सोमबार, असोज १७, २०७९

कन्याकुमारीदेखि काश्मिरसम्म बाइकमै छिचोलेका कर्माका किस्सा

राज सरगम  |  काठमाडौं, शनिबार, साउन १४, २०७९

राज सरगम

राज सरगम

शनिबार, साउन १४, २०७९, काठमाडौं

नेपाल समय

चल्तीका अभिनेता हुन्, कर्मा शाक्य। तर धेरैलाई थाहा नहुन सक्छ, उनी ‘बाइक राइडर’ पनि हुन् भन्ने। चकलेटी अनुहारका कर्मा बाइक राइडर हुँ भन्ने  खुलेर भने बताउँदैनन्। भन्छन्, ‘म एक यात्रु जरुर हुँ।’ 

‘सानो संसार’बाट नेपाली सिने क्षेत्र प्रवेश गरेका कर्माले यात्रामा अभ्यस्त हुन थालेको भने बाल्यकालदेखि नै हो। पाटन क्षेत्रमा लडीबुडी हुर्केका कर्मालाई यात्रा गर्ने उत्साह उनकै बुबाले जगाइदिएका थिए। 

व्यापारको सिलसिलामा उनका बुवा देशदेशावर गरिरहन्थे। यस्तैमा कर्मा १० वर्षको हुँदा उनका बुबा नेपाल आए। कर्माको अध्ययन अगाडि बढाउन बुबाले दार्जिलिङ लगे। पहिलोपल्ट काठमाडौंबाट दार्जिलिङसम्मको यात्रा बसमा गर्ने मौका पाएसँगै कर्माको मनले यात्राको लय समायो। 

‘यात्राको हुटहुटीचाहिँ दार्जिलिङ गएको दिनदेखि लाग्यो’, उनले बाल्यकालका दिन सम्झिए, ‘बुबाले मलाई दार्जिलिङ पढाउन लैजानुभयो। कक्षा ६ सम्म मैले उतै पढें। दार्जिलिङ–काठमाडौं आउ–जाउ गर्दागर्दै यात्राप्रति मोह झांगिँदै गयो।’ 

बाल्यकालमा घुम्ने बानी बसेपछि कर्मालाई एकै ठाउँ बसिरहन सकस हुन्थ्यो। मन पनि मान्दैनथ्यो। आमाको आँखा छलेर उनी मंगलबजार र पाटन दरबार आसपास डुल्थे। सूर्यास्त नहुन्जेल फिटिक्कै घर फर्किंदैनथे, उनी। साथीहरू बटुलेर घुम्न निस्किन्थे। उनी भन्छन्, ‘म साँझ जहिल्यै हराउँथें। एकै ठाउँ बसिरहन सक्दैनथें। साथीहरूसँगै चोभारको फेरो मार्थें।’ 

एसएलसी नदिँदै काठमाडौं नजिकका पहाड छिचोलेका कर्मालाई टाढाको यात्रा गर्नु थियो। तर लाइसेन्स थिएन। घरमा स्पेल्न्डर बाइक हुँदा लाइसेन्सकै कारण टाढाको यात्रामा जान डराउँथे, उनी। २०५७ को एक साँझ साथीहरूले उनलाई पोखरा जाऊँ भनी उचाले। त्यहाँ पुगेको भोलिपल्ट बिहानै फर्किने सर्तमा कर्मा तयार भए। चार जनाको टोली बनाएर पोखरातिर हान्निए। अबेर राती पुगे पर्यटकीय स्थल, पोखरा। 


भोलिपल्ट बिहानैदेखि नेपाल बन्द भयो। नेपाल बन्दका कारण उनीहरू त्यहीँ रोकिए। कर्मा भन्छन्, ‘सशस्त्र द्वन्द्वको ‘पिक आवर’ थियो। लाइसेन्स पनि थिएन। घरका सदस्य पनि मलाई खोजेर हैरान भएछन्।’

पोखरा यात्राको तेस्रो दिन बल्ल उनीहरू घर फर्किए। 

०००

सबै यात्रा सहज हुँदैनन् तर कर्माले जटिल यात्रालाई सहज बनाएका छन्। कर्मा भन्छन्, ‘कहाँ गएर के हुने हो थाहा हुँदैन, तर जटिल होला भनेर डराउने कुरै भएन।’

