बिहीबार, भदौ २, २०७९
नेपाल समय

परिवार वधको डरलाग्दो शृंखला: किन बढ्दैछ आफ्नैबाट असुरक्षा?

काशीराम बजगाई  |  काठमाडौं, बिहीबार, साउन १९, २०७९
काशीराम बजगाई

काशीराम बजगाई

काठमाडौं, बिहीबार, साउन १९, २०७९

काठमाडौं– ‘म बिदामा आएका बेला पनि तिमी कहिल्यै खुसी हुन्थेनौ। तिमीले कहिल्यै पनि राम्रो व्यवहार गरेनौ।’ सोमबार बिहान काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जनाको शव भेटिएसँगै भेटिएको ‘सुसाइड नोट’मा लेखिएको कुरा हो यो। घरमूली दिनेश पाण्डे (३८) ले श्रीमती सुनिता (३४) सहित ११ वर्षीय छोरा आशिक र ८ वर्षीय छोरी आशिकाको हत्यापछि आत्महत्या गरेका थिए।

१० वर्ष वैदेशिक रोजगारीका क्रममा देशबाहिर बसेर साढे चार वर्षअघि फर्किएका दिनेशले काभ्रेस्थलीस्थित पदमशालामा घर बनाएका थिए। श्रीमतीसँगको झगडाको कारण देखाउँदै परिवारका सबै सदस्यको हत्या गरी कुण्ठा र निराशा भरिएको सुसाइड नोट लेखेका दिनेशले अन्तिममा छोराछोरीको औधी माया लाग्ने भएकाले एक्लै छाड्न नसकेको उल्लेख गरेका छन्।

परिवारका लागि १० वर्ष कुवेतमा पसिना बगाएर फर्किएको साढे चार वर्षमा उनी आफैंले परिवार सखाप पारे। पति–पत्नीबीचको खटपटले बर्बरतापूर्ण अपराध निम्त्याएको प्रारम्भिक निष्कर्ष प्रहरी अनुसन्धानले निकालेको छ। उनीहरु तीन पटक घरझगडाकै विषय लिएर प्रहरीसम्म पुगेकोमा प्रहरीले मिलापत्र गरेर पठाइदिएको थियो। घटनास्थलमा पुगेको फरेन्सिक विज्ञको टोलीले पनि हत्यालगत्तै दिनेशले आत्महत्या गरेको निष्कर्ष निकालेको छ। 

अर्को घटना

२०७७ भदौ २६ गते भक्तपुरको मध्यपुरथिमी नगरपालिका–९ निकोसेरामा चार तले घरमा कुकुरसहित तीन जनाको शव भेटियो। घरभित्रै ३६ वर्षीय सुदीप अधिकारी, उनकी श्रीमती ३४ वर्षीय सम्झना र १६ वर्षीय सुशान्तको शव फेला परेपछि प्रहरीले अनुसन्धान शुरु गर्यो।

घटनास्थलमा सबैभन्दा पहिले पुगेका मृतक सुदीपका भाइ सुनिलका अनुसार घरको मूलढोका केही खुलेको थियो, दोस्रो तलाको प्यासेजमा सेतो कुकुर मृत फेला परेको थियो। त्यसभन्दा माथिल्लो तलामा भाउजू सम्झना, त्यहाँभन्दा माथिल्लो तलामा भतिज सुशान्त र सबैभन्दा माथि रहेको भान्सा कोठामा दाजु सुदीपको पनि शव देखेपछि उनले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले विभिन्न कोणबाट अनुसन्धान शुरु गरेकोमा अन्ततः घटनास्थलमा फेला परेका प्रमाण र घटनाको प्रकृतिका आधारमा प्रहरीले श्रीमती र छोराको हत्या गरी सुदीप आफूले आत्महत्या गरेको निष्कर्ष निकाल्यो। 

निकोसेरा घटनास्थलमा प्रहरी।.
भक्तपुरको एक औषधि पसलमा काम गर्ने सुदीपलाई कम्पनीले कामबाट निकालेपछि किराना पसल शुरु गरेका थिए। लकडाउनपछि ससुराबाट २ लाख ऋण लिएर व्यवसाय शुरु गरेका उनको सोही ऋण र उनको मदिरा सेवन गर्ने बानीले घरमा झगडा भइरहन्थ्यो। उक्त घर झगडाले अन्ततः परिवार नै सखापको अपराधिक रूप लियो।

