मासुका लागि वर्षेनि करोडौँ जनावर पालिने र हत्या पनि हुने गरेको छ। जनावरको हत्या नगरी मासु खान मिल्ने भएको भए संसार कस्तो हुन्थ्यो होला? जनावरको हत्या नगरी ल्याबबाट तयार गरिएको मासु खान मिले त बिग्रँदो जलवायु परिवर्तनको असर न्युनीकरणमा योगदान पुग्ने गरी मात्र नभएर शरीरका लागि हानिकारक मानिने उच्च कोलेस्टेरोलको मात्रा पनि नियन्त्रणमा लिन सहयोग पुग्ने हुन्थ्यो।
'कृत्रिम मासु भनेको जनावरकै कोषहरुबाट उत्पादित मासु हो,' अपसाईड फूड्सकी संस्थापक तथा सीईओ उमा भ्यालेटी भन्छिन्, 'यो शाकाहारी होइन। किनभने यो साँच्चिकै नै मासु हो। तर जनावरको हत्या नगरी ल्याबमा तयार गरिएको मासु।'
'कृत्रिम मासुको उत्पादन गर्ने प्रक्रिया बियर बनाएजस्तै हो। फरक यत्ति हो- बियर बनाउँदा मर्चा (यिस्ट) प्रयोग गरिन्छ। कृत्रिम मासु बनाउँदा जनावरको कोष प्रयोग गरिन्छ र त्यसलाई नै बढाइन्छ,' भ्यालेटीले थपिन्।
वैज्ञानिकहरुले जीवित जनावरबाट थोरै कोषका नमुना लिन्छन् अनि तिनलाई बढाउन सकिन्छ कि सकिँदैन भनेर जाँच गर्छन्। 'त्यसपछि ती कोषहरुलाई सफा तथा नियन्त्रित वातावरणमा राखी आवश्यक पोषक तत्त्व दिइन्छ। त्यहाँ तिनीहरुको संख्या गुणन हुँदै प्राकृतिक रुपमा वृद्धि हुन थाल्छ,' भ्यालेटी भन्छिन्, 'ठ्याक्कै भन्ने हो भने जीवित जनावरको शरीरमा हुने कोष गुणनको प्राकृतिक प्रक्रियालाई हामीले कृत्रिम रुपमा सिर्जना गर्न सक्छौँ।'
'यो हिंसारहित मासु हो,' लाईफ ईट्सेल्फसम्मेलनमा फ्लोरिस इन्ककी संस्थापक क्रिस्टियाना मस्कले भनिन्। लाइफ इट्सेल्फ सिएएनसँगको सहकार्यमा आयोजित स्वास्थ्यसम्बन्धी कार्यक्रम हो। फ्लोरिस इन्क खानेकुराको विकासबारे छलफल गर्ने संस्था हो।
'प्रयोगशालाबाट व्यावसयिक उत्पादन सुरु गर्न थालेका कतिपय कम्पनीले यसलाई ‘ल्याब-उत्पादित मासु' भन्न छाडिसकेका छन्,' नेदरल्यान्डस्थित खाद्य कम्पनी मोजा मिटका प्रवक्ताले भने। तिनले यस्तो कृत्रिम मासुलाई ‘उत्पादित मासु’, ‘कोष-आधारित मासु’, ‘हिंसारहित मासु’, आदि संज्ञा दिन थालेका छन्।
000
यसरी उत्पादित मासुले जलवायु परिवर्तन को असर न्यूनीकरणमा पनि उल्लेख्य भूमिका निभाउँछ। मिथेनजस्ता हरितगृह ग्यासको उत्पादन नहुने भएकाले कृत्रिम मासुले पर्यावरणमा प्रतिकूल असर गर्दैन। विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा मासुका लागि गरिने पशुपालनको हात रहेको छ। संयुक्त राष्ट्रसंघका अनुसार यसरी पशुपालन गर्दा वनजंगल फडानी हुनेसँगै अत्यधिक मात्रामा कार्बन तथा मिथेन उत्पादन हुन्छ।
'कृत्रिम मासु उत्पादनले पशुपालनका लागि प्रयोग हुने पानीको कम खपत हुने, वनजंगल नमासिनेजस्ता कारणले दिगो विकासमा राम्रै भूमिका खेल्ला,' टफ्ट्स विश्वविद्यालयका बायोमेडिकल इन्जिनियरिङका प्राध्यापक डेभिड काप्लानको विश्वास छ। व्यावसायिक पशुपालनबाट निस्कने कार्बनडाइअक्साइड र मिथेनयुक्त फोहोर वायुमण्डलमा उत्सर्जन हुँदा पर्यावरणीय असर परेको छ।

'कृत्रिम मासु उत्पादनको इतिहास लामो छैन। यो उद्योग सुरु भएको करिब १० वर्ष मात्र भएको छ। तसर्थ कृत्रिम मासुलाई बजारमा उपलब्ध हुन अझै केही वर्ष समय लाग्नेछ। बजार नै कब्जा गर्न सायद दुई दशक नै लाग्न सक्छ,' काप्लान भन्छन्। हाल, सिंगापुरमा मात्र यसरी उत्पादित मासु सर्वसाधारणको प्रयोगका लागि स्वीकृत छ।
त्यतिन्जेल, कृत्रिम मासु र त्यसको जनावर, मानव तथा वातारणमा हुने सम्भावित लाभ आशा मात्र रहिरहने छ।
यसले कसरी काम गर्छ?