सन् २००९ को बर्खाको महिना। सुजुकीको डीआर बाइक लिएर कर्मा, रेमनदास र अन्य दुई जनासहितको चार टोली बाइकमा प्युठानको स्वर्गद्वारी पुगेको थियो। पोखरा हुँदै बागलुङ, बुटवल, दाङ र प्युठान पुगेका थिए, उनीहरू। स्वर्गद्वारीको फेदमै बाइक रोकेर मन्दिर दर्शन गर्न उक्लिए। स्वर्गद्वारीबाट फर्किंदा घनघोर पानी पर्‍यो। दिउँसै चट्याङ पर्‍यो। स्वर्गद्वारी नजिकै परेको चट्याङले कर्माको होसहवासै उड्यो। फर्किंदा ओरालो, चिप्लो बाटो। लड्दैपड्दै झरे। 

‘रातो माटो, चिप्लो बाटो थियो। बाटो भुलेर दाङको घोराही लागेका थियौं। त्यतिबेला बाइक राइडिङमा गतिलोसँग हात बसेकै थिएन’, प्युठानको स्वर्गद्वारीबाट फर्किंदाको सास्ती सम्झिए, उनले। 

यात्रामा भय भइहाल्छ तर मनमा डर बोकेर यात्रा गर्नुहुन्न भन्ने बुझाइ छ, उनको। परिवारसँग यात्रा गर्दा भने बढी जोखिम हुने अनुभव सुनाउँछन्, उनी।

यात्रा गर्नु समाज चिन्नु पनि रहेको भन्ठान्ने कर्मा बाइक राइडिङ सिनेमा हेर्नु या किताब पढ्नुजस्तो सहज नहुने अनुभव सुनाउँछन्। रमाइलोका लागि जोखिम यात्रा गर्नेहरू भए पनि समाज र तिनका पात्रमा भेटिने विविधताले राइडिङलाई झनै प्रेरणा मिल्ने बताउँछन्, कर्मा।

हिउँदयाम थियो। चितवनसम्मको गन्तव्य बनाएर कर्मा र उनकी श्रीमती घरबाट हिँडे। मलेखु नपुगुन्जेल बाइकलाई ८० किमि प्रतिघन्टामा हुइँक्याए। हावाको गतिमा गुडेको बाइक अचानक अनियन्त्रित भयो। गुडेको बाइक नियन्त्रण गर्न खोज्दाखोज्दै उनी भयभीत भए। सडकमा ठूला सवारी साधन रफ्तारमा गुडिरहेका थिए। कर्मालाई फसाद आइलाग्यो। अब बाइक नियन्त्रण नगरे कि पहाडको भित्तामा कि गाडीमा ठोकिने सम्भावना थियो। अचानक किन अनियन्त्रित भयो बाइक भन्ने कूतुहल उनको मनमा चल्यो। उनी भन्छन्, ‘त्यो क्षण मन एकदम आत्तियो। बाइकको गतिलाई कम गर्दागर्दै मेरो होस् जालाजस्तो भयो। आफ्नोभन्दा पनि बढी श्रीमतीको चिन्ता थियो।’

बाइकलाई उनले नियन्त्रण गरिछाडे। सामान्य पन्चर भएको रहेछ भनेर श्रीमतीलाई झुक्काए। तर आफ्नै मनलाई उनले ढाँट्न सकेनन्। 

बाटोको छेउकुनामै श्रीमतीलाई उभ्याएर वर्कसपमा मर्मतका लागि बाइक पुर्‍याए। बाइक मर्मतपछि चितवन यात्रा अगाडि बढाए। केही दिनको अन्तरालपछि फर्किंदा सोही बाइक मुग्लिङ पुग्न १० किलोमिटर उतै फेरि बिग्रियो। त्यतिखेर पनि श्रीमतीलाई चिया पसलमा राखेर बाइक बनाएर फर्किंदा आधा दिन बितेको सम्झिन्छन्, कर्मा। उनी भन्छन्, ‘यात्रामा परिवारसँग रिस्क मोल्नुभन्दा चिन्ताले बढी सताउँछ। साथीसँगको यात्रामा चिन्ता कम हुन्छ।’