२०७६ जेठ ६ गते राति पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ मा एकै परिवारका ९ जनाको हत्या भयो। बमबहादुर फियाकसहित उनको परिवारका ४ सदस्य र ज्वाइँ धनराज सेर्मासहित ५ सदस्य गरी ९ जनाको हत्या भएपछि प्रहरीले अनुसन्धान शुरु गर्यो। 

धारिलो हतियार प्रयोग गरी सबैको टाउको र शरीर क्षतविक्षत हुनेगरी काटिएको थियो। घटनाका बेला भागेर छिमेकी घरमा शरण लिएकी प्रत्यक्षदर्शी १२ वर्षीय सीता खजुम थिइन्। उनैको बयानबाट प्रहरीले अनुसन्धान अघि बढायो। घटनास्थलबाट करिब डेढ घण्टाको पैदल दूरीमा पर्ने मिक्लाजुङ–७ लिम्बा गाउँमा हत्यामा संलग्न आशंका गरिएका फियाकका कान्छा ज्वाइँ मानबहादुर माखिम झुण्डिएको अवस्थामा फेला परे।

पाँचथरमा २ परिवारका ९ जनाको विभत्स हत्या

पारिवारिक कलहपछि माखिमकी श्रीमती मनकुमारी फियाक माइत गएर बसिरहेकी थिइन्। बालिकाको बयान र प्रहरीको अनुसन्धानपछि श्रीमतीले छाडेपछि मानसिक रुपमा विक्षिप्त भएका फियाकले ९ जनाको हत्या गरेर आफूले पनि आत्महत्या गरेको निष्कर्ष प्रहरीले निकाल्यो।

श्रीमानले श्रीमतीसहित छोराछोरीको हत्या गरेर आत्महत्या गरेका यी केही उदाहरणभन्दा केही भिन्न तर उस्तै प्रकृतिको घटना २०७७ फागुन १३ गते दैलेखमा घट्यो। दैलेखको आठबीस नगरपालिका–३ निमायलकी ३५ वर्षीय सुकी बडुवालले चार सन्तानसहित कर्णालीमा हामफालेर आत्महत्या गरिन्। लामो समयदेखि श्रीमानबाट घरेलु हिंसा भोग्दै आएकी उनले अन्ततः छोराछोरीसहित प्राण त्याग गरिन्। उनका श्रीमानविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा चल्यो।

परिवार वधपछि आत्महत्याका यी केही प्रतिनिधि घटना हुन्। प्रख्यात समाजशास्त्री हेण्डिनले प्रतिपादन गरेको आत्महत्यासम्बन्धी सिद्धान्तअनुसार ९० प्रतिशत मानिस जटिल सामाजिक, मनोवैज्ञानिक तथा जैविक कारणले आत्महत्या गर्छन्। आत्महत्याको डरलाग्दो ग्राफबीच नेपालमा केही वर्षयता आत्महत्या मात्रै नभएर आफ्नो क्षतिपूर्व परिवारकै हत्या गर्ने शृंखला बढ्दा छन्, अर्थात् परिवारमा आफ्नैबाट असुरक्षा बढिरहेको छ। 

सम्बन्धका कारण पति–पत्नीको हत्या वा आत्महत्या मात्र नभएर पछिल्लो समय बढ्दै गएको परिवार वधकै कारक मनोसामाजिक समस्या भएको मनोविद् गोपाल ढकाल बताउँछन्। लामो समयदेखिको निराशा कुण्ठामा बदलिएर उत्पन्न हुने आपराधिक चेतनाले यस किसिमका बर्बर अपराध निम्त्याउने उनको भनाइ छ। अधिकांश परिवार वधका अपराधको सुरुवात पारिवारिक बेमेलबाट शुरु भएको देखिएको बताउँदै उनले नेपाली समाजले वैवाहिक सम्बन्धलाई हेर्ने साँघुरो दृष्टिकोणका कारण पनि यस्ता अपराध बढिरहेको तर्क गरे।

अपराधको बदलिँदो ट्रेन्डः हत्याका एक तिहाइ घटना आफन्तबाटै 

‘पहिलो कुरा त हाम्रो सिकाइमै समस्या छ। हामीले वैवाहिक सम्बन्धपछिका व्यक्तिगत समस्या, आवश्यकता र चाहनालाई बुझ्न सकेका छैनौं, जसकारण कोही एकले छुट्टिन चाहेमा पनि सहज सम्बन्ध विच्छेद हुन सक्दैन। प्रहरी र समाजले पनि सकभर मेलमिलाप गराउने नै प्रयास गर्छ,’ उनले भने, ‘हाम्रो समाजमा सम्बन्ध विच्छेद गरेका व्यक्तिलाई हेर्ने दृष्टिकोण फराकिलो बन्न सकेको छैन। जसकारण सम्बन्धमा आउने अनेक समस्याहरु खप्टिँदै गएर अन्तमा त्यो अपराधका रुपमा प्रस्फुटन हुन्छ।’

