मंगलबार, मंसिर १३, २०७९
नेपाल समय

६ वर्षीया 'भगवान्' रुँदा आएको त्यो विपत्ति

न्युयोर्क टाइम्स  |  काठमाडौं, मंगलबार, साउन १०, २०७९
न्युयोर्क टाइम्स

न्युयोर्क टाइम्स

काठमाडौं, मंगलबार, साउन १०, २०७९

काठमाडौं- ६ वर्षीया 'भगवान्' रुँदा नेपालमा त्यसलाई निकै ठूलो अपशकुन मानियो। उनको आँशुलाई राष्ट्रिय त्रासदीको पूर्वसंकेतका रुपमा हेरियो। नभन्दै उनको रुवाइको अन्तिम दिन सन् २००१ जुन १ मा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्या, राजकुमार दीपेन्द्रसहित राजपरिवारका ९ जना सदस्यको हत्या भयो।

यो दुर्घटना भएको २० वर्ष बितिसक्यो। ती 'भगवान्' अहिले ऐतिहासिक सहर पाटनको एक कार्यालयमा अन्य साधारण महिलासरह काममा व्यस्त देखिन्छिन्। उनी हुन्, तिनै कुमारी चनिरा बज्राचार्य, जो रुँदा राजपरिवार सखाप भएको थियो।

चनिराले एमबीए उत्तीर्ण गरेकी छन्। अहिले उनी एक वित्तीय संस्थाको ऋण विभाग सम्हाल्छिन्। कर्पोरेट क्षेत्रमा जागिरे उनी अरु कुमारीभन्दा भिन्न छिन्। कलिलै छँदा भगवान् भनी पुजिएका कुमारीहरुलाई सामान्यतया शिक्षाबाट बञ्चित गराइन्थ्यो। 'मानिसहरु सोच्छन् उनी भगवान हुन्, उनी सबैथोक जान्दछिन्। अनि भगवानलाई सिकाउने आँट कसको?' २७ वर्षिया चनिरा भन्छिन्।

उनी पाटनमा रहेको आफ्नै निवासमा बसेर गफ गरिरहेकी थिइन्, जहाँ उनले १० वर्षसम्म ईश्वरीय कृयाकलाप गरेकी थिइन्। उनको कोठाका भित्ताभरि उनी कुमारी छँदाका तस्बिर थिए। रातो लिपिस्टिक लगाएकी, गाजलु आँखा भएकी, चहकिला कपडा लगाएकी सानी बालिका। एउटा तस्बिरमा उनले निहुरिएका नेपालका अन्तिम राजा ज्ञानेन्द्रलाई हेरिरहेकी छिन्। उनको दिनचर्या भक्तजनहरुकै माझ बित्थ्यो। उनका कहिल्यै बाहिर नटेकेका पाउ ढोग्थे भक्तहरु। पैसा, फलफूलजस्ता वस्तुहरु चढाउँथे अनि कुमारी चनिराले आशीर्वादस्वरुप तिनका निधारमा टीका लगाइदिन्थन्।

नेपाल समय

कुमारीको इतिहास आजभन्दा ७ सय वर्ष अघिबाट सुरु भएको हो। परम्पराको सुरुवात हिन्दू धर्मकी देवी तलेजुबाट भएको हो। तलेजु राजाकी सल्लाहकार थिइन्। एक बैठकमा राजाले तलेजुलाई यौन दुर्व्यवहार गरेपछि तलेजु विलिन भइन्। राजाले पश्चाताप व्यक्त गरेपछि तलेजु आफ्नो शरीरको साटो सानी बालिकाका रुपमा आउने अनि तिनै बालिकालाई राजाले पुज्नुपर्ने बताइन्। साथै तिनै कुमारी बालिकाले राजाको सल्लाहकारको भूमिका निभाउने पनि बताइन्।

१४औं शताब्दीदेखि काठमाडौंबासी बौद्धमार्गी नेवार समुदायकी बालिकालाई कुमारी छानिन्छ। एक पटकमा एक दर्जन कुमारी छानिएका बालिकामध्ये तीनजनालाई काठमाडौंका ऐतिहासिक राज्यका प्रतिनिधिका रुपमा मुख्य कुमारी हुन्छन्। अरु कुमारीहरु चाहिँ 'पार्ट-टाइम’ हुन्छन्। पूर्व कुमारी चनिराका अनुसार ३ करोड जनता रहेको नेपालमा कुमारीहरु हिन्दू र बौद्धमार्गीका लागि समन्वयको प्रतीकका रुपमा काम गर्छन्।