बाइक राइडिङका क्रममा उनले धेरै पल्ट छिचोलेको गन्तव्य हो, पोखरा। कर्माको टोली पोखरा जान असाध्यै लालयित हुन्छ। पोखराबाट हिमाली गाउँहरू बाइकमै छिचोलेका छन्, उनले। कुनै दिन उनको टोलीले लेकसाइडमा नयाँ कुरा सुन्यो– मुक्तिनाथ जाने बाटो राम्रो छ रे।

लेकसाइडमा चिसो पिएर गफिएका साथीहरू भोलिपल्ट बिहानै ६ बजे मुक्तिनाथ जान तम्तयार भए। त्यो बेला पनि सुजुकी डीआर बाइक थियो, कर्मासँग। मुक्तिनाथ यात्रा सबै टोलीका लागि बिल्कुल नयाँ थियो। मुक्तिनाथसम्म जाने बाटो खासै गतिलो थिएन। तर मनमा अठोट लिएर यात्रामा निस्किएको टोली बाइकमै मुक्तिनाथ पुगेर काठमाडौं फर्कियो। 

०००

योजनाविहीन बग्रेल्ती बाइक राइडिङ गरे, कर्माले। योजना बनाएर लामो यात्रामा पनि निस्किएको अनुभव छ, उनीसँग। संस्थागत बाइक राइडिङ र सोलो बाइक राइडिङ दुवै गरेका छन्, उनले। काठमाडौंदेखि सिक्किमसँग उनले सोलो बाइक राइडिङ गरेका थिए। 

भारतको कन्याकुमारीदेखि कास्मिरसम्मको ४५ दिने यात्रा गरेका छन्, कर्माले। यो यात्रामा चार जना राइडर थिए । 

भारत यात्रामा निस्किँदा बिहारको पटना वरपरको एउटा सडकमा रेल पासका लागि गाडीहरू रोकिए। छिटो बाटो काट्नुपर्ला भन्ठानेर बाइकलाई अगाडि लगेर बन्द गरे, कर्माले। रेल कटेपछि सबैले सवारी साधन चलाए। तर कर्माको बाइकै स्टार्ट भएन। त्यसपछि बाइक डोर्‍याएरै पार गर्नुपर्‍यो। बाइकको तेल पास नभएको थाहा पाएपछि नजिकको ग्यारेजमा लगेर मर्मत गरे। 

भिजिट नेपाल २०२० लाई ‘प्रमोट’ गर्छु भनेर भारत यात्राका क्रममा बेङ्लोर पुग्दाको एक किस्सा सुनाउँछन्, उनी। 

बेङ्लोरबाट उनीहरूलाई कन्याकुमारी पुग्नु थियो। तर केही सय किलोमिटर पार गरेपछि समूहमा एक जनाको बाइक बिग्रियो। उनले बाइक ट्रकमा राखेर बेङ्लोर फर्किनुपर्‍यो। उनी भन्छन्, ‘यात्रामा जब कुनै साथी छुट्दा त्यतिबेला बडो नमज्जा लाग्छ। चार दिनपछि हाम्रो यात्रामा छुटेका दाइसँग रामेश्वरममा भेट भएको थियो।’ 

यात्रा भन्नेबित्तिकै चराझैं उड्ने होइन। राइडरले बाइक पनि सकुशल लिएरै हिँड्नुपर्ने हुन्छ। बाइकको मेसिन र मान्छेको मेसिनले काम गरुन्जेल हरेक यात्रा सहज हुन्छ। जब कुनै एउटाको मेसिन बिग्रिन पुग्छ अनि यात्रा जटिल हुन्छ। उनले यस्तै जटिल यात्रा भोगेको घटना सुनाए।

