‘केटाहरु फिँजिएर हिड् है, फिजिएर...।’ बेलायतस्थित गोर्खा सेनाका टुआईसी क्याप्टेन नारायणप्रसाद राई यसैगरी चिच्याइरहेका थिए। एक्कासी त्यहीबेला बम पड्कियो।
सन् १९८२ जुन १३ को मध्यरात। १ सय ३७ जना गार्खा सेनाको नेतृत्वमा थिए उनी। फोकल्यान्डस्थित स्ट्यानलीमा अन्तिम आक्रमण गर्न टोली अघि बढ्दै थियो। यत्तिकैमा कहाँबाट बम खस्यो, क्याप्टेन राईले पत्तै पाएनन्। तर, तत्काल 'टेकओभर' लिन सबैलाई सचेत गराइहाले।
‘म उठेँ तर केटाहरु सुतिरहेका थिए। ला! सबै बमले सकेछ कि क्या हो,’ राईको मनमा एक्कासी बेचैनी बढ्यो।
‘केही छिनमै थाहा भयो, मेरा केटाहरूले पोजिसन लिन पाएछन्,’ फकल्यान्ड युद्ध अन्त्यको अघिल्लो रात सम्झिँदै क्याप्टेन राई भन्छन्, ‘तर मेरो छेउबाट एउटा आवाज आयो- ‘ट्वाइसी साप, ट्वाइसी साप म मरेँ’। कर्पोरल ज्ञानबहादुर राई पो रहेछ। मेरो पालो राइफल फालेर ज्ञानबहादुरलाई बचाउन लागेँ।’
कतिले राईलाई पनि बमले घाइते बनाउने भयो भन्ने सोचे। तर जसोतसो उनले ज्ञानबहादुरलाई घटनास्थलबाट ओडारसम्म लगेरै छाडे। ज्ञानबहादुरलाई बम विस्फोटले गम्भीर घाइते बनाएको थियो।
‘रातको समयमा बत्ती बाले दुश्मनले देख्ने डर। उनको आधा शरीरमा चोट थियो। हामीले ओडारमा लग्यौं र छामछामु गरेरै प्राथमिक उपचार गर्यौँ। भाग्यवश् मेडिकल टिम समयमै आइपुग्यो। ऊ बच्न सफल भयो,’ फोकल्यान्ड युद्धमा होमिँदाको यो घटना राई कहिल्यै बिर्सदैनन्।
000
सन् १९८८ मा क्याप्टेन भएर अवकाश पाएका ८१ वर्षीय राई अहिले नेपालमा 'रिटायर्ड लाइफ' बिताइरहेका छन्। बुधबार अनामनगरस्थित उनको निवासमा पुग्दा फूल गोड्दै थिए उनी। ४० वर्षअघिको अर्जेन्टिनासँगको लडाइँ कहिले फूलजस्तै मुस्कुराउँथे, कहिले झस्किन्थे एक्कासी। अनुहारमा अनेक भाव देखिन्थ्यो उनको।
-1656165737.jpeg?p=768&s=41c88015f8348b4bcb4f9ae93dfe4531)
युद्धमैदानमा ज्ञानबहादुरलाई बचाउन सफल भएको कथा सुनाउँदा भने उनको अनुहार पूरै उज्यालो देखिन्थ्यो। फूल सिँगार्न छाडेर ४० वर्षअघिको त्यो घटनामा फर्किएका थिए उनी।
‘बिहानको १० बजेसम्म घाम देखिँदैन। जताततै तिखा चट्टान, ढुंगा र घासे मैदान। चार मोजा र बुट लगाउँदासम्म नथेगिने चिसो। घरिपानी, घरि असिना, घरि हिउँ। रुखपात छैन, झारपात मात्र कस्तो ठाउँ होला!’