'बौद्ध धर्ममा बालबच्चालाई रक्षक मानिन्छ,' नेवा: भाषाकी पूर्व प्राध्यापिका चुन्दा बज्राचार्य भन्छिन्, 'यो हाम्रो संस्कार हो, संस्कृति र गर्वको विषय हो।' चनिराकी फुपू पनि कुमारी थिइन्। उनीलगायत विगतका अधिकांश कुमारीहरुले पनि औपचारिक शिक्षा प्राप्त गरेनन्। पहिलो पटक रजस्वला हुनासाथ आफ्नो ‘दीव्यता’ गुमाउने कुमारीहरु अशिक्षित नै किशोरावस्थामा प्रवेश गर्छन्।

नेपाल समय

चनिरा भने यसलाई बदल्न लागिपरेकी छन्। अहिलेका कुमारीहरुले पनि उनले जस्तै शिक्षा पाउनुपर्छ भन्दै उनी बालिकाहरुको बाल तथा मानव अधिकार सुनिश्चितताका निम्ति खटिरहेकी छन्। 'शिक्षा पाएमात्र संसारमा बाँच्न सजिलो छ, अशिक्षित जीवन कटाउन सकिँदैन,' उनी भन्छिन्।

परम्पराले सानैमा भगवानको दर्जा दिएकी बज्राचार्य आफ्नो बाल्यकाल सम्झँदै भन्छिन्, 'ती क्षणहरु मेरा जीवनका रमाइला पलहरु थिए। धेरैजना मलाई भेट्न आउँथे, उपहार ल्याउँथे, मसँग आशिर्वाद लिन्थे।'

उनले आफूले कुमारी छँदा उक्त जिम्मेवारीले उनको कुनै पनि अधिकार उल्लंघन गरेको कुरा अस्वीकार गर्छिन्। 'सामान्य मान्छेहरुलाई लाग्छ, कुमारीहरुको जीवन निकै एकलकाँटे हुन्छ। हामी हाँस्न, बोल्न, खेल्न पाउँदैनौँ। यी सबै मिथ्या कुरा सुन्दा कहिलेकाहिँ झर्को लाग्छ,' उनी भन्छिन्। सबै कुराका बाबजुद कुमारीको जिम्मेवारी निभाउनु कुनै सहज काम भने कदापि होइन। कुमारीहरुलाई बिरलै बाहिर निस्किन दिइन्छ। वर्षमा केही पटक, त्यो पनि पूजा इत्यादि कर्मका लागि अथवा चाडपर्वमा मात्र कुमारीलाई बाहिर निकालिन्छ। उनीहरुलाई कसैले काँधमा अथवा पालकीमा बोकेका हुन्छन्। कुमारीहरुलाई अपरिचितसँग बोल्न बन्देज लगाइएको हुन्छ। सिंहासन कोठामा त आफ्नै परिवारजनसँग पनि बोल्न मिल्दैन।

बदलामा कुमारीहरुलाई अतुलनीय सम्मान प्राप्त हुन्छ। हरेक वर्ष हुने इन्द्रजात्राका दिन काठमाडौंकी कुमारीलाई रथमा राखेर सहर घुमाइन्छ अनि राष्ट्र प्रमुख उनका हातबाट टीका ग्रहण गर्छन्। कुमारीको भावनाले राष्ट्र कल्याणको प्रतिबिम्ब झल्काउने हुँदा अनुष्ठानका बखत कुमारीले निस्क्रिय नै बस्नुपर्छ। सन् २००१ देखि २०१० सम्म चनिरा बज्राचार्य कुमारी रहुन्जेल नेपालले थुप्रै राजनीतिक परिवर्तनको साक्षी हुनुपर्यो। दरबार हत्याकाण्डबाट सुरु भएको उनको आँसुको उथलपुथलले माओवादी विद्रोहलाई चर्काउने संकेत पनि देखियो। नभन्दै, सन् २००८ मा नेपालबाट २४० वर्षे लामो राजतन्त्र हट्यो। नेपाल लोकतान्त्रिक गणतन्त्रसहितको राष्ट्र हुनपुग्यो। 

सोही साल नेपालको सर्वोच्च अदालतले कुमारी प्रथामा फेरबदल ल्याउन आवश्यक रहेको कुरामाथि प्रकाश पार्यो। सर्वोच्च अदालतले कुमारीले पहिले पाइरहेको अवकास भत्ताका साथै थप शैक्षिक भत्तासमेत प्रदान गर्न नेपाल सरकारलाई आदेश दियो। 'कुनै समय छोरीहरुलाई शिक्षाबाट बञ्चित गराइन्थ्यो। अहिले अवस्था त्यस्तो छैन। त्यसैले यस कुरामा कुमारीले पनि स्वतन्त्रता पाउनुपर्छ,' काठमाडौंमा रहेको तलेजु भवानी मन्दिरका मुख्य पुजारी उद्धवमान कर्माचार्य भन्छन्। शिक्षाले चनिराको कुमारी छँदाको जीवनमा असर नपारेको कुरामाथि ध्यानाकर्षण गराउँदै उनले थपे, 'चनिरा पनि कुमारी नै थिइन्, भगवान नै थिइन्।'


नेपाल समय

चनिरा जन्मनु पहिले उनकी आमा चम्पा बज्राचार्यलाई सपनामा दैविक संकेत प्राप्त भएको थियो। उनले बताएअनुसार कमलको फूल उनको कोखमा आएर खसेको थियो। त्यसपछि उनी बौद्ध गुरुकहाँ गएकी थिइन्, जहाँ गुरुले उनको सन्तान शुद्ध आत्मा हुने र जसले संसारमा कुनै प्रकारको विद्रोह ल्याउने दाबी गरेका थिए।

जब नयाँ कुमारी चुन्ने बेला आयो, रत्नाकार महाविहार हाखाबहाल समुदायका सबै १५० परिवारलाई आफ्ना घरका छोरीलाई लिएर आउन भनियो। मुख्य पुजारीले तलेजुसँग उपस्थितमध्ये एक बालिकामा प्रकट भइदिन आग्रह गरे। ज्योतिषले सबैका चिना पढ्न थाले। 'चुनिएकी कुमारीले तत्कालै संकेत देखाउन थाल्छिन्। उनी विनम्र हुन थाल्छिन्, उनको अनुहार रातो हुन थाल्छ। उपस्थित सबैले उनीमाथि देवता चढेको महसुस गर्न थाल्छन्,' आफूलाई याद भएसम्मको अनुभव पूर्वकुमारी चनिरा सुनाउँछिन्, 'नचुनिएका बालिकाहरु रुने, कराउने, भाग्नेजस्ता व्यवहार देखाउँछन्।' चुनिएकामध्येलाई पुजारीका श्रीमतीले शरीरमा चोट, खत छ कि भनी हेर्छन्। मृगका जस्ता आँखा, सिंहको जस्तो मुटु आदि गरी ३२ लक्षणमध्ये सबैभन्दा बढी लक्षण भएकी बालिका कुमारी चुनिन्छिन्।  

कुमारीहरु प्राय: घरपरिवारबाट टाढा बस्छन्। सुसारेहरुले हुर्काउँछन्। तर चनिरा कुमारी छँदा कुनै त्यस्तो विशेष प्रबन्ध थिएन। त्यसैले उनी आफ्नै घरमा हुर्किन्। कुमारीको दैनिक जिम्मेवारी सकेपछि चनिरा पढ्ने, दिदीभाइसँग खेल्ने, कम्प्युटरमा चलचित्र हेर्ने गर्थिन्। नजिकैको विद्यालयका शिक्षकबाट पढ्ने व्यवस्था उनकी आमाले मिलाएकी थिइन्।

१५ वर्षको उमेरमा कुमारीबाट हटेकी चनिरालाई नेवारी समुदायमा अझै पनि उत्तिकै सम्मान छ। अहिलेकी ९ वर्षिया कुमारी निहिरा बज्राचार्यलाई उनले सहयोग गर्ने, पढाउने गर्छिन्। 'बाँच्नलाई शिक्षा अत्यावश्यक छ,' उनले निहिरा ५ वर्षको उमेरमा कुमारी छानिँदा उनका आमाबुबालाई भनेकी थिइन्, 'कुमारी हुनु आफैंमा एउटा ठूलो जिम्मेवारी हो तर त्यसपछि उनी एउटी साधारण महिलाका रुपमा जिउनुपर्ने हुन्छ। त्यसपछि उनलाई बाँच्नलाई आम मानिसलाई आवश्यक ज्ञानको खाँचो पर्छ।'

कुमारीबाट अवकास पाएपछि धेरैजसोलाई जीवन सम्हाल्न निकै गाह्रो पर्छ। हिँड्न मुस्किल हुन्छ, कानेखुसी गर्न बाहेक बोल्न सक्दैनन्। समाजमा अर्को मिथ्या छ- कुमारी बिहे गर्ने वरको बिहे गरेको एक वर्षमै मृत्यु हुन्छ। तर थुप्रै पूर्व कुमारी विवाहित छन्।

यस मिथ्याले बज्राचार्यको जीवनमा पनि निकै असर पारेको छ। उनका साथीहरुभन्दा निकै कम विवाहको प्रस्ताव आएको बताउँछिन् चनिरा। उनको कार्यालयका केही कर्मचारीहरुलाई मात्र थाहा छ चनिरा बाल्य अवस्थामा राजा तथा नेपालकै पहिलो राष्ट्रपतिले पुजेकी देवी हुन्। अन्य नयाँ महिला कर्मचारीमाझ कम्प्युटरमा आँखा अड्याएर काम गर्न व्यस्त थिइन् उनी। 'कुमारी छँदा मलाई बाहिरका मान्छेसँग गफ गर्न दिइँदैनथ्यो,' बाल्यकाल सम्झँदै उनले भनिन्, 'ती दिनहरुदेखि अहिले विदेशी ग्राहकसँग दिनहुँ गफ गर्ने अवस्थामा आएकी छु। अझै धेरै सिक्न बाँकी छ जस्तो लाग्छ।'

(यो सामग्री न्युयोर्क टाइम्सबाट विनायक कार्कीले भावानुवाद गरेका हुन्।)

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चितवनका तीन क्षेत्रमा कसको अवस्था कस्तो?

प्रतिनिधिसभामा तीनवटा निर्वाचन क्षेत्र रहेको चितवनमा तीनवटै क्षेत्रको मतगणना भइरहेको छ।

काठमाडौं-९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

यो एमालेको दोस्रो जित हो। यसअघि एमालेले ललितपुर २ मा जित निकालेको थियो।

गुल्मी-२ मा ठूलो मतान्तरले पछि परिन् झाँक्री

गुल्मी क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीलाई भारी मतले पछि पार्दै नेकपा एमालेका गोकर्ण विष्टले अग्रता कायम राखेका छन्।

समानुपातिक मतमा स्वतन्त्र पार्टी तेस्रो, एमालेलाई पछ्याउँदै कांग्रेस

प्रत्यक्षतर्फ चार वटा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ भने समानुपातिकतर्फ पनि मतगणना भइरहेको छ।

गुल्मी-२ मा झाँक्रीलाई पछि पार्दै विष्टको अग्रता

आइतबार भएको निर्वाचन जारी मतगणनामा विष्ट ६७२ मतसहित अगाडि छन्।

युथ युनेस्को क्लब युएसएको इन्टरनेशनल मिडिया एडभाइजरमा बस्नेत

अमेरिकाको क्यालिफोर्नियामा युवा केन्द्रित रचनात्मक कार्यहरू सञ्चालन गर्दै आएको युथ युनेस्को क्लब युएसएले सञ्चारकर्मी मनोज बस्नेतलाई अन्तर्राष्ट्रिय सञ्चार सल्लाहकारमा मनोनयन गरेको छ।

दुई क्षेत्रमा स्वतन्त्र पार्टी अगाडि, दुई-दुईमा कांग्रेस र एमाले

काठमाडौं हिजो आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अन्तर्गत आज बिहानदेखि केही क्षेत्रमा मतगणना सुरु भएको छ।

बाजुरामा गोली लागेका एक जनाको मृत्यु

कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएपछि मतदान सकिनै लाग्दा झडप भएको हो।

जेलबाट मतदान गरेपछि रेशम चौधरीले भने– बडा मज्जा आयो

कैदीबन्दीले पनि निर्वाचनमा सहभागी हुन पाउने भएपछि उनीहरु उत्साहित भएका थिए। काठमाडौं उपत्यकामा १८२ जना कैदीबन्दी मतदान गर्न योग्य भएको निर्वाचन अयोगको तथ्यांक छ।

थप समाचार

नेपाल समय
समाज

दल र स्वतन्त्रले निर्वाचनमा प्रयोग गरे बालबालिका

बालबालिका र विद्यालय शान्ति क्षेत्र अवधारणाको व्यावहारिक कार्यान्वयन अझै प्रभावकारी हुन नसकेको भन्दै उनले मतदानस्थलका लागि विद्यालयको विकल्प खोज्न जरुरी रहेको धारणा राखे।
नेपाल समय
समाज

स्याउको बिरुवामै भ्रष्टाचार!

मुगुको छायानाथ रारा नगरपालिकाले आव २०७५/७६ मा सञ्चालन गरेको कार्यक्रममा बिरुवा खरिदका लागि वास्तविक लागतभन्दा बढीको नक्कली बिल बनाएर भ्रष्टाचार गरेको पाइएपछि अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर।
नेपाल समय
समाज

थापाथलीको सुकुम्बासी बस्ती पस्यो महानगरको डोजर, स्थानीयले गरे ढुंगामुढा

अनधिकृत रूपमा बागमती नदी किनारमा कब्जा जमाएर बसेको समूहले वैकल्पिक व्यवस्थाबिनै हटाउन थालेको भन्दै महानगरको टोलीमाथि ढुंगामुढा गरेको हो।
नेपाल समय
समाज

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ।
नेपाल समय
समाज

धनकुटामा ४ म्‍याग्निच्यूडको भूकम्प

धनकुटा केन्द्रविन्दू बनाएर आज भूकम्प गएको छ। सोमबार बिहान १० बजेर ४५ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना