शुक्रबार, असोज २१, २०७९

विशिष्टको निजी सवारी मोहले अस्तव्यस्त सार्वजनिक यातायात

नेपाल समय  |  काठमाडौं, सोमबार, साउन ३०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन ३०, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं– ललितपुरको बालकुमारी बस्ने समीक्षा गुरुङ पुतलीसडकस्थित एक कम्पनीमा काम गर्छिन्। काममा आउजाउ गर्न उनलाई सार्वजनिक सवारी साधन कुरेर बस्नुपर्ने बाध्यता हुन्छ। आफू दिनहुँ आउजाउ गर्ने रुटमा चल्ने सवारीसाधनमा हुने अत्यासलाग्दो भीडले उनलाई निजी सवारी प्रयोग गर्न बाध्य तुल्यायो। अहिले उनी स्कुटरमा कार्यालय आउजाउ गर्छिन्।

काठमाडौं महानगर वडा–१५ डल्लु बस्ने उदय न्यौपाने हिजोआज हिँडेरै कार्यालय आउजाउ गर्छन्। घरै अगाडिबाट रत्नपार्क जाने माइक्रोबस चल्छन् तर उनलाई माइक्रो चढ्नभन्दा हिँड्न सुरक्षित र सहज लाग्छ। माइक्रो चढेभन्दा हिँडेर चाँडो र समयमै कार्यालय पुग्ने उनको अनुभव छ। हिँडेर ४५ मिनेटमा कार्यालय पुगे पनि कहिलेकाहीँ माइक्रो चढ्दा डेढ घन्टा बढी लाग्ने उनको भोगाइ छ।

गुरुङ र न्यौपानेको अनुभवले काठमाडौं उपत्यकाको सार्वजनिक यातायातको दुरवस्था छर्लंग पार्छ। चोकचोकमा लामो समयसम्म यात्रु कुरेर बस्ने, सिट क्षमताभन्दा बढी यात्रु राख्ने, क्षमताभन्दा बढी सिट बनाउने, कोचाकोच, ठेलमठेल र दुव्र्यवहार उपत्यकाको सार्वजनिक यातायातको विशेषतै बनेको छ। कार्यालय समय बस चढ्न युद्ध नै लड्नुपर्छ। बसको ढोकाबाट छिरेपछि आरामसँग बस्ने स्थिति रहँदैन। गन्तव्यमा कति बेला पुगिन्छ, कुनै ठेगान हुँदैन।

सार्वजनिक यातायात चढेर यात्रा गर्दा हुने जाम, अपमान, दुव्र्यवहार र असुरक्षाका कारण ऋण खोजेर भए पनि निजी सवारी खरिद गर्नुपर्ने काठमाडौंबासीको बाध्यता भइसकेको छ। ‘न समयमा कार्यालय पुगिन्थ्यो, न त आनन्दले बस्न पाइन्थ्यो’, गुरुङले भनिन्, ‘कोचिएर, उभिएर यात्रा गर्दा हुने सास्तीको कुरै नगरम्।’

ठूला बसमा उभिन केही सहज भए पनि सानो माइक्रोबसमा समात्ने ठाउँसमेत नहुँदा यात्रा झन् कष्टकर हुने गरेको छ। ‘माइक्रोमा सिट क्षमताबाहेक पनि १०–१२ जना कोचेर चलाउँछन्’, न्यौपानेले भने, ‘त्यसरी कोचिएर जानुभन्दा आजभोलि हिँडेरै कार्यालय जाउ–आउ गरेको छु। आनन्दले हिँड्न पनि पाइने, जाम पनि नहुने।’

उपत्यकाको सार्वजनिक यातायातलाई व्यवस्थापन गर्न सरकारले केही नगरेको उनको भनाइ छ। सार्वजनिक यातायात व्यवस्थापनको जिम्मा संघ, प्रदेश र स्थानीय सरकारको भए पनि अहिलेसम्म सुधार महसुस नगरेको न्यौपानको ठम्याइ छ। सार्वजनिक यातायातलाई भरपर्दो, विश्वासिलो र व्यवस्थित बनाउन जनप्रतिनिधिमूलक थलो संसद्मा समेत पटक–पटक आवाज उठ्ने गरेको छ। संसद्ले सरकारलाई सार्वजनिक यातायात व्यवस्थित बनाउन पटक–पटक निर्देशनसमेत दिएको छ।