सन् १९८२ को जुन महिना फोकल्यान्ड टापुको सन कार्लोसमा पहिलो पटक पाइला टेक्दै गर्दा सहायक कमान्डर राईको मनमा उब्जिएको जिज्ञासा हो यो।
‘त्यतिबेला तत्कालीन बेलायती प्रधानमन्त्री मार्गरेट थ्याचरको निर्णयमा बेलायती सेना नाभर टाक्स फोर्ससहित फोकल्यान्ड हाँकिएको थियो,’ हातमा बोकेको सानो कुटो छेउमै बिसाएर राई बोल्न थाले, ‘बेलायतको उपनिवेश फोकल्यान्ड टापुमा १९८२ अप्रिल २ मा अर्जेन्टिनाले युद्ध छेड्यो। बेलायतदेखि ८ हजार मायल टाढाको टापु धेरैले छोडौँ भने तर तत्कालीन प्रधानमन्त्री मार्गरेटले ‘हाम्रो जनता हुन्, छोड्न हुन्न भन्नु भयो। त्यसमा गोर्खा सैनिक पनि लानुपर्छ भनेपछि टाक्सफोर्स हिँडिहाल्यो। ’
स्यान्डी ब्रिजको अभ्यासपछि गोर्खा राइफल्सको पहिलो बटालियन ७औं ड्युक बेलायती गोर्खा सेना बटालियन र ५ इन्फन्ट्री ब्रिगेड मे १२ का दिन क्वीन एलिजाबेथ टु नामको पानी जहाजमा चढेर फकल्यान्ड युद्धका लागि निस्कियो।
झण्डै दुई साता लामो त्यो यात्रामा युद्धका योजना र कुरा मात्रै भएनन्, उत्तिकै सेलिब्रेसन पनि भए। यात्राका क्रममा गोर्खा रेजिमेन्टको ८०औं जन्मोत्सव परेको थियो। नमनाउने कुरै भएन। गोर्खे सैनिकहरूले पानीजहाजमै नाचगान गरे।
यो देखेर ब्रिटिसहरु चाहिँ चकित भए। ‘गोर्खे युद्धमा हिँडेको हो कि पिकनिक!,’ उनीहरुले आश्चर्य प्रकट गरे। ब्रिटिस सेना टाक्स फोर्स बोकेको पानीजहाज मे २८ मा साउथ जोर्जिया पुग्यो। पहिलो जुनमा मात्र उनीहरू सान्ट कलोस उत्रिए।
‘हामी चाहिँ चिनोक भन्ने ठाँउमा हेलिकोप्टरमा गयौँ। ३५ सिट क्षमताको हेलिकोप्टरमा ६५ जना कोचिएका थियौँ। युद्धभन्दा पहिल्यै नै सिध्याउने भए भन्ने डर पनि लाग्यो,’ ठट्यौली शैलीमा सम्झिए राईले।
युद्धभूमिमा ओर्लिए पनि ब्रिटिस गोर्खा सैनिक अग्रभागमा थिएनन्, उनीहरूलाई ‘सपोर्ट फायर’मा राखिएको थियो। उनीहरु फाइनल अट्याकका लागि त्यहाँबाट अघि बढ्दै गए।
फोकल्यान्ड पुगेको केही दिनमै ब्रिटिस सेनाले अर्जेन्टिनाको ठूलो समुद्री जहाजमा आक्रमण गर्यो। आक्रमणमा ३ सय ६८ जनाको मृत्यु भयो। बदलामा अर्जेन्टिनाले बेलायती सेनाको रासनपानी बोक्ने जहाज पनि ध्वस्त पारिदियो।
त्यसपछि झन्डै एक हप्तासम्म ब्रिटिस सेना रासनपानीविहीन भए। ‘३६ घण्टासम्म हातहतियारसहित ५० केजीभन्दा बढी भारी बोकेर हिँड्नु पर्थ्यो,’ युद्धको थकान र भोक सम्झँदै राई भन्छन्, ‘त्यहीबेला रासन सक्कियो। केही दिन नुनपानी मात्रै खायौँ। भोकले पेट बटारिन थालेपछि गोरुको पुच्छर भन्दै पहिले फालेको 'अक्सटायल'लाई खोजीखोजी खायौं।’ ५०–५० राउन्ड गोलीको माला, गन, बमसहित दिनरातको यात्रा, योजना र संघर्षपछि उनीहरु ‘टु सिस्टर’ भन्ने ठाउँमा पुगे। त्यसपछि १३ जुनमा माथिबाट निर्देशन आयो– फाइनल अट्याकका लागि तयार रहनुस्।
000
राईका लागि फाइनल अट्याकअघिको घटना उस्तै अविस्मरणीय छ। बेलायती र गार्खा सैनिकबीच भाषिक समस्याले पनि अप्ठेरो निम्त्याउँथ्यो।
ओसी र आर्टलेरीको अफिसर तम्बलडाउन भन्ने ठाउँमा पुग्दाको घटना हो त्यो। त्यतिबेला एक गोर्खा सैनिकले दुश्मन देखेपछि चिच्याउँदै भनेका थिए, ‘लुक्, लुक्।’
उनले खासमा 'लुक्नुहोस्' भन्न खोजेका थिए। तर बेलायती अफिसरले त्यसलाई अंग्रेजीमा बुझे। त्यसपछि लुकेनन्, बरु यताउति हेरे। ‘यसो माथि फर्केर के हेरेका थिए, दुश्मनले छातिमै एक राउन्ड गोली ड्याम्मै हानि त हाले,’ राई सम्झन्छन्, ‘धन्न ती अफिसरको त्यतिबेला समयमै उपचार भयो। युद्धका बेला भाषाले कस्तोसम्म समस्या ल्याउँथ्यो भन्ने एउटा उदाहरण हो यो।’
000
यत्तिकैमा ३२ दिनसम्म फाइनल अट्याकका लागि तयार सेनालाई ३३औं दिनमा सूचना आयो, ‘स्ट्यान्लीबाट युद्धविरामको पहेँलो झण्डा हल्लाइयो। बेलायतले युद्ध जित्यो। अर्जेन्टिनाले आत्मसमर्पण गर्यो।’
युद्ध रोकिएको खबर पाउनासाथ सिपाहीहरुको मुहारमा खुशीको रङ छायो। हातहतियार फालेर उनीहरु चिच्याए। सायद ‘बाँचियो’ भनेर उत्साह मनाए। राईले त्यो क्षणलाई तस्बिरमै कैद गर्नसम्म भ्याए।

आफ्ना सैनिकहरुलाई सकुशल फर्काउन पाउदा खुशी थिए तर पाएको जिम्मेवारी पूरा गर्न नपाउँदै फर्किन परेकोमा थोरै दुःखी पनि। ‘सैनिक न हो, युद्ध गरेरै जित्दाको मज्जा खोजिरहेको हुन्छ। तर त्यतिबेला साथीहरू हर्षित नै थिए। मैले त्यही ठूलो कुरा मानेँ,’ उनले भने।
000
युद्धका बेला अर्जेन्टिनामा गोर्खाली सेनाको गलत प्रचार भएकोप्रति भने पूर्वक्याप्टेन राई दुःखी रहेछन्। ‘लडाइँको समयमा पक्राउ परेका तीन अर्जेन्टिनी सेनालाई ब्रिटिस सेनाले चिठ्ठीसहित फिर्ता गर्यो रे,’ राईले त्यसबेला भएको गलत प्रचारबारे सुनाउँदै भने, ‘त्यसमा ‘तिमीहरुको गर्धन काटेर टाउको खाने गोर्खे सेना हामीसँग छ। भागी हाल’ भनेर लेखियो रे। युद्ध सकिँदा एक नेपालीको मृत्यु भयो (जर्नल राइटर माइक सिरले एक अन्तर्वार्तामा फकल्यान्ड युद्धपछि दुई नेपालीको मृत्यु भएको उल्लेख गरेका छन्)। बाँकी केही घाइते थिए। हामी बहादुर पक्कै हो, तर राक्षस हैन। त्यो युद्धको समयमा गरिएको प्रोपगान्डा थियो जुन अहिलेसम्म विश्वास गरिन्छ।’
विभिन्न विज्ञ विश्लेषकले फकल्यान्डको विश्लेषण गरेका छन्। नारायणको पनि आफ्नै युद्धविश्लेषण छ। भन्छन्, ‘अर्जेन्टिना युद्धमा कम अनुभवी देखियो। अभ्यासदेखि अन्य योजनामा कमजोर देखियो। उनीहरु ‘मोरालिस्ट’ देखिन्थे। सुरुमै उनीहरुको ठूलो जहाज डुब्यो। त्यसले पनि उनीहरुको मनोबल कमजोर बनेको हो कि जस्तो लाग्छ।’
घरदेखि लाहुरसम्म
भोजपुरको आमचोक गाउँपालिकामा जन्मिएका राई परिवारमा कान्छो छोरा हुन्। उनका बाजेले भारतीय लाहुरे भर्ती भई पहिलो विश्व युद्ध लडेका थिए। तर उनै बाजेले उनका एक मात्र छोरा अर्थात् नारायणका बुबालाई सेनामा भर्ती हुन दिएनन्।
‘दोस्रो विश्व युद्धको समय थियो रे। भर्ती लाग्न गएको छोरालाई फिर्ता पठाइमाग्न बाजेले कमान्डेन्टलाई चिठी नै लेख्नु भएछ। त्यसपछि बुबा फर्किनुभएछ,’ राईले भने।
तर, बुबाले आफूलाई भने लाहुरे बन्ने सपनामा नरोकेको बताउँछन् उनी। लाहुरे बन्ने सपना बुन्दै गरेका उनी साढे १६ वर्षको हुँदा गल्लावालकोमा आफैँ गए। गल्लावालाले यसपटक नभए आउने साल लगेरै छाड्ने आश्वसान दिए।