भोलिपल्ट कोचीबाट बेङ्लोर फर्किनुपर्ने थियो। उनलाई भने मध्यरातबाट बिमारीले छोप्यो। टाउको दुख्ने, वाकवाक लाग्ने, पेट बटारिने भयो। रातभर सुत्न सकेनन्। आँखा लठ्ठै पार्‍यो। बिहान ६ बजे बेङ्लोरका लागि निस्किनुपर्ने थियो। समय तालिकाअनुसार हिँड्नुपर्ने भएकाले जसरी पनि कोची छाड्नैपर्ने थियो। तर कर्माको स्वास्थ्यले साथ दिएन।

‘म बिरामी भएपछि राती नै औषधी प्रयोग गरें तर निको भएन। भूत लागेको भन्छन् नि, त्यस्तै भयो। आच्छुआच्छु बनायो’, उनले त्यो दिन सम्झिए। 


औषधीले काम नगरेपछि दिमागमा भूत चढ्यो उनको । शरीर शिथिल भएको थियो। उनमा बाइक गुडाउने हिम्मतै पलाएन। तर साथीहरूले सकिन्छ, जाऔं भनिरहेका थिए। उनी भन्छन्, ‘मरे मर्छु भनेर बाइक चलाएँ। बाइक र आफूबीच ‘कनेक्ट’ नभएजस्तो लाग्थ्यो। हावामा बाइक गुड्यो। मलाई पनि हावाले उडाएझैं भयो। बाइक चलाउँदाचलाउँदै मेरो अल्छीपन हराउँदै गयो। विस्तारै सन्चो हुँदै गएँ।’

अहिले पनि त्यो दिनको घटना सम्झिएर आश्चर्यमा पर्छन्, कर्मा। त्यतिबेला आत्मबल कमजोर बनाएर बाइक नगुडाएको भए अस्पताल भर्ना हुनुपर्थ्यो सायद।

पर्दाका नायक भए पनि राइडिङ गर्दा आफू सेलिब्रिटी हुँ भन्ने भुसुक्कै बिर्सिन्छन्, उनी।  आफूलाई बदल्न यात्राले भूमिका खेल्ने ठान्छन्, कर्मा। उनी भन्छन्, ‘स्वयंमा बदलाव ल्याउन यात्रा गर्नु जरुरी छ। यात्रा कहिलेकाहीँ धेरै रोगको ओखतीमूलोसमेत हुन सक्छ।’ 

अभिनयमा विविधता खोज्ने कर्मा यात्राका लागि समय निकाल्छन्। अथवा समयले नै उनलाई यात्रा जुराइदिएको छ। श्रीलंकाबाट सेल बोटमा उनले १४ दिनको यात्रा गरेका छन्। आफैंले बोट चलाउँदै घाम र पानी सहेर थाइल्यान्ड पुगेका छन्, कर्मा। ‘समुद्री लेक’ लागेर थला परे पनि उनी यात्रादेखि कहिल्यै आत्तिएनन्।  

कर्माले ‘पुना टू बम्बई’को हाइवेमा इन्टर पढ्दाताका खुबै बाइक चलाए। जाउलाखेलको सेन्टजेभियरबाट एसएलसी सकेपछि उनी इन्टर पढ्न पुना हानिएका थिए। पुनाबाट तीन घन्टाको यात्रा गरी फिल्म हेर्न बम्बई पुग्थे।

उनले मध्य पहाडी लोकमार्ग पनि छिचोलिसके। काठमाडौंबाट इलाम जाँदा बाटोमा पर्ने जिल्ला र भित्री गाउँलाई फेरो मारेका छन्, उनले । इलामबाट पाथीभारा बाइकमै पुगेर मूल थलो काठमाडौं फर्किएका छन्। कोरोना महाव्याधिका गरिएको बन्दाबन्दीको सुरुआततिर इलाम पुग्दा त्यहाँका मानिसले हजुरहरू काठमाडौंबाट आउनुभएको हो भनेर प्रश्न गरेको अहिलेजस्तो लाग्छ, उनलाई। 

कर्माले सगरमाथाको बेसक्याम्प पनि चहारिसकेका छन्। एक दिन सगरमाथा उक्लिने सोचमा छन्, उनी। काठमाडौंबाट सुर्खेत हुँदै उनी मुगु पुगेका छन्। रारा तालमाथिका गाउँ फन्को मारेर फर्किएका छन्। 