सम्बन्धित मन्त्रीले यातायात क्षेत्रलाई व्यवस्थित बनाइने प्रतिबद्धता व्यक्त गर्दै आएका भए पनि देशभरको सार्वजनिक यातायातको अवस्था उस्तै छ। यात्रु ठगिएकै छन्, दुव्र्यवहार र दुर्घटना बढेकै छन्। सार्वजनिक यातायात सबल र व्यवस्थित भएका विभिन्न देशका उदाहरण प्रशस्त छन्। नेपालमा जति परिवर्तन भए पनि यातायात क्षेत्रका समस्या उस्तै छन्। सार्वजनिक यातायात क्षेत्रका जानकार आशीष गजुरेल मन्त्री, नेता, धनीमानीको निजी सवारी मोहका कारण सार्वजनिक यातायात व्यवस्थित बन्न नसकेको बताउँछन्।

‘निजी सवारीसाधन खरिद गर्नुपर्दो रहेछ। त्यसबाट आरामदायी यात्रा गर्न सकिन्छ भनेर राज्यले सिकायो। नीति पनि यस्तै भयो’, उनले भने, ‘सार्वजनिक यातायात महत्त्वको क्षेत्र बन्न सकेन। यसको महत्वबारे कोही कसैबाट बुझाउने प्रयासै भएन। त्यसकारण सार्वजनिक यातायातमा आकर्षण बढेन।’ सार्वजनिक यातायातसम्बन्धी योजना बनाउने नै निजी सवारीसाधन प्रयोग गर्ने हुँदा सार्वजनिक यातयात व्यवस्थापनसम्बन्धी गतिलो नीति बन्न नसकेको उनी बताउँछन्।

भएका नियम कार्यान्वयनमा पनि ठूलो खाडल रहेको उनको भनाइ छ। ‘उच्च ओहोदामा बस्नेलाई कार्यालयले सवारीसाधन उपलब्ध गराउँछ, या त उनीहरूको आफ्नै निजी सवारीसाधन हुन्छ। व्यवसाय गर्नेले पनि निजी सवारीसाधन नै प्रयोग गर्छन्। कहीँ–कतैबाट पनि सार्वजनिक सवारीसाधनको विकास गर्नुपर्छ भन्ने भएन’, गजुरेलले भने, ‘नेता, मन्त्रीले सार्वजनिक यातायात प्रयोग गरेको भए समस्या बुझ्थे र यसको विकास गर्नुपर्छ भन्ने हुन्थ्यो।’

पत्याउँदैनन् जनता

साउन पहिलो साता नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली निवासमा निजी सवारी छाडेर माइक्रो चढेर च्यासलस्थित पार्टी कार्यालयमा पुगे। उक्त माइक्रोबसमा पार्टी कार्यकर्ता भए पनि अन्य सर्वसाधारण थिएनन्। न त त्यो उपत्यकाको कुनै रुटमा नियमित चल्ने माइक्रो थियो।

६ कात्तिक २०७६ मा तत्कालीन प्रधानमन्त्री ओली पुल्चोकदेखि सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा साझा यातायातको विद्युतीय बसमा चढेर पुगेका थिए। त्यसबखत मन्त्री निवासबाट सबै मन्त्री एउटै बसमा चढेर सिंहदरबार जानुपर्छ भन्ने आवाज पनि उठ्यो। त्यसबाट उपत्यकामा सवारी जाम कम हुने, पेट्रोलियम खपत घट्ने र सर्वसाधारणलाई सार्वजनिक सवारीप्रति भरोसा बढाउने अपेक्षा गरिएको थियो। पछि त्यसले निरन्तरता पाउन सकेन।

नेतालगायत उच्च पदस्थको निजी सवारी मोह भंग भएन। विशिष्टका सार्वजनिक यातायात प्रवद्र्धनात्मक अभियानलाई जनताले पत्याएनन् । नेताहरू अगुवापछुवा सुरक्षाकर्मीका साथमा साइरन बजाउँदै हुइँकिन थाले।

नेताहरूले जनतालाई देखाउन मात्रै सार्वजनिक सवारीसाधन चढेजस्तो गरेको गुरुङको भनाइ छ। ‘एक पटक सुरक्षाकर्मीको दलबलसहित सार्वजनिक यातायात चढेर हुन्छ?’ उनले प्रश्न गरिन्, ‘नेताले सधैं जनताले झैं सार्वजनिक यातायात चढे पो जनताको दुःख, पीडा थाहा पाउँछन्। एक दिन चढ्छन्, त्यसपछि छाड्छन्, जनतालाई सधैं दुःखैदुःख।’

नेता, मन्त्री, उच्चपदस्थ कर्मचारीलाई सार्वजनिक यातायातको प्रयोग गर्दा भोग्नुपर्ने कष्ट नै थाहा नभएको गुरुङ बताउँछिन्। ‘सार्वजनिक यातायातको दुरवस्था नभोगी उहाँहरूले कसरी नीति नियम बनाउन सक्नुहुन्छ?’ उनले भनिन्, ‘त्यसका लागि पहिला नेताले सार्वजनिक यातायातमा यात्रा गरेर हेर्नुपर्छ, नागरिकका दुःख, कष्ट कस्ता छन्। अनि मात्र यो क्षेत्रमा सुधारका पहल गर्न सक्नुहुन्छ।’

केही नेता तथा सांसद अझै पनि सार्वजनिक यातायातको नियमित प्रयोगकर्ता रहेका छन्। उनीहरूले यातायात क्षेत्रलाई व्यवस्थित, भरपर्दो र विश्वसनीय बनाउन पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराइरहेकै छन्।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी उपत्यकामा रहँदा प्रायः सार्वजनिक यातायात चढ्ने गर्छन्। नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ पनि कहिलेकाहीँ सार्वजनिक यातायात प्रयोग गर्छन्। अन्य शीर्षनेता तथा उच्चपदस्थ कर्मचारी सार्वजनिक यातायातलाई बेवास्ता गर्दै निजी सवारीमा हिँड्छन्।

विज्ञ गजुरेल विगतमा अहिलेका उच्चपदस्थ व्यक्ति सबै सार्वजनिक यातायातको प्रयोगकर्ता भए पनि यो क्षेत्रमा देखिएका बेथिति अन्त्यका लागि उनीहरूले कुनै पहलकदमी नगरेको बताउँछन्। ‘उनीहरू (विशिष्ट) को विकल्प थिएन, नचढी सुखै थिएन। आम्दानी थिएन, निजी सवारी राख्ने अवस्था पनि थिएन’, उनले भने, ‘थोरै कमाइ हुने, कमजोर वर्गले सार्वजनिक यातायात हाम्रा लागि हो भन्ने सोचेको छ। पैसा हुने, कमाइ हुने वर्गले भने निजी सवारीसाधन आफ्ना लागि हो भन्ने सोचेको छ। सोचमै परिवर्तन गर्नुपर्छ।’

सार्वजनिक यातायातलाई राज्यले लगानी गरेर स्तरीय सेवा दिनुपर्ने उनको भनाइ छ । समयमा नपुग्ने, कोचाकोच गरेर मान्छे राख्ने, व्यवहार पनि राम्रो नभएकाले पनि सार्वजनिक यातायातमा आकर्षण नबढेको उनको बुझाइ छ। ‘अब निजी सवारी साधन प्रयोग गर्दा असहज हुन्छ भन्ने दिन आउनुपर्छ। रातभरि सवारीसाधन पाउने व्यवस्था हुनुपर्छ। त्यसका लागि राजनीतिक तथा प्रशासनिक नेतृत्वले ध्यान दिनुपर्छ’, उनले भने।–रासस


प्रकाशित: August 15, 2022 | 15:58:01 काठमाडौं, सोमबार, साउन ३०, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
समाज

चन्द्रागिरीमा ध्यान केन्द्रलाई पहिरोले पुर्दा एकै परिवारका तीनजनाको मृत्यु

काठमाडौंको चन्द्रागिरीमा पहिरोले ध्यान केन्द्र पुरिँदा तीन जनाको मृत्यु भएको छ।
नेपाल समय
समाज

डीभी चिठ्ठाको आवेदन खुल्यो

अमेरिकाले सन् २०२४ का लागि डीभीको आवेदन खुला गरेको छ।
नेपाल समय
समाज

शुक्रबार पनि दिनभर वर्षा हुने, यी क्षेत्रमा बाढीको जोखिम

देशका विभिन्न भागमा आज शुक्रबार पनि वर्षा भइरहेको छ। पछिल्ला चार दिनदेखि वर्षा जारी छ।
नेपाल समय
समाज

देशमा गणतन्त्र आउँदा पनि तमान गाउँमा कटुवाल र मुखिया प्रथा कायमै

बागलुङको तमानखोला गाउँपालिका–३ तमान गाउँमा भने अझै पनि कटुवाल प्रथा प्रचलनमै छ। गाउँका अधिकांश नागरिकको हात हातमा मोबाइल पुगे पनि तमान गाउँका स्थानीयले यो प्रचलनलाई बचाएका छन्। गाउँमा बहुउपयोगी र भरपर्दो सूचनाको माध्यमको रुपमा मानिएको कटुवाल प्रथा प्रभावकारी भएकाले हटाउन नसकिएको स्थानीय बताउँछन्।
नेपाल समय
समाज

राति अबेरसम्म र बिहान उठ्‍नेबित्तिकै मोबाइल चलाउनु घातक!

रातिको समय मोबाइलमा लगातार हेर्ने लतले युवाहरूको स्वास्थ्य बिगारिरहेको अध्ययनले देखाएको छ। सामाजिक सञ्जालमा भएका गतिविधिसँग अपडेट रहन युवाहरू दिनभरको काम सकेर सुत्नुअघि मोबाइल स्क्रोल गर्छन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना