सोमबार, असोज १०, २०७९

यी न्यायाधीश जसले भारतीयलाई नागरिकता दिने 'कीर्ते बा'लाई धरौटीमा छाडे

काशीराम बजगाई  |  काठमाडौं, बुधबार, भदौ १५, २०७९

काशीराम बजगाई

काशीराम बजगाई

बुधबार, भदौ १५, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं- नक्कली कागजात पेस गरी नेपाली नागरिकता लिने भारतीय व्यक्तिलाई पुर्पक्षका लागि थुनामा पठाउँदा सोही मुद्दा खेपिरहेका 'कीर्ते बा'लाई भने बारा जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश जारी गरेको छ। भारत विहार घर भई बाराबाट दिदीका सासुससुरालाई नक्कली बाआमा बनाई वंशजका आधारमा नागरिकता लिने मनिषकुमार सिंहलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको हो। 

तर सोही मुद्दामा 'कीर्ते बा' बनेका अजितकुमार रायलाई कानुनी छिद्र प्रयोग गरी १ लाख धरौटीमा पुर्पक्षका लागि तारेखमा छाडिएको छ। बितेको दुई महिनादेखि फरार रहेका अजितकुमार १३ भदौमा मुद्दा चलिरहेको बारा जिल्ला अदालतमा उपस्थित भएका थिए। सोही दिन अदालतमा बयान दिएका अजितकुमारलाई जिल्ला न्यायाधीश प्रकाश राउतले धरौटीमा छाड्न आदेश दिएपछि यो मुद्दा 'शंकास्पद मोड'मा पुगेको छ। 

कीर्ते कागजात पेस गरी नागरिकता लिएका मनिषकुमार पुर्पक्षका लागि थुनामा रहेको अवस्थामा अदालतमा हाजिर भएका उनका 'कीर्ते बा' अजितकुमारलाई भने न्यायाधीश राउतले 'इन्कारी बयानका आधारमा’ धरौटीमा रिहा गरेका हुन्। न्यायाधीश राउतले उनलाई धरौटीमा छाड्न दिएको आदेशमा आरोपीमाथि लागेका आरोपबारेका प्रमाण भने स्वीकार गरेका छन्।

घटना
जितपुर–सिमरा उपमहानगरपालिका–७ का अजितकुमार रायका जेठा छोरा अखिलकुमार सिंहले बिहार सरन चप्रा-११८ की सुमीकुमारी सिंहलाई बिहे गरेर नेपाल भित्र्याए। सुमीले वैवाहिक सम्बन्धको आधारमा अंगीकृत नेपाली नागरिकता लिइन्। बुहारीलाई अंगीकृत नागरिकता दिलाएसँगै अजितकुमारले झुटा प्रमाण बनाएर बुहारीका भाइ भारतीय नागरिक मनिषकुमारलाई वंशजका नागरिकता दिलाए।

मनिष भारतीय नागरिक ललन सिंहका छोरा हुन्। उतै व्यापार गरेर बस्ने ललनको काठमाडौंस्थित ठमेलमा पनि व्यापार/व्यवसाय थियो। २०४९ जेठ २ गते जन्मिएका मनिष बुवाको व्यापारकै सिलसिलामा काठमाडौंमै हुर्किए। यसरी अध्ययन तथा रोजगारीका लागि ६ महिनाभन्दा बढी समय नेपाल बस्ने भारतीय नागरिकले भारतीय दूतावासबाट रजिस्ट्रेसन सर्टिफिकेट लिनुपर्छ। नेपालमै बसोबास भएपछि दूतावासबाट ललनले छोरा मनिषका नाममा २०६१ चैत १५ (२८ मार्च २००५) मा रजिस्ट्रेसन सर्टिफिकेट लिए। त्यही सर्टिफिकेटको आधारमा मनिषले क्षेत्रपाटीमा रहेको सरस्वती बोर्डिङ उच्च माध्यामिक विद्यालयबाट २०६५ मा एसएलसी उत्तीर्ण गरे। त्यसपछि नेसनल स्कूल अफ साइन्स, लैनचौरबाट प्लस टू गरे भने सफ्टवेरिका कलेजबाट आइटी शिक्षा लिए।

नेपाल समय
भारतीय निर्वाचन आयोगमा रहेको मनिषकुमारको मतदाता नामवाली र भारतीय दूतावासले जारी गरेको रजिस्ट्रेसन सर्टिफिकेट।