कृत्रिम मासु बनाउनमा मुख्य भूमिका टिस्यू ईन्जिनियरिङको हुन्छ। टिस्यू ईन्जिनियङले हालसम्म विशेषतः मेडिकल मर्मतका निम्ति मानव टिस्यू बनाउने काम गर्दै आएको छ।
'वैज्ञानिकहरुले जनावरको शरीरबाट सानो कोषिकाको नमुना बायोप्सीको प्रयोग गरी लिन्छन्। यो बायोप्सी मान्छेमा गरिने बायोप्सीजस्तै हुने काप्लानको भनाइ छ। मेडिकल क्षेत्रमा यो काम पहिले नै सुरु भइसकेको छ। भ्याक्सिन निर्माणमा यसलाई प्रयोग गरिसकिएको छ,' क्यालिफोर्नियास्थित वैकल्पिक अण्डा उत्पादन गर्दै आएको कम्पनी इट जस्ट इन्कका प्रमुख कार्यकारी अधिकृत जोस टेट्रिक बताउँछन्।
'कृत्रिम मासु बनाउनका लागि प्रयोग गरिने बायोस्पी मान्छेको बायोस्पी गरेजस्तै हो। यसले जनावरलाई कुनै असर गर्दैन,' काप्लानले भने, 'बायोस्पीको नमुना लिएका पशु पनि पछि स्वस्थ हुन्छन्।'
दोस्रो कदम पोषक तत्व छान्ने हो- कोषलाई आवश्यक भिटामिन, खनिज र एमिनो एसिडजस्ता पोषक तत्त्व छुट्याइन्छ। छुट्याइएका कोषले पोषक तत्त्व सोस्ने टेट्रिक बताउँछन्।
'ती कोषहरु बायोरियाक्टरमा भएको आफ्नो ‘न्युट्रिएन्ट बाथ’मा जान्छन्। यस्तो न्युट्रिएन्ट बाथ भनेको ठूलो स्टिलको भाँडो हुन्छ जसमा कोषलाई बढ्नलाई उचित चापदेखि लिएर विभिन्न कारकहरु प्रयोग गरी नियन्त्रित वातावरणं सिर्जना गरिएको हुन्छ,' टेट्रिकले थपे, 'यो प्रविधि औषधि तथा खोप उत्पादनमा प्रयोग गर्न सकिन्छ। हाम्रो केसमा हामीले मान्छेको पेट भर्नका लागि पनि प्रयोग सक्छौँ,' उनले थपे, 'यो प्रक्रिया काँचो मासु उत्पादनको प्रक्रिया हो।'
000
त्यसरी लिइएको कोषको नमुनालाई चाहेको आकारको बनाउनका लागि करीब दुई हप्ता लाग्छ- जुन कुखुरालाई लाग्नेभन्दा आधा समय हो। अर्को प्रक्रिया भनेको उत्पादित मासुलाई अन्तिम ‘प्रोडक्ट’को रूप दिनु हो। चाहे त्यो ‘चिकेन ब्रेस्ट’ होस् या ‘चिकेन नगेट’ अथवा ‘स्टेक’।
'यस्तो मासुको आकर्षक पाटो भनेको आकारलाई ईच्छानुसार बदल्न सकिन्छ,' द किचेन रेस्टुरेन्ट ग्रुपका संस्थापक तथा वरिष्ठ सेफ किम्बल मस्क भन्छन्, 'मासु कहिलेकाहीँ साह्रो हुन सक्छ। तर यो प्रविधिको विकाससँगै मासुको प्रकारसमेत चाहेअनुसार बदल्न सकिन्छ।'
'मैले पहिलो पटक दुई वर्ष अघि पकाएको थिएँ, आज बिहान पनि पकाएँ,' जुन २ मा भएको लाईफ ईट्सेल्फको शृंखलामा उनले भनेका थिए, 'पहिलेको भन्दा अहिलेको मासु निकै राम्रो भएको छ। यसको अर्थ विकासको गति द्रूत छ।' कृत्रिम मासुलाई प्राकृतिक मासुजस्तै बनाउन प्राविधिक विकास जारी छ।
स्वास्थ्य र पृथ्वी कसरी जोगिन्छ?
