शुक्रबार, असार १७, २०७९
नेपाल समय

घरगोठ जलेपछि कृषिबाट उठेकी ७० वर्षीया टेकमायाको जीवनमन्त्र– ऋण र उमेरसँग नडराउनु

भीमा पन्थी  |  काठमाडौं, शुक्रबार, वैशाख १६, २०७९
भीमा पन्थी

भीमा पन्थी

काठमाडौं, शुक्रबार, वैशाख १६, २०७९

०५९ साल पुस ५ गते। मौसम चिसो थियो। बाक्लो कपडा लगाएर एकाबिहानै बारीमा काम गर्न पुगेकी थिइन्, सप्तरीको महुलीकी टेकमाया सापकोटा (५०)। कोदालोले बारी खनिरहँदा उनको शरीर पसिनाले चिटचिट भइसकेको थियो। थाकेकी उनका आँखा अनायसै बारीदेखि थोरै पर रहेको उनको घरतिर पुग्यो।

घरको धुरीबाट धुवाको मुस्लोजस्तो केही आइरहेको थियो। एक्कासी आत्तिइन् उनी। ‘ला...के भयो, के भयो!’

दौडँदै, चिच्याउँदै उनी घर पुगिन्। पुग्दा त घर आधा जलेर नष्ट भइसकेको थियो। वरिपरि छरछिमेक पनि भेला भइसकेका थिए। तर, आगो न हो, कसरी रोकियोस्!

टेकमायाको आँखैअघि घरगोठ पूरै जलेर खरानी भयो। रुनु, कराउनु र चिच्याउनुबाहेक केही विकल्प रहेन उनीसँग। वर्षौंको मिहिनेतले बनाएको घर, गाईले भरिभराउ गोठ र वर्षभरी खेती गरेर भित्र्याएको बाली सबै नष्ट हुँदा कसको मन थामिएला र! 

घरअघि आँगनको डिलमा उभिएर घन्टौं तिनका भग्नावशेष हेरेर टोलाइरहिन्, टेकमाया। अघिल्लो दिनसम्म खुसीले भरिएको उनको मन एक्कासि सुक्यो। अनि सपनाले भरिएका आँखा अचानक आँशुले भरिए। ‘नरुनु आमा, नरुनु,’ छेउमा उभिएका छोरा र छोरीले उनलाई यसैगरी ढाडस दिइरहे। ‘धन्न छोरा–छोरी सबै बाहिर थिए, नत्र त अर्को आपत आइलाग्थ्यो होला,’ २० वर्षअघिको त्यो घटना सम्झिँदै टेकमाया भन्छिन्, ‘त्यतिबेला करिब डेढ घण्टापछि दमकल त आयो तर त्यसको के अर्थ? भन्छन् नि, लगन पछिको पोते के काम। त्यस्तै त भयो।’ 

घर गोठ सबै आगोले खरानी बनिसकेपछि अब टेकमायाको परिवारसँग केही बचेन। बरु के खाने, के लाउने, संकट सुरु भयो। अघिल्लो दिनसम्म घरमा आउने पाहुनालाई उनी दूधैदूधको चिया बनाएर खुवाउँथिन्, आज उनै पाहुनाहरु छाक टारिदिन खानेकुरा हातमा लिएर आउन थाले।

सधैँ गाईवस्तुलाई दिने दाना–पराल राख्ने ठाउँमा साँझ आफूले विछ्याउनको लागि परालको थुप्रो राखिन्, त्यो पनि छिमेकबाट मागेर। ‘एक छिन सोचेर मात्रै हेर्नुस् त, त्यो बखत मेरो मन कस्तो भएको थियो होला, अरुको घरमा आगो लाग्यो भन्दा त मन आत्तिन्छ, झन् मेरो त आफ्नैमा लाग्यो,’ त्यो घटना सम्झिँदा आज पनि झस्किन्छिन् टेकमाया। 

टेकमायाको आँखैअघि घरगोठ पूरै जलेर खरानी भयो। रुनु, कराउनु र चिच्याउनुबाहेक केही विकल्प रहेन उनीसँग। वर्षौंको मिहिनेतले बनाएको घर, गाईले भरिभराउ गोठ र वर्षभरी खेती गरेर भित्र्याएको बाली सबै नष्ट हुँदा कसको मन थामिएला र! 

आगलागीपछिका केही महिना टेकमायाका लागि निकै कष्टकर बन्यो। छरछिमेकले खानका लागि अन्न, पकाउनका लागि भाँडा र बासस्थानका लागि काठ त उपलब्ध गराए तर उनीसँग टहरा ठड्याउन मिस्त्रीलाई दिने थिएन। ‘मैले उहाँहरुले ल्याएर राखिदिएका जस्तापाता, काठ र बाँसका खम्बा हेरेर घरको कल्पनाबाहेक केही गर्न सकिनँ,’ उनले सम्झिइन्, ‘बल्लतल्ल धेरै समयपछि केही साथीहरुको सहयोगमा सानो टहरा बनाउन सकेँ। मेरी एकजना साथी थिइन्, तिनले करिब तीन महिनालाई पुग्ने गरी मकै, कोदो, पिठोलगायतका खानेकुरा दिएकी थिइन्, त्यसैले छाक टारेँ।’

पहिलेजस्तो गाठ, गाईवस्तु अब उनको कल्पनामा थिएन। अब पहिलेझै उठ्न सकिएला भन्ने रत्तिभर लाग्थेन उनलाई। एकातिर भएका पाँच सन्तानको पठनपाठनको जिम्मेवारी, अर्कोतिर गुजारा। समस्यै–समस्याका पहाडले थिचिएकी थिइन्, टेकमाया। 

सरसापट र ऋणपान गरेरै भएपनि केही गरौं भन्ने सोच त थियो उनमा। तर, यो बुढेसकालमा कसले पत्याओस्! नजिकै रहेको सहकारीले पनि ऋण पत्याएन उनलाई। नपत्याउनु कारण, मुग्लान पसेका उनका पति उतै गायब हुनु। घरमा एक्लै छोराछोरी हुर्काइरहेकी थिइन् उनी। छरछिमेकमा ऋण माग्दा साथीहरुले भने, ‘तेरो बूढा आएको छैन, तेरो के भर, पोइल गइस् भने कसले तिर्छ ऋण?’

नजिकै दुग्ध सहकारीमा जाँदा उसले पनि भन्यो, ‘घरकी एक्ली आईमाई मान्छे, कसरी तिर्नुहुन्छ ऋण?’ भएभरको सम्पत्ति सबै जलेपछि बाँकी रहेको त्यही एउटा जग्गा त थियो। तर, त्यो पनि आफ्नो नाममा थिएन। त्यसैले जग्गा धितो राख्न नमिलेपछि कसैले उनलाई ऋण पत्याएको थिएन। 

दिनै यसैगरी तनाव, दुर्वचन र अपमान सहेरै बितिरहेको थियो। आगलागीको करिब तीन महिनापछि दिउँसोतिर टेकमायाको टहरामा महुली लघुवित्तका एक जना सदस्य एक्कासी आइपुगे। टेकमायाको पीडाको कथा गाउँघरमै कसैबाट उनले सुनेका रहेछन्। त्यसैले उनलाई भेटेपछि भने, ‘तपाईंहरु ग्रुप बनाएर आउनुस््, हामी तालिम दिन्छौं र त्यसपछि काम गर्नलाई ऋण पनि।’ 

पशुपालनमा उनको अनुभव पनि थियो। लघुवित्तका ती कर्मचारीको सुझावअनुसार उनले गाउँमा समूह पनि बनाइन्। त्यसपछि लघुवित्तले समूहलाई नै एक हप्ताको पशुपालन तथा अन्य हाते सिपहरुको तालिम दियो। तालिम लिनमा सुरुमा तीन जना सदस्य बनेका थिए। पछि क्रमशः थपिएर सातजना पुगे। 

नजिकै दुग्ध सहकारीमा जाँदा उसले पनि भन्यो, ‘घरकी एक्ली आईमाई मान्छे, कसरी तिर्नुहुन्छ ऋण?’ भएभरको सम्पत्ति सबै जलेपछि बाँकी रहेको त्यही एउटा जग्गा त थियो। तर, त्यो पनि आफ्नो नाममा थिएन। त्यसैले जग्गा धितो राख्न नमिलेपछि कसैले उनलाई ऋण पत्याएको थिएन। 

तालिम सकेपछि उक्त लघुवित्तले उनलाई विना धितो ५० हजार रुपैयाँ ऋण दियो। सोही रकमले उनले दुई वटा दूध दिने गाई किनिन्। ‘गाउँलेहरु ऋण तिर्न सक्दैनस् भन्दै अत्याउँथे तर लघुवित्तले ऋण दिने बेला नआत्तिनु, विस्तारै किस्ता तिर्दै जाँदा हुन्छ भन्नुभयो,’ टेकमाया सम्झिन्छिन्, ‘त्यसपछि म पनि डराइनँ, गरेरै देखाउँछु भनेरे एकोहोरो लागें। सुरुमा मैले लिएका दुइटा गाईले तीन लिटरमात्रै दूध दिन्थे, स्याहार गर्दै जाँदा एक हप्तापछि त दिनको १५ लिटर दूध दिन थाले। महिना सकिँदा त पहिलो पटक दूध बेचेर ७ हजार कमाएँछु। किस्ता तिर्न पनि पुग्यो, गाईलाई दानापानी खुवाउन पनि।’

विस्तारै टेकमायाको जीवनबाट आगलागीको घाउ निको हुँदै गयो। तीन महिनापछि टेकमायाले सस्तोमा थप दुई गाई किनिन्। त्यसपछि त दूधको उत्पादन पनि बढ्दै गयो। हिजोका दिनमा ऋण नपत्याउने नजिकैको दूध सहकारीलाई पनि उनले दूध बेच्न थालिन्।