ठमेलमा बसेर भारतीय नागरिकका रूपमा अध्ययन गरिरहेका मनिष दिदीको बिहेपछि भने एकाएक नेपाली नागरिक भए, त्यो पनि वंशजको आधारमा। साविक बारा गढीमाई नगरपालिका-७ बाट दिदीका ससुरा अजितकुमार र संगीता रायको कान्छा छोरा बनी २०७३ साउन ६ गते वंशजका आधारमा उनले नागरिकता प्राप्त गरे, जसको नागरिकता नम्बर ३३२१०१/४६३९६ रहेको छ।

नेपाल समय
मनिषकुमारको नाममा जारी भएको नेपाली नागरिकता। नागरिकतामा अजिकुमार रायलाई 'बाबु' बनाइएको छ। तर उनले बनाएका अन्य कागजातमा भने बाबुको नाममा 'ललन सिंह' उल्लेख छ।

यसरी बाहिरियो परिघटना
अजितकुमारका अखिलकुमार सिंह, अतुल सिंह र विपुल राय गरी तीन छोरा थिए। बिहारकी सुमीकुमारीसँग अखिलको बिहे भयो। सुमीको बिहेपछि दुई परिवारबीच सम्बन्ध स्थापित भयो। त्यही क्रममा ठमेलमा व्यापार गर्ने मनिषकुमारले दिदीका सासुससुरा अजितकुमार/संगीताको कान्छो छोरा बनेर नेपाली नागरिकता लिन खोजे। कीर्ते कागजात बनाएर चौथो छोराका रुपमा वंशज नागरिकता लिए।

जैविक सम्बन्धकी दिदी सुमी प्रमाणपत्रमा भने मनिषकी भाउजू भइन्, भिनाजु दाइ र दिदीका सासुससुरा आमाबुवा। 

नागरिकता लिएपछि नेपाली नागरिकको रुपमा उनले व्यापार/व्यवसाय विस्तार गरे। उनले मनिष क्राफ्ट नामक कम्पनी नेपाली नागरिककै आधारमा दर्ता गराए। स्वयंभुस्थित चमातीमा ४ आना जग्गा जोडेर पाँचतले घर पनि बनाए।

तर नागरिकता लिएको ५ वर्षपछि यो विषयले पारिवारिक कलह सिर्जना गर्‍यो। मनग्य जग्गा भएका अजितकुमारका सक्कली तीन छोरा भए पनि नक्कली छोरा मनिषसहित जग्गाको अंशबण्डा भने चार भाग लगाउनुपर्ने भयो। मनिषकुमारले पनि आफ्नो दाबी यथावत राखे। उक्त घरायसी विवादपछि घटना बाहिरियो। 

कीर्ते कागजात खडा गरी नेपाली नागरिकता लिएका मनिषकुमार सिंह। उनलाई छोरा बनाएर नेपाली नागरिकता दिलाएका अजितकुमार राय। सिंहका दिदीका ससुरा राय हुन्। 

भारतीय नागरिकले नक्कली कागजात बनाएर नेपाली नागरिकता लिएको भन्दै मेडिकल शिक्षा अभियन्ता डा. गोविन्द केसीको सहयोगीका रुपमा काम गरेका डा. अभिषेकराज सिंहले गत असार २३ गते गृह मन्त्रालयमा निवेदन दिए। आफ्नो नातासम्बन्धको नजिकका व्यक्ति भएकाले आफूलाई मनिषकुमारबारे प्रष्ट जानकारी भएको, मनिष नेपाली नागरिक नभएको तथा सबै जानकारी भएर पनि आपसी मिलेमतोमा झुटा कागजात पेस गरी नेपाली नागरिकता लिएकाले कानुनबमोजिम कारबाही गर्न निवेदन परेपछि गृहले असार २७ मा छानबिन गर्न जिल्ला प्रशासन कार्यालय बारालाई पत्र लेख्यो।

उक्त पत्रपछि बारा प्रशासनले छानबिन सुरु गर्‍यो, मनिषकुमार पक्राउ परे। तर कीर्ते नागरिकता दिलाउने ‘बा’ अजितकुमार फरार भए। बारा जिल्ला अदालतमा साउन ३१ गते भएको थुनछेक बहसमा प्रतिवादी मनुषकुमारले आफूले नक्कली नागरिकता लिएको भन्ने भने स्वीकार गरेनन्। 

‘म अजितकुमारको कान्छो छोरा हो। मैले भारत विहार रक्सौल बस्ने ललन सिंहको घरमा बसेर पढाइ गरेको हुँ,' अदालतमा मनिषले बयान दिएका छन्, 'ललनसिंह र मेरा बुवा अजितकुमार साथी हुन्।’ उनले इन्कारी बयान दिए पनि प्राप्त प्रमाण/कागजातका आधारमा जिल्ला न्यायाधीश मुकेश उपाध्यायको एकल इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठायो।