'जीव कल्याणका लागि होस्, वातावरण जलवायुका लागि होस्, वा खाद्यसुरक्षा तथा मानव स्वास्थ्यका लागि होस्, हामीले मासु खाने तरिका बदल्नुपर्ने थुप्रै कारणहरू छन्,' टेट्रिकले भने।

कृत्रिम मासुको प्रयोगले व्यावसायिक पशुपालन अन्त्य गर्नेछ। फलस्वरुप, कयौँ बिगाहा जमिन खाली हुनेछ। 'सबै कुरा सही भएमा सुरुमा गरिने बायोप्सीका लागि एउटा मात्र जनावर चाहिन्छ,' काप्लान भन्छन्, 'त्यस कोषलाई ‘अमर’ बनाएर सदैव त्यसैबाट मासु उत्पादन गर्न सकिन्छ। एउटै कोषले हजारौँ टन मासु बनाउन सकिन्छ, कुनै पाबन्दी छैन,' उनी भन्छन्।
जलवायु परिवर्तनका लागि बनेको सन् २०२२ को अन्तर्सरकारी प्यानलले पनि यस खाद्यप्रणालीले जलवायुसम्बन्धी विभिन्न समस्या न्यूनीकरणमा उल्लेख्य भूमिका निभाउने कुरा उद्धृत गरेको छ।
कृत्रिम मासुको उत्पादनले पानीको खपत कम गराउँछ भन्ने कुरा विवादास्पद छ। किनभने कोषको खेती गर्न पनि पानी आवश्यक पर्ने बताउँछन् काप्लान। आइपीसीसीका अनुसार उर्जा खपत पनि विवादास्पद नै छ।
कृषि प्रयोजनका लागि मानवले गरेको भूमि तथा जल क्षेत्र अतिक्रमण न्यूनीकरण गरी जैविक विविधताको संरक्षणमा पनि यस प्रविधिले टेवा पुर्याउने टेट्रिसको ठहर छ।
000
'पौष्टिक तत्त्व तथा मानव स्वास्थ्यमा पर्ने असरको खण्डमा कृत्रिम मासुले प्राकृतिक मासुलाई उछिन्नेछ, किनभने यसको उत्पादन प्रक्रिया नै नियन्त्रित हुन्छ,' काप्लान भन्छन्, 'इनपुट र आउटपुटको पूर्ण नियन्त्रण हुन्छ। मासुको सर्वोत्तम भाग मात्र अन्तिम उत्पादनमा राख्न सकिन्छ। प्राकृतिक मासुमा यस्तो गर्न मिल्दैन। जे छ त्यही खानुपर्छ।'
यसले मासुमा कुन पोषक तत्त्वको मात्रा कति राख्ने भन्ने कुरा पनि छान्न सकिने बताउँछन् अपसाइड फूड्सका भ्यालेटी। मासुका लागि पालिने जनावरलाई एन्टिबायोटिक दिइएको हुन्छ, जुन स्वास्थ्यका लागि हानिकारक हुन्छ।

'बधशालामा सयौँ कुखुरा राखिएका हुन्छन् जसको घाँटी रेटिन्छ। खुन हुन्छ। प्वाँखैप्वाँख हुन्छ। कृत्रिम मासुमा केवल सफा स्टेनलेस स्टिल मात्र हुन्छ। यसमा फोहोर, खुन, प्वाँख र हत्या हुँदैन,' टेट्रिक बताउँछन्।
