शुक्रबार, मंसिर १६, २०७९
नेपाल समय
मेरो जीवन मेरो मर्जी–५

हिजो परिवारसँग र आज आफैंसँग विद्रोहको चक्रमा शोभिता

राज सरगम  |  काठमाडौं, बुधबार, जेठ ११, २०७९
राज सरगम

राज सरगम

काठमाडौं, बुधबार, जेठ ११, २०७९

काठमाडौं– सन् २००३ को एक हिउँद। फेसन शोमा र्‍याम्प वाक् गर्ने सपना बोकेर अभिनेत्री शोभिता सिम्खडाले एक जोर हिल जुत्ता किनिन् र लिएर घर गइन्। घरमा पुग्नेबित्तिकै आफू सुत्ने कोठाको ढोका लगाइन्। झोलाबाट हिल निकालिन्। केही बेर कोठामा हिल लगाएर हिँडिन्। अनि, र्‍यायाम्पमा जाने दिन सम्झिएर एकदमै उत्साहित भइन्। 

त्यसपछि अचानक हिललाई कोठामै राखेर केही कामले बाहिर निस्किइन्। साँझ घर पुगिन्। र्‍याम्पमा जाने तयारीका क्रममा बिहान हिल राखेको ठाउँमा हेरिन्। दुवै हिल काटिएको अवस्थामा थियो। 

‘कसले काटिदियो मेरो हिल’, उनले घरै थर्किने गरी कराइन्। उनकै भाइ भिलेन भएर उनको सामु उभिए। शोभिताका आँखामा साउन–भदौ सुरु भयो। 

मन पराएर ११ सय रूपैयाँमा किनेको हिल यसरी घरकै सदस्यले काटिदिएको देखेर उनलाई ऐंठन परेजस्तो भो। ‘त्यो क्षण त मेरो शरीरकै अंग काटिएझैं भो’, हिल चार टुक्रा हुँदाको क्षण सम्झिइन्। 

फेसन शोमा र्‍याम्प वाक् र मोडलिङ गर्ने उनको रहर एकछिनलाई तुहिएझैं भो। कक्षा नौ पढ्ने भाइलाई गाली मात्रै गरिनन्। हिर्काइन्। रोइन्। कराइन्। तर, उनको रूवाइ जंगलको भो। कसैले ‘नरो’ भनेन। 

‘तँ र्‍याम्प–स्याम्पमा जानु पर्दैन। मोडल–सोडल बन्नु पर्दैन’, १९ वर्ष अगाडि भाइले यस्तै भनेका थिए उनलाई। मुस्किलले पाएको मञ्चलाई उनले गुमाउन चाहिनन्। तर, घरका सबै सदस्यले उनलाई कुनै सहानुभूति देखाएनन्। बरू घन्टौ‌ केरकार गरे। मोडलिङमा नलाग्न दबाब दिइरहे।

‘आज मात्रै जान्छु, त्यसपछि कहिल्यै जादिनँ, आजचाहिँ जान दिनुस्’, उनले भाइ, बाबा र आमाको अगाडि रूँदै अनुरोध गरिरहिन्। तर, कसैले सुनेनन्।

भोलिपल्ट हिल लगाउन नपाए पनि सधैं लगाउँदै आएको जुत्ता लिएर एभरेष्ट होटलको प्राङ्गणमा पुगिन्। जहाँ र्‍याम्प वाक गर्ने भव्य सेट तयार भइसकेको थियो। अनि पुरानै जुत्ता लगाएर भएपनि उनी त्यहाँ र्‍याम्प वाकमा उत्रिइन्।  

र्‍याम्प वाकबाट फर्किएको साँझ उनले खाना खाइनन्। घरका सबैसँग रिसाइन्। सबैभन्दा बढी भाइसँग रिसाइन्। त्यसपछि सुरु भयो उनको र परिवारसँगको अन्तरद्वन्द्व। 