यसरी विकास हुने दम्पतीबीचको कलहले गम्भीर मानसिक समस्या देखिएर परिवारसम्मकै नास गर्ने आपराधिक मानसिकता विकास हुने उनी बताउँछन्। यस्ता समस्या रोकथाका लागि दुई व्यक्तिबीचको बिग्रिएको सम्बन्धमा जबरजस्ती साथै रहनुपर्छ भन्ने मानसिकता बदलेर यस्ता समस्या आउँदा मनोपरामर्श लिनुपर्ने वा सम्बन्ध अगाडि नै बढाउन नसकिने अवस्था सिर्जना भएमा सहज रुपमा कानुनी बाटो अपनाउनपर्ने जनचेतनाको खाँचो रहेको उनको सुझाव छ।

परिवारकै नास गर्न सक्ने आपराधिक घटना बढ्दै जानुले वैवाहिक तथा पारिवारिक संस्था नैसंकटोन्मुख रहेको देखिन थालेको बताउँछिन् समाजशास्त्री मीना उप्रेती। ‘हामीले सबैभन्दा महत्वपूर्ण संस्थाका रुपमा परिवारलाई लिने गरेकोमा परिवार संस्था गम्भीर संकटमा रहेको देखिन थालेको छ,’ उनले भनिन्। पछिल्लो पुस्ताले सम्बन्धको सौन्दर्य नबुझेको र एकअर्काप्रतिको सम्मानको अभाव भएका कारण यस्ता घटना बढिरहेको उनको धारणा छ। सामाजिक सञ्जालको विकाससँगै अन्य व्यक्तिसँग आफ्नो जीवनसाथीको अरुसँग गरिने तुलना, बढ्दो भौतिक दूरी, अत्यधिक शंका, बहुसम्बन्ध आदि कारणले अपराध बढाएको निष्कर्ष उनको छ।

सम्बन्धका कारण पति–पत्नीको हत्या वा आत्महत्या मात्र नभएर पछिल्लो समय बढ्दै गएको परिवार वधकै कारक मनोसामाजिक समस्या भएको मनोविद् गोपाल ढकाल बताउँछन्।

संकीर्णता र शंकामा जेलिएको सम्बन्ध

बदलिँदो सम्बन्ध बुझ्न नसक्दा वा सम्बन्धमा शंकाले डेरा जमाउँदा परिवारभित्र बढ्दो मनमुटाव पारिवारिक हत्यासम्म पुगेको छ। ‘हामीले सम्बन्ध जोडिने मात्रै नभएर तोडिने विषयलाई पनि सामान्यीकरण गर्न सकेका छैनौँ, जसकारण कसैले सम्बन्धबाट अलग्गिन चाहेमा त्यसलाई सहज स्वीकार गर्न सकेका छैनौँ। अरुसँग तुलना गर्ने, अरुको देखासिखी गर्ने प्रवृत्ति बढ्दो छ, जसले एकअर्काबीचको सम्मान घट्दै गएको छ। वैदेशिक रोजगारीको चलन बढेको र चलचित्र, गीत, साहित्य जस्ता समाजको चित्रण गर्ने विधाले विदेशमा श्रीमान् हुने श्रीमती यता अन्य व्यक्तिसँग सम्बन्ध राख्ने गरेको भाष्य स्थापित गरिदिँदा पनि सम्बन्धमा दरार आउने गरेको छन्,’ मीना भन्छिन्, ‘यसरी व्यक्तिगत, सामाजिक, आर्थिक, मनोवैज्ञानिकलगायत विभिन्न कारणहरु खप्टिँदै गएर सम्बन्धको मिठास हराउँदै जाने र विस्तारै प्रेमको ठाउँमा अपराधले डेरा जमाउँदै जाँदा यस्ता आपराधिक घटना घटिरहेका छन्।’

बदलिँदो परिवेशका कारण वर्तमान समयमा परिवार संस्था नै संकटमा रहेकाले सम्बन्धको साँघुरो व्याख्या फराकिलो बनाउन नसके यस्ता घटना अझै बढ्न सक्ने उनी बताउँछन्। यसले गर्दा व्यक्तिले आफूलाई मात्रै क्षति नपुर्याएर आफ्नो जीवनसाथी र परिवारकै विनास गर्नसक्ने मानसिक समस्या निम्त्याएकाले सम्बन्धलाई हेर्ने दृष्टिकोण फराकिलो बनाउने गरी राज्य र सरोकारवाला निकायबाट जनचेतनाको आवश्यक रहेको उनले बताइन्।