कृत्रिम मासुमा एन्टिबायोटिक प्रयोग गरिँदैन। यसले मानवमा हुने एन्टिबायोटिक प्रतिरोधको समस्या पनि हटाउने काप्लानको विश्वास छ। क्यान्सर गराउन सक्ने सिन्थेटिक ग्रोथ हर्मोन पनि कृत्रिम मासुमा हुँदैन। यस्तो मासुमा मानव स्वास्थ्यका लागि उपयुक्त सिन्थेटिक हर्मोनको प्रयोगको निगरानी अमेरिकी खाद्य स्वास्थ्य विभाग फूड एन्ड ड्रग एडमिनिस्ट्रेसनले गर्नेछ।
कृत्रिम मासुमा जीवजन्तुसँको अन्तक्रिया नहुने भएकाले यसबाट भाइरसको जोखिम कम हुने आईपीसीसीका विज्ञहरु बताउँछन्।
संयुक्त राष्ट्रसंघका अनुसार मानवमा जनावरबाट भाइरस सर्ने मुख्य कारक भनेको तिनको मासु सेवन हो। उदाहरणका लागि कोभिड माहामारी छँदैछ।
'यो प्रविधिको औचित्य भनेको तुरुन्तै प्राकृतिक मासुको खपत निषेध गर्नु होइन। अहिलेका माग थुप्रै छन्। तर यसले विस्तारै प्राकृतिक मासुको उपभोग कम गर्ने र विस्तारै बजारबाट हटाउने हो,' काप्लान भन्छन्। यद्यपि आशावादी नै देखिए पनि कृत्रिम मासुका सम्भावित समस्याबारे वैज्ञानिक अझै अनभिज्ञ छन्। यसको मूल्य कति किफायती हुन्छ भन्ने कुराको पनि टुंगो लागेको छैन।
000
सिंगापूरमा आम मानिसहरूले कृत्रिम मासु सेवन गरिरहँदा अमेरिकी नागरिक एफडीएको स्वीकृतिको प्रतीक्षामा छन्। एजेन्सीहरुले सन् २०१९ मै संयुक्त रुपमा सुरक्षित कृत्रिम मासुको व्यावसायिक उत्पादन सुरु गर्ने भनेका थिए।
'यो मासु नै हो। यसको नामाकरणका विषयमा पनि कारबाही गरिन बाँकी नै छ,' भ्यालेटी भन्छन्, 'यदि कसैलाई मासु-माछासँग एलर्जी छ भने तीनले कृत्रिम मासु पनि खान मिल्दैन, किनभने यो पनि मासु नै हो। यसलाई मासु नै भनिनेछ। तर उपसर्ग के राख्ने अझै निस्कर्ष हुन सकेको छैन।'
दि एकेडेमी अफ न्यूट्रिसन ए्न्ड डायटेटेक्सले कृत्रिम मासुको स्वास्थ्यबारे बुझ्न आवश्यक रहेको बताएको छ। उसले युएसडीएलाई टिप्पणी पत्र लेख्दै यस कुराबारे ध्यानाकर्षण गरिएको हो।
'मासुको विषय जटिल पनि हो किनभने यससँग सांस्कृतिक मूल्य-मान्यता पनि गाँसिएको हुन्छ,' लाईफ ईट्सेल्फमा क्रिस्टियानाले भनिन्, 'यससँग स्वास्थ्य, दिगोपन, जीव-कल्याण, स्वाद मात्र जोडिएको छैन। बहसको लागि ठूलो विषय हो यो।'
'तर कृत्रिम रुपमा उत्पादित मासुले सबै चरण पार गर्न सफल भए सम्पूर्ण मानव प्रजातिले नै बिना हिंसा, बिना हत्या आफूले चाहेको मासु खान पाउने छन्,' सिएनएनसँगको संवादमा भ्यालेटीले भने।
(सीएनएनमा प्रकाशित यो सामग्री विनायक कार्कीले भावानुवाद गरेका हुन्।)