छिट्टै ‘फ्रोस्टबाइट’ नामक हलिउड फिल्ममा देखिन थालेका कर्मा बाइक राइडरका लागि भारतभन्दा नेपालका सडक उत्तम मान्छन्। भारतमा फराकिला बाटा भए पनि अनुशासन नभएको लाग्यो, उनलाई। ‘६ लेन’को बाटोमा उनले धेरैपल्ट बाइक हुइँक्याइसकेका छन्।


नेपालका बाटा घुमौरा भए पनि बाइकमा हिँड्दाको आनन्द शब्दमा व्यक्त गर्न नसकिको उनको बुझाइ छ। भारतका बाटामा यात्रा गर्दा गर्मी र लू बढी सहनुपरेको अनुभव छ, उनीसँग। 

यात्राकै स्मरण गर्दा लखनऊदेखि आग्रा र दिल्लीको हाइवेमा धेरैपल्ट बाइक कुदाए, उनले। यो हाइवेमा समूहकै ५० वर्ष उमेर कटेकाहरूले १२० प्रतिघन्टाको गतिमा बाइक हुँइकाएको देखेर आश्चर्यमा परेका थिए, कर्मा। भन्छन्, ‘दाजुहरूले १२० प्रतिकिमिमा बाइक गुडाइरहँदा मैले १४० को गतिमा आग्रा टू लखनऊको हाइबेमा बाइक कुदाउँथें।’ 

कर्माले ‘पुना टू बम्बई’को हाइवेमा इन्टर पढ्दाताका खुबै बाइक चलाए। जाउलाखेलको सेन्टजेभियरबाट एसएलसी सकेपछि उनी इन्टर पढ्न पुना हानिएका थिए। पुनाबाट तीन घन्टाको यात्रा गरी फिल्म हेर्न बम्बई पुग्थे। भन्छन्, ‘हरेक साता सिनेमा हेर्न पुनाबाट बम्बई पुग्थें।’

एसएलसी पास भएपछि उनी इन्टर पढ्न  पुना गए। पुना पहिलो पटकको यात्रा थियो। आर्टस्बाट कलेज पढ्न गएका कर्माले बम्बई–पुना ओहोरदोहोर बाक्लै गरे। कहिले गोवाको बिचमा रमाउन पुग्ने त कहिले आमिर खानको ‘आती क्या खण्डाला’मा पुगेर खानकै गीत गुनगुनाउँथे। भन्छन्, ‘पुनामा कक्षा लिनुभन्दा बढी यात्रा गरें, मैले।’ 

पुनामा अध्ययन गरिरहेका बेला दसैं बिदामा काठमाडौं घर आउनु साटो उनी मेघालय सिलोङतिर हान्निए। साथीसँग पुनाबाट सिलोङ बाइकमै पुगे। 

मनले यात्रा गरिरहन भनिरहन्थ्यो उनलाई। तर कमाउने धमाउने काममा पनि लाग्नु थियो। त्यसैले प्लस टु सकेपछि के गर्ने? उनले सोचे–बास्केट बल खेलाडी बन्छु। आर्मी हुन्छु। तर माओवादी द्वन्द्व अन्तिम अन्तिम चरणमा भएकाले सेनामा जागिर खान डराए। बुबाले प्रहरी इन्स्पेक्टरमा भिड्नू भन्ने सल्लाह दिए। तर त्यसमा पनि तुरुन्तै निर्णय दिन सकेनन्। 

यस्तैमा एक दिन उनले पत्रिकामा बलिउड अभिनेता नसरुदिन साह आरोहण गुरुकुलमा आएर नाटकमाथि बोलेको समाचार पढ्न पाए। लोकेसन खोज्दै उनी आरोहण गुरुकुल पुगे। त्यहाँ सत्यमोहन जोशीको नाटक हेरे। पुना–मुम्बई चहार्दै फिल्म हेर्ने गरेका कर्मालाई अभिनयले ‘कनेक्ट’ गर्‍यो। बुबासँग अनुमति मागेर उनी आरोहण गुरुकुलको विद्यार्थी बने। त्यसपछि उनको बाइक राइडिङ र अभिनय यात्रा सँगसँगै दौडिरहेको छ। 

