काठमाडौं– सुनसरीको इटहरीस्थित ब्लुमिङ लोटस इङ्लिस स्कुलमा अध्ययनरत छात्रालाई बलात्कार गरेको अभियोगमा सोही स्कुलका प्रिन्सिपल पक्राउ परेका छन्।
चार वर्षदेखि फरार रहेका प्रिन्सिपल अहिले काठमाडौंबाट पक्राउ परेका हुन्। इटहरी उपमहानगरपालिका–५ स्थित स्कुलका तत्कालीन प्रिन्सिपल राजकुमार खड्कामाथि १५ वर्षीय छात्रालाई बलात्कार गरेको आरोप छ। ०७४ साउन २६ मा गेस्ट हाउसमा लगेर बलात्कार गरेको कसूरमा पीडितका तर्फबाट प्रहरीमा किटानी जाहेरी परेपछि उनी फरार थिए।
सिन्धुली कमलामाई स्थायी घर भएका खड्कालाई जाहेरीको करिब ४ वर्षपछि सीआईबीले बिहीबार त्रिपुरेश्वरबाट पक्राउ गरेको हो। घटनाको करिब १ वर्षपछि ०७५ भदौ २ मा छात्राले जिल्ला प्रहरी कार्यालय सुनसरीमा जाहेरी दिएकी थिइन्।
जाहेरीपछि आरोपित खड्का फरार भएका थिए भने उनी विरुद्धको मुद्दा जिल्ला अदालत सुनसरीमा मुल्तवीमा राखिएको थियो। सीआईबीका अनुसार पक्राउ परेका खड्कालाई जिल्ला अदालत सुनसरी पठाइनेछ।