त्यसपछि बुबासँग सल्लाह लिए। आफू लाहुर जान नपाएपनि छोरोको सपनाप्रति बुबा सकारात्मक देखिए। तर आमा तयार भइनन्। ‘आमाको वचन राख्न मैले असोज २८ गते विवाह गरेँ। र, कात्तिक २८ गते घर छोडेर हिँडे, भर्ति लाग्न। आमाले सबैरे रुँदै खाना बनाइदिनु भयो। खाना खाएर घरबाट बिदाइ लिँदै गर्दा भालेले बिहानीको संकेत गर्दै थियो,’ घरबाट निस्केको त्यो दिन उनलाई अझै याद छ।
-1656165737.jpeg?p=768&s=1919dc2b19a92ab8ba3c73c8911456b8)
त्यो बेला घोपा (धरान क्याम्प) थिएन। उनी गलवालसँग फुस्रे, पग्लीया गए। ‘हाइट, छाती हेर्यो, १०० मिटर दगुर्यो र मेडिकल गर्यो भने लाहुरे भैहाल्यो। म पनि लाहुरे भर्ती भएँ। त्यसपछि सुरु भइगो लाहुरेको रेलीमाई फेसन नै राम्रो...,’ उनी हाँस्दै सुनाउँछन्।
भर्ती भएपछि जब तालिम केन्द्रमा पुगे, मच्छड छेक्ने जाली बेड देखेर चकित भए। अहो! यस्तो खाट। मनै फुरुङ्ग भयो। तर त्यो उत्साह धेरैबेर कहाँ टिक्यो र! केही दिनपछि दण्ड सुरु भइहाल्यो। अलिअलि गल्ती भयो कि डण्डा लाइहाल्ने। ‘तर भाग्यवश् भनौँ मेरो गुरुले कहिल्यै हात हाल्नु भएन। अरु साथीहरू पिटाइ सहन नसकेर भाग्थे,’ उनले भने।
त्यो पहिलो युद्ध
सन् १९५९ मा भर्ती भएका राई मलेसियामा हुँदा इन्डोनेसियासँग लडाइँ चल्यो। १९६२ देखि ०६६ सालसम्म चलेको यो युद्धलाई ‘ब्रुनैयो जंगल वार’ पनि भनिन्थ्यो। सेनामा भर्ती भएको चार वर्षमै यो युद्ध लड्दै थिए उनी।

पहिलो पटक विदेशी भूमिमा युद्ध लड्दै गर्दा उनी नडराएका होइनन् तर आफ्नो शपथ र कर्मले उनलाई सम्झाइरह्यो। ‘म लड्न गएको हो। लड्नु मेरो कर्तव्य हो भन्ने नै भयो। तर मृत्युलाई त्यति नजिकबाट नियाल्दै गर्दा आफ्ना परिवारको पनि औधी याद आउने रहेछ। वृद्ध भएका बुबाआमा, वर्ष दिन नपुग्दैको छोरा र श्रीमतीको अनुहार सम्झिँदा गाह्रो त हुने रहेछ,’ उनले भने।
त्यतिबेला उनकै पल्टनको १०–१२ जनाले युद्धभूमिमा ज्यान गुमाए। तर, उनी बाँचे। आफ्नै छेउमा साथीहरु ढलेको देख्दा उनको मन पनि नडराएको हैन, तर आफूलाई सम्हाले। ‘युद्धभूमिमा योद्धाको धर्म लड्नु हो। दुश्मनसँगको सम्बन्धमा कि आफूले मार्ने कि आफै मर्ने हुन्छ,’ तालिमबखत सिकेका यी कुराहरु मनमा राखेर लडिरहे।
यद्यपि युद्ध शब्दको पर्याय मार्नु मात्र होइन। क्याप्टेन राईको भोगाइले त्यही भन्छ। उनी दुश्मनसँगै युद्ध र युद्धभूमि सम्झिन्छन्। त्यही युद्धभूमिमा गुमाउन परेको प्रिय साथीलाई उनले कहिल्यै बिर्सन सकेनन्।
‘ब्रुनाइको मौसम पानी परिरहने। स–साना खोलाहरु कतिखेर भेल बनेर बग्छन्, पत्तो नहुने। त्यहि खोलाले मेरो प्रिय साथीको ज्यान लियो,’ सम्झिँदा अहिले पनि भावुक हुन्छन् राई।
ब्रुनाइमा हुँदा एकदिन राई र उनका नजिकका साथी जंगलतिर निगरानीमा निस्किएका थिए। ‘मेरो साथी डराइरहेको थियो। मैले खोला तरेर उसलाई बोलाएँ। साथी खोला तर्दा तर्दै चिप्लो ढुंगामा टेकेछ क्यार! चिप्लेर लड्यो। हेर्दाहेर्दै बग्यो ऊ। म हतियार फालेर खोलामा हाम फालेँ। तर पौडीमा अब्बल थिइनँ, बचाउन सकिनँ।’ साथीलाई बचाउन नसक्दाको त्यो घटनाले राईलाई अहिलेसम्म पिरोलिरहन्छ।
-1656165737.jpeg?p=768&s=0dda7995914d9dd582829729b47f465e)