘होल्ड’ गर्ने अवस्था थिएन। जबकी त्यहीँका जुनियर तहका सैनिकहरुले ठूलो अन्याय भइरहेको बताइरहेका थिए।

जब रिपोर्ट प्रसारण भयो, त्यसपछि सैनिक वृत्तमा एकखालको तरंग नै पैदा भएछ। सैनिक मुख्यालयबाट ‘कोर्ट अफ इन्क्वायरी’ नै गठन भएर छानबिन सुरु भएको सूचना मैले पछि थाहा पाएँ। 

छानबिन टोलीले त आर्थिक अनियमितता देखिएन भनेर पो प्रतिवेदन बनाएछ। तर, मलाई सूचना दिएको आरोपमा दुईजना क्याप्टेनहरुलाई जागिरबाट नै बर्खास्त गरिएछ। 

कंगो घटनाबारे पत्रकार धमलासँग छानबिनको प्रतिबद्धता व्यक्त गर्दै सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेल। कान्तिपुर समाचारबाट लिइएको स्क्रिनसट

यो खबर सुनेर म अचम्ममा परेँ। किनभने ती दुई सैनिक अधिकृत (राजेन्द्र सिम्खडा र कुमार गुरुङ) जसलाई कारवाही गरियो, उनीहरुलाई म चिन्दा पनि चिन्दिनथें। उनीहरु मेरो सूचनाको स्रोत पनि थिएनन्। 

एकजना राजेन्द्र सिम्खडा चाहिँ मेरै जिल्लाबासी (धादिङका) रहेछन्। एउटै जिल्लाको भएर त्यसरी अनुमानको भरमा कारवाही गरिएको भन्ने पनि सुनियो। यद्यपि यथार्थ थाहा भएन। 

अचम्म त के छ भने घटना भएको छ कंगोमा, म यहाँ काठमाडौंमा थिएँ। तर कहिल्यै चिन्दै नचिनेको, भेट्दै नभेटेको दुवै अफिसरलाई मसँगको सम्पर्क भएको गलत आरोप लगाएर कारबाही भएछ। जबकि मैले प्रसारण गरेको त्यो समाचारसँग उनीहरुको कहीँ कतै संलग्नता नै थिएन। 

पछि कारबाहीमा परेर जागिरबाट निकालिएपछि मात्रै उनीहरु ‘तपाईंको समाचारका कारण हामीलाई कारबाही गरियो’ भन्दै मकहाँ आइपुगे। म तीनछक परेँ। 

त्यतिबेलै थाहा भयो, राजेन्द्र मेरो जिल्लावासी रहेछन्। अहिले पनि मेरो गाउँका सात–आठजना सेनामा अधिकृत तहमा छन्। म निरन्तर सेनाको रिपोर्टिङ गरिरहन्छु। यहाँ त मैले कुनै ब्यारेकमा भएको घटनाको समाचार लेख्दा संयोगले त्यो ब्यारेकभित्र मेरै गाउँको कोही व्यक्ति कार्यरत भएको पाइयो भने उसमाथि पनि कारवाही हुने खतरा देखियो। 

प्रमाणसहित आर्थिक हिनामिनाको रिपोर्ट प्रसारण भएपछि त त्यतातिर पो सुक्ष्म अनुसन्धान हुनुपर्थ्यो त। तर, किन भएन? अझै प्रश्न बाँकी नै छन्।

कुनै तथ्यसबुत या प्रमाण विना साविती बयानकै भरमा कसैलाई कारवाही गर्नु त पक्कै न्यायोचित होइन। तर, राजेन्द्र र कुमारको हकमा त्यस्तै भएछ। जबकी उनीहरु निर्दोष थिए। 

त्यतिबेला मैले फलोअप रिपोर्ट बनाउनेबारे नसोचेको होइन। तर, मेरै समाचारका कारण उनीहरुको जागिर गएकोे थियो, मैले रिपोर्ट बनाउँदा ‘यसलाई समाचार दिने यिनीहरु नै रहेछन्, त्यहीकारण यो तिनीहरुलाई जोगाउनतिर लाग्यो’ भनेर सेनाको शंकामा झन् बल पुग्छ कि भन्ने लाग्यो। त्यसैले म मौन बसेँ। 