नेपाल समय
मनिषकुमारलाई पुर्पक्षका लागि थुनामा पठाउन बारा अदालतले दिएको आदेश।

यता, 'कीर्ते बा' बनेका अजितकुमार भने फरारै थिए। तर भदौ १३ गते उनी एकाएक अदालतमा उपस्थित भए। थुनछेक बहसमा अजितकुमारले पनि इन्कारी बयान दिए। इन्कारी बयानपछि प्रकाश राउतको इजलासले एक लाख धरौटीमा पुर्पक्षका लागि उनलाई साधारण तारेखमा छाडेको हो। 

यो घटनाक्रमलाई नजिकबाट हेरिरहेका कानुन व्यवसायीले मुद्दालाई कमजोर बनाउन लागिएको आरोप लगाए। ‘एउटै मुद्दामा एकजनाले इन्कारी बयान दिँदा उसलाई पुर्पक्षका लागि थुना र अर्को धरौटीमा रिहा हुँदा शंका स्वत उत्पन्न हुन्छ,' उनले भने, 'फर्जी नागरिकता जस्तो गम्भीर फौजदारी अभियोगमा मिसिलमा संलग्न तथ्य–प्रमाण लत्याएर मुद्दा र प्रक्रिया दुवै कमजोर बनाउन मिल्दैन।’ 

नेपाल समय
अजितकुमारलाई धरौटीमा रिहा गर्न बारा अदालतले दिएको आदेश।
सरकारी वकिल भन्छन्- पुनरवलोकनका लागि जान्नौं
एउटै मुद्दामा भारतीय नागरिकलाई थुनामा राख्दा 'कीर्ते बा'लाई धरौटीमा छाडेको विषयमा सरकारका तर्फबाट बहस गरेका सरकारी वकिलसँग बुझ्दा सरकारी वकिलको कार्यालयले भने पुनरवलोकनका लागि नजाने बताएको छ। 

बाराका सहायक जिल्ला न्यायाधिवक्ता सुदीपकुमार रायले यो विषयमा प्रष्ट जवाफ दिन आनाकानी गरे। उनले भने,  'आदेश अध्ययन नगरी यसै भन्न सक्ने अवस्था छैन।' 

'बहस त तपाईंले नै गर्नुभएको थियो नि!' भनेर प्रश्न गर्दा रायले पुनरवलोनका लागि जानपर्ने छ कि छैन हेरेर निर्णय गर्ने बताए। प्रर्याप्त प्रमाण हुँदाहुँदै इन्कारी बयानकै आधारमा धरौटीमा छाडिएकोबारे चासो राख्दा भने उनले यस मुद्दामा पुनरवलोकनका लागि जान आवश्यक नभएको बताए। 

‘फौजदारी कार्यविधि संहिताअनुसार ३ वर्ष वा सोभन्दा बढी सजाय हुनसक्ने अवस्थामा थुनामै राख्नुपर्ने भन्ने व्यवस्था छ। उहाँ (अजितकुमार) लाई धरौटीमा छाड्ने आधार त्यही हुनुपर्छ,’ उनले भने, ‘उहाँको मुद्दामा ६ महिनादेखि ३ वर्षसम्मको कैद हुनसक्ने व्यवस्था भएकाले हामी पुनरवलोकनका लागि जादैनौं।’


प्रकाशित: August 31, 2022 | 16:36:56 काठमाडौं, बुधबार, भदौ १५, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चीनमा सैन्य 'कू' को हल्ला, राष्ट्रपति सी नजरबन्दमा छन् त?

सोसल मिडियामा भने सीबारे अनेकन 'हल्ला' भइरहेका छन्। चीनियाँ राष्ट्रपति सीलाई वास्तवमा के भएको भन्‍ने कुरालाई सहजै भन्‍न सकिँदैन।

समान अवसरको मागसहित शेखर समूहले खवरदारी सभा गर्ने

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीभित्र समान अवसर र न्यायका लागि खवरदारी सभा आयोजना गर्ने भएको छ।

लेखक केशव दाहालको 'माधवी ओ माधवी' सार्वजनिक

'मोक्षभूमि' उपन्यासका लेखक केशव दाहालको गैरआख्यान निर्बन्ध लेखन संगालो 'माधवी ओ माधवी' शुक्रबार विमोचन गरिएको छ।

