काठमाडौं- नेपाल सरकारका एक जना उपसचिव ठूलो घुस रकमसहित पक्राउ परेका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत ‘गोल्ड मेडलिस्ट’ उपसचिव प्रमोद नेपाल साढे २२ लाख घुससहित मंगलबार पक्राउ परेका हुन्।
त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गर्ने क्रममा नेपालले स्वर्णपदक पाएका थिए। त्यसपछि उनले बेलायतमा छात्रवृत्तिमा पढ्ने अवसरसमेत पाएका थिए।
पर्यटन व्यवसायीसँग घुस मागेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गुप्तचरी टोलीले मंगलबार बिहानैदेखि नेपालमाथि निगरानी राखेको थियो। सोही क्रममा अख्तियरको टोलीले नेपालले नागपोखरीस्थित होटल अरण्यमा घुस लिँदै गर्दा पक्राउ गरेको हो।
प्याराग्लाइडिङको उडान अनुमतिका लागि उनले घुस मागेको पाइएको अख्तियरले जनाएको छ। पर्यटकीय स्थलमा प्याराग्लाइडिङको अनुमति नेपाल नागरिक उड्डयन प्राधिकरणले दिने भए पनि त्यसका लागि मन्त्रालयको सैद्धान्तिक सहमति चाहिन्छ।
नेपालको साथबाट साढे २२ लाख रुपैंया बरामद भए पनि अख्तियारले बुधबार विशेष अदालतमा पेश गरेर पक्राउको म्याद थप गर्ने र थप अनुन्धान थाल्ने जनाएको छ।