परिवारका कुनै पनि सदस्य मोडलिङ क्षेत्रमा थिएनन्। न कोही चिनजानका आफन्त नै थिए, र्‍याम्प तथा मोडलिङ बुझ्ने। त्यसैले शोभिताका परिवार उनले रोजेको क्षेत्रप्रति सकारात्मक हुन सकेनन्।  

त्यो समय रंगीन दुनियाँमा लाग्नु भनेको ‘बिग्रनु हो’ भन्ने बुझ्थ्यो समाज। त्यसको प्रभावबाट उनको परिवार पनि अछूत थिएन। त्यसैले उनले इच्छाएको बाटोमा हिँड्न रोक्दै पढाइमा एकाग्र हुन दबाद दिइरह्यो उनको परिवारले। 

त्यतिबेला ११ कक्षामा पढ्दै थिइन् शोभिता। ग्ल्यामर दुनियाँमा उनका पाइलाहरु अघि बढ्दै थिए। तर, छरछिमेक, आफन्त र चिनेजानेकाले गिज्याउन थाले। नमिठो लाग्ने गरी होच्याउन थाले। 

जति परिवारको दबाब बढ्दै गयो, उति नै यो क्षेत्रमा लाग्ने मोह बढ्दै थियो उनको। त्यसैले बरु परिवारसँगै विद्रोह गर्ने सोचमा पुगिन् उनी। अनि अठोट गरिन्– ‘जसरी नै यही क्षेत्रमा लाग्नेछु।’

‘जब परिवारबाटै मोडलिङ क्षेत्र छोड्न दबाब बढ्यो, मलाई त झन् यही क्षेत्रमा लाग्छु भन्ने पो भयो, त्यसैले कसैको सुन्दै सुनिनँ, मात्र आफ्नो मनको सुनेँ,’ उनले सम्झिइन्। 

सोभिताका बुवा उनी पढ्ने स्कुल श्री तामाङ खर्क गुम्दी धादिङका हेडसर थिए। घरदेखि स्कुलसम्म पूरै बुवाको निगरानी हुन्थ्यो । शान्त स्वाभावकी थिइन्, कम बोल्थिन्। घरमा ध्यान गर्ने हल थियो। स्कुल जानुअघि र फर्किएपछि सधैँ उनका बुबाआमा ध्यान गर्थे। सायद त्यसकै प्रभावले होला, उनले पनि ध्यान गर्न थालिसकेकी थिइन्। 

एकपटक उनका बुवा अध्ययनको शिलशिलामा श्रीलंका पुगेका थिए। फर्कि‌दा रजनिश ओशोको अनुयायी भएर फर्किए। गाउँमा शिक्षण पेशा र ध्यानलाई सँगसँगै अघि बढाए उनले। ‘ध्यान त बुझ्थिन त्यतिबेला तर बुबाआमासँग सधै पलेटी कसेर सुरु गरिहाल्थेँ,’ उनले भनिन्। 

एक शनिबार गाउँमै भिडियो फिल्म हेर्ने अवसर पाइन् उनले। भिडियो फिल्म हेरेको दिन रातभरि निदाउन सकिनन् उनी। भिडियोमा देखिएका कलाकारले उनको मथिङ्गल घुमाइदियो। उनलाई त्यो रंगीन दुनियाँमाथि अनेक जिज्ञासा पलाए। अनि त, हरेक शनिबार उनले फिल्म हेर्न थालिन्। घरमा आएर फिल्ममा अभिनेत्रीले गर्ने अभिनयको नक्कल गर्न थालिन्। भन्छिन्, ‘कसैले थाहा पाउँछन् कि भनेर लुकीलुकी अभिनय गर्थें।’

कक्षा दशको अन्तिम दिन थियो त्यो। उनको स्कुलमा एकजना पाहुना आएका थिए। ती पाहुनाले कक्षामा पुगेर विद्यार्थीसँग साक्षात्कार गरेका थिए। यस्तैमा शोभिताको कक्षामा पनि आए। सबै विद्यार्थीको नाम, परिचय र लक्ष्यको बारेमा सोधे। 