काठमाडौंका १० निर्वाचन क्षेत्र : पुराना दललाई स्वतन्त्र र नयाँ दल चुनौती

स्वतन्त्रदेखि झिनामसिनाका पार्टीबाट उम्मेदवारी घोषणा गरिएपछि संघीय राजधानीसमेत रहेको काठमाडौंका १० निर्वाचन क्षेत्रमा ठूला दलहरूलाई चुनाव जित्न गठबन्धनको भर। गठबन्धन गर्दा कांग्रेसको सुरक्षित किल्ला अन्य दललाई सुम्पिनुपर्ने बाध्यता।

वित्तीय संघीयता मजबुत बनाउन राजनीतिक र प्रशासनिक इच्छाशक्ति आवश्यक

राजस्व बाँडफाँटका कतिपय मुद्दामा केन्द्र, प्रदेश र स्थानीयबीच समन्वय अभाव देखिन्छ। यसका लागि वित्तीय हस्तान्तरण ऐनमा केही संशोधन गरेर अगाडि बढ्न आवश्यक छ।

कार्यकालपछि राष्ट्रपति भण्डारीले राजनीतिक नेतृत्व गरे अति राम्रो : गोकुल बाँस्कोटा

बिहीबार ट्विट गर्दै बाँस्कोटाले पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कानुनी व्यवस्था नरहेको उल्लेख गर्दै राष्ट्रपतिलाई राजनीतिक नेतृत्व लिन सुझाव दिएका हुन्।

ब्याजदर बढेपछि व्यापारी र बैंकर्सबीच द्वन्द्व, हस्तक्षेप नगर्ने पक्षमा राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको विषयमा निजी क्षेत्रका उद्योगी र व्यापारी असन्तुष्ट छन्। निक्षेपको ब्याज बढाउँदा कर्जाको पनि ब्याज बढ्ने भएकाले त्यसले उद्योग र व्यापार सञ्चालनमा नकारात्मक असर पार्ने भन्दै उनीहरू असन्तुष्ट बनेका हुन्।

निधिले छोडे पनि धनुषा-३ मा गठबन्धनको हानाथाप, को बन्ला जुलीको प्रतिस्पर्धी?

उता २०७४ सालमा धनुषा ३ बाट निर्वाचित सांसद एंव लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले यही क्षेत्रबाट चुनावी मैदानमा उत्रने तयारीमा छन् भने लालकिशोर साह, जितेन्द्रकुमार यादव, विजयकुमार भगत र सर्वजित ठाकुरको नाम सिफारिस गरेको छ।

प्रेमगीत–३ लाई लिएर किन आयो चलचित्र क्षेत्रमा हलचल?

‘प्रेमगीत–३’लाई लिएर नेपाली फिल्मकर्मीहरू विभाजित भएका छन्। कोही हिन्दी भर्सनलाई नेपाली फिल्मसरह कर छुट दिनुपर्ने र कोही दिन नहुने पक्षमा उभिएका छन्।

सरकारको आग्रह लत्याउँदै सीपीसीको सुरक्षा रणनीति बैठकमा राष्ट्रपति भण्डारी सहभागी

चिनियाँ कम्युनिस्ट पार्टीले बुधबार आयोजना गरेको भर्चुअल सम्मेलनमा राष्ट्रपति भण्डारीले रेकर्डेड भिडियो सन्देश पठाएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ।

थप समाचार

नेपाल समय
समाज

महोत्तरीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

महोत्तरीको पिपरा गाउँपालिका–६ रतौलीमा आइतबार साँझ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।
नेपाल समय
समाज

ठोरीको विकासमा सबैले हातेमालो गरौं : सहरी मन्त्री चौधरी

सहरी विकास मन्त्री मेटमणि चौधरीले ठोरीको विकास र विस्तारमा सबैले हातेमालो गर्नुपर्ने धारणा राखेका छन्।
नेपाल समय
समाज

काठमाडौं उपत्यकामा एकै दिन ३२९६ चालक ट्राफिक कारबाहीमा

ट्राफिक नियम उल्लङ्घन गर्ने तीन हजार दुई ९६ जना चालकलाई आइतबार काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले कारबाही गरेको छ।
नेपाल समय
समाज

पर्सामा चट्याङ लागेर एक जनाको मृत्यु, तीन जना घाइते

पर्सामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्।
नेपाल समय
समाज

कर्मचारीका माग सम्बोधन गर्न स्वास्थ्यकर्मी संघ बीपी क्यान्सर अस्पतालको माग

नेपाल स्वास्थ्यकर्मी संघ बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले १० वर्षदेखि करार, स्थायी तथा अस्थायी तथा मासिक ज्यालादारीमा काम गरेका तथा बढुवा हुन नसकेका स्थायी कर्मचारीको माग सम्बोधन गर्न माग गरेको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना