काठमाडौं- सैनिक विशेष अदालतले सर्ट मेसिन गन (एसएमजी) चोरीको झुठो अभियोगमा साढे दुई वर्षदेखि जेल सजाय काटिरहेका सैनिक अमल्दार लबकुमार गुरुङ र सिपाही सरोज तामाङ निर्दोष ठहर गर्दै तत्काल रिहा गर्न आदेश दिएको छ।
सैनिक विशेष अदालतको पाटन उच्च अदालतका न्यायाधीश सैनिक विशेष अदालतका अध्यक्ष लोहितचन्द्र शाह, नेपाली सेनाका कानुन विभाग प्रमुख उपरथी रत्नप्रकाश थापा र रक्षासचिव बेगेन्द्रराज शर्माको बिहीबार बसेको संयुक्त इजलासले यस्तो आदेश गरेको हो। सैनिक विशेष अदालतको आदेशअनुसारको पत्र चिवन जिल्ला कारागारमा पठाउने तयारी भइरहेको सैनिक मुख्यालयले जानकारी दिएको छ। मुख्यालयबाट पठाइएको पत्र प्राप्त भएपछि चितवन कारागारले उनीहरूलाई रिहा गर्नेछ।
'हतियार चोरीको मुद्दामा सैनिक समरी जनरल अदालतले कैद सजाय सुनाएका सरोज तामाङ र लबकुमार गुरुङलाई रिहा गर्न आदेश भएको छ,' सैनिकद्वय तामाङ र गुरुङका पक्षबाट सैनिक विशेष अदालतमा बहस गरेका अधिवक्ता सोमनाथ ढुंगानाले भने, 'अब फैसलासहितको पत्र सैनिक मुख्यालयले चितवन जिल्ला कारागारमा पठाउँछ। अनि उनीहरू रिहा हुन्छ।
बिहीबार भएको फैसला शुक्रबार सुनाइएको हो। सैनिकद्वयबाट हतियार चोरीको आरोपमा कसुर नपुग्ने भन्दै गरिएको फैसलामा उनीहरूले हतियारको सुरक्षा गर्न नसकेकोसमेत ठहर गरिएको छ। उक्त आरोपमा उनीहरूलाई तीन वर्ष बढुवा रोक्का गर्ने समेत आदेश दिइएको छ। 'अढाई वर्षदेखि हिरासत र जेलमा रहेका सैनिकलाई तीन वर्ष बढुवा रोक्का गर्न भएको आदेशप्रति भने हामी खुशी छैनौँ,' अधिवक्ता ढुंगानाले भने।
सेनाले यसअघि सैनिक समरीले गरेको फैसला पनि गलत थिएन भन्ने देखाउनका लागि उनीहरूलाई पनि गनको सुरक्षा गर्न नसकेको भन्दै दोषी ठहर भएको हुन सक्ने पीडितका परिवारले शंका व्यक्त गरेका छन्।
लबकुमार र सरोजले चोरेको भनिएको हतियार नै साउन ७ गते चितवनमा भएको सैनिक भरत गुरुङको हत्यामा संलग्न सिपाही गंगाधर ढकालको साथबाट बरामद भएपछि साढे दुई वर्षदेखि जेलमा रहेका सैनिकद्वय गुरुङ र तामाङ निर्दोष ठहर भएका हुन्। उनीहरूलाई अनाहकमा फसाइएको घटनाबारे नेपाल समयले 'गन'ले अन्याय, 'गन'ले न्याय सिरिजमा निरन्तर समाचार प्रकाशन गर्दै आएपछि सैनिक मुख्यालयले यो विषय टुंग्याउन चासो देखाएको थियो।
हतियार गंगाधरले चोरेको पुष्टि भएपछि सैनिक वृत्तमा पनि यो घटनाले तरंग ल्याएको थियो। सामान्यतः ६ महिनाभित्र मुद्दाको टुंगो लगाउनु पर्ने भएता पनि सैनिक विशेष अदालतले २८ महिनादेखि अल्झाएर राखेको लबकुमार र सरोजको यो मुद्दामाथि दुई साताअघि अकस्मात् पेसी तोकिएको थियो। तर, उक्त इजलासले फाइल झिकाउन मात्रै आदेश दिएको थियो। बिहीबारको इजलासले भने अढाई वर्षदेखि जेलमा राखिएका दुई सैनिकलाई निर्दोष ठहर गर्दै तत्काल रिहा गर्नुपर्ने फैसला गरेको हो।
झुठो अभियोगमा दुई सैनिकले जेल सजाय भोगिरहेकोबारे नेपाल समयले शृंखलाबद्ध रूपमा समाचार प्रकाशन गरेपछि सैनिक मुख्यालयले हतियार प्रकारणबारे अनुसन्धानका गर्न एक छानबिन टोली चितवन पठाएको थियो। छानबिन टोलीको प्रतिवेदनले पनि लबकुमार–सरोजलाई निर्दोष देखाउँदै गंगाधरलाई नै दोषी देखाएको थियो।
