काठमाडौं- काठमाडौं थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन पुगेको काठमाडौं महानगरको डोजरविरुद्ध स्थानीयले आन्दोलन गरेका छन्। उनीहरूले बस्ती उठाउन पुगेको महानगरको टोलीमाथि घरेलु हातहतियारसहित प्रतिकार गरेका हुन्।
महानगरले डोजर सार्वजनिक जग्गा अतिक्रमण गरी बनेका घर हटाउन सकुम्बासी बस्तीमा पुगेपछि स्थानीयले ढुंगामुढा गरेका थिए। महानगरको डोजर पुगेपछि सुरुमा स्थानीयले आफ्नो सामान निकालेका थिए। त्यसपछि खुकुरी, भाला, खुँडा, रड लगायतका सामान निकालेर स्थानीय महानगर प्रहरी र कर्मचारीमाथि आक्रमण गरेका थिए। स्थानीयले आक्रमण थालेपछि थापाथली, बानेश्वर, कमलपोखरीलगायतका स्थानबाट ठूलो संख्यामा सुरक्षाकर्मी पुगेका थिए। स्थानीयले विभिन्न ४ ठाउँमा टायर बालेर प्रदर्शन गरेकोमा प्रहरी र महानगरका कर्मचारीमाथि ढुंगामुढासमेत प्रहार गरेका थिए। उनीहरूले हाम्रो भोट फिर्ता गर्, बालेन शाह मुर्दावादलगायतका नारा लगाएका थिए।
एकीकृत बागमती सभ्यता विकास समितिले ४ मंसिरसम्म अन्तिम म्याद राखेर बस्ती खाली गर्न सूचना जारी गरेको थियो। समितिले नदी किनारमा अनधिकृत रूपमा निर्माण भएका घरटहरा तथा निर्माण सामग्री र सवारी साधन हटाउन सूचना जारी गरेको थियो।
दिउँसो करिब ३ बजेतिर सुकुम्बासी बस्ती हटाउन महानगरको डोजर पुगेकोमा स्थानीयको आक्रमणपछि अवस्था तनाव हुँदा उक्त क्षेत्रमा नेपाल प्रहरी, महानगर प्रहरी र सशस्त्र प्रहरी खटिएको थियो। बस्ती खाली गर्न नसकेपछि महानगरको डोजर फर्किएकोमा पुन: बस्ती खालि गर्नेगरी फर्किने तयारी महानगरले गरेको छ।