गुल्मी- गुल्मीमा निर्माण गर्न थालिएको लखन थापा अन्तर्राष्ट्रिय फुटबल रंगशाला विगत ३ वर्षदेखि अलपत्र परेको छ। जिल्लाको इस्मा गाउँपालिका–६ अम्मरपुर बुल्मचौरमा निर्माण गर्न लागिएको रंगशालाको पहिलो चरणको काम विक्रम संवत् २०७६ चैतमा सम्पन्न भए पनि दोस्रो चरणको काम सुरू हुन सकेको छैन।
राष्ट्रिय खेलकुद परिषद्मार्फत ठेक्का भई पहिलो चरणमा माटो काट्ने, भर्ने, पर्खाल निर्माण र दुबो रोप्ने काम २ करोड ८० लाख रुपैयाँमा सम्पन्न भएको निर्माणको जिम्मा पाएको सुनकोसी अभियान जेभी काठमाडौंका इन्जिनीयर पृथ्वीबहादुर शाहीले जानकारी दिए। बुल्मचौरलाई १०५ मिटर लम्बाइ र ६८ मिटर चौडाइले रंगशालाको रूप दिएको छ। दोस्रो चरणमा १ करोड ५० लाख रुपैयाँ लागतमा भवन, प्यारापिट निर्माण, रंगशाला वरपर नाली बनाउने र कार्यालयका लागि छुट्टै भवन बनाउने भने पनि यसको सम्झौता अझै नभएको इन्जिनीयर शाहीले बताए।
पहिलो चरणमा गरिएका काम भत्किँदै जाने र दोस्रो चरणको काम समयमै शुरू नहुने कारणले गर्दा रंगशाला निर्माण हुने स्थानका स्थानीय वासिन्दा चिन्तित बन्न थालेका छन्। रंगशाला बन्ने आशा हराउँदै गएकाले आफूहरूको गौचरन र रातो माटो बिक्री गरेर जीविका चलाउने बाटो पनि हराएको स्थानीय वासिन्दाले गुनासो गरेका छन्।
स्थानीय ओमबहादुर कुमालले ३ वर्षदेखि रंगशाला अलपत्र पर्दा पनि कसैको ध्यान नपुगेको बताए। ‘राम्रै चौर थियो गाईभैंसी चराउन भएकै थियो, दशैंमा रातो माटो बेचेर वर्षभरको घर खर्च चल्थ्यो,’ ६६ वर्षीय ओमबहादुर भन्छन्, ‘रंगशाला बन्दा खुशी भए पनि अहिले काम अघि नबढ्दा दुःखी छौं।’
सोही स्थानका बेदुमाया कुमाल पनि रंगशाला नबन्ने पिरलोमा छन्। रंगशाला बनेमा घर–घडेरी बिक्री भएर आर्थिक आम्दानी हुने आशा बिस्तारै निराशामा परिणत भएको उनले बताए। सोही स्थानका कृष्णबहादुर कुमाल पनि विकास हुनु सबैका लागि राम्रो भए पनि हुँदाहुँदैको चौरलाई रंगशालाको नाममा त्यसै छोड्न नहुने बताउँछन्।
राज्यको लगानी बालुवामा पानीसरह भएको बुल्मचौरका अर्का स्थानीय रुद्रबहादुर कुमालले बताए। ‘सरकारले लगानी गरेपछि त रेखदेख गर्ने व्यक्ति हुनुपर्ने हो,’ उनी भन्छन्, ‘बेवारिसे अवस्थामा रंगशाला हुँदा भएको संरचना पनि भत्किन थाले।’ रंगशाला निर्माण सम्पन्न भइसक्दा १ अर्ब ५० करोड खर्च हुने अनुमान गरिएको थियो। १५ हजार दर्शक क्षमताको अन्तर्राष्ट्रिय रंगशाला बन्ने गरी चरण–चरणमा काम शुरू भएको हो।
रंगशाला बनेमा प्रत्यक्ष लाभ लिने बुल्मचौरका ३२५ घरपरिवार यतिबेला निराश अवस्थामा रहेको इस्मा–६ अम्मरपुरका वडाध्यक्ष ढालबहादुर कुँवरले बताए। यस क्षेत्रमा कुमाल समुदायको बाहुल्यता छ।
जिल्ला खेलकुद विकास समिति गुल्मीका कार्यालय प्रमुख डिल्ली विकले राष्ट्रिय खेलकुद परिषद्मार्फत सिधै ठेक्का भई काम अगाडि बढेकाले आफूहरूले केही गर्न नमिल्ने बताए। आफ्नो मातहतमा नभए पनि समय–समयमा रंगशालाको रेखदेख गर्ने गरेको उनले बताए।
राष्ट्रिय खेलकुद परिषद्ले गाउँपालिकासँग समन्वय नगरिकन रंगशालाको काम अगाडि बढाएकाले अहिलेसम्म आफ्नो मातहतमा काम गर्न नमिल्ने गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले बताए। आफू निर्वाचित भएर आएपछि बुझ्दा अब रंगशालामा बजेट नआउने भएकाले रंगशाला गाउँपालिकालाई हस्तान्तरण गर्न सम्बन्धित निकायमा माग गरेको पनि अध्यक्ष खड्काले जानकारी दिए। -रासस