बिहीबारको इजलासले भने अढाई वर्षदेखि जेलमा राखिएका दुई सैनिकलाई निर्दोष ठहर गर्दै तत्काल रिहा गर्नुपर्ने फैसला गरेको हो।
गंगाधर ढकालका साथमा भेटिएको १००७९२ बडी नम्बरको 'गन' साढे दुई वर्षअघि चितवनको कालीबहादुर गणबाट हराएको थियो। उक्त 'गन' चोरी गरेको अभियोगमा लबकुमार र सरोजलाई चार महिना सैनिक हिरासतमा राखेर यातना दिइएको थियो। यातनापछि कालीबहादुर गणमै मुकाम भएको समरी जनरल सैनिक अदालतले उनीहरूलाई कैद सजाय सुनाएको थियो।
सैनिक ऐन, २०६३ को दफा ४९ को खण्ड (क) र दफा ५२ को खण्ड (६) बमोजिम दोषी ठहर गरी ०७५ चैत २५ गते उदयपुर, गाइघाटका सैनिक अमल्दार लबकुमार गुरुङलाई १० वर्ष र र मोरङ सुन्दरहरैँचाका सैनिक जवान सरोज तामाङलाई ७ वर्षको कैद सजाय सुनाएको सैनिक जनरल समरी अदालतको फैसलामा उल्लेख छ। त्यतिबेला सहायक रथी, सहदेव खड्का सैनिक जनरल समरी अदालतका अध्यक्ष थिए।
समरी अदालतले 'गन' चोरीको झुठो आरोप सदर गर्दै आफूहरूलाई कैद सजायको फैसला सुनाएपछि ०७६ वैशाख ६ गते गुरुङ र तामाङले सैनिक विशेष अदालतमा पुनरावेदन गरेका थिए। तर, करिब २८ महिनासम्म सैनिक विशेषले कुनै पनि सुनुवाइ गरेन। यही क्रममा जब उनीहरुले चोरेको भनिएको हतियार गंगाधरले चोरेको पुष्टि भयो, त्यसपछि यो खबरले सैनिकवृत्तमा हलचल मच्चाएको हो।
हामीले यसअघि शृंखलाको दोश्रो भागमा कारागारमै रहेका सरोज तामाङसँगको कुराकानी प्रकाशित गरेका थियौँ, जहाँ उनले आफूहरूलाई सैनिक हिरासतमा चार महिना चरम यातना दिइएपछि जबर्जस्ती हतियार चोरेको कबुल गर्न बाध्य बनाइएको बताएका थिए।
गंगाधरले अदालतसामु दिएको बयानमा गुरुङको हत्यासँगै हत्यामा प्रयोग गरिएको १००७९२ नम्बरको एसएमजी २०७५ साल पुसमा कालीबहादुर गणबाट चोरी गरेको पनि स्वीकारेका छन्।
सैनिक जनरल समरी अदालतले 'गन' चोरीको मुद्दामा सुनाएको फैसला चित्त नबुझेपछि गुरूङ र तामाङले सैनिक विशेष अदालतमा ०७६ वैशाख ०६ गते पुनरावेदन चढाएका थिए। निर्दोष हुँदाहुँदै पनि सैनिकद्वयलाई जेलमा राखिएको र मुद्दाका क्रममा परिवारका सदस्यलाई चरम शारीरिक र मानसिक यातनाको वृत्तान्त हामीले यसअघिका शृखंलामा प्रकाशन गरेका छौं।
जिल्ला प्रहरी कार्यालय चितवनले सैनिक भरत गुरुङको हत्या मुद्दामा अनुसन्धान टुंग्याएर सरकारी वकिलको कार्यलयमार्फत् जिल्ला अदालत चितवनमा मुद्दा दायर गरेको थियो। गुरुङको हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ परेको गंगाधर ढकालमाथि कर्तव्य ज्यान, अवैध रुपमा हातहतियार राखेको तथा चोरी गरेको अभियोगमा मुद्दा दायर भएको थियो।
गंगाधरले अदालतसामु दिएको बयानमा गुरुङको हत्यासँगै हत्यामा प्रयोग गरिएको १००७९२ नम्बरको एसएमजी २०७५ साल पुसमा कालीबहादुर गणबाट चोरी गरेको पनि स्वीकारेका छन्।
हतियार चोरीमा संलग्न रहेको अरोपमा पक्राउ परेका सैनिक ढकालसहित मुद्दालाई सैनिक अदालत पठाउन चितवन जिल्ला अदालतले आदेश गरेको थियो। त्यसपछि सैनिक अदालतमा उक्त मुद्दाको कोर्ट मार्सल चलिरहेको थियो।
(हामी निरन्तर फलोअपमै छौं। अर्को शृंखलाका लागि नेपाल समय हेर्दै गर्नुहोला)
शृंखलाको बाह्रौँ भाग