आफ्नो अभिनयमा बदलाव आउनुको पहिलो कारण यात्रालाई ठान्छन्, उनी। उनले यात्रामा त्यस्ता अनेक पात्र भेटेका छन्, जसको चरित्र आफ्नो अभिनयमार्फत निखारेका छन् र अझै नयाँ–नयाँ चरित्रलाई पर्दामा उघार्न चाहेका छन्। 

काठमाडौंको बागमती किनारैकिनार हिँडेर कर्माको टोली गौर पुगेको थियो। गर्मी महिना विदेशबाट आएका बागमतीको पानी सर्वेक्षणकलाई गाइड गर्ने मौका पाएका थिए, उनले। यो यात्रामा बागमतीसँगको गहिरो लगाव गाँसिएको बताउँछन्, उनी। ‘गाइड बनेर गएको थिएँ। नदीप्रेमी भएर फर्किएको थिएँ। पैदल हिँडेरै गौरसम्म पुग्दा बागमतीसँग गहिरो प्रेम भइदियो,’ उनी सुनाउँछन्।

यात्रा गर्दा हरेक घुम्ती प्रेमिल हुन्छ। बागमतीका हरेक घुम्तीसँग उनले प्रेम भेटेका थिए। बागमतीका किनारमा बस्नेसँगको सद्भाव अझै ताजा छ, उनलाई। 


०००

भारतको ४५ दिने यात्रामा उनले आफ्नो बाइकमा २ लाख रुपैयाँको त पेट्रोल मात्रै हाले। यात्रामा अहिलेसम्म कसैसँग पैसा मागेका छैनन्। तर बाइक राइडिङ क्षेत्रमा कर्मालाई नचिन्ने कोही छैनन्। सिनेमाबाट कमाएको पैसा यात्रामा खर्चिंदै आएका छन्। राइडिङमा खर्चिएका छन्। भन्छन्, ‘अभिनयबाट आएको आम्दानी बाइक राइडिङमा खर्चेको छु।’

सेलिब्रेटी ‘फेस’ भएकै कारण कयौं यात्रा सहज बनेको अनुभव छ, उनीसँग। कहिलेकाहीँ यात्रामा उनको अनुहारले काम गरिदिन्छ। चलचित्रको नायक यसरी बाइकमा डुल्दै हिँड्छन् र भन्ने प्रश्न गर्नेहरू पनि उनले प्रशस्तै भेटेका छन्। उनका साथीहरू पनि कर्माको सेलिब्रेटी फेसलाई कहिलेकाहीँ सही ठाउँमा उपयोग गरिदिन्छन्। 


कर्मा यात्राको क्रममा गम्भीर हुन्छन् । आफूलाई बोकेर हिँड्ने बाइकको अवस्था हेर्छन्। आफूलाई चाहिने हेलमेट, पन्जा, ज्याकेट, जुत्ता, बर्षाती, मिरर, बाइकको इन्जिन आयल, टेन्ट, स्लिपिङ ब्याग सबै ध्यान दिएर हेर्छन्। भन्छन्, ‘म बाइक चेक गरेर मात्रै यात्रा गर्छु। आवश्यक सामान छुटाउँदिनँ।’

यात्राको क्रममा हेलमेट भित्रैबाट पनि आफूसँगैको साथीसँग गफ गर्न कानमा  ब्लुटुुथ सकभर छुटाउन्नन्। अगाडि/पछाडि भएर चलाउँदा निरन्तर कुरा गर्न सकिन्छ भन्छन्। कहिलेकाहीँ पानी पिउन र दिसापिसाब फेर्न कुराकानी गर्न सकिने भएकाले ब्लुटुथ लिनुपर्ने उनको बुझाइछ। यात्रामा रहँदा पानीको ब्याग र पिउने पानीको बोतल छुटाउँदैनन्। 