मलाई खड्किएको अर्को पाटो के हो भने त्यहाँनेर मलाई कसले सूचना दियो भन्नेबारे अनुसन्धान हुँदैगर्दा आर्थिक अनियमितता र अमल्दार कुटपिटको घटनालाई किन गम्भिरताका साथ लिइएन भन्ने हो। जबकी तिनै घटनाका कारण यो सबै कुरा बाहिर आएको थियो। तर, अचम्म के भने दुवै घटनामा प्रमुख दोषीलाई उन्मुक्ति भयो, सूचना दिएको आरोपमा निर्दोषलाई पो सजाय दिइयो।

यसले त नागरिकसँग सेनाको सम्बन्ध नै राख्न नहुने भयो। भोलि चिया खाएकै भरमा, सम्बन्ध राखेकै भरमा यसले सूचना चुहायो भनेर कारवाही हुने जोखिम बढ्यो।

प्रमाणसहित आर्थिक हिनामिनाको रिपोर्ट प्रसारण भएपछि त त्यतातिर पो सुक्ष्म अनुसन्धान हुनुपर्थ्यो त। तर, किन भएन? अझै प्रश्न बाँकी नै छन्।

मलाई सूचना दिएको आरोपमा जसलाई कारबाही गरियो, उनीहरु मेरो सूचनाको स्रोत थिएनन्। खासमा उनीहरु निर्दोष छन्। सैनिक अदालतको फैसलाले उनीहरुमाथि साँच्चै अन्याय भएको छ। 

खासमा पछिल्ला केही घटनाहरुले नेपाली सेनाको न्यायिक प्रक्रिया गम्भीर समीक्षा हुनुपर्छ भन्ने स्पष्ट संकेत गरिसकेको छ। चाहे त्यो चितवनको एसएमजी गन चोरी प्रकरणमा निर्दोषलाई जेल हालिएको घटनाले होस् या कंगो मिसनमा भएको घटनाले। कंगोमा कुटपिट भएका नमराज माझीलाई पनि कारवाही गरियो, कुटपिट गर्नेलाई पनि? यस्तो फैसलाले सैनिक अदालतले कारवाहीमात्रै गर्छ, न्याय दिँदैन भन्ने स्पष्ट संकेत गर्छ। 

अनुसन्धान भनेको त जसले गल्ती ग¥यो, उसलाई कारवाही गर्नलाई मात्रै हो र? पीडितलाई न्याय दिनलाई पनि होइन र? तर, यहाँ त सैनिक ऐनले सजायमात्रै गरिरहेको देखिन्छ, न्याय दिएको पाइँदैन। क्याप्टेनद्वय राजेन्द्र सिम्खडा र कुमार गुरुङकै कुरा गरौँ न। जब मैले मलाई सूचना दिएको आरोप लगाएर उहाँहरुलाई कारवाही गरेको सुनेँ, केही रात निदाउन सकिनँ। 

कहिल्यै चिन्दै नचिनेको, कहिल्यै भेट्दै नभेटेको मान्छेलाई कारबाही भयो भन्दा कस्तो भयो होला, आफैं कल्पना गर्नुस् न। अझ मैले सुनेअनुसार सिम्खडा त मेजरमा बढुवा हुन लागेको अवस्थामा थिए। त्यस्तो अवस्थामा उनीहरुलाई त्यसरी कारबाही गरिँदा परिवारमा के बित्यो होला, त्यतिबेला मेरो मनमा यस्तै कुरा खेलिरहे। 

म जहाँ पुगेर पनि यो भन्न सक्छु, मलाई सूचना दिएको आरोपमा जसलाई कारबाही गरियो, उनीहरु मेरो सूचनाको स्रोत थिएनन्। खासमा उनीहरु निर्दोष छन्। सैनिक अदालतको फैसलाले उनीहरुमाथि साँच्चै अन्याय भएको छ। 

(कंगो मिसनबारे हामी निरन्तर फलोअपमा छौँ। नेपाल समय पढ्दै गर्नुहोला।)

कंगो मिसन-६ : ५ सैनिक कुट्‍ने ३ क्याप्टेनको बयान : ‘सबक सिकाउन पिटेका हौं
‘कोर्ट अफ इन्क्वायरी’सँग दिएको बयानमा तीनै जनाले पाँच जना सैनिकलाई कुटपिट गरेको तथ्य स्वीकारेका छन्। अमल्दार नमराज माझीलाई अलि बढी पिटेको कुरा पनि स्वीकारेका छन्।...

कंगो मिसन-५ : जेलसहित बर्खास्तीमा परेका सिपाही भन्छन्- ऊ रोइरहेको थियो, मेरो मन थामिएन


घरमा फोन गर्न पनि कहिलेकाहीँ मात्रै दिइन्थ्यो। त्यो पनि ‘सबै ठिक छ’ भन्न लगाइन्थ्यो। एक-दुई मिनेट मात्रै गफ गर्न दिइन्थ्यो। ‘के भयो अचानक यस्तो?’ भन्दै बुबाआमा रुनुहुन्थ्यो, श्रीमती रुन्थिन्। तर आफूले यथार्थ भन्न पाउँदिनथेँ। ‘केही भएको छैन, योभन्दा बढी जवाफ नदिनू' भन्ने उर्दी हुन्थ्यो।...

कंगो मिसन-४ : सैनिक पिट्‌ने 'हाकिम' जोगाउन रचियो यस्तो खेल, तर सिपाहीलाई जेल

तीन सैनिक अधिकृतको कुटपिट पुष्टि हुँदाहुँदै उनीहरूलाई सामान्य कारबाही गरेर उन्मुक्ति दिइयो। तर निर्मम कुटाइ खाने माझीदेखि उनको खबर मिडियामा पुर्‍याउने सिपाही सुजन पौडेललाई भने चर्को सजाय दिइयो।... 

कंगो मिसन-३ : कंगोमा कुटाइ खाएका नमराजको बयानः सेनाका क्याप्टेनहरूले मलाई फुटबल बनाएर हाने


'फेरि पनि मलाई हान्न आउँदा मैले हात खडा गरी 'सर! मेरो गल्ती भए सजाय दिनुस्, यसरी नकुट्नुस्' भन्दा पनि 'तँ बढी बोलिस्' भनेर मलाई सहसेनानी (क्याप्टेन) इन्द्रबहादुर थापा र सहसेनानी सुबास हुमागाई (क्याप्टेन)ले फुटबल खेलेजस्तो गरी हान्नुभयो।'...

कंगो मिसन-२ : अनियमितताबारे हुनुपर्ने सेनाको अनुसन्धान किन मोडियो सूचनाको स्रोततिर?

कंगो मिसनमा आर्थिक अनियमितताको खबर आउनुभन्दा केही दिनअघि अर्थात् असोज ८ गतेतिर अमल्दार नवराज माझीमाथि निर्घात कुटपिट भएको खबर निलडामसहितको तस्बिरसहित मिडियामा प्रकाशित भएको थियो। त्यतिबेला सैनिक अधिकृतहरू इन्द्र थापा, सुवास हुमागाईं र योगेन्द्र धितालले  अमल्दार माझीलाई राती १० बजेको समयमा मादक पदार्थ सेवन गरेर उनी सुत्ने स्थलमै पुगेर कुटपिट गरेको खबरले कंगोदेखि जंगी अड्डासम्म तातेको थियो।...

कंगो मिसन-१ : कान्तिपुर टिभीको त्यो समाचार जसकारण दुई सैनिक अधिकृतले जागिर गुमाए

नेपाली सेनाभित्रको आर्थिक अनियमितताको खबर मिडियामा पुर्‍याउन सहयोग गरेको अभियोगमा दुई जना सह-सेनानी जागिरबाट निकालिएको रहस्य बाहिर आएको छ। कोर्ट मार्सलमार्फत सेनाभित्रको आन्तरिक सूचना मिडियामा चुहाएको ठहर गर्दै भवानीदल गणमा कार्यरत सह-सेनानीद्वय राजेन्द्र सिम्खडा र कुमार गुरुङलाई जागिरबाट बर्खास्त गरिएको एउटा 'गुपचुप' घटना नेपाल समयलाई प्राप्त भएको छ।... 

अनिल यादव

अनिल यादव

काठमाडौं, सोमबार, असोज ११, २०७८

थप समाचार

गल्ली गाइड गुप्तोले देखेको काठमाडौं सहर जहाँ उज्यालोसँग डर छ

‘बर्खामा स्वच्छ देखिन्थ्यो, आद्र देखिन्थ्यो, हरियो देखिन्थ्यो। कि त शीतकालमा कुहिरोमुन्तिर काठमाडौं सेतो तलाउजस्तो देखिन्थ्यो। एउटा मिस्टिक, अचम्मको भ्यालीजस्तो देखिन्थ्यो कि। अहिले पनि सफा हुँदा कहिलेकाहीं सुन्दर भ्याली देखिन्छ काठमाडौं।’

विद्युतीय सवारीसाधन मात्रै चलाउने हो भने जोगिन्छ दैनिक सात करोड

‘विद्युतीय सवारीमा प्रतिकिलोमिटर चार रुपैयाँ खर्च हुन्छ। पेट्रोलियम सवारी चढ्दा प्रतिकिलोमिटर १५ रुपैयाँ खर्च हुन्छ।’

काठमाडौंमा पूर्ण विद्युतीय सवारी सञ्चालन सम्भव छ?

तत्काल सहरी क्षेत्रमा र दीर्घकालमा मुलुकभर विद्युतीय प्रविधिबाट सञ्चालन हुने सार्वजनिक यातायातका सवारीसाधनको उत्पादन, आयात र प्रयोगलाई प्रोत्साहन गरिनेछ। सघन रूपमा यातायात सञ्चालन हुने स्थलमा विद्युतीय चार्जिङ स्टेसन स्थापना गरिनेछ।’

५ सैनिक कुट्‍ने ३ क्याप्टेनको बयान : ‘सबक सिकाउन पिटेका हौं’

‘कोर्ट अफ इन्क्वायरी’सँग दिएको बयानमा तीनै जनाले पाँच जना सैनिकलाई कुटपिट गरेको तथ्य स्वीकारेका छन्। अमल्दार नमराज माझीलाई अलि बढी पिटेको कुरा पनि स्वीकारेका छन्।

जेलसहित बर्खास्तीमा परेका सिपाही भन्छन्- ऊ रोइरहेको थियो, मेरो मन थामिएन

घरमा फोन गर्न पनि कहिलेकाहीँ मात्रै दिइन्थ्यो। त्यो पनि ‘सबै ठिक छ’ भन्न लगाइन्थ्यो। एक-दुई मिनेट मात्रै गफ गर्न दिइन्थ्यो। ‘के भयो अचानक यस्तो?’ भन्दै बुबाआमा रुनुहुन्थ्यो, श्रीमती रुन्थिन्। तर आफूले यथार्थ भन्न पाउँदिनथेँ। ‘केही भएको छैन, योभन्दा बढी जवाफ नदिनू' भन्ने उर्दी हुन्थ्यो।

ट्रेंडिंग

नेपाल समय
समाज

४४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा १७ वर्षीय किशोर पक्राउ

४४ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा बन्दीपुर गाउँपालिका-२ पौवा बस्‍ने १७ वर्षीय किशोर पक्राउ परेका छन्।
नेपाल समय
शिक्षा

१२ पछि के पढ्ने? यस्ता छन् विकल्प

१२ पछि के पढ्ने? विकल्प धेरै छन् भविष्य खोज्दै विद्यार्थी
नेपाल समय
फुटबल

साफ फाइनलमा नेपाल भारतसँग पराजित

साफ च्याम्पियनसिपअन्तर्गत शनिबार माल्दिभ्सको राजधानी मालेमा भएको फाइनलमा भारतले नेपाललाई ३–० गोलले पराजित गर्दै उपाधि जितेको हो।
नेपाल समय
फुटबल

साफ फाइनल : नेपालको सुरुवाती ११ सार्वजनिक

गोलरक्षकमा कप्तान किरण चेम्जोङले नै निरन्तरता पाएका छन्। डिफेन्डरतर्फ अनन्त तामाङ र दिनेश राजवंशीले सेन्टर डिफेन्स तथा विंगब्याकमा गौतम श्रेष्ठ र सुमन अर्याल खेल्नेछन्।
नेपाल समय
विदेश

दुर्गा पूजा पण्डालमा तोडफोडपछि बंगलादेशमा हिंसात्मक प्रदर्शन

बंगलादेशमा दुर्गा पूजा पण्डालमा तोडफोडपछि बंगलादेशमा हिंसात्मक प्रदर्शनहरु भएका छन्। शुक्रबार हिन्दु मन्दिर र दुर्गा पूजा पण्डालमा तोडफोड भएपछि राजधानी ढाका र नोआखालीमा प्रदर्शनहरु भएका हुन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C