पूर्वडीआईजी भन्छन् – कमजोर राज्य संयन्त्र 

नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेल कमजोर राज्य संयन्त्रका कारण यस किसिमका अपराध बढिरहेको बताउँछन्। ३० वर्षको सेवा अवधिमा आफूले परिवार वधका घटना क्रमशः बढ्दै गएको अनुभूत गरेको उनले सुनाए। पछिल्लो समय यस किसिमका घटनामा थप वृद्धि भएको उनको बुझाइ छ।

परिवार नै सखाप पार्ने अपराधको सबैभन्दा मूल कारण कमजोर राज्य संयन्त्र भएको उनले बताए। ‘यस्ता अपराध मुख्यगरी वैदेशिक रोजगार र गरिबीका कारण भएको पाएको छु। अत्यधिक गरिबीका कारण परिवारसहित आत्महत्या गर्न मानिसहरु बाध्य भइरहेका छन्,’ उनले भने, ‘सरकारले देशमै रोजगारी सिर्जना गर्न नसक्दा ठूलो जमात विदेशिन बाध्य छ। विदेशबाट श्रीमानले पठाएको पैसा श्रीमतीले डुबाउने÷श्रीमतीले पठाएको पैसा श्रीमानले डुबाउने, अनेक शंकाहरु उब्जिने र सामाजिक र पारिवारिक द्वन्द्व बढ्दै गएर यस किसिमका अपराध हुने गरेको भेटिन्छ।’ 

जनताको आर्थिक सुधार र देशमै रोजगारी सिर्जना भएमा यस्ता अपराध न्यूनीकरण हुने उनको तर्क छ। परिवार नै सखाप पार्ने अपराधिक क्रियाकलाप बढ्दै गए पनि सरकारी निकायबाट यस्ता अपराध किन भइरहेछन् भन्ने अध्ययन अनुसन्धान नहुनु दुखद् भएको उनी बताउँछन्। ‘यस्ता अपराध किन बढिरहेछन् भनेर सरकारले अनुसन्धान नै गरेको छैन। प्रभावकारी अनुसन्धान गरी यस्ता अपराध न्यूनीकरणका लागि सरकारले तत्काल काम गर्न आवश्यक देखिन्छ,’ खरेल भन्छन्।

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

कांग्रेस केन्द्रीय समितिमा थपिँदै आठ महिला

संविधानअनुसार अहिले कांग्रेसको केन्द्रीय समितिमा महिलाको संख्या ३३ प्रतिशत नपुगेका कारण ३३ प्रतिशत पु¥याउन आठ जनालाई केन्द्रीय समितिमा मनोनयन गर्न लागिएको हो।

पञ्चायती व्यवस्थाका हार्डलाइनर मरीचमानको अविचलित राष्ट्रवाद

तीन दशक लामो पञ्चायती व्यवस्थाका अन्तिम प्रधानमन्त्री मरीचमान सिंह २०४६ को बहुदलीय व्यवस्थाका कारण राजा वीरेन्द्रबाट बर्खास्तीमा परे। त्यो समय कसैसँग नझुक्ने अडान लिएर बसेका मरीचमान भारतको नाकाबन्दी, जनआन्दोलनको उभारलगायत यिनै र यस्तै घटनाक्रमले कतै नायक बने, कतै खलनायक।

आरजुबारे देउवाको त्यो वचन तर यो प्रयास!

पार्टी सञ्चालनका सन्दर्भमा होस् वा सरकार सञ्चालनमै पनि किन नहोस्, आरजु हावी भइरहेकी छन्। यसलाई राजनीतिक जानकारहरुले देउवाको उत्तराधिकारी हुने प्रयासका रुपमा बुझेको देखिन्छ।

प्रचण्डसामु बाबुरामको 'बाध्यात्मक शरण'

सात वर्षअघि माओवादी विचारधाराको औचित्य समाप्त भएको घोषणा गरेर कम्युनिस्ट विचारधारा पूर्ण रूपमा त्यागेको बताएका बाबुराम नयाँ पार्टी खोलेर पनि राजनीति उँभो लाग्ने छनक नदेखिएपछि प्रचण्डतिरै लहसिनुपर्ने बाध्यतामा पुगेका छन्।

२०७४ मा जसले जिताए, तिनै बन्नेछन् विष्णु पौडेलको तगारो

रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ बाट लगातार पछिल्ला ३ निर्वाचन जितेका विष्णु पौडेल नै एमालेबाट निर्विकल्प उम्मेदवार हुन्। पौडेलले २०६४, २०७० र २०७४ को निर्वाचनमा क्रमशः भक्ति पाण्डे, डा. बाबुराम भट्टराई र युवराज गिरीलाई हराएका थिए।

राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता : अब के हुन्छ?

यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको नागरिकता अध्यादेश भने जारी गरेकी थिइन्। असंवैधानिक रुपमा संसद् विघटन गर्दै ल्याएको नागरिकता अध्यादेश जारी गरेकी राष्ट्रपति भण्डारीले संसद्‌बाट पारित गरेको विधेयक भने फिर्ता गरेकी हुन्।

तालाबन्दी र तोडफोडले बिगारेको त्रिवि : माग एउटा, नियत अर्कै!

पछिल्लो समय भने तालाबन्दी राजनीतिक पाटोसँग भन्दा पनि लेनदेनको पाटोसँग जोडिएको उपप्राध्यापक रेशम थापा बताउँछन्। ‘पहिला राजनीतिक कारण हुन सक्थ्यो। तर, हिजोआज यो बिल्कुल आर्थिक पाटोसँग जोडिएको छ। लनेदेनको कुरा मिले ताला खुल्छ। नत्र लागिबस्छ,’ थापाले भने।

नयाँ तलबमान र ग्रेड लागू गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले सबै राष्ट्र सेवक कर्मचारीहरूको नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको छ।

यी ३२ निर्वाचन क्षेत्र, जहाँ गठबन्धनलाई पर्न सक्छ सिट बाँडफाँटमा सकस

२०७४ मा बाम गठबन्धन बनाएर संघीय सांसद भएकाहरू दल बदल र पाँच दलीय गठबन्धनभित्र समेटिएपछि आउँदो चुनावमा कांग्रेसका आकांक्षी उम्मेदवार र सत्ता साझेदार दलका नेताहरू आ–आफ्नो दाबीसहित टिकटका लागि दौडधुप गर्दै छन्।

यी कांग्रेस नेता जो अहिले गुमनाम छन्

गुमनाम नेताको अग्रपंक्तिमा छन्- पूर्वमहामन्त्री तारानाथ रानाभाट, केबी गुरुङ, पूर्वमन्त्री बलदेब शर्मा मजगैया, विनयध्वज चन्द।

थप समाचार

नेपाल समय
समाज

बलात्कार मुद्दामा फसाउने धम्की दिएर १२ लाख असुली, ४ महिला र १ पुरुष पक्राउ

दाङको नारायणपुरका एक व्यवसायीलाई बलात्कारको धम्की दिएर १२ लाख असुली गरेको आरोपमा चार महिलासहित पाँच जना पक्राउ परेका छन्।
नेपाल समय
समाज

१६ दिनदेखि आन्दोलनरत मिटरब्याज पीडित भन्छन्- न्याय नपाएसम्म फर्कन्‍नौं, बालुवाटारमै धर्ना दिन्छौं

आन्दोलनको क्रममा बिरामी भएर उपचार गरेर फर्किएकी अम्बिकाकुमारी भन्छिन्, 'माग पूरा भएको छैन, हामी यसै पनि मरेको छौँ। बरु सडकमै मरौंला तर न्याय नपाएसम्म अब फर्किन्‍नौं।'
नेपाल समय
समाज

पाटनमा श्रीकृष्णाष्टमी पर्वको रौनक

बिहीबार मध्यरातदेखि नै मेला भर्न भक्तजन कृष्ण मन्दिर आउने भएकाले आवश्यक तयारी थालिएको हो।
नेपाल समय
समाज

नागरिकता विधेयक सहमतिकै दस्तावेज हो : सांसद विश्वकर्मा

पूर्व फर्किंदा एकखाले, पश्चिम फर्कंदा अर्को खाले, उत्तर फर्किंदा एउटा, दक्षिण फर्किंदा अर्को राष्ट्रियता देख्न नहुने नेता विश्वकर्माको तर्क।
नेपाल समय
समाज

नागरिकताजस्तो संवेदनशील विषयमा जनमत विभाजित नगर्न एमाले नेता ज्ञवालीको खबरदारी

बहुमतको आधारमा नागरिकता विधेयक जबर्जस्ती पारित गरिए त्यसको परिणाम राम्रो नहुने नेता ज्ञवालीको चेतावनी।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना