काठमाडौं– काठमाडौं उपत्यकामा चल्ने अधिकांश सार्वजनिक सवारी साधन प्रदूषण परीक्षणका क्रममा फेल भएको देखिएको छ।
शुक्रबार बबरमहलमा वातावरण विभाग, महानगरीय ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागले प्रदूषण परीक्षण गर्दा अधिकांश सवारी साधन प्रदूषण परीक्षणमा अनुत्तीर्ण भएका हुन्।
विभागले गरेको ५४ वटा सवारी साधनको प्रदूषण परीक्षणमा ३८ वटा फेल भएको पाइएको हो।
वातावरण विभागका महानिर्देशक नमराज घिमिरेले प्रदूषण परीक्षणमा फेल हुने सवारीसाधानलाई मर्मत गरेर प्रदूषण पास हुने गरी चलाउन समय दिइएको बताए। प्रदूषण फेल हुनेले प्रदूषण परीक्षण गरी वातावरण विभागमा आएर पुनः परीक्षण गराई पास भएपछि मात्रै कागजपत्र फिर्ता लैजान पाउने उनको भनाइ छ।
‘वातावरण संरक्षण ऐनअनुसार सवारी साधनले तोकिएको मापदण्डमा वायु प्रदूषण गरिरहेका छन्÷छैनन् भनेर परीक्षण गरेका हौं। काठमाडौं उपत्यकालगायत धेरै ठाउँमा हिउँद समय वायु प्रदूषण बढ्ने हुँदा सवारीसाधनको प्रदूषण परीक्षण अभियान थालेका हौं,’ महानिर्देशक घिमिरेले भने।
घिमिरेले परीक्षण पास गर्न पठाएका सवारी अर्को पटक पनि परीक्षण गर्दा फेल भए वातावरण संरक्षण ऐन २०७६ को दफा ४१ को उपदफा २ बमोजिम १ लाखसम्म कारबाही गरिने बताए।
उनले भने, ‘पहिलो पटकलाई अहिले जरिमाना गरेका छैनौं । अहिले पठाइएका गाडी पुनः अर्को पटक परीक्षण गर्दा फेल भए वातावरण संरक्षण ऐन, २०७६ को दफा ४१ को उपदफा २ बमोजिम वातावरण विभागको महानिर्देशकबाट १ लाखसम्म जरिमाना हुन सक्छ। ‘चालकले भर्खरै जँचाएको हो भनेका छन्। अब त्यो प्रवृत्ति नहोस् भनेर परीक्षण गरेका हौं। प्रदूषणसँगै यान्त्रिक अवस्था र कागजातपत्रबारे पनि ट्राफिक प्रहरीले चेकजाँच गर्नेछ।’
सवारी प्रदूषणसँगै ट्राफिक प्रहरीले यान्त्रिक अवस्था र कागजातपत्रको पनि चेकजाँच गरिरहेको छ। यातायात व्यवस्था कार्यविधिअनुसार अहिले पनि प्रत्येक भाडाका सवारीसाधनले ६/६ महिनामा सवारीको प्राविधिक जाँच गराउनुपर्छ। यातायात कार्यालयमै गएर गरिने त्यस्तो जाँचको अनिवार्य सर्त प्रदूषण जाँचको रिपोर्ट गरिएको छ।