शोभिता एकछिन केही बोलिनन्। बोल्नै डराइन्। ‘हेडसरको छोरी भएर पनि कस्तो लाटी तिमी त’ भनेर जिस्काए  ती पाहुनाले। त्यसपछि शान्त स्वाभावकी शोभिताको मुखबाट एक्कासी फुत्कियो, ‘हिरोइन बन्छु।’ 

सबै विद्यार्थी ट्वाँ भए। त्यो भन्दा बढी शोभिता स्वयम् आश्चर्यमा परिन्। प्रश्न गर्ने पाहुना पनि चुपचाप फर्किए। शोभिता पनि घर फर्किइन्। बाटोभरि साथीहरूले ‘तँ त हिरोइन जस्ती छेस्’ भनेर जिस्काउन थाले। बाटोभरी साथीभाइको हाँसीमजाकमा रमाउँदै घर पुगेकी उनको अनुहार बुवाको अगाडि पुगेपछि भने निराश भयो।  

‘तँ त हिरोइन बन्छु भन्दै थिइस् रे,’ बुबाले थर्काउँदै भने, ‘कहाँबाट आयो दिमागमा यस्तो कुरा, धेरै यताउता सोच्ने होइन, खुरूखुरू पढ्नु।’


पहिलोपटक फेसन शोको र्‍याम्पमा हिँड्दा परिवार रिसाएपछि शोभिताले कहिल्यै घरमा आफ्नो कामबारे भनिनन्। त्यसपछि पनि चारवटा र्‍याम्प वाक् गरिन्, तर परिवारलाई भनिनन्। सँगसँगै नेपाली चलचित्रमा संघर्ष गर्न थालिन्। तीन वर्षजस्तो नायिका हुने सपना बोकेर काठमाडौंको खाल्डोमा भौतारिन्। तर उनी निराश हुनुपर्‍यो। 

सन् २००५ तिर उनलाई एक मदिराको विज्ञापनमा भूमिका गर्ने अवसर आयो। अभिनेता शिव श्रेष्ठको छोरी सोना श्रेष्ठ र मोडल अनुप सक्सेनासँगै विज्ञापन खेल्ने अवसरलाई उनले गुमाउन चाहिनन्। बाल्यकालमा चियापत्ती र साबुनको खोलमा मोडलहरु देखेर खुब डाह लाग्थ्यो उनलाई। ‘यहाँ मेरो तस्बिर हुन पाए’ त्यहाँ आफूलाई राखेर खुब कल्पना गर्थिन् उनी। भन्छिन्, ‘त्यसैले मदिराको विज्ञापनमा अफर आउँदा मैले लत्याउन सकिनँँ। त्यसमाथि १० हजार पारिश्रमिक पनि पाउँदै थिएँ, नकार्ने कुरै भएन।’

विज्ञापनको सुट गरेको दिन पत्रिका र दश हजार पारिश्रमिक बोकेर घर पुगिन् उनी। सबैलाई बाँडिन् त्यो खुशी। तर, आफूबाहेक सबै दुःखीमात्रै भए। उनको जीवनको पहिलो कमाइ थियो त्यो। मदिराको बोतलसहित पत्रपत्रिका र होडिङ बोर्डमा उनको फोटो छाइरहेको थियो। महत्वकाक्षा पनि उत्तिकै चुलिँदै गएको थियो। 

‘यो दुनियाँ त अर्कै दुनियाँ पो रहेछ भन्ने जस्तो भएको थियो’, उनी आज सम्झिन्छिन्, ‘त्यो बेला मैले चर्चा पाउनेछु भनेर कत्ति सोचेकै थिइनँ। तर, नसोचेकै पाएँ। त्यही पनि घरमा कोही खुशी भएनन्।’ 

यद्यपी आफूले सोचेजस्तै हुन थालेको देखेर उनी खुशी थिइन्। त्यसैले रिसाएको परिवारलाई अझै राम्रो काम गरेर देखाउने दृढताले उत्साहित बनाएको थियो उनलाई। तर, यही बेला उनी निराश पनि थिइन्। किनभने सिनेमामा कोही उनलाई हिरोइन बनाउन अफर गरिरहेको थिएन।