सोलो बाइक राइडिङमा भन्दा सामुहिक बाइक राइडिङ गर्दा बढी सुरक्षित र अनुशासित हुन सकिने बताउँछन्, उनी। भन्छन्, ‘समूहमा जाँदा क्याप्टेन हुन्छ। क्याप्टेनलाई ओभरट्याक गर्न मिल्दैन। उभिँदा अलिकति दूरी भने मिलाउनुपर्छ। औसतमा राम्रो बाटोमा बाइक ८० प्रतिकिमिसम्म जान्छ। नेपालको बाटोमा जाँदा ६०–७० मा जान्छ। समयमै हिँड्न पाइन्छ। सुरक्षित पनि भइन्छ।’ 

कर्माको बाइक राइडिङमा रवि मोक्तान बढी क्याप्टेन भएका छन्। उनी सँगै भारतको यात्रामा निस्किएका थिए। मोक्तानकै प्रमुखमा काठमाडौंबाट ‘म्याङ्गो राइड’ भनेर बर्दिबास गएका थिए। बर्दिबासको आँप टिपेर उनीहरू धरानको ‘नाम्जे भ्याली’मा पुगे। त्यसपछि बर्दिया पुगेर काठमाडौं फर्किएका थिए।  

त्यसैगरी अनिल काफ्ले बाइक राइडरको क्याप्टेनसँग राइडिङ गरेका छन्। काफ्लेको आफ्नै वर्कसप छ। संस्थागत बाइक राइडिङ पनि आयोजना गरिरहन्छन् काफ्ले।  

यात्रा गर्नु समाज चिन्नु पनि हो भन्ठान्छन् उनी। तर यात्रा सिनेमा हेर्नु या किताब पढ्नुजस्तो सहज भने पक्कै हुँदैन। रमाइलोका लागि जोखिम यात्रा गर्नेहरू पनि छन्। यात्राबाट समाज र तिनका पात्रमा भेटिने विविधताले आफूलाई प्रेरणा मिल्ने बताउँछन्, कर्मा। भन्छन्, ‘घुम्नुको मात्रै उद्देश्य लिएर यात्रा गर्नेहरू पनि छन्। तर म सिक्नकै लागि यात्रा गर्छु। समाज बुझ्नकै लागि यात्रा गर्छु।’

बन्दाबन्दीपछि रेस्टुराँ व्यवसायमा समेत सक्रिय हुँदै आएका कर्मा हरेक दिन ध्यान गर्छन्। उनका लागि एउटा ध्यान बाइक राइडिङ पनि बनेको। त्यसैले सुटिङको समयबाहेक कि उपत्यकाको वरपरका  पहाडमा भेटिन्छन् कि लामो यात्रामा बाइक राइडिङ गरिरहेका हुन्छन् उनी


प्रकाशित: July 30, 2022 | 13:47:20 काठमाडौं, शनिबार, साउन १४, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
समाज

दसैं-तिहारसँगै डुंगा व्यवसायी व्यस्त

आन्तरिक र बाह्य पर्यटकको आगमन बढेसँगै डुंगा चालकहरू चाडपर्वका लागि पैसा जोहो गर्ने सुरसारमा छन्।
नेपाल समय
समाज

अर्घाखाँचीमा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स

गाउँपालिकाका सुत्केरीलाई एम्बुलेन्सको भाडा तिर्नु नपर्ने पाणिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले जानकारी दिए।
नेपाल समय
समाज

तनहुँ प्रशासनद्वारा हातहतियार बुझाउन आग्रह

प्रशासन कार्यालयले एक सूचना जारी गरी निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन इजाजतप्राप्त हातहतियार बुझाउन आग्रह गरेको हो।
नेपाल समय
समाज

काभ्रेमा निर्वाचन तयारी तीव्र

सदरमुकाम धुलिखेलमा मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा प्रतिनिधिसभा क्षेत्र नं १ अन्तर्गत पनौतीमा र प्रतिनिधिसभा क्षेत्र नं २ अन्तर्गत धुलिखेलमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।
नेपाल समय
समाज

काठमाडौं उपत्यका छाड्नेको भीड

आइतबार फुलपातिको दिन पनि दसैँ मान्न गाउँ जानेहरुको भीड लागेको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना