विराटनगर- धारिलो हतियारले घाँटी र टाउको काटिएको अवस्थामा शनिबार राति फेला परेका एक जना पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। मोरङको जहदा गाउँपालिका १ भुटाहाका ४२ वर्षीय सन्तोष सरबरियाको मृत्यु भएको हो ।
सरबरिया शनिबार राति ११:२० बजेतिर आफ्नै घरमा घाइते अवस्थामा फेला परेका थिए। गम्भीर अवस्थाका उनलाई प्रहरीले उद्धार गरेर उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याएको थियो। उनी घाँटी र टाउकोमा धारिलो हतियार प्रहार गरिएको तथा बोल्न नसक्ने अवस्थामा घरभित्रै भेटिएका थिए।
उपचारकै क्रममा राति १२:२५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाको कारण खुल्न बाँकी रहेको र अनुसन्धान सुरु गरिएको जानकारी प्रहरीले दिएको छ।